चिकित्सा विज्ञानमा धेरै शब्दहरू अंग्रेजी भाषामा सूचना आदानप्रदान गर्दा अलि सरल र सरस हुन्छ। हृदयघात भयो रे भन्नुभन्दा हार्ट अट्याक भयो रे भनेको शब्दहरू अचेल प्राय: धेरै सुन्नमा आउँछ।
समग्र मुटु सम्बन्धी रोगलाई अंग्रेजीमा कार्डियोभास्कुलर डिजिज (मुटु अथवा रक्तनली सम्बन्धी रोग) भनिन्छ। मुटु (हार्ट) मा लाग्ने रोग धेरै प्रकारका हुन्छन्। विशेषगरि हार्ट अट्याक र कार्डिक एरेस्टले छोटो समयमा नै मानिसहरूको प्राण लिने भएकोले यसलाई प्राणघातक रोग भन्ने गरेको पनि पाइन्छ।
विश्व स्वास्थ्य संगठन सन् २०१५ को तथ्याङ्कले विश्वमा वार्षिक करिब १ करोड ७७ लाख मानिसहरू कार्डियोभास्कुलर डिजिज (मुटु रोग) बाट मर्ने गरेको देखाएको छ। यो मानव मृत्युको ३१% हिस्सा हो। त्यसकारण मुटुरोगलाई मानव मृत्युको नम्बर एक रोगका रुपमा लिइँदै आएको छ।
नेपाली समाजमा हार्ट अट्याक भन्ने रोगको बारे धेरै मात्रामा अवगत छ तर कार्डिक एरेस्ट भनेको प्राय: कम मात्रामा सुन्न पाइन्छ। धेरै मानिसलाई कार्डिक एरेस्ट भनेको के हो खासै थाहा पनि छैन। हालै मात्र माओवादी केन्द्रका युवा नेता प्रकाश दाहालको कार्डिक एरेस्टको कारणले निधन भएपछि कार्डिक एरेस्टबारे चर्चा चलेको थियो। आजको यो लेखमा हार्ट अट्याक र कार्डिक एरेस्टको बारे सक्दो जानकारी दिने प्रयास गरेको छु।
हार्ट अट्याक र कार्डिक एरेस्ट के हो?पहिला यी कुराहरु बारे जानकारी राख्नु पर्छ, हार्ट अट्याक र कार्डिक एरेस्ट बुझ्नको लागि। मुटुले शुद्ध रगत (अक्सिजन युक्त) रक्तनलीको माध्यमबाट शरीरको सम्पूर्ण तन्तुहरुमा र अशुद्ध रगत (कार्बनडाईअक्साईड युक्त) फोक्सोमा प्रवाह गर्छ। शरीरको तन्तुहरूमा जम्मा भएको अशुद्ध रगत र फोक्सोमा श्वास-प्रश्वासको प्रक्रियाबाट शुद्ध भएको रगत फेरि मुटुमा जम्मा हुन्छ।
यो दुईवटा प्रणाली पुरा हुनको निम्ति मुटु खुम्चने (कनट्रयाक्सन) र फुक्ने (रिल्याक्सेसन ) दुई ओटा प्रक्रिया हुन्छ। मुटु खुम्चँदा (सानो हुदा) मुटुबाट शरीरको भागमा रक्तनलीहुदै रक्तसंचार हुन्छ र मुटु फुक्दा (ठुलो हुँदा) शरीरको तन्तुबाट रक्तनली हुँदै मुटुमा रगत जम्मा हुन्छ। मुटुले खुम्चने र फुक्ने प्रक्रिया पुरा गर्दा एक प्रकारको ढुक्क-ढुक्क गरेर आवाज निस्कन्छ यसलाई मुटुको धड्कन अथवा हार्ट विट भनिन्छ।
