काठमाडौंको चोभारमा निर्मित सुख्खा बन्दरगाह चैत महिनाभित्रै सञ्चालनमा आउने भएको छ ।
असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि सञ्चालनमा आउन लागेको हो।
बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाह चैत महिनाभित्रै सञ्चालन हुने बताएका हुन्। समितिले सम्पूर्ण काम सकेकाले उद्घाटनको तयारी थालिएको उनले बताए।
‘निर्माण सम्पन्न त गत असारमै भएको हो। यहाँका सरोकारवाला निकायको तयारी पनि सकिएको छ। अब हामी चाडैं उद्घाटन गरेर सञ्चालन गर्ने हिसाबले कामलाई तिव्रता दिइराखेका छौं,’ उनले भने।
यस सुख्खा बन्दरगाहले भारतको नाकाबाट आउने सामग्रीलाई काठमाडौंमै ल्याएर भन्सार चेकजाँच र पास गराउने कार्यकारी निर्देशक गजुरेलले बताए।
भन्सार प्रक्रियाको सहजीकरण सुख्खा बन्दरगाहमा आइसकेपछि मात्रै हुने उनले उल्लेख गरे।
‘अहिले हाम्रो जति पनि सुख्खा बन्दरगाह छन्, कि चीनको नाका कि भारतको नाकासँग छ। अहिले हामी भारतीय नाकाबाट काठमाडौं आउने सामानको भन्सार चेकजाँच यही गराउने, भन्सार पास गराउने र यहाँ त्यो सुविधा प्रदान गराउने भन्ने नै उद्देश्य हो’, उनले भने, ‘अहिले हामी भारतबाट आउने सामानहरु काठमाडौं सुख्खा बन्दरगाहमा आएर यहाँ भन्सार प्रक्रिया पुरा गरेर व्यापारी, व्यवसायीको सामानहरु कन्ज्युमरसम्म पुग्ने अवस्थाबारे सहजीकरण गराउने काम गर्छौ।’
उनले सामग्री लिएर चोभारको बन्दरगाहसम्म आउने कन्टेनरमा अहिलेको नाकाको भन्सारले सिल लगाइदिने र जिपिएस सिस्टम जडान गरेर पठाउने बताए।
यसरी सिल लगाएर र जिपिएस सिस्टम जडान गरेर पठाइएका कन्टेनरहरू सुख्खा बन्दरगाहमा आएपछि सिल र जिपिएस चेक गरेर मात्रै भन्सार पास हुने उनले स्पष्ट पारे।
‘अहिलेको हाम्रो एरेजमेन्ट चाहीँ विरगञ्जकै सुख्खा बन्दरगाहबाट मालसामान बोकेर आएको कन्टेनरमा सिल लगाइदिने, त्यसपछि जिपिएस सिस्टम जडान गरर्ने। उक्त जिपिएस सिस्टम जडान गरेर त्यहाँबाट सिल नतोडिकन जिपिएस चलिराखेको अवस्थामा चोभारको सुख्खा बन्दरगाहमा आउँछ। यहाँ आएपछि जिपिएस चेक हुन्छ। सिल चेक हुन्छ । त्यसपछि भन्सार प्रक्रिया हुन्छ । भन्सार पास हुन्छ,’ उनले भने।
बन्दरगाहमा आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधारको व्यवस्थापन भइसकेको इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए। सबै पूर्वाधारको व्यवस्थापन भइसकेकाले बन्दरगाह सहज रूपमा सञ्चालन हुने उनले बताए।
