जंगलभित्रको कथा: अध्याय ५
चितवन राष्ट्रिय निकुञ्जमा सन् २००५ को गैंडा गणना चल्दै थियो।
तेस्रो रात नारायणी नदीको टापु क्षेत्रमा क्याम्प खडा गरियो र चौथो दिन बिहानै भोसरघाटबाट गणना सुरू भयो।
गणनामा संलग्नहरू हात्तीमाथि चढे।
राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत वन्यजन्तु प्राविधिक हर्कमान लामा 'दिपेन्द्र गज' नामको हात्तीमा चढेका थिए। पहिले उनी चढ्ने गरेको 'पृथ्वीकली' बिरामी परेकी थिई।
जसै उनी दिपेन्द्र गजमाथि चढे, त्यसले अस्वाभाविक व्यवहार देखायो। ऊ सुँड चलाउने र बेस्कन ज्यान हल्लाउने गर्न थाल्यो।
हर्कमानले माउतेसँग सोधे, 'यो हात्ती आज किन यसो गर्दैछ?'
माउतेले अनभिज्ञता प्रकट गरे।
गणना टोली अघि बढ्दै थियो। टोलीका बाँकी सदस्य पनि दिपेन्द्र गजको अस्वाभाविक व्यवहारकै विषयमा कुरा गर्दै थिए।
त्यही बेला हर्कमानलाई पिसाब लाग्यो।
उनी हात्तीबाट ओर्लिए।
थोरै अघि बढ्दा नदी किनारको बालुवामा बाघको पाइला भेटियो। उनी ती पाइला पछ्याउँदै दुई सय मिटरजति पर पुगे र त्यहीँ पिसाब फेर्न थाले।
पछाडि रहेको दिपेन्द्र गज एक्कासि ठूलो स्वरमा करायो। आवाजले हर्कमानको मुटु हल्लियो। फरक्क फर्किएर हेर्दा कुदेर आएको हात्तीले उनलाई झ्याम्मै हानिहाल्यो। उनी हात्तीका दुइटा लामा दाह्राको बीचमा परे।
हात्तीले फेरि हर्कमानमाथि हमला गर्यो र उनलाई भुइँमै लडायो। त्यसपछि आफ्ना चारवटा खुट्टाको बीचमा राखेर यताउता भाग्नै दिएन।
हर्कमान चिच्याए, कराए।
सँगै गएका अन्य गणकले हर्कमानलाई हात्तीले हमला गरेको थाहा पाए, तर बचाउन सक्ने अवस्था थिएन।
मातेको हात्तीले कसैलाई छाड्दैन भनेर सबै जना नजिक पर्नधरि डराए।
सबैले ठाने — हर्कमानको अन्तिम दिन आजै रहेछ!
पिठ्युँमा बसेका माउते दिपेन्द्र गजलाई सामान्य अवस्थामा फर्काउन लाख कोसिस गर्दै थिए। तर ऊ मान्ने मनस्थितिमा थिएन। उल्टै माउतेमाथि नै सुँडले प्रहार गर्दै थियो।
त्यही मौका पारेर हर्कमान भागे र नजिकैको जंगलमा पसे। लगत्तै अरू हात्तीको टोली गएर उनको उद्धार गर्यो। माउते पनि भागेर जोगिए।
हात्तीले थिचेर थिलथिलो भएको हर्कमानको शरीरका विभिन्न भागबाट रगत बगेको थियो। गैंडा गणना स्थगित गरेर उनलाई मेघौली ल्याइयो। एम्बुलेन्स बोलाएर अस्पताल पुर्याइयो।
यो घटनामा हर्कमानको करङका दुइटा हड्डी र खुट्टा भाँचिए। एक महिना काठमाडौंको बिएन्डबी अस्पताल बस्नुपर्यो।
हर्कमान ती व्यक्ति हुन्, जसले जिन्दगीको ४५ वर्ष जंगलमा बिताए। उनले २०३० देखि २०७५ सालसम्म राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत 'टाइगर इकोलोजी प्रोजेक्ट' मा काम गरेका थिए। यो प्रोजेक्टले बाघसम्बन्धी अनुसन्धान गर्थ्यो। उनले काम सुरू गरेकै वर्ष चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो।
'जंगलभित्रको कथा' शृंखलाको पाँचौं अध्यायमा आज हामी उनै हर्कमान र निकुञ्जका संस्थापकमध्ये एक रामप्रित यादवको जंगल अनुभव सुनाउँदै छौं।
सुरू गरौं, हर्कमानको अनुभवबाट।
राजा महेन्द्रको सक्रिय शासनकालमा हाल धादिङको धुनिवेसी नगरपालिकामा पर्ने तोप्लाङमा तीन जना सरकारी सिकारी थिए। उनीहरूलाई दरबारले नै सिकारीको जागिर दिएको थियो। तीमध्ये एक थिए, मधु लामा।
