शनिबार बिहान उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने सशस्त्र प्रहरी बल (एपिएफ)को प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन्।
शनिबार बिहान हलचोकस्थित एपिएफको मुख्यालयमा उनले निरीक्षण भ्रमण गरेका हुन्। निरीक्षणपछि आयोजित कार्यक्रममा उनले सशस्त्र प्रहरीलाई निर्देशन दिने तालिका थियो।
मञ्चमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत उच्च अधिकृतहरू पनि उपस्थित थिए।
उक्त मञ्चमा सशस्त्र प्रहरी अधिकृतहरूका लागि र गृहमन्त्री लामिछानेका लागि छुट्टै सोफा राखिएको थियो।
सशस्त्र प्रहरी अधिकृतहरूको बीचमा गृहमन्त्री लामिछानेका लागि रातो कुसन भएको बेग्लै सोफा राखिएको थियो। छुट्टै किसिमको सोफा राखेको देखेपछि लामिछाने बसेनन् र तत्काल परिवर्तन गर्न भने।
उनले निर्देशन दिएपछि सशस्त्र प्रहरी अधिकृतहरू बसेकै खालको सोफा राखिएको हो।
सोफा परिवर्तन भएसँगै कार्यक्रम अघि बढेको हो।
यस्तै उनले सशस्त्र प्रहरी अधिकारीहरूलाई विगतका कमजोरीलाई सुधारेर लैजाने र प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शून्य कमजोरीका साथ कार्यसम्पादन गर्न पनि निर्देशन दिएका छन्।
तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुंगोला र छांगरूको कठ्यांग्रिँदो चिसोमा तैनाथ भएका अधिकृत तथा जवानहरूको बसाइका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको बताउँदै आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।