फिनटेक शृंखला– २
सन् २०१२ तिरको कुरा हो, आजभन्दा १४ वर्षअघि।
मलेसियाको राजधानी क्वालालम्पुरमा ट्याक्सी पाउन सजिलो थिएन। कुनै समयको काठमाडौंमा जस्तै ट्याक्सीहरू मिटरमा जान मान्थेनन्, 'बार्गेनिङ' गर्थे।
अनि काठमाडौंभन्दा एउटा कुरा थप खराब थियो— मलेसियामा ट्याक्सीहरू असुरक्षित पनि हुन थालेका थिए।
त्यो समय क्वालालम्पुरको ट्याक्सी सेवाबारे अन्तर्राष्ट्रिय मिडिया र यात्रा–वेबसाइटहरूमा पनि धेरै आलोचना हुन्थ्यो। यात्रु ठगिने, बाटो घुमाइने, चालकको पहिचान स्पष्ट नहुने र सुरक्षा सम्बन्धी जोखिमका रिपोर्टहरू आइरहन्थे। खासगरी साँझपख वा अपरिचित ठाउँमा ट्याक्सी चढ्दा धेरै यात्रु ढुक्क हुन सक्दैनथे।
मलेसियाको यही अस्तव्यस्त र असुरक्षित सडकभन्दा हजारौं माइल टाढा अमेरिकाको हार्वर्ड बिजनेस स्कुलमा पढ्दै थिए — एन्थोनी ट्यान।
चिनियाँ मूलका मलेसियाली व्यवसायी घरानाका सदस्य एन्थोनीलाई क्वालालम्पुरको ट्याक्सी समस्या र त्यससँग जोडिएर आउने खराब छविले पिरोलिरहेको थियो।
ट्याक्सीको त्यो झन्झट र असुरक्षालाई प्रविधिको जुक्ति प्रयोग गरेर घटाउन सकिन्छ भन्ने उनले सोचे।
उनले हार्वर्डमा पढ्ने आफ्नी साथी ट्यान हुई लिङसँग मिलेर एउटा एपको अवधारणा बनाए— माई ट्याक्सी (MyTeksi)।
उद्देश्य धेरै सरल थियो— यात्रुले मोबाइलबाट नजिकको ट्याक्सी बोलाउन सकून्, चालकको पहिचान स्पष्ट होस्, यात्राको विवरण ट्र्याक गर्न सकियोस् र यात्रा तुलनात्मक रूपमा सुरक्षित होस्।
विश्वभर त्यही बेला प्रविधिको नयाँ लहर फैलिँदै थियो। राइड हेलिङको युग सुरू हुँदै थियो। अमेरिकामा 'उबर' ले आफ्नो विस्तार सुरू गरिसकेको थियो।
नेपालमा त त्यस्तो एप धेरै टाढाको कुरा थियो। नेपालमा 'टुटल' ले सन् २०१७ मा काठमाडौंमा राइड–सेयरिङ सेवा सुरू गर्यो। 'पठाओ' त्यसको एक वर्षपछि, सन् २०१८ सेप्टेम्बरमा नेपाल आएको हो।
मलेसियाका एन्थोनी भने सन् २०१२ मै विश्वव्यापी लहर र आफ्नो देशको असुरक्षित सडक प्रणालीबीचको खाडल प्रविधिले पुर्ने प्रयास गरिरहेका थिए।
त्यही प्रयासमा 'माई ट्याक्सी' जन्मियो।
अब समयको सुई १४ वर्ष फास्ट–फर्वार्ड गरौं!
