जुम्लामा अनसन बसेका डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ।
जुम्लाबाट सोमबार नेपालगञ्ज पुर्याइएका केसीलाई जहाजमार्फत् मंगलबार काठमाडौं ल्याइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डाक्टर केसीलाई ट्रमा अस्पताल लगिएको छ।
चिकित्सा शिक्षामा सुधारलगायत माग राखेर विगत आठ दिनदेखि केसी अनसनमा छन्।
केसीले जुम्लाको कर्णालीस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा अस्वीकार गरेपछि काठमाडौं ल्याइएको हो।
उनलाई जुम्लाबाट समिट एयरको जहाजबाट नेपालगञ्ज ल्याइएको थियो।
डाक्टर केसीले जुम्लामा स्वास्थ्य उपचार अस्वीकार गर्दै बरू आफूलाई काठमाडौं पठाइदिन आग्रह गरेका थिए।
केसीको स्वास्थ्य अवस्था जटिल भइरहेको छ।
रक्तचाप कम, रगतमा चिनीको मात्रा कम देखिएको छ। मांसपेशीहरू बाउँडिने समस्या छ। मुटुको धड्कन पनि अनियमित छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस लगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उनको माग छ।
गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन सुरू गर्न उनले माग गरेका छन्।
प्रदेश नम्बर दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन उनले माग गरेका छन्।
मागको दोस्रो बुँदामा मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने उल्लेख छ।
कोभिड तथा अन्य रोगका सबै बिरामीहरूका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने केसीको माग छ।
२०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने केसीको अर्को माग छ।
यस्तै, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरू सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न माग गरेका छन्।
बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो नि:शुल्क सेवा सुनिश्चित गर्न र राज्यलक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद, वाइडबडी, सेक्युरिटी प्रेस खरिद, दरबारमार्गको जग्गा, ओम्नी समूहको औषधि खरीदलगायत सबै ठूला भ्रष्टाचारका दोषीलाई छानबिन गरी कानुनबमोजिम कारबाही गर्न केसीले माग गरेका छन्।
उनले बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारूढ दलका नेतामाथि छानबिन र कारबाही चलाउन माग गरेका छन्।
यी सबै प्रकरणका दोषीलाई कारबाही नगरी उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरूमाथि पनि छानबिन र महाभियोग लगायतका कारबाही गर्न उनले माग गरेका छन्।