पोखरा सहरको कथा: अध्याय २
माथि हेर्यो माछापुच्छ्रे, तल हेर्यो फेवाताल
नौ डाँडैमा भेट भो मायाजाल
— प्रवीण गुरूङ (शब्द, संगीत, गायन)
जापानी भिक्षु इकाई कावागुजी सन् १८९९ मा पहिलोपटक पोखरा आएका थिए।
तिब्बत जान हिँडेका कावागुजीले पोखराको वर्णन गर्दै लेखेका छन् — धरतीको स्वर्गसरी सुन्दर पोखरा!
उनका अनुसार यहाँ पर्खालले घेरिएका घरबारी थिए। पर्खालभरि हरिया डालेघाँस, अनि पर्खालबाहिर फराकिला पाटन। पाटनैपिच्छे ठुल्ठूला पोखरी थिए भने पोखरीछेउ बरपिपल र समीका चौतारी। र, चौतारी छेउछाउ आँपका बगैंचा।
एक घरलाई अर्को घरसँग जोड्ने डहर थियो। एउटा गाउँलाई अर्को गाउँसँग जोड्ने बाटो र पाटनहरू थिए। एउटा पोखरीबाट अर्को पोखरीमा पानी बहने कुलाहरूले पनि गाउँलाई जोड्थ्यो।
यति मात्र होइन, सबैका घर छिर्ने बाटोमा तगारा थिए। सबैले चौपाया पालेका थिए। दिनभरि पाटनमा गाईभैंसी चर्थे। गोठाला चौतारीमा सुसेली हाल्थे। कोही बाँसुरी बजाउँथे। पशु चौपाया तिर्खा लाग्दा होस् या गर्मी हुँदा, पोखरी धाउँथे। पोखरा हुँदै मुक्तिनाथ जान लागेका साधुसन्त चौतारीमा सुस्ताउँथे र एउटै बोटमा फलेका थरीथरीका रसिला आँप खाएर भोकतिर्खा मेट्थे।
एउटै फरक के भने, त्यति बेला पोखरा भन्नाले विन्ध्यावासिनी सेरोफेरोलाई मात्र बुझाउँथ्यो। विन्ध्यावासिनीबाट विवाह गरेर लेकसाइड पुगेकी दुलहीलाई समेत 'पोखरेली' भन्ने चलन थियो।
बिस्तारै पोखरा फैलिन थाल्यो। घुम्न आउने र बसाइ आउने बढ्न थाले। ती आगन्तुकले विन्ध्यावासिनी मात्र होइन, सिंगो उपत्यकालाई नै पोखरा नाम दिए।
यही क्रममा ताल, नदीनाला र आसपासका डाँडाकाँडा पोखराभित्र गाभिँदै गए।
प्रकृतिले बनाएका ताल त भइहाले, त्यसबाहेक मान्छेले बनाएका पोखरी पनि यहाँ धेरै नै थिए। अचेल त्यस्ता धेरैजसो पोखरी मासिएका छन्। प्रकृतिले बनाएका ताल पनि केही मरेका छन् भने केही मर्ने र मारिने क्रममा छन्।
तालको कुरा गर्दा सबभन्दा पहिला त फेवातालकै नाम आउँछ। आजभन्दा ८३४ वर्षअघि सन् ११९० मा अन्नपूर्ण चौथो हिमाल भाँचिएर खसेको हिमपहिरोले हर्पन खोला थुनिएर फेवाताल बन्यो। अरू ताल पनि यसरी नै खोला थुनिएर बनेका हुन्। जस्तो — स्याङ्खुदी खोला थुनिएर बेगनास बनायो। दोभान खोला थुनिएर रूपाताल र अस्रेनी खोला थुनिएर दिपाङताल बनायो। खास्टे, गुँदे, न्युरेनी र मैदीताल पनि यही प्रक्रियामा बने।
अन्नपूर्ण चौथो हिमाल भाँचिएर बनेका तालमध्ये चिप्लीकुनाको ताल मरिसकेको छ। त्यति बेला ताल भएको ठाउँमा अहिले तलैया माटो छ। अन्नपूर्णबाट हिमपहिरोसँगै पग्लिएर आएको चुन मलिलो माटोमा मिसिएको छ। माटोबाट चुन पग्लिएर जाँदा जमिन भासिन्छ। भासिएको ठाउँमा चुनपानी सेतै देखिन्छ।
चिप्लीकुनाको ढाप, माटोको प्रकृति र भूबनोटको अध्यनबाट त्यहाँ कुनै समय ताल भएको भूगर्भविद् प्राध्यापक डा. कृष्ण केसी बताउँछन्। अन्नपूर्ण हिमपहिरोले कालीखोला थुनेर बनेको त्यो ताल समयक्रममा खुलेर बगेको उनको निष्कर्ष छ।
भौगर्भिक अध्ययनले पुष्टि गरेको चिप्लीकुनाको ताल स्थानीय संस्मरणमा अझै बाँचेको छ।