बलियो कदकाठीका मधु सधैं भरूवा बन्दुक बोकेर हिँड्थे। दुइटा सिकारी कुकुर सधैं उनका अघिपछि हुन्थे। दरबारको जागिरे भएकाले गाउँमा उनको बेग्लै ठाँट थियो। गाउँलेहरू उनलाई 'राजाका मान्छे' भनेर सम्मान गर्थे।
मधुको काम महिनाको कम्तिमा एकचोटि मृग, कालिज, लुइँचे लगायत वन्यजन्तु सिकार गरेर दरबार पुर्याउनु थियो। उनी सिकारी कुकुरको मद्दतले मृग खेदाउँथे र गोली हानेर मार्थे। राजपरिवारका सदस्य सिकारमा सवारी हुँदा आवश्यक बन्दोबस्त मिलाउने जिम्मेवारी पनि उनकै थियो।
२०१६ सालमा सिकारीको काम सुरू गर्दा उनको तलब महिनाको ४५ रूपैयाँ थियो। दुइटा कुकुर पाल्न थप ३० रूपैयाँ पाउँथे।
मधुका दुई जना छोरा थिए — विष्णु र हर्कमान। उनीहरू पनि बाबुको काममा सघाउँथे। एकपटक मधु बिरामी हुँदा विष्णु करिब एक वर्ष बाबुको सट्टा सिकारमा गएका थिए।
२०२९ सालमा विष्णुले टाइगर इकोलोजी प्रोजेक्टमा काम पाए। त्यसको केही समयमा हर्कमान पनि उक्त प्रोजेक्टमा जोडिए।
त्यहाँ उनीहरूको काम बाघका पाइला पछ्याउँदै कहाँ बस्छन्, के खान्छन्, कति संख्यामा छन्, भाले कति छन्, पोथी कति छन्, उनीहरूको आहाराको अवस्था के छ, वासस्थान कस्तो छ लगायत सूचना पत्ता लगाउनु थियो।
एउटै घरमा बाबु वन्यजन्तु सिकार गर्थे भने छोराहरू संरक्षणमा खटिएका थिए। सिकार र संरक्षणलाई लिएर बेलाबेला बाबुछोराको जुहारी चल्थ्यो। छोराहरू वन्यजन्तु मार्न हुँदैन भन्थे, सिकारी बाबुको फुर्ति चाहिँ छुट्टै हुन्थ्यो। उनी 'म राजाका लागि काम गर्ने मान्छे हुँ, तिमीहरू के नै हौ र' भनेर घमण्ड गर्थे।
विष्णु र हर्कमान कामको सिलसिलामा कयौं दिन, कयौं रात जंगलमै बिताउँथे। दसैंपछि जंगल पसेका उनीहरू बर्खा लागेपछि बल्ल घर फर्कन्थे। दिनभर वन्यजन्तुको विषयमा अध्ययन गर्थे। नक्सा हेर्दै बाघका पाइला पछ्याउँथे। बाघ देखिएका ठाउँको रेकर्ड राख्थे। जंगल र खोलाको नामाकरण गर्थे। जंगलभित्र क्याम्पमै उनीहरूको रात बित्थ्यो।
तिनै दिन सम्झँदै हर्कमानले आफ्नो अनुभव यसरी सुनाए —
'जाडो महिनामा जंगलभित्र यति जाडो हुन्थ्यो, हामी हिँड्दा पनि सिरक ओढेर हिँड्थ्यौं। एकदिन बिहान सिरक ओढेर राप्ती बगरमा हिँडिरहेका थियौं, परबाट एकसिंगे गैंडा हामीतिरै आइरहेको देखियो। ऊ एकदमै डरलाग्दो गतिमा हुत्तिँदै आइरहेको थियो। हामी दाजुभाइले एकअर्काको मुख हेर्यौं। आँखै आँखाबाट हामीबीच कुराकानी भयो। हामीले तुरून्तै निर्णय गरेर एउटा सिरक भुइँमा राख्यौं र अर्को सिरकको दुई छेउ समातेर गैंडातिर फालिदियौं। सिरक चराजस्तै उडेर गैंडाको टाउको छोप्न पुग्यो। सिरकले छोपिएपछि गैंडा केही बेर अलमलियो। त्यही मौकामा हामी ज्यान जोगाएर भाग्यौं।'
जंगलको बसाइमा बाघ अनुसन्धान टोलीलाई सघाउन हर्कमान र उनका दाजु विष्णुको अर्को एउटा मुख्य जिम्मेवारी थियो — उनीहरू बाघलाई बेहोस बनाएर शरीरमा रेडियोकलर जोड्थे।
यसका लागि उनीहरूले कयौंपटक बाघमाथि बन्दुक चलाए।
बन्दुकमा लोड गरिएको गोली हानेर मृग मार्ने मधुका यी दुई छोराले चलाउने बन्दुकमा गोली हुन्थेन। गोलीको सट्टा औषधि लोड गरिएको हुन्थ्यो। औषधि राखिएको सुईलाई बन्दुकमार्फत् बाघको शरीरमा निसाना लगाउने जिम्मेवारी पहिले विष्णुले पाएका थिए। पछि हर्कमान पनि यो काममा दक्ष भए। यसलाई प्राविधिक भाषामा 'डार्ट' गर्ने भनिन्छ।
