काठमाडौं महानगरपालिकाले आइसिसी टी-२० विश्वकप क्रिकेटमा आइतबार जारी नेपाल र इंग्ल्यान्डको खेल टुँडिखेल लगायत विभिन्न ठाउँमा प्रत्यक्ष प्रसारण गरिरहेको छ।
महानगरपालिकाले टुँडिखेल सहित तीनकुने, सिफल चउर, न्यूरोड जुद्ध शालिक अगाडि, मखन चोक, हाँडीगाउँ डबली, नन्दीकेशर बगैंचा गरी सात ठाउँमा ठूलो स्क्रिन राखेर प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गरेको हो।
भारतको मुम्बईमा भइरहेको आजको खेलमा अहिलेसम्म नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन्। उनले छैठौं ओभरको पहिलो बलमै टम ब्यान्टनलाई एलबिडब्लु धरापमा पारेका हुन्। यसअघि ४.३ ओभरमा दोस्रो विकेट लिएको थियो। नेपालका लागि नन्दन यादवले दोस्रो विकेट लिएका हुन्।
यो नन्दनको पहिलो अन्तर्राष्ट्रिय खेल हो। उनको बलिङमा इंग्ल्याडका ओपनर जोस बट्लर विकेट किपर आशिफ शेखबाट क्याचआउट भएका हुन्।
योसँगै इंग्ल्याण्डका दुवै ओपनर आउट भएका छन्।
यसअघि ओपनर फिल सल्टलाई दोस्रो ओभरको पहिलो बलमा नेपालका शेर मल्लले विकेट लिएका थिए। सातौं ओभर सकिँदा इंग्ल्याण्डले ३ विकेट गुमाएर ६४ रन बनाएको छ।
















