नेपाली सेनाको टोली मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउन्ट हर्मनमा पुगेका छन्।
सिरिया र इजरायलबीच ४६ वर्षदेखि जारी विवादबीच त्यहाँ शान्ति स्थापनार्थ नेपाली सेना तैनाथ गरिएको छ।
यसक्रममा सेनाका जवान २० फिटको हिउँ र माइनस २० डिग्रीको चिसो रहेको उक्त क्षेत्रमा पुगेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।
माउन्ट हर्मको क्षेत्रको स्वामित्वलाई लिएर सिरिया र इजरायलबीच ४६ वर्षयता विवाद छ।
यो क्षेत्रमा ठूलो संख्यामा विद्युतीय धराप र द्वन्द्वरत् सशस्त्र समूहको चलखेल छ।
यो क्षेत्रमा ६ महिना हिमपात हुने गरेको छ। त्यहाँ खटिने अधिकांश फौज मुस्ताङ जिल्लाको कैसाङ्गस्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकला सम्बन्धी तालिम गरेका हुन्छन्।
सन् २०१३ देखि नेपाली शान्ति सैनिकहरू त्यो क्षेत्रमा तैनाथ छन्। उक्त इलाकामा हिउँमा प्रयोग गरिने विशेष किसिमको सवारी साधनहरु पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरी सैनिक कारबाही सञ्चालन गरिन्छ।