आप्पा (बुबा) ले लालबन्दीबाट वर्णमालाको किताब ल्याइदिएका थिए।
चित्रसहितको त्यो किताबमा बल्ढ्याङ्ग्रे अक्षरहरू लेखिएका थिए — क, ख, ग, घ, ङ ...।
कक्षा ४ पढ्दै गरेका राजु स्याङ्तान ‘घरजस्तो घ’ को चित्र घरिघरि ओल्टाइपल्टाई हेरिबस्थे।
चित्रको घरमा झ्याल थियो। ढोका थियो। चिल्लो भित्ता थियो। धुरीको माथि धुवाँ आउने चिम्नी पनि थियो।
चित्र हेर्दै उनी चित खान्थे — यस्तो पनि घर हुँदो रहेछ!
किताबको घर र आफ्नो घर तुलना गर्थे। छेउटुप्पो मिले पो!
राजुको घरमा न झ्याल थियो, न ढोका; न गतिलो छानै थियो।
ढोकाका नाममा चिरेर उब्रिएको बोक्रासहितको दुइटा काठले छोपछाप पारिएको थियो, जसको चेपबाट बिरालो र कुकुर सजिलै भित्र पस्थे।
अनि, छानाका नाममा खरले छाएको थियो।
किताबको घर र आफ्नो घरको तालमेल नमिलेपछि राजु मनमनै गम खान्थे — हाम्रो घर किन यस्तो छैन!
राजुका आप्पा घर बनाउने मिस्त्री थिए। गाउँभरका झ्याल, ढोका, रेलिङ, दराज, टेबुल सबै उनैले बनाएका थिए। आप्पाले बनाएका कति घर देखेर त राजु छक्कै पर्थे। ती घर उनले किताबको चित्रमा देखेभन्दा भव्य हुन्थे।
उनी सोच्थे — अर्काको निम्ति गज्जब गज्जबका घर बनाउने आप्पाले आफ्नै घर चाहिँ किन चराको गुँडजस्तो टालटुल मात्र पारे!
उनी यो पनि सोच्थे — जसले गाउँका सयौं घर बनाए, उनकै घर किन हरेक साल आँधीले उडाइरहन्छ!
आँधीले घर उडाएपिच्छे उनलाई यसपालि त पक्की घर बन्ला कि भन्ने आश जाग्थ्यो। तर हरेकचोटि उनका आप्पा उडेको घर टालटुल मात्र पार्थे।
राजुले किताबमा देखेको ‘घरजस्तो घ’ कहिल्यै बनेन।
वरपरका मान्छे उनीहरूको यो नियतिलाई जिस्क्याउँदै भन्थे, ‘शिकारीको खेत बाँझो, मिस्त्रीको घर नांगो।’
यहाँ क्लिक गरेर सेतोपाटी सबस्क्राइब गर्न सक्नु हुनेछ।
-1709111859.jpg)
राजु स्याङ्तानको खास घर महोत्तरीको बर्दिबास हो। पहिले त्यसलाई खैयरमारा गाविस भनिन्थ्यो। त्यो सिंगो गाउँ नै सयौं वर्षअघि तामाङहरूले जंगल फाँडेर बसाएको मानिन्छ।
त्यही गाउँको डाँडामा सानो झुपडी बनाएर बसेको थियो, राजुको परिवार।
हरेक साल आँधीले उडाउनुसँगै उनको घरको अर्को विशेषता थियो — त्यहाँ प्रायः अबेरसम्म टुकी बलिरहन्थ्यो। टुकीको उज्यालो परपरसम्म देखिन्थ्यो, तारा बलेजस्तै!
