सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आएको बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ।
हेलम्बु गाउँपालिकाको वडा नम्बर १ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि आएको बाढी परी ती स्थानीयबासी बेपत्ता भएको गाउँपालिकाले जनाएको छ।
बेपत्ता हुनेमा चार महिला र १९ पुरुष रहेको गाउँपालिकाले बताएको छ।
ती मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय, तीन चिनियाँ नागरिक समेत छन्।
गाउँपालिकाले शनिबार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण पनि सार्वजनिक गरेको छ। बाढीमा परी बेपत्ता हुनेको सङ्ख्या अझ बढ्ने जनाइएको छ।
गाउँपालिकाले शनिबार नै एक सूचना जारी गरी अझै पहिरो र बाढीको जोखिम रहेको जनाउँदै उच्च सावधानी तथा सतर्कता अपनाउन स्थानीयबासीलाई आग्रह गरेको छ। रासस