काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा कार्यरत एक कर्मचारी मृत फेला परेकी छन्।
काभ्रे तेमाल गाउँपालिका घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उनी शनिबार राति पौने ८ बजे झुन्डिएको अवस्थामा फेला परेको भन्ने प्रहरीलाई खबर आएको थियो। उनी होस्टेलको स्टाफको कोठाको डबल डेकर खाटमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्।
गएराति नै शव फेला परे पनि प्रहरीले अनुसन्धान प्रक्रिया सुरू गर्न सकेको छैन।
'अनुसन्धानको प्रक्रिया नै अघि बढ्न सकेको छैन,' प्रहरी उपरीक्षक मैनालीले भने।
लकडाउनको समयदेखि झन्डै डेढ वर्षदेखि होस्टेलमा कार्यरत उनको शव अझै उठेको छैन। उनी स्कुल नजिकै दुई सय मिटर पर घरमा कोठा लिएर बसेकी थिइन्।
उनका आफन्त परिवारले उनको हत्या भएको आशंका गरेका छन्।
मृतक परिवार तथा आफन्तहरू एक सय बढी घटनास्थलमा पुगेका छन्।
अहिले अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीले परिवारसँग छलफल गर्ने प्रयास गरिरहेको मैनालीले बताए।
मृतकका मामा श्याम खत्रीका अनुसार प्रहरीले वार्ता गर्ने भने पनि हुनसकेको छैन। हत्याको आशंका गरेर निष्पक्ष छानबिन हुनुपर्ने माग रहेको उनले बताए।
'हत्या नै गरेर पछि त्यसरी राखेको हुनुपर्छ भन्ने धारणा नै छ हाम्रो। प्रशासनले हामीलाई भित्र प्रवेश गर्न पनि रोक लगाएको छ,' उनले सेतोपाटीसँग भने, 'अहिलेसम्म केही टुंगो लागेको छैन। वार्ता गर्न पनि बोलाएको छैन।'
मृतक परिवारले वार्ता टोलीमा मिडियाकर्मीहरू पनि राख्न माग गरेका छन्।
'हामीले वार्ता टोलीमा मिडियाकर्मी राख्नुपर्छ भनेका छौं। टोली पनि बनायौं तर मिडियालाई नदिने तपाईंहरूसँग मात्रै वार्ता गर्ने कुरा गरे,' उनले भने,'त्यसैले कुरा हुनसकेको छैन।'
उनका अनुसार यस घटनामा स्कुलको कुनै गल्ती नभएको भएमा मिडिया राखेर सहज वातावरण बनाइदिनुपर्ने थियो।
राति घटना भएको थाहा पाएपछि पनि घटनास्थल वरिपरिका सवारी साधनहरू सबै हटाएको उनले बताए। जसले गर्दा पनि थप शंका लागेको उनले बताए।
त्यस्तै गए राति नै शव फेला परेपछि प्रशासनले होस्टेलमा बस्ने विद्यार्थीहरूको अभिभावकलाई बोलाएर घर पठाइदिएको पनि बताए। घटनाबारे थाहा पाइसक्दा पनि स्कुलले परिवारलाई खबर नगरेको मामा खत्रीले बताए।
'उहाँहरूले घटना भएपछि यहाँ भएका होस्टेलका विद्यार्थीहरू सबैलाई अभिभावक बोलाएर पठाइदिनुभएछ। त्यो बेलासम्म हामीलाई जानकारी केही भएन। पछि हाम्री नानी किन आइनन् त भनेर जाँदा मात्रै झुन्डिएको थाहा पाएका हौं। प्रहरी प्रशासनलाई खबर गरेर स्कुलको सुरक्षा मात्रै गर्नुभयो। पीडित पक्षले न्याय पाउने कुनै पनि आधार सिर्जना गर्नुभएन,' उनले भने, 'त्यसैले हामीले शवलाई चलाएका छैनौं। चलाउन दिएको पनि छैनौं।'
उनले थपे,'घटनाबारे हामी पुगेपछि मात्रै थाहा पायौं। किन जानकारी नगराएको भनेर सोध्दा हामी आत्तियौं, डरायौं भन्ने कुरा गरेका छन्।'
प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामासहितको टोली घटनास्थलमा खटिएका छन्।
गए राति शव फेला परेपछि त्रिवि शिक्षण अस्पतालबाट फोरेन्सिक डाक्टर गोपाल चौधरी समेतको टोली खटिएको थियो।
उनले शव हेरेर गए पनि थप अनुसन्धान अघि बढ्न नसकेपछि फर्किएका थिए।