त्यसरी अबेरसम्म उज्यालो भइरहने राजुको घरको कथा भने अन्धकारमय थियो।
उनीहरूले अबेरसम्म बत्ती बाल्नुको संकेत हुन्थ्यो — घरका बाबुछोरा अझै कामबाट फर्किएका छैनन्। घरका मानिस भोका छन्। उनीहरू चामलको पर्खाइमा छन्।
त्यति बेला त्यो घरमा दुई छोरा, दुई छोरी अनि श्रीमान–श्रीमती गरेर ६ जनाको परिवार थियो। राजु जेठो छोरा थिए। जेठो भएकाले उनलाई पढाइ कम, बुबासँग काममा जानुपर्ने बाध्यता ज्यादा थियो। काममा जाँदा केही मानिसले चामल दिन्थे, केहीले आलु दिन्थे, केहीले दाल।
राजुका बुबा आफ्नो गम्छामा ती सरसामग्री थाप्थे, गाँठो पारेर काँधमा बोक्थे र छोरासँग लुखुरलुखुर घर फर्कन्थे।
घर आइपुग्दा झमक्क साँझ परिसकेको हुन्थ्यो।
गम्छामा गाँठो पारेर ल्याएको दाल–चामलबाट आमाले फारो गरी गरी खोले पकाउँथिन्।
कहिलेकाहीँ गाउँमा कामै पाइन्थेन। राजुका बुबा काम खोज्दै टाढा टाढा पुग्थे। महिनौं उनको अत्तोपत्तो हुन्थेन। त्यस्तो बेला घरमा फारो गरेर खान खोले पनि हुन्थेन। राजुकी आमा बीउलाई भनेर जोगाएको जुनेलो भुट्थिन्। उनीहरू त्यही चपाएर सुत्थे।
ज्यानमा पौष्टिक आहार नपुगेपछि भनन रिंगटा चल्नु, हातमुख फुस्रो हुनु, ओठमुख सुक्नु र पेट बटारिनु उनीहरूका लागि सामान्य थियो।
दुःखको त्यस्तो घडीमा राजुकी आमा आफ्ना छोराछोरीलाई दोहोर्याइ-तेहर्याइ एउटा कथा सुनाउँथिन् —
एकादेशमा दुई जना दिदी–बहिनी थिए। बहिनी एकदमै धनी र दिदी एकदमै गरिब थिइन्।
एकदिन बहिनीको घरमा दिदी पिठो पैंचो माग्न गइन्।
बहिनीले भनिन्, ‘मेरो टाउकोको ज्रुमा मारिदेऊ। अनि बल्ल म तिमीलाई एक माना पिठो दिऊँला।’
दिदीले दिनभर लगाएर बहिनीको जुम्रा मारिन्।
बहिनी एकदम धुर्त थिइन्। उनले आफ्नी दिदीलाई एक माना पिठो पनि दिन नपरोस् भनेर जुक्ति निकालिन्।
उनले आफ्ना औंलाको नङमा तोरीको दाना लुकाएर राखेकी थिइन्। जसै दिदीले सबै जुम्रा मारेर हकको पिठो मागिन्, बहिनीले आफ्नो हात टाउकोमा लगिन् र तोरीको दानालाई जुम्रा मारेजसरी मार्दै भनिन्, ‘खोई त तिमीले मेरो टाउकोको सबै जुम्रा मारेको? जाऊ तिमीलाई म अलिकति पनि पिठो दिन्नँ।’
दिनभर काम गर्दा पनि पिठो नपाएपछि दिदी रूँदै घर फर्किइन्।
छोराछोरीलाई खुवाउने खानेकुरा केही छैन भनेर उनले रूँदै रूँदै बाटोमा फेला परेको सिस्नु टिपिन्।
त्यही बेला एउटा भालु टुपलुक्क अगाडि आइपुग्यो।
भालुले सोध्यो, ‘किन रोएको?’
दिदीले दिनभरका सबै घटना विस्तार लगाइन्।
भालुले उनको घर जाने इच्छा देखायो। दिदी राजी भइन्।
जब उनीहरू घर पुगे, भालुले घरमा भएका सबैलाई बाहिर आउन भन्यो। अनि, दिदीलाई पूरा घर लिप्न लगायो।
दिदीले घर लिपिसकेपछि भालुले सबैलाई बाहिरै बस्न आदेश दिँदै भन्यो, ‘मैले नबोलाएसम्म कोही पनि भित्र नपस्नू।’
यति भनेर त्यो भालु भित्र पस्यो।
ऊ निकै बेर बाहिर नआएपछि उनीहरूले घरको ढोका उघारे र भित्र गए।
त्यहाँ भालु थिएन। बरू उसले दिसा गरेर गएको पैसा नै पैसाले घर भरिएको थियो।
घरभरि पैसा देखेपछि अब सुखका दिन आए भनेर दिदी र उनको परिवारका सबै खुसी भए।
दिदीलाई पैसा कति छ भनेर जान्ने मन पनि भएछ। उनले पैसा नाप्न बहिनीको घर गएर पाथी मागिन्।
यसले बहिनीलाई सोचमग्न बनायो — दिदीको घरमा न खानेकुरा छ न केही सरसामान! उनले के नाप्न पाथी खोजेकी होली!
आफ्नो यही कौतूहल मेट्न बहिनीले पाथीको मुनि टाँसिने खालको पदार्थ राखेर दिदीलाई दिइन्।
केही समयपछि दिदीले पाथी फिर्ता ल्याउँदा त्यसमा पैसा टाँसिएर आयो।
दिदीले पाथीमै नाप्नुपर्ने यति धेरै पैसा कहाँबाट पाइन् भनेर बहिनीलाई खुलदुली भयो। उनले खोजीनीति गरिन्।
सोझी दिदीले सबै कुरा बताइदिइन्।
त्यसपछि त के चाहियो! धुर्त बहिनी आफू पनि दिदीजसरी रूँदै सिस्नु टिप्न गइन्।
उनले सिस्नु टिप्दै गर्दा फेरि त्यही भालु टुप्लुक्क आइपुग्यो।
बहिनीले नक्कली कथा रचेर भालुलाई सुनाइन्।
भालु यसपालि पनि बहिनीसँगै उनको घर गयो। त्यसरी नै सबैलाई घरबाहिर जान भन्यो र बहिनीलाई घर लिप्न लगायो। लिपपोत सकिएपछि भालु एक्लै घरभित्र पस्यो र ‘मैले नबोलाएसम्म कोही नछिर्नू’ भन्दै ढोका थुन्यो।
घरभित्र पसेको निकै बेरसम्म भालु फर्किएन।
बहिनीले हत्तपत्त ढोका खोलेर हेर्दा भित्र भालु थिएन। दिदीकहाँ जस्तो पैसाको थुप्रो पनि थिएन। बरू कोठाभरि भालुको दिसै दिसा थियो।
आमाले सुनाउने भालुको यो कथा सुनाउँदै राजुले हामीसँग भने, ‘सायद आमाले हाम्रो भोक मेट्ने केही उपाय नलागेपछि लोककथाको सहारा लिनुभएको थियो! हाम्रो घरमा पनि त्यस्तै कुनै भालु आएर सबै दुःख हरेर जान्छ भन्ने आश देखाउँदै उहाँले हामीलाई हुर्काउनुभयो।’
राजुको घरमा आँधी पहिले आउने कि अनिकाल भनेर प्रतिस्पर्धाजस्तै हुन्थ्यो। बुबा काम खोज्दै टाढा गएको एक समय अनिकालले आँधीलाई जित्यो।
त्यो साल खोरियामा मकै फलेन। अलि अलि फलेको मकै आधा दुम्सीले खायो, आधा राजुको परिवारले।
जुनेलो पनि आधा सुगाले खायो, आधा राजुको परिवारले।
कोदो पनि त्यस्तै भयो।
सर्लाही हरिवनतिर मिस्त्री काम गर्न गएका बुबा घर नआएको डेढ महिनाभन्दा बढी भइसकेको थियो। घरमा अन्नको एक गेडो थिएन। आमाले वरपर पैंचो मागेर गर्जो टार्दा टार्दा पैंचो माग्ने घर नै सकिसकेको थियो।
केटाकेटीलाई खुवाउन खानेकुरा केही नभएपछि आमाले आफूले जम्मा गरेको घैंचाको दाना निकालिन्। त्यो दाना माडेपछि मलजस्तो काम गर्थ्यो। उनी त्यही मल बेचेर केटाकेटीको भोक मेट्न चाहन्थिन्। तर यस्तो मल गाउँका हरेकको घरमा हुन्थ्यो; किन्ने कसले? तैपनि उनले राजु र उनका भाइलाई मल बेच्न पठाइन् र त्यसबाट आएको पैसाले चामल ल्याउन भनिन्।
दुई भाइ अनकनाउँदै घैंचा बोकेर हिँडे। तर गाउँभरि चहार्दा पनि कसैले किन्न मानेनन्।
उनीहरू यसरी घैंचाको मल बेच्दै हिँडेको राजुका बुबाको एक जना साथीले थाहा पाएछन्। उनले साथीको माया र सहयोगका लागि मल किनिदिए। पैसा पाएपछि साँझ घरमा चुह्लो बल्ने भयो भन्ने सोचेर दाजुभाइ दंग परे।
उनीहरूले त्यो पैसाले चामल किने।
तर कस्तो दुर्भाग्य भयो भने, बाटोमा आउँदा आउँदै चामल बोकेको प्लास्टिक किलामा अड्किएर खेतभरि पोखियो। चामल र माटो सराबरी भयो। आमाको गाली खाने डरले उनीहरूले माटोसहितको चामल लुगामा पोको पारेर घर ल्याए।
आमाले रातभरि चामल केलाइन् र खोले बनाएर खुवाइन्।
त्यो चामल उनीहरूले साता दिनसम्म पुर्याए।
राजुसँग दुःखका यस्ता किस्सा कति छन् कति!
