अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ परेका छन्।
अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा जाँच गर्ने क्रममा अवैध मुद्रा भेटिएपछि भारतीय नागरिक इसाक खान र इब्राहीम खानलाई आइतबार प्रहरीले पक्राउ गरेको विमानस्थल कार्यालयले जनाएको छ।
फ्लाई दुबईको जहाजबाट दुबई जान लागेका उनीहरूले अवैध रूपमा विदेशी मुद्रा लैजान लागेका थिए।
जाँच गर्ने क्रममा उनीहरूको ब्यागेजमा एक हजार ५ सय एक अमेरिकी डलर, छ सय १० साउदी रियाल, ३६ ओमानी रियाल, ९ सय २० संयुक्त अरब इमिरेट्सको दिराम र दुई हजार भारतीय रुपैयाँ फेला परेको थियो।
प्रहरीले उनीहरूलाई अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाएको छ।