तर मुटु धडकिनको लागि मुटुमा एक किसिमको विद्युतीय प्रसारण हुनु पर्दछ। यसलाई अंग्रेजी भाषामा इलेकट्रीकल कनडक्सन सिस्टम अफ दि हार्ट भनिन्छ। यो विद्युतीय तरङ्ग मुटुको सिनोएट्रीएल नोडले उत्पन्न गर्छ र यो इलेकट्रीकल सिग्नल एभी नोड हुँदै मुटुभित्र यात्रा गर्छ। मुटुको ईसीजी गर्दा इलेकट्रीकल सिग्नल उल्टो भी आकारको लाम्चो ठूलो र उल्टो यु आकारको सानो ग्राफ टिई-टिई-टिई-टिई गर्दै निस्किएको देखिन्छ। यदि इलेकट्रीकल कनडक्सन सिस्टममा कुनै खराबी आएन भने मुटुको धड्कन नियमित हुन्छ र नियमित रुपमा मुटुले ढुक-ढुक गर्दै शरीरमा रक्तसंचार गरिरहेको हुन्छ।
अब तपाईहरुले यदि मुटुमा विद्युतीय तरङ्ग प्रसारण हुदो रहेछ र यहि विद्युतीय तरङ्ग अथवा इलेकट्रीकल कनडक्सन सिस्टमले गर्दा मुटु ढुकढुक गर्छ। अनि मुटुको धड्कन नियमित हुँदा रक्तनली अथवा धमनीबाट शरीरका अंगहरूमा नियमित रक्तसंचार अथवा ब्लूड सर्कुलेसन सिस्टम हुनेरहेछ भन्ने कुरा बुझ्नुभयो भने तपाईंलाई हार्ट अट्याक र कार्डिक एरेस्ट भनेको के हो सजिलै थाहा हुन्छ।
एक लाइनमा लेख्नुपर्दा कार्डिक एरेस्ट भनेको इलेकट्रीकल कनडक्सन सिस्टममा समस्या हो र हार्ट अटाक् भनेको ब्लड सर्कुलेसन सिस्टममा समस्या हो। अब ब्याख्या गर्दा तपाईंलाई बुझ्न सजिलो हुन्छ।
कार्डिक एरेस्टअंग्रेजी भाषामा मुटु वा हृदयसम्बन्धी प्रयोग हुने विशेषणलाई कार्डिक भनिन्छ। अब एरेस्ट भनेको नेपालीमा पक्रनु अथवा गिरफ्तार गर्नु हो अथवा मुटुले आफ्नो नियन्त्रण गुमाउनु हो। अब मुटु अनियन्त्रित भए पछि मुटुको धड्कन एक्कासी अनियमित हुन्छ र बन्द हुन्छ अनि मुटुले शरीरको महत्वपूर्ण अंग जस्तै ब्रेनमा रक्तसंचार गर्न सक्दैन।
अब ब्रेनमा रगत नपुग्ने बित्तिकै मानिस बेहोस हुन्छ। बिरामीले कुनै प्रतिक्रिया नै दिँदैन, श्वासप्रश्वास गरेको पनि थाहा हुँदैन। यदि तत्कालै उपचार भएन भने केहि मिनेटभित्र नै बिरामीको मृत्यु हुन्छ। तुरुन्तै प्राण लिने रोग भएकोले यसलाई सडेन (तुरुन्तै) कार्डिक डेथ (मृत्यु) पनि भनिन्छ।
कार्डिक एरेस्ट कसरी हुन्छ?सजिलोको लागि चित्रमा हेर्नु होला। जब हार्टको इलेकट्रीकल कनडक्सन सिस्टम फेल हुन्छ अनि मुटुको तल्लो कोठा (भेनट्रीकल्स) मा एकदम कम्पन हुन्छ अथवा भेनट्रीकल्स थर-थर हल्लिन्छ। यसलाई मेडिकलको भाषामा भेनट्रीकुलर फाईब्रीलेसन भनिन्छ। जब भेनट्रीकुलर फाईब्रीलेसन हुन्छ हार्ट बिट एक्कासी अनियमित हुन्छ र बन्द हुन्छ अनि बिरामी मुर्छित हुन्छ र केहि मिनेटमा मृत्यु हुन्छ।यो रोगले आक्रमण गर्ने बिरामीको दुर्भाग्य नै भन्नु पर्छ कि कार्डिक एरेस्ट हुनु भन्दा अगाडी प्राय: आक्रमण गर्ने कुनै संकेत नै देखिँदैन र कार्डिक एरेस्ट हुने बित्तिकै बिरामी अचेत हुन्छ।
