सहिदको कथा
भदौ २४ गते सवा २ बजेको थियो।
२२ वर्षीया शीतल पौडेल (सिता) भान्साको काम गर्दै थिइन्। डेराबाट १०/१५ मिनेट लाग्ने दुरीमा उनीहरूको सपनाको घर बन्दै थियो।
उनीहरूको सपनाको घर बन्दै गरेको ठाउँ हो झापा, बिर्तामोड नगरपालिका–१० विराट पोखर। त्यहीँ घर बनाउन काम गरिरहेका एक व्यक्तिले शीतललाई फोन गरे।
घरको केही सामान आवश्यक परेर सम्झिएको होला भन्ने सोचेर उनले फोन उठाइन्। फोन उठ्नासाथ आत्तिएको आवाज आयो।
'भाउजू, आन्दोलनमा प्रहरीको गोली लागेर मान्छेहरू ढलिरहेका छन् रे। दाइलाई छिट्टो घर बोलाउनू,' ती व्यक्तिको भनाइ उद्धृत गर्दै शीतलले भनिन्, 'छिट्टो घर बोलाउनू है।'
यति सुन्नासाथ शीतलले हतार–हतार श्रीमान कमल भण्डारीलाई फोन गरिन्।
त्यति बेला साढे दुई बज्दै थियो।
शीतलको एक कलमै कमलले फोन उठाए। उनले कमललाई आन्दोलनमा गोली चल्न थालेको छ रे, छिट्टै घर आउनू भनिन्।
'यहाँको माहोल शान्त भइसकेको छ। घर आइहाल्छु, निस्किसकेँ। तिमी चिन्ता नगर,' कमलले भने, 'एकैछिनमा घर आइहाल्छु, निस्किसकेँ।'
यति भनेर कमलले फोन काटिदिएका थिए।
शीतललाई भने कमल हिँडे कि हिँडेनन् भनेर पिर पर्न थाल्यो। कुराकानी भएको पाँच मिनेट नपुग्दै बुझ्न फेरि फोन गरिन्।
फोन उठ्यो तर कोही बोलेनन्।
शीतलले फेरि फोन गरिन्। फोन उठ्यो तर कोही बोलेन।
यही क्रम दोहोरिरह्यो।
कमलले मोबाइलमा फोन आउँदा केही सेकेन्डसम्म नउठाएमा आफै उठ्ने 'सेटिङ' बनाएका थिए।
साँझसम्म पनि कमल नबोलेपछि शीतलले नजिकका आफन्तहरूलाई फोन गरिन् र कमलबारे सोधपुछ गर्न थालिन्। कतै गएको जानकारी पाइनन्।
उनी डरले रातभर निदाउन सकिनन्। श्रीमानलाई खोजिरहिन्, तर कतै भेटिनन्।
त्यो रात कसरी कटाइन् उनलाई नै थाहा छैन।
दोस्रो दिन बिहान सवा ७ बजेको थियो। शीतलले फोन गर्दा कमलको फोन उठ्यो अनि आवाज पनि आयो।
तर त्यो आवाज कमलको थिएन, कोही अन्जान व्यक्तिको थियो।
'हेलो, यो फोनको मान्छे गोली लागेर घाइते हुनुभएको छ। बिएन्डसी अस्पताल आएर लिएर जानुहोस्,' ती व्यक्तिले भने।
'श्रीमान घाइते भएको सुन्नासाथ १५/२० मिनेटमै अस्पताल पुगेँ,' उनले भनिन्।
कमल हातखुट्टामा कतै चोट लागेकाले घर आउन नसकेका होलान् भन्ने सोचेर शीतल भदौ २५ गते बिहान साढे ७ बजे नै अस्पताल पुगिन्। अस्पताल पुगेर आधा घन्टासम्म कमललाई खोजिन्।
'खोज्दै जाँदा भेन्टिलेटरको वार्डमा देखेँ। त्यति बेला आँखाको वरिपरि पूरै कालो दाग बसिसकेको थियो। चिकित्सकहरूले उपचार हुँदैछ भन्नुहुन्थ्यो,' शीतलले भनिन्, 'दिउँसो एक बजेतिर अस्पतालले मृत घोषणा गरिदियो।
कमलको मृत्यु भएको खबर सुनेपछि शीतल अस्पतालमै बेहोस भइन्। त्यसपछि के–के भयो, उनलाई थाहा छैन।