सन् २०२६ मा आइपुग्दा, ट्याक्सीको समस्या सुल्झाउन हिँडेका एन्थोनी ट्यान दक्षिणपूर्वी एसियाको विशाल डिजिटल वित्तीय इकोसिस्टमका संस्थापक बनिसकेका छन्।
एन्थोनीको यो डिजिटल साम्राज्यको जन्म ट्याक्सी एपका रूपमा मलेसियामा भएको थियो। विस्तार र संस्थागत आधार भने सिंगापुरमा खडा भयो।
माई ट्याक्सी मलेसियामा लोकप्रिय हुँदै गएपछि कम्पनीले दक्षिणपूर्वी एसियाभर विस्तारको बाटो समायो। मलेसियामा आवश्यक नीति समर्थन, लगानी वातावरण र क्षेत्रीय विस्तारका लागि चाहिने नियामकीय स्पष्टता पर्याप्त मात्रामा थिएन।
उता सिंगापुरले प्रविधि कम्पनीहरूलाई लगानी, प्रतिभा र नियामकीय पूर्वानुमानयोग्यताको राम्रो वातावरण उपलब्ध गराउँदै थियो।
सिंगापुरको यही वातावरणले एन्थोनीलाई क्षेत्रीय कम्पनी बनाउने आधार दियो। सिंगापुरमा आधारित लगानीकर्ताहरू, उद्यम पुँजी र प्रविधिमैत्री नीतिगत वातावरणले एन्थोनीको सोचलाई ठूलो बनाउने अवसर दियो।
अनि माई ट्याक्सी विस्तार हुँदै सिंगापुरमा बन्यो— ग्राब (Grab) होल्डिङ्स इंक।
ग्राब सिंगापुर र दक्षिणपूर्वी एसियाका अरू बजारमा विस्तार हुँदै गयो। सिंगापुरको ट्याक्सी प्रणाली क्वालालम्पुरजस्तो अस्तव्यस्त त थिएन। तर मोबाइल एपबाट सजिलै ट्याक्सी बोलाउने र प्रयोगकर्ताको अनुभव सरल बनाउने सेवा त्यहाँ लोकप्रिय हुँदै गयो।
ग्राब सुरू भएपछि यात्रु र चालक दुवैले अर्को व्यावहारिक समस्या भोगे— नगद पैसा, खुद्रा रकम र भुक्तानीको झन्झट।
कहिले यात्रुसँग चानचुन पैसा नहुने, कहिले चालकसँग फिर्ता दिने पैसा नहुने। यसले यात्राको अन्तिम क्षणमा असहजता पैदा गर्थ्यो। कहिलेकाहीँ चालक र यात्रुबीच खटपट नै पर्थ्यो।
सधैं समस्या समाधानमा ध्यान केन्द्रित गर्ने एन्थोनीले यसको पनि बाटो खोजे।
सन् २०१६ मा ग्राबले 'ग्राबपे' (GrabPay) लाई आफ्नो इन–एप मोबाइल भुक्तानीका रूपमा विस्तार गर्यो। त्यसबाट यात्रुले सहजै अनलाइन भुक्तानी गर्न पाए।
त्यसै वर्ष नोभेम्बरमा 'ग्राबपे क्रेडिट्स' नामको नगदरहित, स्टोर्ड–भ्यालू भुक्तानी सुविधा थपियो।
यसको लक्ष्य यात्रा सहज बनाउनु थियो— यात्रुले एपमा पैसा राखून् र ट्याक्सीको भुक्तानी नगदबिनै गर्न सकून्।
ग्राबपेको जन्मबारे एन्थोनीले पछि 'द बिजनेस टाइम्स' सँगको कुराकानीमा भनेका छन्, 'हामीले यस्तो ड्राइभर वालेट बनायौं, जसबाट यात्रुले नगद नतिर्ने भन्ने हुँदैन थियो।'
उनको भनाइले देखाउँछ— ग्राबका लागि भुक्तानी सेवा केवल सुविधा थिएन; यो चालकको सुरक्षासँग जोडिएको समस्या समाधान गर्ने उपाय पनि थियो।
ट्याक्सी एपका रूपमा सुरू भएको ग्राबको यहीँबाट वित्तीय यात्रा पनि सुरू भयो।
