संखुवासभाको चैनपुरमा माटोको ढिस्कोले पुरेका दुई जना मजदुरको मृत्यु भएको छ।
बुधबार दिउँसो करिब १२ बजे चैनपुर नगरपालिका-१ नुनढाकी स्थित गुफापोखरी जाने सडकको माटोको ढिस्कोले दुई जना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।
सुनसरी धरान उपमहानगरपालिकाका ३५ वर्षीय रामकुमार राई र उदयपुर चौदण्डीगढी नगरपालिकाका २० वर्षीय हेमबहादुर मगर पुरिएका थिए। उनीहरूको मृत्यु भएको सुवेदीले बताए।
‘शव निकालेर चैनपुर अस्पतालमा पठाएका छौं। मृत्यु भइसकेको छ,’ उनले भने।
सडक छेउमा ग्याबियोन वाल राख्ने काम भइरहेको थियो। चार-पाँच जना कामदाहरूले त्यहाँ काम गरिरहँदा माटोको ढिस्को खसेको सुवेदीले बताए।
अरू कामदारहरू भागेपनि दुई जना भने भाग्न सकेनन्।
‘बाटोमा वाल लगाउने क्रममा माटोको ढिस्को खस्यो। अरू भागे दुई जना पुरिए,’ उनले भने।