अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथि गरिएको निलम्बन फुकुवा गरेको छ।
सोमबार बसेको १२औं केन्द्रीय कार्यसमितिको बैठकले ललितपुर जिल्ला अध्यक्ष थापालाई गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।
गत जेठमा एन्फा विधान विपरितका गतिविधि गरेको भन्दै थापालाई साधारणसम्मका लागि निलम्बन गरिएको थियो।
एन्फाको साधारण सभा आज मंगलबार हुँदैछ।
थापाले गत वैशाख २२ मा एन्फा दिवसको दिन भाइबर ग्रुपमा आक्रोशित जवाफ दिएपछि निलम्बन गरिएको थियो।
सोमबारको कार्यसमिति बैठकले कोषाध्यक्ष रविन्द्र जोशीले आर्थिक वर्ष २०७७-७८ का लागि प्रस्तुत गरेको अनुमानित ८५ करोड ६६ लाख ४२ हजार २ सय ४० रूपैयाँको बजेट तथा वार्षिक कार्यक्रम साधारण सभामा पेश गर्ने निर्णय गरेको छ।
यस्तै खोटाङ, मनाङ र नवलपरासी सुस्ता पूर्वालाई एन्फा सदस्यता प्रदान गर्न मंगलबार हुने साधारण सभामा पेश गर्ने निर्णय गरेको छ।
प्रमोद हमालको अध्यक्षतामा बनेको कर्णाली प्रदेश, लोकेन्द्र गुरुङको अध्यक्षतामा बनेको गण्डकी प्रदेश र भुपेन्द्र थापाको अध्यक्षमा बनेको लुम्बिनी प्रदेशलाई मान्यता दिने निर्णय गरेको छ।
प्रदेश संघको तदर्थ समितिहरुले विधानअनुसार ६ महिनाभित्र साधारण सभा र निर्वाचन गर्नु पर्ने प्रावधान भए पनि कोभिडको कारणले सम्भव नभएकाले म्याद थप्ने निर्णय भएको छ।
भरत बुढा थापा (जुम्ल) र बाबुकाजी बस्नेत (दोलखा) लाई सहायक महासचिव नियुक्त गरिएको छ।
राष्ट्रिय टोली तयारी समितिका संयोजक मधुसुदन उपाध्यायले प्रस्तुत गरेको खेलाडी आचार संहिता पारित गर्ने निर्णय गरिएको छ।
एन्फा विधान संसोधन सम्बन्धी विधान संसोधन मस्यौदा समितिले तयार गरेको प्रस्ताव साधारण सभानामा लैजाने पनि निर्णय भएको छ।