लेखक तथा 'फरकधार' का सम्पादक युग पाठक अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघका अध्यक्ष चुनिएका छन्।
मोरक्कोको रबातमा सम्पन्न नवौं अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो। यसअघि सन् २०१६ मा पाठक संघको उपमहासचिव निर्वाचित भएका थिए।
अधिवेशनले इजिप्टका सरिफ अल सुबासीलाई संघको महासचिव निर्वाचित गरेको छ भने मोरक्कोका अब्दरहिम अल अलाम सहमहासचिव चुनिएका छन्। उपमहासचिवमा अफ्रिका महादेशबाट नाइजेरियाका लेखक डा. ओले ओकेदिरान, एसियाबाट पाकिस्तानका इम्दाद आकाश र ल्याटिन अमेरिकाबाट कोलम्बियाका फिरान्डा रान्दोन निर्वाचित भएका छन्।
अधिवेशनलाई सम्बोधन गर्दै पाठकले विश्वकै एक सम्मानित र पुरानो संस्थाको अध्यक्ष निर्वाचित हुनु नेपालका लागि एक गौरवपूर्ण चुनौती भएको बताए। विभिन्न युद्ध र गरिबी बेहोरिरहेका तेस्रो विश्वका जनताको आवाजलाई साहित्य र सांस्कृतिक अभियानका माध्यमबाट बुलन्द गरिराख्न आफूले संस्थालाई योगदान गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।