यो काम यति जोखिमपूर्ण हुन्छ, औषधिको थोरै मात्र हिस्साले मान्छेको अंग छोयो भने मान्छेलाई नै खतरा हुन सक्छ। जोगिएर औषधि लोड गरेपछि हिंस्रक वन्यजन्तुसँग पौंठेजोरी खेल्दै नियन्त्रणमा लिने काम झनै खतरनाक हुन्छ।
हर्कमान लामा। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
हर्कमान यो कामको वर्णन यसरी गर्छन् —
एकदिन यी दाजुभाइ बाघ पछ्याउँदै घना जंगलमा अघि बढ्दै थिए। चितवन निकुञ्जको जर्नेली पोस्टबाट डुमरिया पोस्ट नजिकै पुग्दा हर्कले बाघको चाल थाहा पाइहाले।
'बाघ नजिकै छ है दाइ,' सँगसँगै हिँडिरहेका विष्णुलाई जानकारी दिन उनले मसिनो स्वरमा भने।
एकसुरमा हिँडिरहेका विष्णुले हर्कको कुरा सुनेनन्। उनी फटाफट अघि बढे।
नभन्दै बाघ करिब दस मिटर मात्र पर रहेछ। त्यो एक्कासि उनीहरू दुई जनाको बीचमा आइपुग्यो र भयानक आवाजमा गर्जिन थाल्यो।
बाघले सुरूमा विष्णुमाथि हमला गर्यो। उनी भागेर एउटा रूखमाथि चढे। त्यसबीच हर्क पनि रूखमा चढिसकेका थिए।
रिसाएको बाघ कहिले विष्णु चढेको रूखमुनि पुग्थ्यो, कहिले हर्क चढेको रूखमुनि।
ऊ आँखा ठुल्ठूलो पार्दै कहिले विष्णुलाई हेर्थ्यो, कहिले हर्कलाई।
अनि दुवैलाई सिकार गर्न नपाएको झोँकमा बेस्सरी गर्जिन्थ्यो।
'बाघ असाध्यै लजालु जनावर हो। ऊ सितिमिती मान्छेको नजिक पर्दैन। त्यसरी मान्छेको वरिपरि बसिरहने त बिरलै हुन्छ। आज यो बाघ किन यस्तो गरिरहेछ भनेर म सोच्दै थिएँ,' हर्कमानले भने, 'त्यही बेला जंगलभित्रबाट तीनवटा डमरू फुत्रुफुत्रु उफ्रिँदै बाघको नजिक आइपुगे। आफ्ना बच्चाहरू आएपछि बाघ अझै चनाखो भयो। डमरूहरू बाघ वरिपरि खेलिरहे, हामी दुई भाइ भने रूखमै बसेर त्यो सुन्दर दृश्य हेरिरह्यौं।'
'बाघले हमला गर्न सक्छ भन्ने डरको अनुभूति नभएको भए त्यो दृश्य कति मनमोहक थियो भन्ने म वर्णन पनि गर्न सक्दिनँ,' हर्कमानले अगाडि भने, 'त्यतिखेर साथमा क्यामरा हुन्थ्यो भने त्यो संसारकै सबभन्दा सुन्दर फोटो हुन्थ्यो होला! तर त्यो मोबाइल पनि नभएको जमाना थियो। हामीले सबै दृश्य आँखाले नै खिच्यौं।'
आज पनि बाघ वरिपरि तीनवटा डमरू खेलिरहेको त्यो दृश्य झलझली याद आइरहने हर्कमान बताउँछन्।
त्यस दिन निकै बेर खेलेपछि बाघ र उसका बच्चाहरू जंगलभित्र पसे।
उनीहरू घना जंगलमा अलप भएपछि हर्कमान र विष्णु रूखबाट ओर्लिए र जर्नेली पोस्टतिरै फर्किए।
हर्कमानले अर्को यस्तै घटना पनि हामीलाई सुनाए —
त्यो दिन उनीहरूले डार्ट गरेको बाघ बेहोस थियो। गैंडा र हात्तीलाई यसरी औषधिको डोज दिएर डार्ट गर्दा त्यसको एन्टिडोज पनि तयार पारिन्छ। काम सकिएपछि एन्टिडोज दिएर उठाउने गरिन्छ। बाघलाई भने एन्टिडोज दिइँदैन। त्यसैले डार्ट गरिएको बाघ चार-पाँच घन्टासम्मै बेहोस हुन्छ। पछि आफैं उठ्छ।
बाघ बेहोस भएकै मौकामा प्राविधिकहरूले उसको शरीर नापजाँच गर्ने र रेडियोकलर लगाउने गर्छन्। चार घन्टा बितेपछि बाघ उठ्ने समय हुन लाग्यो भनेर सबै जना लाखापाखा लाग्छन्।
त्यस दिन पनि विष्णु र हर्कमान चार घन्टापछि रूखमाथि चढेका थिए। तर बेहोस भएको छ घन्टा बितिसक्दा पनि बाघ उठेन।
उनीहरूले 'लौ बाघ त मर्यो कि क्या हो' भनेर आपसमा कानेखुसी गरे।
विष्णुले हर्कलाई भने, 'एक बाल्टी पानी बाघमाथि खोत्याइदे त!'
