हुलाकी राजमार्ग निर्माणमा प्रयोग भएका जेसिबी लगायतका उपकरणमा अज्ञात समूहले आगजनी गरेको छ।
जिल्लाको गढवादेखि कालाकाँटे सम्मको हुलाकी राजमार्ग निर्माणका प्रयोग भएका जेसिबी र स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको ५ नं. प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए।
गाउँपालिका वडा नं. १ जेठान गाउँमा सोमबार बिहान ३ बजेर १० मिनेटको समयमा अनटेष्ट जेसिबी एउटा, बा २ क २२७२ नम्बरको एउटा र अर्को अनटेष्ट दोसान मेसिन, बा २ क ४४८२ नम्बरको हुन्डाई मेसिन एउटा र रा १ ख ७१३ नम्बरको मेसिन एउटा गरी चार वटामा आगजनी भएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले कसले र किन ती साधनमा आगजनी गरेको हो ? भन्ने बारेमा खोजी तथा अनुसन्धान सुरू भएको बताए।
दाङ जिल्ला प्रहरी प्रमुख गणेश चन्दले घटनाको अनुसन्धानका जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचानल गरिएको जानकारी दिए।
‘जेसिबी, स्काभेटर गरी चार वटा उपकरणमा आगजनी भएको र ती साधनमा निकै क्षति भएको भन्नेछ,’ एसपी चन्दले भने, ‘त्यो कसले र किन गर्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन।’
हुलाकी सडक निर्माणको काम बज्रगुरु कन्स्ट्रक्सन प्रालिले निर्माण गर्दै आएको थियो। आगजनीबाट साढे ४ करोड बराबरको उपकरणमा क्षति पुगेको प्रहरीले बताएको छ। यो खबर तयार पार्दासम्म कसैले पनि आगजनीको जिम्मा लिएको छैन।