कम समयमै ग्राबपेको असली जादु देखिन थाल्यो। ट्याक्सीको पैसा तिर्ने माध्यमबाट बनेको ग्राबपे बिस्तारै खाना अर्डर, सामान डेलिभरी, खुद्रा पसल र अन्य दैनिक कारोबारको भुक्तानीसँग जोडिन थाल्यो।
परम्परागत बैंकहरू र ग्राहकको महिनामा एक–दुई पटक मात्र प्रत्यक्ष रूपमा 'भेट' हुन्थ्यो — तलब आउँदा, पैसा झिक्दा वा कुनै ठूलो कारोबार गर्दा।
तर ग्राब र ग्राबपेको आफ्ना ग्राहकसँग दिनमै धेरै पटक सम्पर्क हुन थाल्यो— अफिस जाँदा, खाजा अर्डर गर्दा, सामान पठाउँदा वा कुनै सेवा प्रयोग गर्दा।
यसरी ग्राबसँग ग्राहकको दैनिक व्यवहार, खर्च गर्ने बानी, यात्राको नियमितता, चालकहरूको काम गर्ने शैली, व्यापारीहरूको कारोबार र भुक्तानी अनुशासनबारे फरक किसिमको तथ्यांक जम्मा हुन थाल्यो।
यो तथ्यांक परम्परागत बैंकसँग हुने बैंकिङ तथ्यांकभन्दा फरक थियो। बैंकसँग ग्राहकको निक्षेप, कर्जा र औपचारिक कारोबारको विवरण हुन्थ्यो। ग्राबसँग ग्राहक र साना व्यवसायीहरूको दैनिक जीवनको व्यावहारिक तथ्यांक थियो।
यो नै ग्राबको ठूलो पुँजी बन्यो।
दक्षिणपूर्वी एसियाका धेरै मानिसहरू परम्परागत बैंकिङ प्रणालीका लागि 'अदृश्य' थिए। बैंकले ऋण दिन माग्ने औपचारिक 'क्रेडिट हिस्ट्री' उनीहरूसँग हुन्थेन।
ग्राबसँग भने उनीहरूको 'ग्राब हिस्ट्री' थियो। उनीहरू कति नियमित काम गर्छन्, कति कमाउँछन्, कति र कसरी खर्च गर्छन् र कति विश्वसनीय छन् जस्ता सबै वित्तीय व्यवहारको रेकर्ड थियो।
नेपालमा आज पनि साना व्यापारी, ट्याक्सी चालक वा गिग–वर्करले बैंकबाट ऋण लिनुपर्यो भने ठूलै कसरत गर्नुपर्छ। किनभने, हाम्रा बैंकहरूसँग उनीहरूको औपचारिक 'क्रेडिट हिस्ट्री' हुँदैन। अनि ऋण चाहिएका यो वर्गका मानिसहरूसँग हतपत अचल सम्पत्तिको धितो हुँदैन।
सिंगापुरमा ग्राबले यही 'ग्याप' पूरा गरेको थियो— ऊसँग यस्ता 'अदृश्य' मानिसहरूको वित्तीय व्यवहारको विवरण थियो।
ग्राबले यही तथ्यांक प्रयोग गरेर आफ्ना चालक, व्यापारी र प्रयोगकर्ताका लागि वित्तीय सेवा विकास गर्न थाल्यो। उसले उनीहरूको काम गर्ने शैली र कारोबारको नियमितता हेरेर छिटो डिजिटल मूल्यांकन गर्ने र साना कर्जा तथा अन्य वित्तीय सुविधा उपलब्ध गराउने बाटो खोल्यो।
त्यसपछि ग्राबले डिजिटल बैंकको लाइसेन्सका लागि सिंगापुरको केन्द्रीय बैंकमा निवेदन दियो।
सन् २०२० डिसेम्बरमा सिंगापुरको केन्द्रीय बैंक, मनिटरी अथोरिटी अफ सिंगापुर (MAS) ले ग्राब र टेलिकम कम्पनी सिंगटेलको साझेदारी कम्पनी 'जिएक्सएस बैंक (GXS Bank)' लाई पूर्ण डिजिटल बैंकको लाइसेन्स दिने निर्णय गर्यो।
लाइसेन्स पाएपछि सिंगापुरको टेलिकम जायन्ट सिंगटेलसँग सहकार्य गर्दै ग्राबले जिएक्सएस बैंक अघि बढायो। सन् २०२२ मा जिएक्सएसले सिंगापुरमा आफ्नो पहिलो डिजिटल बैंकिङ उत्पादन सार्वजनिक गर्यो।
