पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा भेटिएका छन्।
शिशुसँगै अस्पतालबाट शिशु चोर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको र शिशुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो ३: ४० बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा जन्मेको ४ घण्टामै एक अपरिचित महिलाले चोरेर फरार रहेकी थिइन्। नियन्त्रणपछि बच्चा र चोरी गर्ने महिला दुबैलाई पाल्पा ल्याउने तयारी रहेको पाल्पा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाद सापकोटाले बताए। ‘हो हामीले शिशु र शिशु चोर्ने महिलालाई स्याङ्जाको मिर्मिबाट नियन्त्रणमा लिएका छौं उनी गल्याङ नगरपालिका मोहनडाडाकी हुन् भन्ने मात्र खुलेको छ। बच्चालाई ल्याएर आमालाई जिम्मा लगाउँछौं’, सापकोटाले भने।
४ दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शुक्रबार जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन्।
त्यसबेलामा सुत्केरी जमुना अचेतजस्तै थिइन्। लामो समयदेखि अस्पतालभित्र ती महिलालाई बस्न दिनु नै शंकास्पद रहेको आफन्तको भनाइ छ।
शिशु चोरेकी मोहन डाडाकी विमला पाण्डेले केही समय अघि दोस्रो विवाह गरेकी थिइन्। आफू गर्भवती रहेको बताउँदै आएको स्थानीयले बताए। उनले पेटमा बच्चा छ भन्दै कपडा पोको पारेर राख्ने गरेको आशंका स्थानीयको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।