मेरो करिब १० वर्ष निजामती सेवाको अन्तरालमा ७/८ वर्ष मैले उल्लिखित विषय अनुभव नगरेर नै समय व्यतित भए। पारिवारिक दायित्व र कर्तव्यहरू त छँदै नै थिए तथापि वैवाहिक जीवनपछिका भूमिकाहरू पृथक हुने रहेछन्। आफ्नो धारणाहरू र प्रकृतिकाले अनुकूलता मात्र होइन, प्रतिकूलताको सामना गर्न पनि तत्पर हुनुपर्ने रहेछ।
व्यक्तिगत जीवनका आरोह अवरोहलाई जसरी आत्मसात् गर्न सहज हुन्छ, त्यसरी नै प्रयास गरिन्छ। सामाजिक र पेसागत जीवनका उतारचढावको व्यवस्थापन कठिन नै रहेछ। एक राष्ट्रसेवक कामकाजी महिलाले आमा भएपश्चात बहन गर्नुपर्ने बहुआयामिक भूमिका त मैले भोगिरहेको भन्दा धेरै महिलाहरूले कयौं गुणा बढी भोगिरहनु भएको छ भनेर म अनुमान गर्न सक्छु।
एउटा विल्कुल भिन्न परिवेशमा हुर्किएर सक्षम भएर वैवाहिक जीवनपश्चात अलग पारिवारिक वातावरणमा प्रवेश गरेको म स्वयमले अग्रज महिलाहरूको संघर्ष परिकल्पना गरेको थिइनँ। समाजका हरेक क्षेत्रमा स्थापित भएका र उदयीमान महिलाहरूको सफलताको कथा वास्तवमा कथा होइन रहेछ। त्यो त एक हिम्मत, आँट, साहस र प्रतिवद्धताको नमुना रहेको आभास गरेको छु।
पारिवारिक जीवनमा प्रचलित प्रथा, परम्परा र संस्कारको नियमित परिपालना गर्न विविध कारणले असमर्थताको परिणामले सूजना गर्ने अनावश्यक टकराव र मानसिक तनावको स्वव्यवस्थापनको पक्ष या अमुक सदस्यका अपेक्षा अनुसारको क्रियाकलाप गर्नुपर्ने दबाबका कारण उत्पन्न तनावको व्यस्थापन यी पक्षहरू हेर्दा सामान्य देखिए पनि जटिल, व्यवहारिक पक्ष रहेछन्।
दोस्रो, मातृत्वको भूमिका एक सृष्टिदाताको रुपमा आफ्ना सन्तानको उचित स्याहारसुसार, पालनपोषण गर्ने महत्वपूर्ण अभिभारा र कर्तव्य हो। घरमा या स्याहार केन्द्रमा आफ्नो बच्चालाई छाडेर दैनिक कार्यालय जानुपर्ने आमाहरूको बाध्यता सायदै भोग्नेहरूले भनुभूत गर्नु भएकै होला जुन हाल मैले गरिरहेको छु।
'आज कस्को घरमा जानैपर्ने छ, तिम्रो अफिसमा बिदा मिलाएर बसे हुन्न?'
'आज कुन्नी के छ अलि छिटो आए हुने!'
'बच्चा छाडेर एकदिन बिदा हुँदा नि बाहिर जाने हो र?'
दैनिक यी र यस्तै प्रकृतिका अनेकन सवालहरूको जवाफ दिउँ नराम्रो भइने, नदिउँ जवाफहरू बाध्यकारी छन्। सामाजिक जीवनको सन्दर्भमा हेर्दा पनि विविध क्रियाकलापमा सक्रिय सहभागिता भएको पूर्व सन्दर्भ र त्यो सहभागिताको कमीले गर्दा व्यहोर्नु पर्ने नकरात्मक परिणामको लेखाजोखा गरी सक्नु नहुने रहेछ।
गर्भावस्था हुँदादेखि नै पेसामा आवद्ध भएको हिसावले अनेकन प्रतिकूलताहरूसँग जुध्नु पर्यो। स्वास्थ्य संवेदनशीलताप्रति नियमित रुपमा डाक्टरले सचेत गराइरहने हुनाले सामान्य घटनाक्रममा पनि डर लाग्ने रहेछ। कार्यालय र बासस्थानसम्मको दूरी टाढा भएकोले स्वयं मोटरसाइकलमा यात्रा गर्न समेत असुरक्षित हुने अवस्थालाई मध्यनजर गरी सहजताको लागि सम्बन्धित तहमा एक/दुई महिनाको लामो अनुरोधपश्चात केही व्यवस्थापनको कार्य भयो।
वास्तवमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हरेकको जीवनमा आउने यी व्यवहारिक अवस्थाहरूमा सम्बन्धित निकाय वा तह किन गम्भीर नभएको होला? आफ्नो आमा, श्रीमती, दिदीबहिनी र आफ्ना नाता सम्बन्धमा हुनेजस्तै प्रकृतिका समस्या वा जटिलताको आत्मबोध गर्न सकिन्न र?
