सरकारको निर्णयविपरित उदयरपुरको वेलका नगरपालिकामा नेपाली कांग्रेसले कोरोनाभाइरसको नाममा राहत कोष स्थपना गरेको छ।
सरकारले यसअघि नै राहत कोषलाई एकद्वार प्रणालीमा लैजाने भन्दै सरकारी कोषबाहेक कोरोनाको नाममा कुनै पनि कोष स्थपना गर्न नपाइने निर्णय गरेको थियो।
जथाभावी राहत कोष स्थापना गर्दा त्यसमा अनियमितता हुने भन्दै सरकारले एकद्वार प्रणाली बनाएको हो।
नेपाली कांग्रेस वेलका नगर कमिटीका सभापति सुशील सेढाईले पार्टीको नगर कमिटीमै छलफल गरेर कोष स्थापना गरिएको बताए।
'हामीले आन्तरिक रुपमै छलफल गरेर कोष स्थपना गरेको हो। एकद्वार प्रणालीको कुरा पनि ठिकै हो भोलि यसमा छलफल गर्छौं,' उनले भने।
नगरपालिकाले स्थापना गरेको कोषको सही सदुपयोग नभएकोले पार्टीले कोष स्थापना गरेको उनको आसय छ। उनले राहतको नाममा कार्यकर्ता पाल्ने काम भइरहेको आरोप लगाए।
उनले कोष स्थापना गर्ने निर्णय बिहीबार नै भएको र आजबाट गतिविधि अगाडि बढाएको बताए। कांग्रेस नगर कमिटीले तीन जना व्यक्तिको बैंक खाता नम्बर दिएर सर्वसाधारणलाई राहत कोषमा रकम जम्मा गर्न आग्रह गरेको छ।
नगरपालिकामा स्थपना गरेको कोषमा अहिलेसम्म करिब ८ लाख रकम जम्मा भएको मेयर दुर्गाकुमार थापाले जानकारी दिए।
सरकारले यसअघि पनि केही समूहलाई आफूखुसी कोष स्थापना गरेको भन्दै बन्द गर्न आग्रह गरेको थियो।