कालीगण्डकी नदीका बगरका शालग्राम शिलामा अक्षरहरू कुँदिएका छन्। आइतबार मोहिनी एकादशीको अवसर पारेर कालीगण्डकी बचाऔं अभियान र शालिग्राम संरक्षण अभियान पर्वतले शालग्राम शिलामा अक्षरहरू कुँदन सुरू गरेको हो।
शालिग्राम शिला नदी दोहनका कारण यहाँको अस्तित्व संकटमा परेकाले शालग्राम शिला र सिंगो नदी प्रणाली बचाउन नदीका शिलाको नामांकन तथा चित्रांकन सुरू गरिएको हो।
कार्यक्रममा सयौंको संख्यामा आएका मानिसले गण्डकी स्नान गरे। उनीहरूले हरिहर नाम संकृतन गर्दै गलेश्वर धामबाट पर्वत कुश्मा बजारसँग जोडिएको मोदीवेणीधामसम्मको बागर खण्डका मुख्य धर्मघाटका शिलाहरूमा शालग्राम भगवानको विभिन्न अवतारका नाम शिलामा कुँदेका छन्।

कालीगण्डकी उत्खनन्को काम नरोकिँदा कालीगण्डकी र यसको पर्यावरण खतरामा परेको बताउँछन्, कालीगण्डकी बचाऔं अभियानका अभियान्ता आरके अदीप्त गिरी। कालीगण्डकीको चक्रांकित र निश्चक्रांकित शालग्राम शिलाको संरक्षण र नदी दोहन रोक्न यो कार्यक्रम आयोजना गरेका उनले बताए।
'कालीगण्डकी उधिनेर शिला, बालुवा–गिट्टी ओसारेको दृश्य अहिले पर्वत जलजला गाउँपालिका आसपासका बासिन्दालाई सामान्य भइसक्यो। रातभर बालुवा–गिट्टी निकाल्ने कामले नदीको बगरहरू रित्ता देखिन्छन्,' गिरीले भने, 'नदी दोहनमा विभिन्न प्रभावशाली मानिसको संलग्नता छ। स्थानीयवासीले निरन्तर खबरदारी गर्दा पनि यस्तो अवैध ठेक्कापट्टा रोकिएको छैन।'

विगत चार दशकदेखिको अव्यवस्थित विकासे गतिविधि र प्रकृति दोहनको कारण कालीगण्डकी नदी कुरूप बन्दै गएको उनी बताउँछन्।
'नदी र खोलाहरूको किनारै किनार खनिएको सडक तथा सडकसँगै आएको अव्यवस्थित सहरीकरण, जनस्वास्थ्यको ख्याल नगरी खोलिएका व्यवसाय र वातावरणीय प्रभाव मूल्यांकन बिना खुलेका उद्योगले मानव तथा प्राणीलाई जोखिममा पारेका छन्,' गिरीले भने, 'पवित्र कालीगण्डकी माताको पवित्रता र स्वच्छता जोगाउन जरूरी छ।'
विश्वभरका हिन्दूले कालीगण्डकी नदीमा मात्र पाइने शालीग्राम शिलालाई भगवान विष्णुको रूपमा पुज्दै आएका छन्। यो नदीलाई हिन्दू र बौद्धधर्मावलम्बीले पवित्र नदीका रूपमा लिने गर्छन्।
सर्वोच्च अदालतले २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन् नगर्न/नगराउन र काली नदीमाथिका सबै हस्तक्षेप बन्द गर्न आदेश दिएको छ।
'स्थानीय तहका साथै समन्वय समिति र प्रदेश समेतले यसको संरक्षण नगरेपछि नागरिक स्तरबाट हामीले अभियान थाल्न बाध्य भएका हौं,' अर्का अभियानता यज्ञबहादुर थापाले भने।