एकै संस्था र संगठन भित्रका परिवारका सदस्यको व्यवहारिक जीवनका कठिनाइहरूमा सहानुभूति भाव प्रकट गरेबापत कसैले दण्ड, जरिवाना र कार्यसम्पादनमा अनुत्तीर्ण भएको अभिलेख मैले भेटेको छैन। प्रचलित कानुनले दिशाबोध गरेर हासिल भएका लाभहरूको उपयोग गर्ने र गराउने कार्यमा सहजता ल्याउने र सहयोग गर्ने पक्षलाई जीवन्त स्मरण गर्न सकिने रहेछ जुन मैले गर्नेछु।
सेवा क्षेत्रमा तोकिएको जिम्मेवारी बहन गर्ने जिम्मेवारीबाट टाढा नभाग्ने र जवाफदेही बन्नुपर्छ भन्ने मान्यतामा विश्वास गर्ने भएकोले कसैले नोटिस गर्यो या गरेन, कोभिड महामारी चरम अवस्थामा भएको समयमा आठ महिनाको बच्चा पेटमा बोकेर विभिन्न जिल्लामा फिल्डमा गई कार्यक्रमहरू सम्पन्न गरियो र अप्रेसनको अन्तिम हप्तासम्म पनि तत्कालीन मेरो कार्यालय राष्ट्रिय पुननिर्माण प्राधिकरणमा ऐन कानुनहरूको एकीकृत संगालो प्रकाशनको कार्य सम्पन्न गरिएको थियो।
कतिपय जटिलताहरू मातहत निकाय र तहबाट प्रदान भएको उत्प्रेरणा र हौसलाले पनि स्वतःस्फूर्त रुपमा समाधान हुने रहेछन् भन्ने विषय महसुस भएको छ। सन्तान जन्माउनु पूर्व र पश्चातको भूमिका अलग-अलग हुने रहेछ। बच्चा सानो छ भनेर दिएको जिम्मेवारीबाट पन्छन पटक्कै मन नलाग्ने तर पनि एक नवजात शिशुको आमाको रुपमा जिम्मेवारी पूरा गर्ने सिलसिला अत्यन्तै कठिन हुने रहेछ।
दिनभरि बच्चालाई छाडेर कार्यसम्पादन गरिरहँदा उसलाई दूध खान मन लागेर घाँटी सुक्यो होला, अबोध बच्चाले आमा खोई भनेर कति खोजी गर्छ होला? लगायत कुराहरूले मुटु दुखिरहेझैँ अनुभूत गर्दछु। आफ्नो स्तन फुट्लाझैँ चर्किन्छ, ज्वरो आएझैँ शरीर रन्किएर छटपटी हुन्छ अनि मेरो संगठन र संस्थासामु अनेकन प्रश्नहरू खेलिरहन्छन्।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी भएका कानुनी व्यवस्थाहरू कति कार्यान्वयन भए होलान्? कहिलेबाट हुने हो? कहाँ-कहाँ भएको होला? समस्या के हो? समधान कसरी हुन्छ? जिम्मेवारी के छ? साधन के छ? कि छैन? जस्ता सवालको खोजी गर्ने दायित्व कस्को हुने र कहिलेबाट हुने?
समयको परिपालना गर्नु हरेकको धर्म हो र प्रतिवद्ध हुँदाहुँदै पनि पालना भएन भने कारणको खोजी गर्ने कि नगर्ने? स्रोतसाधनको मितव्ययीतामा ध्यान दिनैपर्दछ तर अमूक व्यक्तिले व्यक्तिगत र पारिवारिक प्रयोजनलाई खर्च गरिरहेका स्रोत साधनलाई मितव्ययीता भन्न सकिन्छ र? तसर्थ स्रोत साधनको न्यायोचित वितरणलाई राज्यको कुनै कानुनले अवरोध सृजना गर्छ र? विभेद र अन्यायपूर्ण व्यवहारको परिणाम एकदिन आफैले भोग्नु नपर्ला भन्न सकिन्न।
यसै सन्दर्भमा स्थानीय तह निर्वाचनमा मेरो पेसागत जीवनमा पहिलो पटक अनुभव निर्वाचन अधिकृतको जिम्मेवारी लिएर जाने निर्णय गरें। नौ महिनाको बच्चा काखमा बोकेर त्यो जिम्मेवारी पूरा गर्न सहज छैन भन्ने लागेको थियो। मैले यो जिम्मेवारी लिँदै गर्दा धेरै साथीहरूले गाह्रो हुन्न? कसरी म्यानेज गर्छौ? बच्चा कसले हेर्छ? राति कसरी छाड्छौ? भन्ने जिज्ञासाहरू राख्नुभएको थियो।