ह्रदयघात (हार्ट अट्याक) के हो, कसरी र के हुन्छ? हार्ट अट्याक भनेको ब्लड सर्कुलेसन सिस्टममा समस्या हो। मानिसको रक्तनली भित्र विभिन्न कारणबाट चिल्लो पदार्थ जमेर साँघुरो हुने गर्छ। जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा अक्सिजन पुग्दैन। जब शरीरको कुनै तन्तुमा अक्सिजनको आपूर्ति बन्द हुन्छ, त्यो तन्तुमा क्षती हुन्छ।
यदि रक्तनली पुरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा अक्सिजनको आपूर्ति ठप्प हुन्छ। मुटुमा अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिँदै गएमा मुटुको मांसपेशी मर्दछ र मुटुले नियमित रक्तसंचार गर्न छाड्छ। यो अवस्थालाई हृदयघात भएको भनिन्छ। सजिलोको लागि चित्रमा हेर्नुहोस। रक्तनलीमा अवरोध हुँदा रगत मुटुको सबै भागमा पुग्न नसकी फर्किएको छ र पर्याप्त मात्रामा अक्सिजन अपुग हुँदा मुटुमा रगतसंचार नभएको भाग खराब हुँदै गएको छ।
ह्रदयघात हुनुभन्दा अगाडि रोगको लक्षण वा प्रकृति प्रस्ट देखिन्छ। अचेल अनलाईन पत्रिकामा ह्रदयघातको लक्षण अनगिन्ती लेखेको भेटिन्छ। अध्ययनले ह्रदयघात हुदा केही यस्ता लक्षणहरू देखाएको छ।
१. छातीमा असह्य दु:खाई र पीडा हुन्छ (भ्रममा नपर्नु होला छाती दुखी हाल्दैमा ह्रदयघात भएको हुँदैन)
२. दु:खाई बङ्गारा र पाखुरातिर सर्दै जान्छ (शरीरको माथिल्लो भागतिर)
३. श्वास-प्रस्वासमा समस्या हुन्छ, श्वास लिन गारो हुन्छ
४. पसिना आउँछ
५. वाकवाकी लाग्छ
भ्रममा नपर्नु होला हृदयघात भएको व्यक्तिको मुटुको धड्कन चलिरहेको हुन्छ, बिरामी बेहोस हुँदैन, नाडी छामेर समय बर्बाद गर्नु मुर्खता हो।
हार्ट अट्याक र कार्डिक एरेस्टले मृत्युको जोखिम कति हुन्छ? यदि समयमा बिरामीको उपचार गर्नसके ह्रदयघातको जोखिम न्युन नै छ। अस्पताल पुगेका मध्ये ९०% मानिसहरु हृदयघातबाट बच्ने सम्भावना हुन्छ। कार्डिक एरेस्टबाट मृत्युको जोखिम उच्च छ।
नेपालको सन्धर्भमा हेर्ने हो भने करिब-करिब १००% नै जोखिम छ भन्दा केहि फरक नहोला। यसको लागि हालै मात्र मृत्यु भएका प्रकाश दाहालको उदाहरण लिन सकिन्छ। २-२ चोटी मुलुकको प्रधानमन्त्री भएका प्रचण्डका पुत्र अनि सुबिधा सम्पन्न राजधानीमा नै कार्डिक एरेस्टबाट मृत्यु हुनुले सामान्य पहुँच नहुने नेपालीको अवस्था र यसको जोखिम सजिलै आकलन गर्न सकिन्छ।
विकसित मुलुकजस्तै अमेरिकालाई हेर्ने हो भने, अमेरिकन हार्ट एशोसिएशन् २०१६ को तथ्याङ्कमा १२% मानिसहरू अस्पतालबाहिर कार्डिक एरेस्ट भएकोलाई बचाउन सफल भएको देखिंन्छ। त्यस्तै गरि अस्पताल पुगेका मध्ये २४.८% मानिसहरू बच्न सफल भएका छन्।