विष्णुले यति भनेपछि हर्कमान बाल्टीभरि पानी लिएर बाघको अगाडि पुगे र उसको शरीरमा पानी खन्याउन थाले।
उनले पूरै बाल्टिन पानी खन्याइसकेकै थिएनन्, बाघ जर्याकजुरूक उठ्यो।
त्यो बेला हर्क बाघसामु उभिइरहेकै थिए।
बाघले एक्कासि उनीमाथि हमला गर्यो र उनलाई भुइँमा लडायो।
निकै ठूलो शरीरको बाघ आफूमाथि चढेपछि सुरूमा त हर्क आत्तिए। पछि आफूलाई सम्हाले र हातमा रहेको बाल्टिन बाघको मुखैमा बजारे।
बाल्टिनको माथिल्लो भाग बाघको मुखमा अल्झियो।
बाघ रन्थनियो।
त्यही मौकामा हर्क भाग्न भ्याए।
'वरपर भएका सबैको सातो गएको थियो। लौ हर्कलाई बाघले भ्यायो भन्ठानेका थिए,' उनले भने, 'म चाहिँ बल्लतल्ल जोगिएँ। पछि हात्ती लगाएर बाघलाई जंगलतिर धपाइयो।'
त्यो रात उनीहरू जंगलभित्रै क्याम्पमा सुते। मध्यरात हर्कमान 'बाघले खायो' भन्दै चिच्याए। उनको आवाजले क्याम्पका सबैको होसहवास उड्यो।
सबैले उठेर वरपर हेरे।
रात चकमन्न थियो। बाघ कहीँ कतै थिएन। हर्कमान मस्त निद्रामा 'बाघले खायो' भन्दै कराउँदै थिए।
दिउँसोको घटनाले उनको मनमा कति ठूलो डर पसेछ भने, उनले सपनामा पनि बाघले हमला गरेको देखेछन्!
जंगलको लामो अनुभवले यो डर निकै कम भइसक्यो। अचेल हर्कमानलाई हिंस्रक जंगली जनावर पनि साथीजस्ता लाग्छन्। उनी धेरैचोटि आधा रातमा पनि सुकिभारबाट एक्लै हिँडेर सौराहा आएका छन्। साइकल चलाउन सकिने सबै बाटामा दिनरात साइकल हाँकेरै कुदिरहेका हुन्छन्।
हामीले हर्कमानलाई रत्ननगरको चित्रशारीस्थित उनकै घरमा भेटेका थियौं। कुराकानी गरिरहँदा उनकी श्रीमती मायादेवी सँगै थिइन्। उनी पनि आफ्ना श्रीमानको जंगल अनुभव चाख मानेर सुन्दै थिइन्।
मायादेवीले बीचमै सोधिन्, 'अनि बाटोमा बाघ, गैंडा भेटिएनन्? डर लागेन तपाईंलाई?'
'किन नभेटिनु! कति भेटिन्थे कति,' हर्कमानले मायादेवीतिर हेर्दै अर्को घटना सुनाए।
एकपटक उनी सुकिभारबाट फर्किँदै रहेछन्। बाटोमा झ्याप्पै बाघसँग जम्काभेट भइहाल्यो। हर्कमानले हातमा टर्च लाइट बोकेका थिए। उनले हत्तपत्त टर्चको प्रकाश बाघको आँखामा बालेको बाल्यै गरे। निकै बेरपछि टर्च निभाएर हेर्दा त्यहाँ बाघ थिएन।
'बाघ त उज्यालो प्रकाश आँखामा परेपछि कुन बेला भागिसकेछ,' हर्कले भने, 'म होसियार हुँदै अघि बढेँ। अलि पर जर्नेली पोस्ट थियो। त्यहाँ पुगेपछि सैनिकहरूलाई बाघसँग जम्काभेट भएको घटना सुनाएँ। त्यसपछि त उनीहरूले अगाडि जानै दिएनन्। त्यो रात मलाई त्यहीँ सुताए।'
हर्कमानले यो घटना सुनाइरहँदा मायादेवी आँखा ठुल्ठूलो पार्दै क्वारक्वार्ती उनको मुख हेर्दै थिइन्। बीच बीचमा 'अनि ... अनि' भन्दै उत्सुकता पनि देखाउँदै थिइन्।
हर्कले फेरि अर्को घटना सुनाए —
एकदिन उनी जंगलको बाटो साइकल हाँकेर कतै जाँदै थिए। काँसघारीबाट स्वाँट्ट गैंडा निस्कियो। उनी साइकलसहित गैंडासँग ठोक्किए र भुइँमा लडे।
गैंडा देख्नेबित्तिकै उनी साइकल त्यहीँ छाडेर जंगलभित्र कुलेलाम ठोके। गैंडाले आफ्नो रिस साइकलमाथि पोख्यो।
केही बेरपछि उनी साइकल लिन त्यही ठाउँ फर्के।
उनले देखे — साइकललाई त गैंडाले कच्याककुचुक पारेर डल्लो बनाइसकेछ।
गैंडासँग जम्काभेटको अर्को घटना पनि छ।
हर्कमान बाघलाई डार्ट गर्न राति ८ बजेतिर जंगल पसेका थिए। बाघ लोभ्याउन भनेर एउटा रूखमा पाडो बाँध्न खोज्दै थिए, त्यही बेला टुप्लुक्क गैंडा आइपुग्यो। त्यो गैंडा अर्को कुनै जनावरसँग जुधेर आएकाले निकै रन्थनिएको देखिन्थ्यो। रन्थनिएको गैंडा डरलाग्दो हुन्छ भन्ने बुझेका हर्क र उनका साथी पाडोलाई त्यत्तिकै छाडेर विपरीत दिशातिर भागे।
गैंडा पनि के कम!