'हामी केटाकेटी हुँदा बूढापाकाले यहाँ ताल भएको कथा सुनाएका थिए,' स्थानीय ८७ वर्षीय चन्द्रेश्वर आचार्यले भने, 'तालले यताउता गर्न अप्ठ्यारो भएपछि एउटा मान्छे गएर कोदालाले कुलो खनेर पानी कटाएछन्। त्यहीँबाट खोलिएर ताल सुकेछ।'
यसरी सुक्ने वा मासिने क्रममा अहिले सबभन्दा जोखिममा फेवाताल छ भने अरू ताल पनि फेवातालकै बाटोमा अग्रसर छन्।
फेवाताल उत्पत्तिका किम्बदन्तीदेखि वैज्ञानिक आधार र अतिक्रमणका कथा हामी अर्को अध्यायमा प्रकाशित गर्नेछौं। यो अध्यायमा पोखरा वरिपरिका डाँडैभरि मान्छेले बनाएका पोखरीहरूबारे चर्चा गरौं।
विन्ध्यावासिनीमा पुरानो पोखरी भएको ठाउँमा बनाइएको कंक्रिट पोखरी। पृष्ठभूमिमा आँपका रूख। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
पानीसँग पोखराको साइनो एकदमै गाढा छ।
त्यसैले त, प्रकृतिले पोखराभरि तालै ताल बनाए पनि यहाँका मान्छेलाई त्यतिले पुगेन; उनीहरूले यहाँका डाँडैभरि पोखरी बनाए।
मान्छेले बनाएकामध्ये करिब चार रोपनीमा फैलिएको ठूलो पोखरी थियो, काजीपोखरी। यहाँको पानी खानलाई प्रयोग गरिन्थ्यो। पोखरीको बीचमा यूप गाडिएको थियो, जहाँ स्थानीयहरू पूजाआजा गर्थे।
यो पोखरी नेपालका प्रथम प्रधानमन्त्री काजी भीमसेन थापाले बनाएका हुन्। त्यही भएर नामै काजीपोखरी रहेको ७३ वर्षीय ज्ञानेन्द्र घिमिरे बताउँछन्।
उनले काजीपोखरी निर्माणसँग जोडिएको कथा हामीलाई सुनाए —
भीमसेन थापा आफ्नो सेनासहित काठमाडौंबाट पश्चिम लाग्दा अहिले काजीपोखरी भन्ने ठाउँमा बास बसेका थिए। उनको टोलीलाई खानेपानी अभाव भएछ। प्यास मेटाउने काहुँखोला टाढा थियो। भीमसेनले आफ्ना सैनिकहरूलाई पोखरी खन्न लगाए र काहुँखोलाबाट कुलो काटेर टिलपिल पानी भरिदिए।
केही दिन यहाँ बास बसेर भीमसेन र उनको फौज बाटो लागे। उनले खनाएको पोखरी भने गाउँलेहरूलाई वरदान भयो। गाउँलेहरूले त्यही पोखरीको पानीले आफ्नो प्यास मेटाए, त्यसैलाई सिँचाइमा प्रयोग गरे।
काजीपोखरीकै छेउमा एउटा ठूलो चौतारो थियो। चौतारोमा बर र पिपल नारिएर उभिएका थिए। स्थानीयहरू बरपिपलको पूजा गर्थे। कपडा लगाइदिएर विधिवत् विवाहसमेत गराइदिएका थिए। पछि बरपिपलकै आसपास दर्जनभन्दा बढी साना साना चौतारी बनाइए। ती चौतारीमा कहीँ बरपिपल थिए त कहीँ समीका झुपिला रूख।
काजीपोखरीमा काहुँखोलाबाट मात्र होइन, कमलपोखरीको पानी पनि लगिएको थियो। त्यति बेला कमलपोखरी विशाल थियो। हिउँदमा काहुँखोला सानो हुन्थ्यो। पानी नपुगेर कमलपोखरीबाट कुलेसो बनाएर काजीपोखरी लगिएको घिमिरे बताउँछन्।
'म पनि दाजुहरूसँग मिलेर पानी लगाउन जान्थेँ,' उनले भने, 'काहुँखोला र कमलपोखरीको पानीले काजीपोखरी टम्म भरिन्थ्यो।'
अहिले काजीपोखरीको नामनिसान छैन। ठाउँको नाम भने त्यही छ। काजीपोखरीसँगै पशुचौपायाका लागि खनिएको पोखरीमा स्थानीयले सानो शिव मन्दिर बनाएका छन्। मन्दिरले चर्चेको ठाउँमा मात्र पोखरीको जग्गा बाँकी छ।
मालेपाटनमा इँटा बनाउन माटो निकाल्दा बनेको खुँडेपोखरी। यसलाई अचेल ठूलीपोखरी भन्न थालिएको छ। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
पोखरामा रहेका मानवनिर्मित ठूला पोखरीमध्ये मालेपाटनको खुँडेपोखरी एक हो। ठूलो क्षेत्रफलमा फैलिएकाले ठूलीपोखरी पनि भनिन्छ।
