सहिदको कथा
भदौ २४ गते दिउँसोको कुरा हो।
अम्मरराज धामी आफ्नो घरायसी काममा व्यस्त थिए, त्यति बेलै उनको फोन बज्यो।
आफन्तको नम्बर देखेपछि काम गर्दैगर्दै उठाए।
'हेलो, भीमराजलाई गोली लागेको हो?'
आफन्तको यो कुरा सुनेर उनी झस्किए। आफूलाई केही जानकारी नभएको भन्दै हतार हतार फोन काटिदिए।
उनलाई त्यति बेलासम्म भाइ (भीमराज धामी) आन्दोलनमा गएको थाहा पाएका थिएनन्।
अम्मरले भाइको अवस्थाबारे बुझ्न तत्काल कीर्तिपुर नगरपालिका–४ मा बस्ने बुहारी, आमासहित अन्य आफन्तलाई फोन गरे। तर कसैले उठाएनन्।
सामाजिक सञ्जालमा केही युवाहरूलाई गोली लागेको खबर आइरहेको थियो। उनले भाइलाई गोली लागेको कुरा झुटो भइदिए हुन्थ्यो भनेर भगवानको नाम जपिरहे।
चार बज्दा नबज्दै भाइलाई गोली लागेर बल्खुस्थित बयोधा अस्पताल लगिएको अम्मरले थाहा पाए।
उनका अनुसार अघिल्लो दिन (२३ गते) युवाहरूमाथि गोली चलाएको भन्दै २४ गते भीमराज प्रदर्शनमा गएका थिए। प्रदर्शन क्रममा कीर्तिपुर–बल्खु हुँदै प्रहरी वृत्त कालिमाटी पुग्दा गोली लागेछ।
त्यो दिन १२ बजेतिर भीमराज र उनका साथीहरू प्रहरी वृत्त कालिमाटी पुगेका थिए। प्रदर्शन क्रममा साढे १२ बजेतिर गोली लागेको भाइको साथीले अम्मरलाई बताएका हुन्।
'प्रदर्शन भइरहँदा एक्कासि तोडफोड हुन थाल्यो। प्रहरीले कहाँबाट गोली चलायो, हामीलाई थाहै भएन,' भीमराजका साथीको भनाइ उद्धृत गर्दै अम्मरले भने, 'भीमराजसँगै अन्य दुई जना पनि गोली लागेर ढलेका थिए।'
प्रदर्शनमा सँगै निस्किएका भीमराजका साथीले अस्पताल पुर्याएका थिए। छातीमा गोली लागेकाले बचाउन नसकिएको सोही साँझ नै चिकित्सकहरूले अम्मरको परिवारलाई बताए।
घटना भएको ६ महिना बितिसक्दा पनि उनको परिवारले त्यो दिन बिर्सिन सकेको छैन।
'जब जब भाइको बालख छोरा देख्छु, उसको यादले मुटु भक्कानिन्छ,' अम्मर भन्छन्।
भीमराज र हेमन्ती विष्टको डेढ वर्षअघि बिहे भएको थियो। असारमा उनीहरूको पहिलो सन्तानको जन्म भएको थियो।
बुढेसकालमा नातिको हेरचाह गर्न काठमाडौं आएकी आमाले छोटो समयमै फेरि ठूलो चोट सहनुपरेको अम्मरले बताए।
'बुबा बितेको तीन वर्षमै भाइलाई पनि गुमाउनुपर्यो,' अम्मरले भने, 'बिस्तारै घाउ निको हुँदै थियो, फेरि अर्को थपियो।'
बझाङको दुर्गाथली गाउँपालिका–१ घर भएका २८ वर्षीय भीमराजले विज्ञान विषय लिएर प्लस–टू १२ पढेका थिए। त्यसपछि थप पढेनन्।
अम्मरका अनुसार भीमराज प्लस–टू सक्नासाथ कोरिया जान चाहन्थे। त्यही अनुसार मेहनत पनि गरे। तर नाम निस्किएन। भिसा नआएपछि स्वदेशमै व्यवसाय गर्ने सोचे।
२०७५ सालमा कीर्तिपुर नगरपालिका–४ मा १० रोपनी जग्गा भाडा लिएर उनले कृषि फर्म खोलेका थिए।
उक्त फर्ममा सबै दाजुभाइको लगानी छ। भीमराज, उनकी श्रीमती हेमन्तीसहित परिवारै निरन्तर त्यहीँ खटिन्थे।
'भाइको व्यवसाय र व्यक्तिगत जिन्दगी भर्खर फुल्दै थियो। फक्रिन नपाई झर्यो,' अम्मरले भने, 'भर्खर जन्मेको बच्चाले बुबाको अनुहार समेत देख्न पाएन। सँगै जिन्दगी बिताउने सपना देखेकी बुहारीले डेढ वर्षमै श्रीमान गुमाउनुपर्यो।'
सुपारीदेवी र भक्तबहादुरका ८ सन्तानमध्ये भीमराज कान्छा थिए।
आमा सुपारीदेवीले समेत भीमराजलाई आन्दोलनमा नजान भनेकी थिइन्। तर देशमा भ्रष्टाचार बढ्यो, बोल्नुपर्छ भन्दै हिँडेका थिए।
'देशमा यति ठूलो घटना भयो। तर ६ महिना नपुग्दै सत्तामा बस्ने र जेनजी आन्दोलनको अगुवाइ हुँ भन्नेहरूले बिर्सिए। सत्ता र शक्तिको पछाडि दौडिरहेका छन्,' अम्मरले भने, 'जसले परिवारका सदस्य गुमाए, उनीहरूले बाहेक अरूले जेनजी आन्दोलन बिर्सिसके।'
आफ्नो भाइले देशमा परिवर्तन ल्याउन दिएको बलिदान खेर जान दिन नहुने उनी बताउँछन्।
'देश परिवर्तन गर्न ज्यान गुमाएकाहरूले चाहेजस्तै देश बन्नुपर्छ,' अम्मरले भने, 'जसले अभिभावक गुमाएका छन्, उनीहरूका लागि देशले त्यो जिम्मेवारी पूरा गरिदिनुपर्छ।'
***