उसले ज्यानजाला पिछा छाडेन। आखिरमा हर्कमानलाई भेट्टाइहाल्यो र पछाडिबाट झ्याम्मै हानेर माटोको ढिस्कोमा ठोक्काइदियो।
'शरीरभरि चोट लाग्यो, तर म बाँच्न सफल भएँ,' उनले भने, 'त्यो दिन मसँगै बाघ डार्ट गर्न गएको साथीले भने डराएर भोलिपल्टै काम छाड्यो।'
हर्कमान र विष्णुको दिमागमा पनि यस्तो जोखिमपूर्ण काम छाडेर कुनै सुरक्षित पेसामा लाग्ने सोच नआएको होइन। बाघलाई पछ्याउँदा पछ्याउँदै कुनै दिन जंगलभित्रै बाघको शिकार भएर गुमनाम मृत्यु भोग्नुपर्ला भनेर उनीहरू नडराएका पनि होइनन्। तर प्रोजेक्टका वरिष्ठ कर्मचारीहरूको हौसलाले यी दाजुभाइलाई सधैं काममा टिकाइरह्यो। काम गर्दै जाँदा कुन जनावरसँग कसरी जोगिने भन्ने तरिका पनि उनीहरूले सिक्दै गए।
हर्कका अनुसार हात्तीलाई डार्ट गर्दा सबभन्दा जोखिम हुन्छ। अरू जनावरले हमला गर्न आए रूखमा चढेर ज्यान जोगाउन सकिन्छ। हात्तीले भने स-साना रूख यसै ढाल्न सक्छ। ठुल्ठूलो रूखमा त मान्छेलाई पनि चढ्न गाह्रै हुन्छ।
यति मात्र होइन, शरीरमा औषधि प्रवेश गरेको १०-१५ मिनेट हात्ती निकै आक्रामक हुन्छ। त्यो अवधिसम्म सुरक्षित स्थानमा बस्न भ्याइएन भने मान्छेको ज्यानै खतरामा पर्छ। त्यसैले हात्ती डार्ट गर्दा ऊ सजिलै उक्लिन नसक्ने उच्च स्थानमा बस्नुपर्छ, वा बगरको ठाउँ बेस हुन्छ। ढुंगे बगरमा हात्तीलाई दौडिन असहज हुने भएकाले त्यस्तो ठाउँमा डार्ट गर्दा मान्छे सुरक्षित रहने हर्कमान बताउँछन्।
'मैले भने धेरैजसो रूखै चढेर हात्ती डार्ट गरेँ,' उनले भने, 'अहिलेसम्म कुनै अनिष्ट त भएन, तर हरेकचोटि ज्यान जोगाउन मुस्किल पर्यो।'
एकचोटि उनले टाइगर टप्स जंगल लजमा रहेको एउटा बढेमानको भाले हात्तीलाई डार्ट गरेर बेहोस बनाउनुपर्ने भयो। त्यो हात्तीको नाम थियो, शमशेरबहादुर।
बेलाबेला मातेर हैरान पार्ने त्यो हात्ती बेहोस पार्न ठूलो टिम खटिएको थियो, जसका मुख्य जिम्मेवार हर्कमान थिए।
हर्कले रूखमाथि चढेर बन्दुक चलाए। पहिलो प्रहार शमशेरबहादुरको पिठ्युँमा लाग्यो। तर लामो समय बितिसक्दा पनि त्यसको असर देखिएन।
त्यसपछि उनले दोस्रो डोज प्रहार गरे। यसपालि पनि लामो पर्खाइपछि बल्ल शमशेरबहादुर भुइँमा थुचुक्क बस्यो र मुन्टो पनि भुइँमा जोडेर सुत्यो।
ऊ बेहोस भएको बुझेर मान्छेहरू नजिकै पुगेका मात्र के थिए, शमशेरबहादुर जुरूक्क उठ्यो।
त्यसपछि त त्यहाँ भागाभाग नै भयो। शमशेरबहादुरले अलि पर रहेको अर्को भाले हात्तीलाई हानेर घाइते बनाइदियो।
निकै बेरपछि मात्र ऊ लठ्ठिएर सुतेको हर्कले सुनाए।
'हामी दाजुभाइ त साह्रै मूर्ख नि पहिले। त्यत्रो हात्तीलाई सामान्य रूखमा चढेर डार्ट गर्ने आँट गरियो,' उनले भने, 'त्यति बेलाको युवा जोसले काम गरेको होला। अहिले त सम्झिँदा पनि डर लाग्छ। लौ मरियो भनेर बाँचेका घटना त कति छन् कति!'
'तपाईंले पहिलोपटक बाघ डार्ट गर्दाको घटना याद छ?'
