संसारै दग्ध गर्ने गरी फैलिरहेको मानवजातीकै नरसंहार गर्न उदृत कोरोना भाइरस (कोभिड-१९) हामी पृथ्वीभरीका शक्तिशाली ठानिएका राष्ट्रिय सरकारहरुकै ठूलो चुनौती बनेको छ।
डिसेम्बर २०१९ को पहिलो हप्तामा चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले आजको मितिसम्म आईपुग्दा विश्वका दुई सय राष्ट्र प्रभावित भई ४१ हजारभन्दा बढीको दुखद मृत्यु भईसकेको छ। आठ लाखभन्दा बढी संक्रमित छन् र यसलाई पराजित गर्दै एक लाख ७७ हजार ७९४ जना सकुशल आफ्नो घर फर्किसकेका छन्।
यसको रोकथाम र उपचारको लागि सबै मानवशक्ति अहोरात्र खटिएका छन्। आधुनिक विज्ञानले चन्द्रमा र मंगल ग्रहमा मानव वस्ती बसाउने कल्पना गरी अनुसन्धानकर्ता वैज्ञानिकहरु लागि रहेकै छ्न। अन्तरीक्षमा प्रक्षेपण गरिएका रकेटको माध्यमबाटै जनसाधारणले पनि व्यवसायिक उडान जस्तै दैनिक यातायातको साधन परिकल्पना गरी एक घण्टा ३० मिनेटमा अमेरिकाको न्यूयोर्क सहरदेखि नेपालको राजधानी काठमाडौंसम्मको यात्रा गर्न सकिनेबारे वैज्ञानिक खोज भईरहेको परिस्थितिमा यो अदृष्य शक्तिले मानव जीवनलाई ठूलो चुनौती दिएको छ।
हुन त प्रकृतिसँग मानवले कहिल्यै पनि जीत हासिल गर्न सकेको छैन। भूकम्प, ज्वालामुखी, बाढी पहिरो, समुद्रीआधी, सुनामी जस्ता प्राकृतिक विपत्तिहरुले हरेक वर्ष मानव संहार गरीरहेकै छ। त्यसको रोकथाम र बचाउको लागि सारा विश्वका शक्तिहरु अनुसन्धानरत नै छन् तर कहिल्यै पनि बिजयी बन्न सकेका छैनौं।
वातावरण प्रदुषणकाका कारण यस्तो जैविक आक्रमण भएको भन्ने जनमत पनि नदेखिएको हैन। ओजोन लेयर नै प्वाल परिसकेको र सूर्यको किरण प्रत्यक्ष रुपमा पृथ्वीमा पर्ने अवस्था सिर्जना भएको भन्ने पनि छन्। हिमालमा हिउँ छैन, बेमौसममा पानी, असिना पर्ने यसैको असरले पनि होला।
यस्तो विषम परिस्थितिमा हामी जस्तो अल्पविकसित मुलुकका नागरिकले के कस्तो भूमिका निर्वाह गर्न सक्छौ त? हाम्रो सरकारी प्रयास मात्र हामीलाई यस भाइरसबाट मुक्ति गर्न सक्छ त? नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, सुरक्षा निकायका तीनै संयत्र नेपाल आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी, निजामती कर्मचारी, शैक्षिक संघसंस्था, खेलकुदकर्मी, बुद्धिजिवी, सामाजिक संघसंस्थाहरु, सामाजिक अभियन्ता, मिडियाकर्मीहरु. लगायत सारा शक्तिहरु अहोरात्र इमान्दारपूर्वक आ-आफ्नो भूमिका निर्वाह गरीरहेकै छन्।
खासगरी मेडिकल साइन्सका स्वास्थ्यकर्मी साथीहरु आफूसँग प्रर्याप्त आवश्यकीय साधन श्रोत पिपिई नभए पनि ज्यान जोखिममा राख्दै बिरामीहरुको उपचारमा २४ सैं घण्टा खटिरहेका छन्। उनीहरुप्रति नतमस्तक भएर आभार पनि व्यक्त गर्न चाहान्छु, व्यक्तिगत तर्फबाट। सामाजिक सञ्जालमा व्यक्त भएका विचार, मन्दिरमा भगवान छैन सेतो कोट लगाएर भगवानको रुपमा कोभिड-१९ बाट संक्रमितहरुको सेवामा लागिरहेका छन्।
हाम्रो देशमा यो लेख तयार पार्दासम्ममा नौ जना संक्रमित भेटिएकोमा एक जना बिजयी भएर घर फर्की सकेको र आठ जना सामान्य अवस्थामा विभिन्न अस्पतालका आइसोलेसन वार्डमा कोरोनासँग संघर्षरत छन्। उनीहरुको बिजयको लागि हामी तीन करोड नेपालीको शुभकामना छ। अवस्य पनि उनीहरु बिजयी हुने नै छन्।
सामाजिक दूरी र सेल्फ क्वारेन्टाइन नै एक मात्र उपायलाई पालना गर्न नेपाल सरकारले चैत्र ११ गते गते बिहान ६ बजेबाट लागू गरेको लकडाउनको म्याद पुनः थप गरी चैत्र २५ गते राती १२ बजेसम्म बढाएको छ। यो सरकारी निर्णयलाई सबै नेपालीले मुक्तकण्ठले प्रशंसा गरेकै छन्। दैनिक जीवनमा आईपर्ने यो अवरोधले सबै नेपालीको जीउधनको सुरक्षाका साथै संक्रमण रोकथाम र नियन्त्रणको लागि संसारका सबै संक्रमित राष्ट्रका सरकार र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पालना गरेको एक मात्र प्रमुख उपाय लकडाउन नै प्रमाणित विषय भईसकेको छ।
घरभित्रै बसेर अदृष्य शक्तिसँग लडिरहेका हामी जनसाधारणले यसको नियमहरु इमान्दारपूर्वक पालना गर्नु हामी सबैको नैतिक, भौतिक, आर्थिक र राजनीतिक जिम्मेवारी पनि हो। यो अन्तर्राष्ट्रिय संकटको घडीमा विश्वका सबै मानवको अन्तर्राष्ट्रिय ऐक्यबद्धता र संगठित शक्तिले नै यस अदृष्य शक्ति कोरोनालाई परास्त गर्ने एक मात्र उपाय हो। यो दुई हप्ताको लकडाउनले पारेका र भविष्यमा पार्न सक्ने क्षतिको कहालीलाग्दो विश्लेषण अहिले नगरौं।
'स्टे याट होम, सेभ योर लाइफ' को मूलमन्त्रलाई सफल रुपले पालना गरौं। घरभित्रै कैदको अवस्थालाई पनि कसरी उत्पादनमुखी बनाउन सकिन्छ, यो समयलाई सिर्जनात्मक सदुपयोग गरौं। सरकारले लागू गरेको लकडाउनलाई बल पुर्याउन सबै नागरिकले निर्वाह गर्ने भूमिका सशक्त रुपले पालना गरौं। औषधी, खाद्यन्न, इन्धन लगायत अत्यावश्यकीय सामग्रीहरु निश्चित समयको लागि आफूलाई प्रर्याप्तभन्दा धेरै जम्मा गरी दैनिक उपभोग्य सामानहरुको उपलब्धतामा बाधा नबनौं।
चिनीया सरकार र अनुशासित नागरिकको सहयोगबाट हासिल गरेको सफलता र इटाली, स्पेन, अमेरिका जस्तो साधन सम्पन्न र शक्तिशाली देशले गरेको हेलचेक्राईको नतिजाबाट पाठ सिकौं। संक्रमणको आधीबेरी हाम्रो देशमा प्रवेश गरी नसकेको वर्तमान परिस्थितिलाई सदुपयोग गरी हुन सक्छ भने आफ्नो नजिकैको सार्वजनिक सामुदायिक भवनलाई क्वारेन्टाइन क्षेत्र बनाउन पब्लिक- प्रइभेट पार्टनरशिप मोडलमा सबैको आफ्नो शक्ति संयोजन गरी पब्लिक फन्ड पनि तैयार गरी सबैको शक्ति संचय गर्न आजैदेखि पहल गरौं।
यही नै सचेत र असल नागरिकको पहिचान पनि हुनेछ, यही नै मानव कल्याण र देशभक्ति पनि हो। कोरोना भाइरसलाई पूर्ण रुपमा परास्त गरी नयाँ वर्ष २०७७ लाई हर्षोल्लासपूर्ण रुपले स्वागत गर्न सकौँ भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछु।