मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइनबाटै परीक्षा लिने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ।
विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले वैकल्पिक विधिबाट स्नातक तह सातौं सेमेस्टर र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षा लिन तालिका निकालेको हो।
कोरोना भाइरस महामारीले गर्दा विद्यार्थी भौतिक रूपमा परीक्षा केन्द्रमा उपस्थित हुन नसक्ने भएकोले अनलाइनबाटै परीक्षा लिने व्यवस्था विश्वविद्यालयले मिलाएको हो।
शुक्रबार परीक्षा तालिका निकालेर विश्वविद्यालयले असोज १७ गतेदेखि कात्तिक ३ गतेसम्म परीक्षा सञ्चालन गर्ने बताएको हो। परीक्षा बिहान ८ बजे सुरू भई अपरान्ह ४ बजेभित्र सकिनेछ। परीक्षार्थीले उत्तर विश्वविद्यालयले तोकेको इमेल ठेगानामा पठाउनुपर्ने विश्वविद्यालयले जनाएको छ।
परीक्षार्थीले उत्तर लेख्दा स्टेशनरी सामग्रीलगायत अन्य परीक्षाका लागि आवश्यक विद्युतीय उपकरणहरू र इन्टरनेटको व्यवस्था आफैंले गर्न विद्यार्थीलाई विश्वविद्यालयले आग्रह गरेको छ।
विद्यार्थीले एफोर साइजको सादा वा धर्के पाना प्रयोग गर्नुपर्ने र अनिवार्य रूपमा कालो मसीले लेख्नुपर्नेछ। परीक्षार्थीले उत्तरपुस्तिकामा लेख्दा स्वयम हातले लेखेको हुनुपर्ने पनि विश्वविद्यालयले निकालेको सूचनामा उल्लेख छ।
‘विद्यार्थीले उत्तरपुस्तिका पठाउँदा सिलसिलेवार ढंगले पेज नम्बर मिलाई त्यसको प्रष्टसँग बुझिने गरी स्क्यान गरी पिडिएफ फाइलमा रूपान्तरण गरी परीक्षा केन्द्रमा तोकिएको समयभित्रै पठाउनुपर्नेछ,’ विश्वविद्यालय परीक्षा व्यवस्थापन प्रमुख डाक्टर आनन्दप्रसाद सुवेदीले निकालेको सूचनामा भनिएको छ, ‘यदि परीक्षार्थीले पठाएको उत्तरपुस्तिका पिडिएफ फाइल प्रिन्ट गर्दा लेखेको कुरा नबुझिने वा अस्पष्ट भएमा परीक्षार्थी स्वयम जिम्मेवार हुनेछ।‘