हाम्रो यो प्रश्नमा हर्कमानले सन् १९८५ को घटना सुनाए। उनकी श्रीमती मायादेवी पनि ध्यानपूर्वक सुन्दै थिइन्।
हर्कले टाइगर टप्स जंगल लज नजिकै रेडियोकलर जोड्न पहिलोपटक बाघलाई डार्ट गरेका रहेछन्। त्यसका लागि साँझको समय बाघ लोभ्याउन एउटा पाडो बाँधेछन्। बिहान गएर हेर्दा बाघले पाडो मारिसकेको थियो। तर बाघ त्यहाँ थिएन। खाएर बाँकी रहेको भाग लुकाएर बाघ अलि पर बसिरहेको रहेछ।
'हाम्रो हात्तीसहितको टोलीले बाघलाई घेरा हाल्यो। हामीले वरिपरिबाट सेतो कपडा देखायौं। बाघले सेतो कपडा नाघ्न सक्दैन भन्ने मान्यता छ। त्यसलाई बाघको लक्ष्मणरेखा नै मानिन्छ। यसरी घेरा हालेपछि मैले रूखमाथि चढेर बाघको शरीरमा निसाना लगाएँ,' हर्कमानले भने, 'बाघलाई डार्ट गरेको त्यो मेरो पहिलो अनुभव हो।'
त्यसयता उनले दुई सयभन्दा बढी बाघलाई डार्ट गरिसकेका छन्। यसबाहेक एक सयभन्दा बढी गैंडा, दर्जनभन्दा बढी हात्ती र अन्य कयौं जनावरलाई डार्ट गरेको अनुभव उनीसँग छ।
हर्कमान २०७५ साल र उनका दाजु विष्णु २०७३ मा उमेर हदका कारण सेवानिवृत्त भएका थिए। उनीहरूको ठाउँ अहिले हर्कका जेठा छोरा तीर्थले लिएका छन्। तीर्थको स्वभाव बाबुको जस्तै छ। उनी निडर छन् र निसाना लगाउन सिपालु छन्। चितवन र आसपासका वनमा हिंस्रक वन्यजन्तु नियन्त्रणमा लिन तीर्थको उपस्थिति अनिवार्यजस्तै बनेको छ।
उमेर बढ्दै गए पनि र आफ्नो स्थान छोराले लिए पनि हर्कमान र विष्णु कामबाट थाकेका छैनन्।
बाघ, गैंडा लगायत दुर्लभ वन्यजन्तुको विषयमा अनुसन्धान गर्नेहरू यी दाजुभाइलाई खोजी खोजी भेट्न आउँछन्। वन्यजन्तुमा रूचि राख्ने विदेशीहरू अहिले पनि चितवन आउँदा उनीहरूको सहयोग माग्छन्।
हर्कमान र विष्णु पनि तिनलाई सहयोग गर्न खुसी खुसी तयार हुन्छन्।
आखिर यी दाजुभाइले जस्तो जंगललाई भित्रैदेखि चिनेका र जीवनको लामो समय जंगलमै बिताएका अरू को छन् र!
'जिन्दगीमा पैसा त कमाउन सकिएन, तर इज्जत धेरै कमाइयो। हामीले सहयोग गरेका धेरै मान्छे वन्यजन्तुमा पिएचडी गरेर डाक्टर बनेका छन्। भेट हुँदा सम्मान गर्छन्। निकुञ्जले पनि आवश्यक पर्दा सहयोग माग्छन्,' हर्कमानले गर्वसाथ भने, 'हामीले यसलाई नै जिन्दगीको सबभन्दा ठूलो कमाइका रूपमा लिएका छौं।'
'वन थियो, वन्यजन्तु थिए, त्यसैले त हामीले जोगाउन पायौं,' उनले अगाडि भने, 'अब यो भूमिका नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहन्छौं।'
हर्कमानको अनुभवपछि अब लागौं, चितवन राष्ट्रिय निकुञ्जका संस्थापकमध्ये एक रामप्रित यादवको कथातिर।
रामप्रित यादव। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
कुनै समय चितवन जंगलै जंगलले भरिएको थियो भन्ने त हामी सबैलाई थाहा छ। यहाँ सीमित संख्यामा थारू समुदाय बसोबास गर्थे। यो क्षेत्र वन्यजन्तुको वासस्थानका रूपमा संसारमै लोकप्रिय थियो। बाघ र गैंडाका लागि त चितवन उपत्यका झनै प्रसिद्ध थियो। राणा शासकहरू यहाँ सिकार खेल्न आउँथे। पछि राजा महेन्द्र र वीरेन्द्रले पनि धेरैपटक यहाँ सिकार खेले। उनीहरूले विदेशी पाहुना रिझाउन सिकार खेलाउने ठाउँ पनि चितवनको वन नै थियो।
यसरी लगातार सिकार खेल्दै जाँदा महत्त्वपूर्ण वन्यजन्तुहरू घट्न थालेपछि सन् १९६२ मा गैंडा संख्या बढाउन राप्ती नदीदेखि दक्षिणतर्फको क्षेत्रलाई गैंडा सेञ्चुरी घोषणा गरियो। त्यसपछि उक्त क्षेत्रमा गैंडा गस्ती गर्न थालियो। तत्कालीन शासकहरूमा गैंडा बचे अरू जीवजन्तु बचिहाल्छन् भन्ने धारणा थियो। त्यसमा उनीहरूको मुख्य स्वार्थ सिकारकै थियो।
पछि जंगलका सबै वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने महसुस भएपछि सरकारले २०२७ सालमा निकुञ्जको अवधारणा ल्यायो। यसका लागि सर्वेक्षण गर्न विश्वनाथ उप्रेती, कर्ण शाक्य, जोन ब्लोरसहितको टोली खटाइयो।
उप्रेती वन मन्त्रालयका वरिष्ठ कर्मचारी थिए भने भारतको देहरादुनबाट वन विज्ञानमा विज्ञता हासिल गरेर फर्किएका शाक्य नेपाल सरकारका वन कर्मचारी थिए। त्यस्तै, ब्लोर राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का तर्फबाट परामर्शदाताका रूपमा काम गर्थे। अफ्रिकामा राष्ट्रिय निकुञ्ज बनाएको अनुभवप्राप्त ब्लोरलाई सरकारले निकुञ्ज स्थापनाको सम्भाव्यता अध्ययन गर्न बोलाएको थियो।