यसको निर्माण पोखरी बनाउने उद्देश्यले भएको थिएन। स्थानीयले इँटा बनाउन माटो निकाल्दै जाँदा फराकिलो र गहिरो खाडल बन्यो। वर्षाको राजधानी पोखरामा वर्षातकै पानीले खाडल भरियो। कुनै बेला १४ रोपनीमा फैलिएको खुँडेपोखरी अहिले १० रोपनीमा खुम्चिएको संरक्षण समितिका अध्यक्ष विष्णुप्रसाद बराल बताउँछन्।
पोखरा महानगरले तोकेको मापदण्डअनुसार खुँडेपोखरी किनारबाट ६ मिटरसम्म कुनै संरचना बनाउन पाइँदैन। तर अहिले यहाँ पनि अतिक्रमण तीव्र हुँदैछ। कतिपयले पोखरीको जग्गा आफ्नो नाममा पार्न खोजिरहेका छन्। उनीहरूको प्रपञ्च पूरा हुन नदिन संरक्षण समिति क्रियाशील छ। यसका लागि समितिले पोखरी छेउछाउ तारबार लगाउनुका साथै सौन्दर्यीकरण गरेर पर्यटकीय गन्तव्य बनाउने योजना ल्याएको छ।
मानवनिर्मित पोखरी खोज्दै जाँदा हामी कास्कीकोटको कश्यप कुण्ड पुग्यौं, जसलाई सबभन्दा पुरानो मानिन्छ।
यो पोखरीसँग पौराणिक किम्बदन्ती जोडिएको छ —
हिन्दु धर्मग्रन्थअनुसार कश्यप ऋषि भनेका सप्तर्षीमध्ये सबभन्दा प्राचीन हुन्। उनै कश्यप ऋषि प्राचीन कालमा कास्कीकोटमा तपस्या गर्न आएका थिए। तपस्या गर्दा उनले ठूलो पोखरी बनाए। त्यही पोखरीको पानी खाए र त्यहीँ नुहाए। कालान्तरमा पोखरीको नाम कश्यप कुण्ड रह्यो।
समुद्री सतहदेखि १७२५ मिटर उचाइमा रहेको कश्यप कुण्ड ९ रोपनीमा फैलिएको छ। पोखरीमा बराह शिला छ भने परिसरमा मनोकांक्षी शिवको मन्दिर छ। स्थानीयहरू शिला र शिवको पूजा गर्छन्। खडेरी पर्दा पञ्चबलि दिने चलन रहेको कास्कीकोट दरबारका पुजारी तथा अध्येता पण्डित ठाकुरप्रसाद त्रिपाठी बताउँछन्।
पोखरीको बीचमा एउटा इनार छ। त्यो इनार कहिले खनियो यकिन छैन। कास्कीकोटमा कास्कीका राजाको दरबार बनेपछि उनकै सेनाका लागि इनार खनिएको हुनसक्ने त्रिपाठी अनुमान गर्छन्।
कास्कीकोटको कश्यप कुण्ड। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
पोखराका पुराना पोखरीमध्ये अर्को हो, लामाचौरको ठूलीपोखरी।
कास्कीका राजा कुलमण्डल शाहले बाटुलेचौरमा शीतकालीन दरबार बनाएका थिए। हिउँदमा उनी कास्कीकोट दरबारबाट बाटुलेचौर बसाइ सर्थे। आउजाउ गर्दा बाटोमा पर्ने लामाचौरको करिब १३ रोपनीमा पोखरी खनाए। पोखरी दायाँबायाँ चौतारी बनाए र पोखरीभन्दा केही माथि आँपका बगैंचा लगाए।
कास्कीकोटका राजा शाहले बनाएको पोखरी अहिले ८ रोपनीमा खुम्चिएको छ। करिब ६ वर्षअघि स्थानीयले पोखरीबीच जलेश्वर महादेवको मन्दिर बनाएका छन्। पोखरी तारबार गरेर संरक्षण गरिएको पोखरा महानगर-१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे बताउँछन्।
यिनै मानवर्निर्मित पोखरीका आधारमा पोखराको सभ्यता विकास पोखरीबाट सुरू भएको विश्वास गरिन्छ। धेरै लेखक तथा अनुसन्धाताले पोखरीबाटै अपभ्रंश भएर पोखरा भन्न थालिएको उल्लेख गरेका छन्।
अध्येता विश्व सिग्देल भन्छन्, 'प्रकृतिले बनाएको होस् वा मान्छेले, पोखरीहरूले नै पोखरा बनायो। पोखरी भन्दाभन्दै कालान्तरमा पोखरा भन्न थालिएको हो।'
पोखराका लेखक माधवप्रसाद बरालले भने आफ्नो 'भूमि चिन्तन' किताबमा पोखरा शब्द जन्मनुमा अरू पनि कारण रहेको तर्क दिएका छन्।
उनका अनुसार अठारौं शताब्दीको पूर्वार्द्धमा राजा पृथ्वीनाराण शाहले काठमाडौंमा राजधानी सारेपछि केही नेवार परिवार पोखराको विन्ध्यावासिनी आसपास बस्न आए। त्यति बेला उनीहरू बसेको ठाउँलाई पखेरा भनिन्थ्यो। पखेरा शब्द नै अपभ्रंश भएर पोखरा भन्न थालिएको बराल बताउँछन्।
पोखरा नामाकरणबारे उनको अर्को आकलन पनि छ।
भारतीय व्यापारी शेख नवाबलाई विन्ध्यावासिनीका व्यापारीले 'पोखरीनिर आउनू' भनेर ठेगाना दिएका रहेछन्। ती व्यापारी आफ्नो लगानी उठाउन आउँदा विन्ध्यावासिनीको पोखरी देखेर भनेछन् – 'ये पोखरी नही बा, इस्का नाम पोखरा बा।' (यो पोखरी होइन, यसको नाम पोखरा हो)
त्यही घटनापछि यो ठाउँलाई पोखरा भन्न थालिएको स्वर्गीय कवि अलिमियालाई उदृत गर्दै बरालले लेखेका छन्।
यसरी पोखरा सहरको परिचयसँग जोडिएका पोखरीको अस्तित्व अहिले नामेट हुने क्रममा छ, जसको सुरूआत पञ्चायत कालबाटै भएको थियो।
राजा महेन्द्रले सत्ता हातमा लिएर 'गाउँ फर्क' अभियान चलाएपछि पोखराका मान्छे हिँड्ने डहर मोटरबाटो बनाउने भन्दै भत्काउन थालियो। यसले बाटो छेउछाउका चौतारी मासिए। त्यही क्रममा पोखरीहरू धमाधम पुरिए। मासिन बाँकी केही चौतारी अहिले पनि सडक आसपास देखिन्छन्। लेकसाइड, ड्यामसाइडदेखि सिर्जनाचोक, भद्रकाली लगायत सडक किनारमा प्रशस्त चौतारी बाँकी छन्। चौतारी आडका पोखरीको भने अवशेषसम्म छैन।
स्थानीय बूढापाकाका अनुसार 'गाउँ फर्क' अभियानमा पञ्चहरू गैंती र बेल्चा बोकेर आउँथे। श्रमदानमा आउन सर्वसाधारणलाई उर्दी जारी गर्थे र पोखरी पुर्न आदेश दिन्थे। तिनै पोखरी पुरेर सरकारी अड्डा र स्कुलहरू बनाइए।
उदाहरणका लागि — महेन्द्रपुलको पोखरीमा नेपाल टेलिकम कार्यालय बन्यो। धर्मस्थलीको पोखरी मासेर स्कुल बनाइयो। बगरको ट्याक्सी चोकमा रहेको पोखरी मासेर खाली जग्गा व्यक्तिका नाममा सारिए। चर्चित काजीपोखरीको पानी फालेर सुकुम्बासी बस्ती बसालियो।
सैनिक क्याम्प, विद्युत प्राधिकरण, वडा कार्यालय, स्कुल र अरू सरकारी भवनहरू पनि पोखरी मासेर बनाइएको अध्येता सिग्देल बताउँछन्।
पञ्चायतमा थालिएको पोखरी मास्ने क्रम अहिले पनि जारी छ। पोखराका चौतारीमा रहेका सयौं वर्ष पुराना बरपिपलका रूखमा डोजर चलेकै छ।
पोखरी मास्न कसैले कुनै कसर बाँकी राखेका छैनन्। स्थानीयले चौतारी मासेर घर बनाएका छन् भने राज्यले पोखरीमा डोजर चलाएर भवन ठड्याएको छ। हुँदाहुँदा घरलाई जोखिम भयो भनेर रूख काट्ने क्रम पनि तीव्र छ।
यस्ता अतिक्रमणबीच केही पोखरी भने स्थानीय पहलमा जोगिएका पनि छन्।
जस्तो — भद्रकाली मन्दिरका पुजारी ८१ वर्षीय घनश्याम काफ्लेको अडानले माछापोखरी अहिलेसम्म जोगिएको छ। यो पोखरी भद्रकालीबाट बैदाममा सिमसार पुर्न माटो लैजाँदा बनेको थियो।
भद्रकालीबाट बैदाममा सिमसार पुर्न माटो लैजाँदा बनेको माछापोखरी। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
पञ्चायतकालमा नापी आउँदा केही व्यक्तिले माछापोखरीको जग्गा व्यक्तिका नाममा सार्न निवेदन दिएका थिए। उनीहरूले पुजारी काफ्लेलाई पनि पाँच रोपनी लिन प्रस्ताव गरे।
मालपोतका तत्कालीन हाकिमले आफूलाई बोलाएर माछापोखरी नामसारीको प्रस्ताव राखेको उनी बताउँछन्।
'यो पोखरी श्रीगणेश तथा भद्रकाली गुठीमा पर्छ,' उनले भने, 'मैले सार्वजनिक सम्पत्ति व्यक्तिका नाममा सार्न मिल्दैन भनेर अडान लिएपछि मिच्न सकेनन्।'
अहिले यहाँ ९० रोपनीको भद्रकाली वन र ३२ रोपनीको पोखरीसहित आसपासका क्षेत्र संरक्षित छ। बीस मुरी धान फल्ने खेत पनि छ।
पण्डित काफ्लेले नापीसँग मिलेर माछापोखरी हडप्न सघाएका भए न पोखरी रहन्थ्यो, न वन। पोखरीमा माछा होइन, घर ठडिइसक्थे। माछापोखरी ठाउँको नाममै सीमित हुन्थ्यो।
अतिक्रमणको कथापछि अब हामी डाँडैडाँडा पोखरीको यात्रा गरौं।
यो यात्राका तीन रूट छन् —
पहिलो, तपाईं छोरेपाटनबाट तिब्बती शरणार्थी शिविर हुँदै फुस्रे खोला तरेर कृष्तीतिर जान सक्नुहुन्छ र त्यहाँबाट डाँडातिर उकालो लाग्न सक्नुहुन्छ।
दुई, बूढीबजारबाट सेती नदी तरेर बाघमारा हुँदै भरतपोखरीतिर उक्लिन सक्नुहुन्छ।
तीन, पोखरा सहरबाट सिधै बाघमारा हुँदै उकालो लाग्न सक्नुहुन्छ।
यी तीन रूटमध्ये जताबाट गए पनि कुनै समय पोखराका डाँडाभरि रहेका पोखरीका अवशेष देख्न पाइन्छ र तिनका कथा सुन्न पाइन्छ।
हामीले पहिलो रूट समात्यौं र छोरेपाटनबाट कृष्ती हुँदै डाँडाको टुप्पातिर लाग्यौं।
कृष्तीको उकालो सकिएपछि पोखरा-२१ बयलीका ८५ वर्षीय लेखनाथ शर्मासँग गाउँका पोखरीहरूबारे सोधखोज गर्यौं।
उनका अनुसार त्यति बेला बेसीतिर औलो लगायत रोगव्याधीको डर थियो। त्यसैले मानिसहरू डाँडाका टुप्पातिर बस्थे। डाँडाका टुप्पामा पानीका मूल थिएनन्। पहाडका तरेली सुख्खा थिए। खानेपानी ओसार्न घन्टौं हिँड्नुपर्थ्यो। गाई, भैंसी, बाख्रा लगायत डिँगालाई पानी खुवाउन टाढासम्म हिँडाउनुपर्थ्यो।
यही समस्याबाट त्राण पाउन स्थानीयले डाँडाका टुप्पैभरि पोखरी खने। आकाशेपानी जम्मा गरे। डाँडाबाट बगेर आउने भलपानी पोखरीतिर सोझ्याएर टिलपिल पारे।
बयली गाउँमा पनि थुप्रै पोखरी खनिएका थिए। दलित समुदायका आफ्नै पोखरी थिए। एउटालाई 'सार्की पोखरी' भनिन्थ्यो, अर्कोलाई 'दमाई पोखरी'। नजिकै पोखरेलहरूले पनि आफ्नो निम्ति छुट्टै पोखरी खनेका थिए।
पोखरी आसपास प्रशस्त चौतारी थिए। आँपका रूख थिए। समीका बुटा थिए।
तिनै पोखरी र चौतारी मासेर बयली आधारभूत विद्यालय बनाइएको शर्माले बताए। उनी त्यहाँका पूर्वप्रधानाध्यापकसमेत हुन्।
उनका अनुसार भविष्य निर्माण मावि पनि चौतारी र पोखरीमै बनेको हो। यी विद्यालय बनाउन तीनटा पोखरी र पोखरीछेउका दुइटा चौतारी मासिएका थिए भने समीका ठुल्ठूला रूख काटिएका थिए।
'गाउँलेलाई स्कुल चाहियो, पोखरी र चौतारी चाहिएन,' उनले भने, 'सार्की पोखरी, दमाई पोखरी र अर्को एउटा पोखरीमा स्कुल ठडिए। पोखरेल पोखरीमा भने स्थानीयले नै घर बनाए।'
यो डाँडाको बाटो हिँड्दा एउटा यस्तो पोखरी देखियो, जसको नामै बाँझोपोखरी हो। नामजस्तै पोखरी पनि बाँझै छ।
सडक निर्माणले बाँझोपोखरी खुम्चिएर सानो भएको छ। भल पानी आउने बाटो सडकले बन्द गरेपछि पानी एक थोपै छैन। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
यहाँ पोखरीको खाल्डो छ। बालबच्चा नखसून् भनेर बार हालिएको छ। पोखरी आसपास बस्ने ठाउँ बनाइएको छ। सडकले बाँझोपोखरी र चौतारी छुट्याइदिएको छ। नाम मात्रको चौतारीमा सयौं वर्ष पुरानो बरपिपल देखिन्छ। तर पोखरीमा एक थोपा पानी छैन। बरू कमिलाले प्रशस्त गुँड हालेको छ।
मोटरबाटो बन्नुअघि बाँझोपोखरी सुख्खा थिएन। टिलपिल पानी भरिन्थ्यो। आकाशेपानीका भल पोखरीतर्फ सोझिन्थ्यो। पोखरीछेउ घर भएका ४७ वर्षीय वसन्त भण्डारीले बाटो बन्नुअघिसम्म पोखरीमा माछासमेत पालिएको बताए।
'एकपटक पोखरीको पानी भरिएर घरतिर गयो। पानी सँगसँगै माछा पनि पाखाभरि छरिए,' उनले भने, 'हामीले एक बाल्टिन माछा जम्मा गरेका थियौं।'
बाँझोपोखरीभन्दा केही अगाडि अर्को पोखरी थियो, जसलाई ठूलीपोखरी भनिन्थ्यो। यो पोखरी यति ठूलो थियो, यहाँ एकैपटक करिब सयवटा भैंसी आहाल खेल्थे। अहिले पोखरी पुरेर रामरूद्र प्राथमिक विद्यालय बनाइएको छ। त्यही विद्यालय पनि विद्यार्थी नभएर बन्द छ। विद्यालय भवनको खाली संरचना बेवारिसे छ।
यसरी नै जनजागृति आधारभूत विद्यालय पनि हर्राबोटको अर्को ठूलीपोखरीमा बनेको थियो। २०३२ सालको नापीमा पोखरी, चौतारी, बाटोघाटो, कुलो केही पनि देखाइएको थिएन। आवाद र सार्वजनिक भनेर दुईथरी जमिन छुट्याइएको थियो। पोखरीको नाम मात्र बाँकी रह्यो।
पोखरी मास्ने सरकारी अभियान अहिले पनि जारी रहेको एउटा दृष्टान्त हामीले बाटैमा भेट्यौं।
नाथेस्वाँरामा बाटोमाथि ठुल्ठूला बरपिपलका रूख छन्। आँपका बोट पनि यदाकदा देखिन्छन्। बरपिपल रहेको ठाउँ हेर्दा त्यहाँ कुनै बेलाको ठूलो चौतारीका अवशेष देखिन्छन्। पोखरी भएको ठाउँमा भने फुटबल मैदान छ। यो फुटबल मैदान बनाउन गण्डकी प्रदेश सरकारले ८ लाख रूपैयाँ बजेट दिएको थियो।
पोखरी मासिएका यस्ता घटना हामीले बाटोभरि अनेक सुन्यौं। सबैजसो गाउँमा पुराना पोखरी र चौतारीका डोब मात्र देखिए, सग्ला त एउटै भेटिएनन्।
पोखरीका हालखबर बुझ्दै हामी निर्मलपोखरी पुग्यौं। यही पोखरीका नाममा पहिले गाविस थियो। अहिले पोखरा महानगरको एउटा वडा छ।
निर्मलपोखरीको कथा पनि अरूको जस्तै छ। २०१३ सालमा पोखरी आसपास दु:खमुक्ति प्राथमिक विद्यालय खोलियो। त्यही स्कुल अहिले नवचेतन माध्यमिक विद्यालय बनेको छ।
स्कुलको स्तरोन्नतिसँगै ठूलो क्षेत्रफल चाहियो। स्थानीयले पोखरी सुकाएर ठूलो स्कुल भवन बनाउने निधो गरे। अनि त, पोखरीको पानी खोलेर बगाइयो। खाली रहेको जग्गामा स्कुल भवन बनाइयो।
निर्मलपोखरी भएको ठाउँमा बनाइएको नवचेतन मावि। यसै पोखरीको नामबाट यो ठाउँको नामाकरण गरिएको थियो। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
पोखरीभन्दा अलि माथि घर भएका ६१ वर्षीय रेशम गिरीका अनुसार निर्मलपोखरीलाई पहिले गैह्रीपोखरी भनिन्थ्यो। पोखरी गहिरो ठाउँमा रहेकाले यस्तो नाम रहेको उनको भनाइ छ।
'पोखरीका दायाँबायाँ बाटा थिए। डिँगालाई खुवाउन स्थानीयहरू पानी लैजान्थे। चर्न गएका गाई, भैंसी, बाख्रा, घोडा तिर्खाउँदा पोखरी धाउँथे,' उनले भने, 'यहाँका धेरै गाउँलेले यही पोखरीमा पौडी खेल्न सिकेका हुन्।'
उनका अनुसार पोखरी अगाडि एउटा ठूलो तिँजुको रूख थियो। त्यो रूख अहिले पनि ज्युँदै छ। रूख काट्न पटक पटक प्रयास नभएको होइन। तर विद्यार्थीलाई शीतल हुन्छ भनेर गाउँलेहरूले काट्न दिएका छैनन्।
विद्यालय परिसरमै रहेको झुपिलो तिँजुको रूखमा फूल फुल्छन्, तर फल लाग्दैन। यसको पछाडि यहाँ एउटा कथा प्रचलित छ —
मोटरबाटो बन्नुअघि स्याङ्जा लगायत पश्चिमका मान्छे निर्मलपोखरीकै बाटो पूर्वतिर लाग्थे। नुन लिन जानेहरूको सधैं लर्को हुन्थ्यो। भारतीय र ब्रिटिस सेनाका अवकाशप्राप्त सिपाही पेन्सन बुझ्न यही बाटो पोखरा आउँथे।
त्यस्तै, मान्छेका शव सेती नदी किनार दोबिल्लामा दाहसंस्कार गर्न लैजाने बाटो पनि यही थियो।
एकदिन शव बोकेर आएका मलामी रात परेपछि पोखरी आसपास बास बसेका थिए। मृत व्यक्तिकी श्रीमती पनि सती जान सँगसँगै आएकी रहिछन्। उनी भोक र प्यासले फतक्कै गलेकी थिइन्। त्यही बेला उनलाई कुभिन्डो खान मन लागेछ। उनी कुभिन्डो खोज्न गाउँतिर गइन् र घर घरमा माग्दै हिँडिन्। तर ती सतीलाई कसैले पनि कुभिन्डो खान दिएनन्।
आखिर केही सीप नचलेपछि सती फर्केर पोखरीछेउ आइन् र तिँजुको बोटमुनि बसिन्।
उनले तिँजुको बोट र गाउँका फसललाई श्राप दिँदै भनिन्, 'तिँजुका फूल ढकमक्क फुलोस्, तर फल नलागोस्। यो गाउँका खेतबारीमा राम्रो खेतीपाती होस्, तर गाउँलेलाई खान नपुगोस्।'
सतीले त्यसरी सरापेदेखि तिँजुको बोटमा फल नलागेको, फूल भने बर्सेनि फुलिरहेको गाउँले बताउँछन्।
पहिले पहिले निर्मलपोखरीमाथि ठूलो चौतारी थियो। चौतारीमा बर र पिपलका बोटबाट लहरा झरेर भुइँ छोएका थिए। यसरी नै समीका लहरा पनि छहराझैं भुइँतिर झरेका थिए। मोटरबाटो बनाउँदा पनि पोखरीमाथिको त्यो चौतारी मासिएको थिएन। पछि बाटो पिच गर्ने बेलासम्म चौतारी मासियो। २०५१ सालतिर पोखरी पुरेर स्कुल भवन बनाइयो। समीका बोट पनि ढालिए।
यसरी बाँकी सबथोक सकिँदा पनि सतीको श्राप पाएको तिँजुको बोट अझै ठिंग उभिएकै छ।
निर्मलपोखरीमा एउटा मात्र होइन, दर्जनौं पोखरी थिए। पोखरीपिच्छे चौतारी थिए। समीका बडेमाका रूख थिए। निर्मलपोखरीकै डाँडातिर डाँडेपोखरी थियो। थोरै तल मैदानपोखरी थियो। मैदानपोखरीमा डहर थियो। डहरभरि पोखरी र चौतारी थिए। समयक्रममा मैदानदेखि पश्चिमतर्फका पोखरी मासेर घर बनाइए। चौतारी मासेर सडक बने।
निर्मलपोखरीजस्तै यहाँको अर्को चर्चित पोखरी हो, भरतपोखरी।
खेलकुद मैदान बनाउन भनेर मासिएको भरतपोखरी यहीँ थियो। बाटो बनाउँदा खेलमैदान पनि रहेन। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
राजा पृथ्वीनारायण शाहले पश्चिमका राज्य कब्जा गर्दै जाने क्रममा भरतपोखरी भएको ठाउँमा भर्ती केन्द्र खोलिएको थियो। भर्ती छनौट गर्न थालेपछि यो ठाउँलाई भर्ती पोखरा भन्न थालियो।
पहिलो र दोस्रो विश्वयुद्धमा ब्रिटिस इन्डिया सरकार तर्फबाट नेपाली युवाहरूलाई लड्न पठाउँदा राणाहरूले गाउँ गाउँमा भर्ती केन्द्र खलेका थिए। त्यति बेला पनि कास्कीको भर्ती केन्द्र यहीँ बन्यो।
विश्वयुद्ध लड्न गएका युवाले घरमा चिठी पठाउँदा 'पश्चिम ४ नम्बर स्याङ्जा, नुवाकोट भर्तीपोखरा' ठेगाना लेखेको पाइन्छ। त्यति बेला यी ठाउँ स्याङ्जा जिल्लामा पर्थे। २०३३ सालपछि मात्र कास्कीमा गाभिएका थिए।
पछि यिनै लाहुरेको सुझावअनुसार भर्ती पोखराको नाम फेरेर भरतपोखरी राखिएको ७१ वर्षीय कमलप्रसाद आचार्य बताउँछन्।
'यहाँ एउटा विशाल पोखरी थियो। पोखरी भएकैले पोखरा भनिएको हो,' शान्ति उदय माविका पूर्वप्रध्यानाध्यापक आचार्यले भने।