‘सुख्खा बन्दरगाह भन्न बित्तिकै मेन हामीले भन्सार चेकजाँचको फेसिटेशन गर्ने हो। आयात पनि निर्यात पनि। त्यसको लागि भन्सार प्रक्रिया पूर्ण नभइकन न आयात हुन सक्छ न निर्यात हुन सक्छ। भन्सारको सहजीकरणको लागि चाहिएको पूर्वाधार यो सुख्खा बन्दरगाहमा हुन्छ’, उनले भने, ‘कति प्रक्रिया नपुगेको, कागजपत्र नभएको त्यस्तो अवस्थामा व्यापारी, व्यवसायीले हामी केही दिनको लागि सामान स्टोर गर्छौ भन्यो भने त्यसको लागि गोदाम उपलब्ध गराउँछौँ । कन्टेनरका लागि पार्किङ यार्ड र सवारीका लागि पनि पार्किङस्थलहरु बनाएर राखेको छौँ । बैंकको लागि स्पेश दिन्छौँ । क्वारेन्टीनको लागि स्पेश दिन्छौँ । रातिको लागि लाइटिङ सिस्टम भयो, इमर्जेन्सीको लागि फायर फाइटिङ भयो । सुरक्षाको लागि सिसी क्यामेराहरु भयो, यो सबै कुरा सुख्खा बन्दरगाहमा हुन्छ र यसले भन्सार चाँज पासको लागि सहजीकरण गर्ने भयो ।’
इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले नेपालगञ्ज र रसुवाको टिम्मुरेमा पनि सुख्खा बन्दरगाह निर्माण भइरहेको बताए। मुस्ताङ र कञ्चनपुरमा पनि बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको उनले बताए।
‘चलिराखेको भनेको वीरगञ्जमा एउटा सुख्खा बन्दरगाह जुन रेलबाट जोडिएको छ। अर्को वीरगञ्ज एकीकृत जाँच चौकी। अर्को भैरहवामा सुख्खा बन्दरगाह भयो। काकडभिट्टामा पनि सुख्खा बन्दरगाह छ । र तातोपानीमा पनि सुख्खा बन्दरगाह छ। यति सञ्चालनमा भइरहेको संरचनाहरु हुन्’, उनले भने, ‘त्यो बाहेक नेपालगञ्जमा निर्माण भइराखेको छ। जुन भारत सरकारको सहयोगमा । त्यस्तै रसुवाको टिम्मुरेमापनि चीन सरकारको सहयोगमा निर्माण भइराखेको छ। अर्को कोरोलामा मुस्ताङमा पनि हामीले सम्भाव्यता अध्ययन गर्यौं र यसपालि हामी इआइए गर्दैछौँ। र विस्तृत सम्भाव्यता अध्ययन पनि गर्दैछौं।’
हाल वीरगञ्ज, भैरहवा, काँकडभिट्टा र तातोपानीमा सुख्खा बन्दरगाह सञ्चालनमा रहेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए। सञ्चालन भइरहेका बन्दरगाहलाई पनि अझ प्रविधिमैत्री रूपमा अगाडि बढाउन काम गरिरहेको उनले बताए।
‘त्यस्तै अर्को हाम्रो प्रायरोटीमा दोधारा–चाँदनी पनि छ जुन सुदूरपश्चिमको कञ्चनपुर जिल्ला अवस्थित ठाउँमा सुख्खा बन्दरगाह बनाउने भनेर लागेका छौँ । त्यहाँ हामीले जग्गा एकिन गरिसकेका छौँ । त्यहाँ बातावरणिय प्रभाव मुल्यांकनको काम सुरु गरिसकेका छौँ । टिओर स्वीकृत भइसकेको छ वन तथा वातावरण मन्त्रालयबाट’, उनले भने, ‘अरु नाकाहरु किमाथांका, जलेश्वर विभिन्न ठाउँहरुमा नयाँ बन्दरगाहहरुको आवश्यकता छ कि छैन, चाहिन्छ कि चाहिदैनँ, त्यो हिसाबले उत्तरी नाका र दक्षिणी नाका दुवैतिर हामीले अध्ययनलाई निरन्तरता दिइराखेको अवस्था छ । सञ्चालन भइराखेको जतिपनि सुख्खा बन्दरगाह छ त्यसलाई अपग्रड गर्न अध्ययन गरेर अझ प्रविधिमैत्री बनाउन काम गरिराखेको अवस्था छ।’