उनीहरू काठमाडौंबाट भिमफेदी हुँदै चितवन झर्दै थिए। त्यस क्रममा हेटौंडा वन कार्यालयमा काम गर्ने रामप्रित यादवलाई भेटे।
यादवसँग कर्ण शाक्यको पुरानो चिनजान थियो। त्यही चिनजानका आधारमा शाक्यले उनलाई पनि टोलीमा मिसिएर चितवन जान आग्रह गरे।
उनीहरू रसियन गाडी चढेर सौराहास्थित राप्ती नदीको किनारमा आइपुगे।
त्यतिखेर राप्ती नदी अहिलेको ठाउँभन्दा दक्षिणतर्फ बग्थ्यो। पछि नदीले उत्तरतर्फ सीमा बढाउँदै लग्यो। नदीको उत्तरी सीमानजिकै मल्लु महतोको इँटाको घर र रामकाजी श्रेष्ठको सानो चिया पसल थियो। पर केही छाप्राहरू थिए।
उनीहरूले राप्तीको बगरमा पाल टाँगेर क्याम्प खडा गरे। सौराहाको पहिलो रात त्यहीँ बिताए। भोलिपल्ट बिहानैबाट टोलीको काम सुरू भयो।
त्यति बेला सौराहाबाट दक्षिणी सीमा निर्धारण गर्न पैदल यात्रा गर्दै ठोरी पुगेको क्षण यादवलाई अहिले पनि झलझली याद आउँछ।
तनहुँको बन्दीपुरका व्यापारी पहिले नुन लिन चितवनको बाटो हुँदै ठोरी जान्थे। सर्वेक्षण टोलीका सदस्यले पनि त्यही बाटो यात्रा गर्ने निधो गरे।
सौराहाबाट दिनभर हिँडेपछि पैरेबास पुगिन्थ्यो। पैरेबास पुग्दा झमक्क साँझ परेपछि उनीहरूले त्यहीँ रात बिताए। त्यहाँ जंगलको बीचमा एउटा टहरा थियो। त्यो नुन बोक्न जाने ढांक्रेहरूका लागि बास बस्न बनाइएको थियो। खुला टहरामा रात बिताउँदा वन्यजन्तु आइहाले के गर्ने भन्ने डरले निद्रा नपरेको यादव सम्झन्छन्। सिरहाको गाउँमा हुर्किएका उनले हात्ती त देखेका थिए, तर गैंडा र बाघका बारेमा सुनेका मात्र थिए।
'राति १२ बजेतिर ठूलो हावा चल्यो। एक्कासि सररर आवाज निकाल्दै हावा चल्दा हामी त बाघै आयो कि क्या हो भनेर तर्सिएका थियौं,' उनले भने, 'ढुकढुक मुटु फुलाउँदै जसोतसो रात काट्यौं। बिहान सबै जना सकुशल उठेपछि बल्ल मन शान्त भयो।'
अर्को दिन दिनभर हिँडेपछि उनीहरू ठोरी पुगे। त्यहाँ सबैतिर हेरेपछि निकुञ्जको दक्षिणी सिमाना त्यही हुन्छ भन्ने उनीहरूको निर्क्यौल रह्यो।
त्यतिखेरसम्म ठोरीमा नुन लिन जाने चलन हराइसकेको थियो। ठोरीबाट नुन, कपडा ल्याएर बन्दीपुरमा व्यापार गर्नेहरूले नारायणी नदी किनारको नारायणघाटमा व्यापार गर्न थालेका थिए। नारायणघाट बजार विस्तार हुँदै थियो।
यसबीच २०१३ सालतिर राप्ती दून उपत्यका विकास योजना सुरू भएसँगै राप्ती नदी आसपास आवादी बढ्दै थियो। पहाडबाट झरेकाहरूले जंगल फाँडेर खेतीपाती गर्ने र गाईवस्तु पालेर जंगलमा चराउने गर्न थालेका थिए। वन क्षेत्र खुला चरनमा परिणत हुँदै गएकाले चितवनको वनमा बाघ, गैंडा लगायत ठूला जनावर घट्दै थिए।
सर्वेक्षण टोलीले ठोरीबाट फर्किँदा माडीको बगही भन्ने ठाउँबाट रिउ खोलाको किनारलाई सिमाना बनायो। त्यतिखेर माडीमा पनि बस्ती विस्तार भइरहेको थियो। चितवन राष्ट्रिय निकुञ्ज बनाउन भनेर उठाइएको बस्ती प्रायः माडीतिरै सरेको थियो। राप्ती नदीको दक्षिणतिर अहिले निकुञ्ज भएको ठाउँमा पन्ना, पन्नी, जब्का, जग्धारी, पदमपुर, कछुवानी, डुमरिया, भिम्ले, सुखिभार, खोरियामुहान, मटेरी लगायत बस्ती थिए। तीमध्ये प्रायः ठाउँमा अहिले घाँसे मैदान छ। पदमपुर बाहेकका बस्तीलाई गैंडा गस्तीका कर्मचारीले अन्यत्र सारेका थिए। पदमपुरलाई भने पुरानो थारू बस्ती भनेर तत्काल सारिएन। त्यसैले माडी छाडेर रिउ खोलालाई सिमाना बनाइयो।
उनीहरूले सौराहाबाट पूर्व धरानखोला (हालको पिप्ले) सम्म पुगेर सीमा निर्धारण गरे। पश्चिमतर्फ पहिले राप्तीको किनारै किनार र राप्ती नारायणीमा मिसिएपछि नारायणीको किनारै किनार त्रिवेणीसम्म पुगे।
जहाँ पुग्दा रात पर्थ्यो, उनीहरू त्यहीँ क्याम्प खडा गरेर बस्थे।
त्यतिखेर वन क्षेत्रमा हजारौं गाईवस्तु चरिरहेका भेटिन्थे। मान्छे पनि धेरै हुन्थे। घाँस, दाउरा, खरखडाइ काट्न कुनै रोकतोक थिएन। उनीहरू सर्वेक्षण गर्दै जाँदा 'अब आइन्दा यसरी जंगल छिर्न पाइँदैन है' भनेर सबैलाई सतर्क गराउँदै हिँड्थे।
त्यसै क्रममा एकदिन अँधेरी खोलानजिकै क्याम्प बनाउने कुरा भयो। सबैको छुट्टाछुट्टै टेन्ट थियो। केही सहयोगी पनि थिए। ठाउँ सुनसान थियो। कुनै पनि बेला जनावरले हमला गर्न सक्थ्यो। यादवले सोचे — सबै जना एकैठाउँ बसे डर नहोला!