केही स्थानीय भने भरतपोखरीलाई रामायणसँग जोडेर व्याख्या गर्छन्।
उनीहरूले भन्ने किम्बदन्तीअनुसार अयोध्यायका राजा भरत घुम्दै फिर्दै अहिलेको भरतपोखरी आइपुगेछन्। लामो बाटो हिँडेर आउँदा उनी तिर्खाएका थिए। उनले यहाँका गाउँलेलाई पानीको दु:ख देखेछन्। वनवासमा रहेका राम, सीता र लक्ष्मणलाई पानीको सुविधा होस् भन्ने कामना गर्दै यहाँ पोखरी खनाएछन्।
अयोध्याका राजा भरतले नै खनाएको भए पनि यो पोखरीको नामनिसान बाँकी छैन। आचार्यका अनुसार सुरूमा विद्यालयको खेलमैदान बनाउन पोखरी पुरियो। केही समय विद्यार्थीले खेल्न पाए। पछि गाउँमा मोटरबाटो लैजान खेलमैदानमै डोजर चल्यो। अहिले न पोखरी छ, न खेलमैदान।
निर्मलपोखरी गाउँमै अर्को पोखरी छ, भोटेपोखरी। मनाङ, मुस्ताङ लगायत हिमाली क्षेत्रका बासिन्दा जाडो छल्न बेसी झरेका बेला त्यही पोखरीछेउ चौतारीमा बास बस्थे। हिमालका बासिन्दालाई पहाडमा 'भोटे' भनिन्छ। उनीहरू बसेको ठाउँ भएर भोटेपोखरी नाम रहेको विश्वास गरिन्छ।
भोटेपोखरीलाई लिएर अर्को पनि भनाइ छ। २०१५ सालको पहिलो आमनिर्वाचनमा यही पोखरीछेउ मतदान केन्द्र राखिएको थियो। भोट हाल्ने ठाउँ भएकाले स्थानीयले धेरै समयसम्म 'भोट पोखरी' भने। पछि अपभ्रंश हुँदै भोटेपोखरी भनियो।
भोटेपोखरीको अवशेष अहिले पनि बाँकी छ। पानी भने छैन। चौतारी पनि प्रयोगविहीन छ।
भरतपोखरीभन्दा केही तल रहेको भोटेपोखरी। पोखरीमा अहिले पानी छैन, प्रयोग पनि छैन। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
गाउँका यी पोखरी संरक्षण गर्न २०३६ सालतिर पोखरी सुधार कार्यक्रम ल्याइएको थियो। एकाध पोखरीलाई दुई-दुई सय रूपैयाँ छुट्याएर संरक्षणका केही काम पनि भए। तर त्यसले कुनै नतिजा दिन नसकेको आचार्य बताउँछन्।
२०४७ को राजनीतिक परिवर्तनपछि पनि सरकारले पोखरी सुधार कार्यक्रम ल्याएको थियो। त्यसले पनि कुनै नतिजा दिएन।
'पोखरीको महत्व गाउँलेलाई थियो, सरकारलाई थिएन,' आचार्यले भने, 'पोखरी संरक्षणको दीर्घकालीन नीति नहुँदा अधिकांश कार्यक्रम बजेट ल्याउने र खर्च गर्नेमै सीमित भयो।'
हामीले पोखराबाट दक्षिणतर्फ तरेली परेर बसेका पहाडको यात्राभरि पोखरीका धेरै अवशेष देख्यौं। पुराना चौतारी देख्यौं। बूढो रूख पनि देख्यौं। तर कहीँ पनि न पोखरी सग्लो थियो, न चौतारी।
पोखरीका खाल्डा त धेरै ठाउँमा भेटिए, पानी भने कहीँ थिएन।
पोखरी संस्कृति पहाडको जीवनसँग जोडिएको भोटेपोखरीका स्थानीय किरण थापा 'आमोद' बताउँछन्। पोखरीको प्राकृतिक, सामाजिक र सांस्कृतिक महत्व बुझ्न नसक्दा पुर्खाले आविष्कार गरेका सयौं पोखरीमा निर्ममतापूर्वक डोजर चलाइएको उनको भनाइ छ।
'पोखरीले पशुपालन सजिलो बनाएको थियो। गाउँलाई शीतलता दिएको थियो। तल्लो क्षेत्रमा पानीको आवश्यकता पूरा गर्थ्यो। हामीले यसको महत्व बुझेर जोगाउन सकेका भए पर्यटकलाई पनि पोखरीहरूका कथाले रोमाञ्चित बनाउन सकिन्थ्यो,' उनले भने।
'पोखरी नै पोखरीले यो सहरलाई पोखरा भनेर विश्वमाझ चिनायो,' उनले भने, 'आज पोखराको न्वारन गर्ने तिनै पोखरीको नामनिसान छैन।'
***
***
यी पनि पढ्नुहोस्-
अध्याय ३- यसरी बनेको थियो फेवाताल
अध्याय ४- जहाँ मनसुनी बादलले अन्यत्रभन्दा धेरै पानी पार्छ