वास्तवमा मेरा लागि पनि सहज थिएन। श्रीमान पनि अफिस जानुपर्ने भएकोले दिनभरि बच्चा हेर्न सम्भव थिएन। घरपरिवारमा अन्य सदस्य पनि त्यो जिम्मेवारी लिनु भन्ने पक्षमा थिएनन्। तर पनि यो महत्वपूर्ण अवसरलाई पूरा गर्छु भन्ने अठोटका साथ मेरो व्यवहारिक अवस्था सम्बन्धित पक्षलाई जानकारी गराएँ र मैले मेरो घरबाट नजिकको दूरीमा रहेको स्थानीय तहको निर्वाचन अधिकृतको रुपमा कार्यसम्पादन गर्ने ऐतिहासिक अवसर प्राप्त गरें।
निर्वाचनको सम्पूर्ण तयारीको क्रम तीव्र रुपमा चलिरहँदा मैले अपेक्षा गरेबमोजिम मेरो बच्चाको लागि सहज भने रहेन। तत्कालीन परिस्थिति र मेरो निर्धारित समयबीच कुनै एकरुपता नै रहेन। बिहानै घरबाट निस्केर बेलुका ८/९ बजे घर पुगिने अवस्था रह्यो। निर्वाचनको माहोल र उक्त जिम्मेवारीले मलाई मातृत्व पहिले कि जिम्मेवारी पहिले भन्ने यक्षप्रश्नले घोचिरह्यो।
आफ्नो जिम्मेवारी पूरा नभएको अवस्थामा मातृत्वभन्दा जिम्वारीलाई प्राथमिकता दिनुपर्ने रहेछ। यस अवस्थामा मैले आमाको कर्तव्य बिर्सेर बच्चाको अधिकारलाई कुण्ठित गरेर पीडाबोध र आत्मग्लानी महसुस गरिरहें। घरबाट भारी मनले बच्चा छाडेर निस्केपछि सुरु भएका तमाम दायित्व र जिम्मेवारीले मातृत्व नराम्ररी थिचिएको भान भयो।
निर्वाचनको मतगणना अवधि निकै चुनौतीपूर्ण र संवेदनशील थियो। कुनै पनि बेला उक्त स्थल छाड्न नहुने। करिव एक हप्ताको समय अत्यन्तै कष्टप्रद नै रह्यो हामी आमा र बच्चा दुवैका लागि। मेरो लागि खाना, बस्न र सुत्नको समय नै थिएन। त्यसले गर्दा सुरुआतमा बाबु झण्डै बिमारी नै पर्यो।
मेरो ममी मेरो सहायताका लागि आउनु भएकोले केही राहत भएको थियो। एकातर्फ आमाको रुपमा भन्दा मेरो तत्कालीन जिम्मेवारीबोधले थिचिरह्यो। हामी निश्चित समूहमा काम गर्ने भएकोले मैले उहाँहरूको निन्द्रा, भोक र प्यासको परवाह गर्ने प्रयास गर्दथेँ तर मेरो सानो काखको बच्चाको परवाह गर्नेहरूको संख्या मैले एक/दुई मात्र पाएँ जुन विषय मेरो नजरमा रहिरहनेछ।
साँझ ढल्दै गर्दा बच्चाको यादले झनै चिमोट्ने। सायद हरेक पेसाकर्मी आमाको वास्तविकता यो नै होला भनेर नियन्त्रित हुनुको विकल्प नै थिएन र छैन। सन्तानप्रतिको दायित्य र जिम्मेवारीको बहानामा अवसरबाट पछाडि हट्न उचित पनि थिएन र होइन। आम पेसाकर्मी महिलाप्रति रहेका कार्यालयीय दृष्टिकोणहरूमा परिवर्तन आवश्यक रहेछ भन्ने विषयलाई राम्ररी महसुस गर्ने अवसर प्राप्त भएको छ।
महिला स्वयं यी यावत परिस्थितिको मुकाबिला गर्दै उच्च तहमा पुग्न सफल हुनेहरूले आफ्नो विगतबाट सिकेर कति सहजीकरण गर्नु भएको छ या छैन समीक्षा गर्न आवश्यक छ। कार्यसम्पादनमा मातृत्वको प्रभाव र असरको विश्लेषण पनि एउटा पाटो नै हो। सापेक्ष नहोला भन्ने लागेको छ।
पेसागत जीवन र मातृत्वको भूमिका एकसाथ अघि बढाउने विषय व्यक्तिगत, पारिवारिक र संस्थागत समन्वय, सहकार्य र सहयोगको महत्वपूर्ण भूमिका रहने पर्याप्त अनुभव गर्ने अवसर प्राप्त भएको छ। संस्थाभित्र रहेका भिन्न पात्रहरूलाई समष्टि रुपमा परिभाषित गर्ने र उदाहरणको रुपमा पेश गर्ने संस्कार हाबी हुँदै गरेको आभाष भएको छ। यसले समभाव र समन्याय प्रदान गर्न नसक्ने विषयप्रति सोच्न आवश्यक देखिन्छ।
(लेखक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबारकी उपसचिव हुन्।)