कमललाई आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, बिर्तामोडमा भदौ २४ गते दिउँसै गोली लागेको कुरा शीतलले पछि थाहा पाइन्।
प्रदर्शनकारीहरूले उद्धार गरेर उनलाई बिएन्डसी अस्पताल पुर्याएका थिए।
'मृत्यु भइसकेपछि चिकित्सकले गोली निकाल्न सकेनौं, आफन्त पनि थिएनन् भने,' शीतलले भनिन्, 'उहाँलाई गोली लागेको कुरा सँगै गएका साथीहरूले समेत भनेनन्। त्यसैले अस्पतालमा हुनुहुन्छ भन्ने थाहै भएन। समयमा थाहा पाएको भए बचाउन सकिन्थ्यो कि भन्ने लागिरहन्छ।'
३० वर्षीय कमल अघिल्लो दिन अर्थात् भदौ २३ गते आन्दोलनमा गएका थिए। दोस्रो दिन पनि साढे १० बजेतिर खाना खाएर बन्दै गरेको घरमा पानी हालेर आउँछु भन्दै डेराबाट निस्किएका थिए।
'घरमा पानी हालेर आउँछु भनेर जानुभएको थियो। कहिले नफर्किने गरेर जानुभयो,' शीतलले भनिन्, 'बिहे गरेर एक वर्ष बस्न नपाउँदै विदेश जानुभएको थियो। सँगसँगै बस्ने रहर अधुरै रह्यो।'
उनले थपिन्, 'तिमीहरूलाई छाडेर अब विदेश जाँदिनँ भन्नुहुन्थ्यो, कहिल्यै नफर्किने गरी जानुभयो।'
पाँचथर हिलिहाङ गाउँपालिका–२ अमरपुर घर भएका कमल र ताप्लेजुङ घर भएकी शीतलको साथीहरूको माध्यमबाट चिनजान भएको थियो।
बाल्यकालदेखि नै मेहनती कमल रोजगारीको सिलसिलामा भारत हुँदै साउदी अरब पुगेका थिए। उनी विदेशमा हुँदादेखि नै शीतलसँग कुराकानी भयो।
एक–दुई वर्ष फोनमा कुराकानी भएपछि, ६ वर्षअघि उनीहरूले प्रेमलाई विवाहमा परिणत गरेका थिए।
'बिहेपछि छोरा पेटमा हुर्किँदै गर्दा उहाँ फेरि विदेश जानुभएको थियो,' उनले भनिन्, 'छोरा ५ वर्षको भएपछि, अस्ति चैतमा मात्र फर्किनुभएको हो।'
कमल विदेशबाट फर्किएको ४/५ महिना मात्र भएको थियो। छोरा भर्खर बुबाका साथमा घुलमिल हुँदै थिए। कमल फर्किएपछि गाउँमा आमाबुबालाई भेट्न समेत गएका थिएनन्। बिर्तामोडमा घर बनिसकेपछि आमाबुबालाई नयाँ घरमा ल्याउने सपना थियो।
'त्यही भएर अहिले भेट्न नगई काम गरिरहनुभएको थियो,' शीतलले भनिन्।
बुबा गणेशप्रसाद र आमा खगीमायाका दोस्रा सन्तान थिए कमल। उनका एक दाजु, एक भाइ र दुई बहिनी छन्। गाउँमै कक्षा १० सम्म पढेका कमल त्यसपछि कमाउन भनेर भारत गएका थिए।
विदेशमा लामो समय दुःख गरेपछि आफ्नै घर बनाएर परिवार सँगै बस्ने सपना बोकेर कमल फर्किएको शीतल बताउँछिन्।
'तर सबै सपना तुहियो। उहाँको मृत्यु भएको केही समयपछि मेरो तीन महिनाको गर्भ पनि खेर गयो,' उनले भनिन्, 'अहिले घर बन्यो तर उहाँ हुनुहुन्न। आमाछोरा मात्र छौं।'
कमलजस्तै आन्दोलनमा ज्यान गुमाएकाहरूको बलिदान खेर नजाओस् भन्ने उनको चाहना छ।
***