सुनसरीको कोसी गाउँपालिका-४ कटानमा भएको मोटरसाइकल दुर्घटनामा परी सोमबार साँझ एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते रहेको प्रहरीले जनाएको छ।
साँझ साढे ६ बजे पूर्वबाट पश्चिम जाँदै गरेको को२२प ८०४९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को२९प ६८५३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुई वटै मोटरसाइकलमा सवार चार जना घाइते भएका थिए।
घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाइएकोमा उपचारको क्रममा को२२प ८०४९ नम्बरका मोटरसाइकल चालक उदयपुरको तपेश्वर बस्ने ५० वर्षीय निरिराज गिरीको मृत्यु भएको हो।
सोही मोटरसाइकलमा पछाडि बसेका फत्तेपुर नगरपालिका-२ का ५० वर्षीय भक्तबहादुर विष्ट, को२९प ७८५३ नम्बरको मोटरसाइकल चालक इनरुवा नगरपालिका-४ का २३ वर्षीय सबिर आलमको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
को२९प ७८५३ नम्बरको मोटरसाइकलमा पछाडि बसेका इनरुवा नगरपालिका-४ का ३३ वर्षीय रियाज मियाँको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।