मनास्लु हिमालमा गएको हिउँ पहिरोमा परेर एक जनाको मृत्यु भएको छ।
आज दिउँसो गएको हिउँ पहिरोमा परेर क्याम्प ३ बाट क्याम्प ४ तर्फ अक्सिजनलगायत सामग्री लिएर जाँदै गरेका अनुप राईको मृत्यु भएको हो।
मनास्लु हिमाल नजिकैको बस्ती सामागाउँमा रहेकी पर्यटन विभागकी अधिकृत यशोदा अर्यालले एक जनाको मृत्यु भएको सेतोपाटीलाई बताइन्।
पहिरोमा परेर १२ जना घाइते भएका थिए। तीमध्ये ९ जनाको उद्धार गर्न बाँकी छ।
‘दुई जनालाई उद्धार गरेर हेलिकप्टरबाट काठमाडौं पठाइएको छ,’ उनले भनिन्, ‘अरूलाई उद्धार गर्न दुइटा हेलिकप्टर सामागाउँमै तयारी अवस्थामा राखिएको छ।’
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ भने ५ जना सामान्य घाइते रहेको उनले बताइन्। घाइते हुनेहरूको नाम खुलेको छैन।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९, ०८:४१:००