तर एकान्त मन पराउने जोन ब्लोर आफ्नो टेन्ट लिएर कुनातिर लागे। विश्वनाथ उप्रेती र कर्ण शाक्यले पनि छुट्टाछुट्टै कुनामा टेन्ट टाँगे।
यादव डराई डराई अर्को छेउमा टेन्ट टाँगेर बत्ती बालेर सुते। त्यो रातभर उनी डरले थर्कमान भए पनि नराम्रो घटना केही भएन।
यसरी निकुञ्ज स्थापनाको निम्ति सर्वेक्षण गर्न जाँदा स्थानीय थारूहरूले दूध र खिर खुवाएर स्वागत गरेको यादव सम्झन्छन्।
'नवलपरासीका थारूहरू त्यो भेगमा गाई चराउन आउँथे। दूध फालाफाल हुन्थ्यो,' उनले भने, 'हामी निकुञ्ज सर्वेक्षण गर्न गएको टोलीलाई उनीहरूले कहिले दूध दिएर स्वागत गरे त कहिले दूधको खिर पकाएर खुवाए।'
टोलीले तय गरेको सिमानाकै आधारमा ५४४ वर्गकिलोमिटर क्षेत्रफलको चितवन राष्ट्रिय निकुञ्ज सिफारिस गरियो।
२०२९ सालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन जारी भएपछि २०३० मा शाही चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो। यो निकुञ्ज विश्व सम्पदा सूचीमा समेत परेको छ।
अहिले निकुञ्जको क्षेत्रफल ९५२.६३ वर्गकिलोमिटर छ। चितवन, नवलपुर, मकवानपुर र पर्सा जिल्ला निकुञ्जमा पर्छ। यसको करिब ७० प्रतिशत हिस्सा सालको जंगलले ढाकेको छ। पछिल्लो गणनामा यहाँ ६९४ वटा एकसिंगे गैंडा र १२८ बाघ भेटिएका थिए। त्यस्तै, ५० वटाजति जंगली हात्ती, ७० प्रजातिका स्तनधारी, ५४६ प्रजातिका चरा, ४९ प्रजातिका सरीसृप र उभयचर र १२० प्रजातिका माछा पाइन्छन्।
यहाँ ४० भन्दा बढी प्राकृतिक ताल, घना वन र घाँसे मैदान छन्। कुनै बेला सिकारका लागि चर्चित यो वनले अहिले पर्यटक भित्र्याएर वार्षिक करोडौं रूपैयाँ आम्दानी गर्छ।
चितवन राष्ट्रिय निकुञ्ज स्थापनापछि यादव निकुञ्जभित्रको सडक निर्माणमा खटिएका थिए। सौराहादेखि जिप सफारी चल्ने रूट बनाउन करिब चार वर्ष लागेको थियो। उनकै खटनपटनमा त्यो रूट मटेरीसम्म बन्यो। त्यतिखेर सडक बनाउन पुरूष कामदारलाई दैनिक ५ रूपैयाँ र महिला कामदारलाई दैनिक साढे ३ रूपैयाँ ज्याला दिएको उनी बताउँछन्।
उनी पटक पटक चितवन निकुञ्जका प्रमुख वार्डेन पनि बने। त्यसबाहेक रारा, शुक्लाफाँटा र लाङटाङ निकुञ्जको सर्वेक्षणमा पनि सहभागी भए। चितवन निकुञ्जमा रहेको घडियाल गोही प्रजनन् केन्द्र स्थापना र सञ्चालनमा उनको सबभन्दा ठूलो योगदान छ। यो कार्यक्रम स्थापित गर्न उनी अहोरात्र खटिएका थिए। अहिले निकुञ्जलाई छोएर बग्ने राप्ती र नारायणी नदीमा प्राकृतिक रूपले गोहीको संख्या कम भइरहँदा घडियाल गोही प्रजनन् केन्द्रका उत्पादनले संकटापन्न अवस्थाका घडियाल जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
हामीसँगको कुराकानीमा हर्कमान लामाले रामप्रित यादवसँग जोडिएको एउटा किस्सा सुनाए —
चितवन निकुञ्जमा जुन गैंडालाई सबभन्दा पहिले बेहोस बनाएर रेडियोकलर जोडिएको थियो, त्यसको नाम 'यादव' राखियो। रामप्रित यादवकै नामबाट यो नामाकरण गरिएको हो।
७८ वर्षका यादव अहिले पनि वन संरक्षणमा सक्रिय छन्। चितवन आसपास हुने संरक्षण गतिविधिमा उनी नपुगेको विरलै हुन्छ।
***
यो शृंखलामा अहिलेसम्म प्रकाशित स्टोरीहरू: