ललितपुरस्थित किष्ट शिक्षण अस्पतालमा गत असोज २२ गते एक जना बिरामीको कलेजो र मिर्गौलाको प्रत्यारोपण शल्यक्रिया सम्पन्न गरिएको थियो। चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण गरिएको हो। ३४ वर्षीय श्रीमानले उनलाई कलेजो दान दिएका थिए भने उनकी ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेकी हुन्। उक्त प्रत्यारोपणमा सहभागी भएका कलेजो प्रत्यारोपण सर्जन डा. एकानन्द सिंहको अनुभवलाई लिएर हामीले भिडिओ कुराकानी गरेका छौं।
मिर्गौला र कलेजो एकैपटक खराब भयो भने सँगै प्रत्यारोपण गर्न सकिन्छ। संसारका विकसित देशमा यो नियमित प्रक्रिया जस्तै हो। तर नेपालमा भने हुन सकेको थिएन। कलेजो प्रत्यारोपण आफैंमा जटिल काम हो। त्यसमा मिर्गौला पनि थपियो। मिर्गौला पनि जटिल प्रत्यारोपण हो। यी दुवै प्रत्यरोपणको लागि दाता चाहियो। त्यो पनि अलग अलग व्यक्ति हुनुपर्छ। त्यसैले यो लामो र जटिल प्रक्रिया हो। तर रोगको कारणले दुवै प्रत्यारोपण सँगै गरिएको हो। बिरामीलाई दुर्लभ किसिमको वंशाणुगत रोग थियो। शरीरमा अक्जोलेटको लेभल धेरै भयो भने सुरूमा किड्नी बिग्रिने र त्यसपछि शरीरको अरू अंगलाई बिगार्ने हुन्छ। साढे ३\४ वर्ष अघि हाम्रो अस्पतालमा बिरामी आउँदा किड्नीमा ढुंगाको समस्या लिएर आउनुभएको थियो। तर पछि मिर्गौलामै समस्या आयो र मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भयो।
मिर्गौला प्रत्यारोपण गर्नको लागि अरू परीक्षण गर्दा मिर्गौला खराब हुने कारण देखिएन। तर मिर्गौला खराब भएको छ। त्यसको कारण पत्ता लगाउनुपर्ने भयो। हामीले अनुसन्धान गरेपछि बिरामीलाई जन्मजात रूपमा देखिने 'हाइपरोक्सालुरिया टाइप वान' भएको पत्ता लगायौं। यसको लागि मिर्गौला प्रत्यारोपण गरेर मात्र हुँदैन भन्ने भयो। त्यसैले हामीले मिर्गौला र कलेजो एकैपटक प्रत्यारोपण गर्ने निर्णय गर्यौं। यो दुई किसिमले गर्न सकिन्छ।
सुरूमा कलेजो प्रत्यारोपण गरेर पछि मिर्गौला प्रत्यारोपण गर्न सकिन्थ्यो। तर हामीले पछिल्लो अभ्यास अनुसार सँगै प्रत्यारोपण गर्यौं। त्यस्तो गर्दा पनि पहिला कलेजोको प्रत्यारोपण गर्ने अनि मिर्गौलाको प्रत्यरोपण गर्यौं। यो अन्तर्राष्ट्रिय प्रोटोकल नै हो।
प्रत्यारोपण गर्नुभन्दा पहिला अंग दाताको र त्यसपछि बिरामीको अपरेसन हुन्छ। दाताको सबैखाले स्वास्थ्य परीक्षण गर्नुपर्छ। अरू सर्जरीमा काम नलाग्ने अंग काटेर फ्याँक्ने हो तर यस्तो बेला चाहिने अंग काटेर निकाल्ने हो। कतिपय बिरामीको सुगर, प्रेसर लगायतको कारणले दुवै अंग एकै पटक बिग्रिन सक्छ। तर यो विरलै हुने घटना हो।
अहिले बिरामीको अवस्था सामान्य छ। प्रत्यारोपण गर्दा बिरामीको अवस्था अनुसार अस्पतालमा बस्नुपर्ने हुन्छ। सामान्य बिरामीको २ देखि ३ सातामा अस्पतालबाट डिस्चार्ज हुन्छ। उहाँको पनि १९ दिनमा डिस्चार्ज भएको हो। बिरामी आफैंले खाना खाने ट्वाइलेट जान सक्नुहुन्थ्यो। त्यति ठूलो अपरेसन भएकाले केही समय लाग्नु स्वाभाविक हो। तर तीन महिनापछि उहाँले सामान्य काम गर्न सक्नुहुन्छ।
सुरूआती प्रत्यारोपण भएकाले हामी धेरै सचेत थियौं। हामीले पर्नसक्ने अप्ठ्यारो सबैलाई ध्यान दिएका थियौं। नेपालमै नभएको काम भएकाले हामीले त्यही अनुसारको प्रविधि र जनशक्ति तयारी अवस्थामा राखेका थियौं। किनकि पहिलो पटक नयाँ खालको सर्जरी गरिएकाले अरू अस्पतालबाट सहयोग पाउने सम्भावना थिएन।
प्रत्यारोपण गर्नुभन्दा पहिला अंग दातालाई काउन्सिलङ महत्वपूर्ण थियो। नेपालमा मिर्गौला प्रत्यारोपण जुन संख्यामा भएको छ कलेजोको प्रत्यारोपण निकै कम छ। त्यसैले हामीले अंग दाताको काउन्सिलिङमा ध्यान दिएका थियौं। अंग दान दिएबापत कुनै खतरा हुँदैन भनेर हामीले भनेका हुन्छौं। किनकि अंग दान गरेकै कारण कुनै जटिलता आउने रहेछ भने हामी आफैंले दान नगर्न भन्छौं।
(कलेजो प्रत्यारोपण सर्जन डा. एकानन्द सिंह किष्ट शिक्षण अस्पताल र ग्राण्डी अस्पतालमा कार्यरत छन्।)