यो डिजिटल बैंक अरू स्थापित बैंकझैं ठूला भवन र शाखाबाट होइन, ग्राहकको मोबाइलबाट चल्छ। यसले बचत खाता, सरल रूपमा साना कर्जा र डिजिटल वित्तीय सेवाहरू उपलब्ध गराउँछ।
यसको लक्ष्य खासगरी त्यस्ता ग्राहक हुन्, जो पूर्ण रूपमा परम्परागत बैंकिङ प्रणालीमा समेटिएका छैनन्— साना उद्यमी, गिग–वर्कर साना उद्यमी, युवा ग्राहक, डिजिटल इकोसिस्टमसँग जोडिएका मानिस।
जिएक्सएस आज सिंगापुरका परम्परागत ठूला बैंकहरू— डिबिएस, ओसिबिसी वा युओबी जत्तिको पक्कै बनेको छैन। नाफा कमाउने पनि भइसकेको छैन। अझै विस्तारकै चरणमा रहेको डिजिटल बैंक हो।
तर यसले आफ्नो पखेटा फिँजाउन थालेको आर्थिक तथ्यांकले देखाउँछ।
सन् २०२५ मा जिएक्सएस समूहको निक्षेप २.३ अर्ब सिंगापुर डलर पुगेको थियो। यो अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशत बढी हो। यसको कर्जा क्षमता करिब १ अर्ब सिंगापुर डलर पुगेको थियो।
जिएक्सएस तीव्र विस्तारको चरणमा छ र परम्परागत बैंकहरूका लागि प्रतिस्पर्धी बन्दैछ। यसले भुक्तानी, वालेट, डिजिटल बैंकिङ, व्यापारी सेवा र प्लेटफर्ममा आधारित वित्तीय उत्पादनमार्फत परम्परागत बैंकिङलाई चुनौती दिएको छ।
तर ग्राबले कतिपय ठाउँमा बैंकिङ प्रणालीसँग साझेदारी गरेर नयाँ ग्राहकसम्म पुग्ने बाटो पनि खोलिदिएको छ।
अर्थात् यसले बैंकहरूसँग प्रतिस्पर्धा मात्र गरेको छैन, सहकार्य पनि गरेको छ।
र, यही नै आधुनिक वित्तीय संसारको महत्त्वपूर्ण पाठ हो— सहकार्य (Cooperation) र प्रतिस्पर्धा (Competition) — सँगसँगै अघि बढ्ने 'को–अपिटिसन' (Co–opetition)।
'अदृश्य' बैंकको उदय र नियामकको साहस
सिंगापुरमा ग्राबको उदय हुनुका पछाडि एक प्रतिभाशाली उद्यमीको मात्र हात छैन। नयाँ विचार, प्रविधि र नवप्रवर्तनलाई राज्य र नियामकले सावधानीपूर्वक तर खुला मनले हेर्ने र अपनाउने संस्कृतिको पनि ठूलो भूमिका छ।
ग्राबको उदयमा सिंगापुरको केन्द्रीय बैंक, एमएएसले ठूलो भूमिका खेलेको छ। एउटा ट्याक्सी एपबाट सुरू भएको कम्पनीलाई आर्थिक कारोबार गर्न दिनु सानो निर्णय होइन। झन् पछि गएर डिजिटल बैंकको लाइसेन्स दिने निर्णय त अझ ठूलो नीतिगत प्रयोग थियो।
यसले स्थापित बैंकहरूलाई असहज बनाउन सक्थ्यो। उनीहरूले नयाँ प्रतिस्पर्धी आएको महसुस गर्न सक्थे। तर एमएएसले ग्राब र फिनटेकलाई पुराना बैंक विस्थापित गर्ने परियोजनाका रूपमा होइन, वित्तीय प्रणालीमा नवप्रवर्तन, प्रतिस्पर्धा र समावेशी पहुँच थप्ने अवसरका रूपमा हेर्यो।
सन् २०२० मा डिजिटल बैंकको लाइसेन्स घोषणा गर्दा एमएएसका तत्कालीन प्रबन्ध निर्देशक रवि मेननले भनेका थिए, 'नयाँ डिजिटल बैंकहरू पुराना बैंकहरूसँगै फस्टाउने र उनीहरूले उद्योगको मानक माथि उठाउने अपेक्षा छ।'
पर्याप्त सेवा नपाएका व्यवसायी र व्यक्तिसम्म गुणस्तरीय वित्तीय सेवा पुर्याएर डिजिटल बैंकहरूले मद्दत गर्ने पनि उनले बताएका थिए।
रविको नेतृत्वकालमा एमएएसले फिनटेकको जोखिम र सम्भावना बुझ्यो, तर प्रयोगमाथि बन्देज लगाएन। बरू सुरक्षाको उपाय खोज्यो।
सन् २०१६ मै एमएएसले 'फिनटेक रेगुलेटरी स्यान्डबक्स' (Fintech Regulatory Sandbox) ल्याएको थियो। यसको उद्देश्य वित्तीय संस्था र फिनटेक कम्पनीहरूले सीमित दायराभित्र नयाँ उत्पादन र सेवा परीक्षण गर्न सकून् भन्ने थियो।
यसको मूल सोच पनि सरल थियो— नयाँ प्रविधि आएपछि नियामकले 'हुँदैन' भनेर ढोका बन्द गर्ने होइन; बरू जोखिम सीमित घेराभित्र राखेर परीक्षण गर्ने, सिक्ने र त्यसपछि नियम बनाउने।
यसले प्रयोग र नवप्रवर्तनको नयाँ ढोका खोल्यो।
ग्राबले डिजिटल बैंकको लाइसेन्स पाउनु पनि यही व्यापक नीतिगत वातावरणको परिणाम थियो।
यसले सिंगापुरका पुराना बैंकहरूलाई पनि स्पष्ट सन्देश दियो— बैंकिङको भविष्य केवल शाखा, भवन र काउन्टरमा सीमित छैन। ग्राहकको मोबाइल, प्लेटफर्म, डेटा र डिजिटल अनुभवमै अब प्रतिस्पर्धा हुनेछ!
रवि मेननले सन् २०१७ मा भएको सिंगापुर फिनटेक फेस्टिभलमा भनेका थिए, 'वित्तीय संस्था र फिनटेक स्टार्टअपहरूबीच प्रतिस्पर्धा मात्र होइन, सहकार्य पनि हुनुपर्छ। फिनटेकले दक्षता बढाउन, जोखिम राम्रोसँग व्यवस्थापन गर्न, नयाँ अवसर सिर्जना गर्न र मानिसहरूको जीवन सजिलो बनाउन सहयोग गर्नुपर्छ।'
सिंगापुरमा केन्द्रीय बैंकले गरेको प्रयोगसँगै त्यहाँको सबभन्दा ठूलो बैंक 'डिबिएस' (DBS) ले पनि प्रविधि र परिवर्तनलाई गम्भीरतापूर्वक लियो।
सिइओ पियुष गुप्ताको नेतृत्वमा डिबिएसले आफूलाई परम्परागतबाट प्रविधिमैत्री बैंकमा रूपान्तरण गर्ने अभियान अघि बढायो। आफूलाई 'डिजिटल टू द कोर' बनाउने प्रयास गर्यो।
डिबिएसको डिजिटल रूपान्तरणमा ग्राब एक्लैको भूमिका थिएन। ग्राहकको बदलिँदो अपेक्षा, प्रविधिको तीव्र विकास, अलिबाबा र अन्य ठूला प्रविधि कम्पनीहरूबाट आएको चुनौती र फिनटेकको उदय पनि थियो।
तर ग्राब जस्ता कम्पनीले सिंगापुरमा एउटा खतराको सन्देश पक्कै दिएका थिए — अब बैंकले बैंकजस्तै मात्र सोचेर पुग्दैन। प्रविधि कम्पनीजस्तै छिटो, चुस्त र ग्राहक–केन्द्रित भएर सोच्नुपर्छ।
पियुषले बैंकिङलाई सबभन्दा बढी डिजिटलाइज गर्न सकिने उद्योग भनेका छन्। टेलिकम, यातायात र खुद्रा व्यापार सबै बदलिँदै गर्दा बैंकिङ त्यसबाट अछुतो रहन नसक्ने बताएका छन्। र, स्मार्टफोनका कारण ग्राहक अब बैंकलाई नै आफ्नो खल्तीमा बोकेर हिँड्न सक्ने अवस्थामा पुगेको पनि भनेका छन्।
आधुनिक वित्तीय संसारको सार समेट्ने गरी धनाढ्य बिल गेट्ससँग जोडिएको एउटा प्रसिद्ध भनाइ छ— भोलि पनि बैंकिङ आवश्यक हुन्छ, तर बैंकहरू आवश्यक नहुन पनि सक्छन्।
मानिसलाई पैसा राख्न, तिर्न, सापटी लिन, बीमा गर्न र लगानी गर्न सेवा चाहिन्छ। तर ती सेवा सधैं परम्परागत बैंक भवनबाटै लिनुपर्छ भन्ने छैन। मानिसहरू त्यस्ता सेवा लिन सधैं बैंक नै धाउँछन् भन्ने पनि छैन।
ग्राबको कथा यही परिवर्तनको ज्वलन्त उदाहरण हो। ट्याक्सी बोलाउने एपले ग्राहकको दैनिक जीवनमा यति धेरै स्थान पायो कि, त्यसैबाट भुक्तानी, बचत, कर्जा र वित्तीय सेवा दिन सम्भव भयो।
नेपालका लागि पाठ
सिंगापुरमा ग्राबको कथा र त्यहाँको केन्द्रीय बैंकले गरेको प्रयोगबाट नेपालले कम्तीमा तीन वटा पाठ सिक्न सक्छ भन्ने हामीलाई लाग्छ।
पहिलो — नेपाल राष्ट्र बैंकले फिनटेक कम्पनीहरूलाई नयाँ प्रयोगका लागि नियन्त्रित तर खुला बाटो दिनुपर्छ।
यसको अर्थ पक्कै पनि जोखिम नहेरी सबैलाई खुला छाड्ने होइन। उपभोक्ता संरक्षण, डेटा गोपनीयता, साइबर सुरक्षा, केवाइसी र वित्तीय स्थायित्व बलियो राख्दै नियामक स्यान्डबक्स, पाइलट प्रोजेक्ट र बैंक–फिनटेक साझेदारीलाई स्पष्ट नियमभित्र प्रोत्साहन गर्नुपर्छ।
केन्द्रीय बैंकले यो साझेदारी अघि बढाउन पहल गर्नुपर्छ, नेतृत्व लिनुपर्छ।
दोस्रो, बैंकहरूको प्रतिस्पर्धा अब अर्को बैंकसँग मात्र छैन। ग्राहकको मोबाइलमा हुने एपसँग छ। त्यो चुनौतीको विषय हो, अवसर पनि हो।
चुस्त फिनटेक कम्पनीहरूसँग सहकार्य गरेर बैंकहरूले आफ्नो लगानी विस्तार गर्न सक्छन्। उनीहरू ती ग्राहकसम्म पुग्न सक्छन्, जो बैंकको ढोका ढकढक्याउन हतपत आउँदैनन्।
तेस्रो, नेपालका फिनटेक कम्पनीहरू अहिले पनि मुख्य रूपमा पैसा तिर्ने वा सार्ने माध्यमका रूपमा काम गरिरहेका छन्।
तर अब त्योभन्दा अगाडि कसरी बढ्ने, कसरी बैंकहरू नपुगेका ग्राहकसम्म पुग्ने, साना व्यापारी, यातायातकर्मी, गिग–वर्कर, किसान, घरेलु उद्यमी र असंगठित क्षेत्रका कामदारलाई डिजिटल तथ्यांकका आधारमा वित्तीय प्रणालीमा कसरी जोड्ने, बैंकहरूसँग कसरी साझेदारी गर्ने र नियामक निकायलाई यो नयाँ साझेदारीका लागि सुरक्षित वातावरण बनाउन कसरी विश्वास दिलाउने भन्ने काम पनि गर्नुपर्छ।
नेपालले सबै नागरिकको वित्तीय पहुँच बढाउने र समावेशी आर्थिक उन्नति गर्ने हो भने डिजिटल माध्यमबाट वित्तीय समावेशीकरणलाई तीव्र गतिमा विस्तार गर्नुपर्छ।
त्यो विस्तार हतारमा, जोखिम नहेरी होइन, नियमन, नवप्रवर्तन र सहकार्यको सन्तुलन मिलाएर गर्नुपर्छ।
सिंगापुरले यही गर्यो।
ग्राबले त्यही अवसर चिन्यो।
अनि एउटा ट्याक्सी एप विस्तार हुँदै डिजिटल वित्तीय साम्राज्यको आधार बन्यो।
सिंगापुरको केन्द्रीय बैंकले देखाएको साहस र ग्राबको सफलता नेपाली बैंक, फिनटेक र नियामकका लागि एउटा प्रेरणादायी कथा हो।
बैंकहरूसँग थुप्रिएको १२ खर्ब कसरी लगानी गर्ने, कसलाई ऋण दिने?