घरको यस्तै दयनीय अवस्थाका कारण उनी स्कुल पनि मुस्किलले वर्षको एक–दुई महिना मात्र जान्थे। बाँकी समय बुबासँगै काममा हिँड्थे। उनले एघार वर्षको उमेरदेखि नै बुबालाई काममा सघाउन थालेका थिए।
नियमित स्कुल नजानुको अर्को कारण पनि थियो।
‘कक्षाको अगाडिका बेन्चहरू बाहुन–क्षत्रीका छोराछोरीले भरिएका हुन्थे। हामी अन्तिम बेन्चमा बस्थ्यौं। उनीहरूले सफा लुगा लगाएका हुन्थे, हामी भने मैलो लुगा लगाएर धुस्रो भएर गएका हुन्थ्यौं,’ राजुले भने, ‘त्यसले हामीलाई कहिले पनि आत्मविश्वासी बन्न दिएन। हामी अगाडि उभिएर बोल्नसक्ने कहिल्यै भएनौं।’
स्कुलमा मात्र होइन, गाउँमा पनि तामाङ समुदायको र त्यसमाथि गरिब भएकाले धेरै जना उनीहरूलाई हेप्थे। होच्याएर कुरा गर्थे। ती ठूलाबडा मान्छेसँग शिर उठाएर, आँखा जुधाएर बोल्ने हिम्मत उनीहरूले गर्नै सकेनन्।
त्यसैबीच २०५८ सालतिर द्वन्द्वकालीन समयमा एकदिन माओवादीहरू उनीहरूको घर आए। र, पछि पछि पनि आइरहे।
माओवादी आउँदा राजुलाई डरभन्दा खुसी ज्यादा लाग्थ्यो।
‘गाउँमा हामी सबैसँग झुकेर बसेका थियौं। कसैले हामीलाई सम्मान गर्थेनन्। माओवादीहरूले भने मजस्तो फुच्चे केटालाई पनि तपाईं भनेर बोलाए,’ राजुले भने, ‘उनीहरू आउँदा कहिले चामल त कहिले के खानेकुरा बोकेर ल्याउँथे। पेटभरि खान पाइन्थ्यो। हामी त्यही खुसीले उनीहरू कहिले आउलान् भनेर प्रतीक्षा गरेर बस्न थाल्यौं।’
माओवादीहरू क्रान्तिका कुरा गर्थे। समानताका कुरा गर्थे। राजुलाई ती कुरा सुन्ने चाख बढ्दै गयो।
एकदिन माओवादीले उनीहरूको घरमा केही किताब छाडेर गए।
ती किताब थिए — चिनियाँ उपन्यास ‘रातो चम्किलो तारा’, ‘कम्युनिस्ट मेनिफेस्टो’, नौलो बिहानी पत्रिका, बाबुराम भट्टराई र हिसिला यमीले लेखेको किताब ‘महिला मुक्ति’ आदि आदि।
ती किताब पढेपछि राजुलाई स्कुलका किताब गौण लाग्न थाले।
उनी त्यसमा उल्लेख भएका सबै कुरा बुझ्नसक्ने उमेरका त भइसकेका थिएनन्, तर ती किताब पढ्न थालेपछि उनलाई स्कुलका कुनै पनि किताब हेर्न मन लाग्न छाड्यो। काममा जाँदा होस् वा जंगलमा बाख्रा चराउन जाँदा; उनी तिनै किताब बोकेर हिँड्न थाले। र, मौका पाउनासाथ अध्ययनमा लीन हुन थाले।
‘माओवादीहरूले छाडेर गएका ती किताब पढेपछि मलाई बेग्लै अनुभव भयो,’ राजुले भने, ‘अँध्यारो सुरूङमा हिँडिरहेको मान्छेले कतैबाट उज्यालो पाएजस्तो लाग्यो।’
यसरी माओवादीसँग सामीप्य बढ्न थालेपछि एकदिन राजुले उनीहरूलाई सोधे, ‘तपाईंहरू के के गर्नुहुन्छ? तपाईंहरू जस्तो बन्न के गर्नुपर्छ?’
जबाफमा उनीहरूले भने, ‘हामी देश बदल्न हिँडेका हौं। यसका लागि हिँडेको हिँड्यै गर्नुपर्छ। मर्ने र बाँच्ने ठेगान हुँदैन। कहिलेकाहीँ भोकभोकै पनि बस्नुपर्छ।’
भोकको चिन्ता त राजुलाई थिएन। त्यसको अभ्यास त उनले घरमा कति गरे कति! हिँड्न पनि सधैं हिँडिरहेकै थिए। मरिन्छ कि भन्ने डर चाहिँ अलिकति थियो। तैपनि उनले हिम्मत बाँध्दै भने, ‘मलाई पनि तपाईंहरू जस्तै क्रान्तिको बाटोमा हिँड्न मन छ।’
उनीहरूसँग हिँड्नुअघि राजु आफ्नो स्कुल गए।
स्कुलमा कहिल्यै अगाडि आएर बोल्न नसकेका उनले सबै विद्यार्थीसामु उभिएर करिब १५ मिनेट लामो भाषण दिए र युद्धको बाटोमा हिँडे।
युद्धमा हिँड्नुअघिसम्म उनको नाम राजु भइसकेको थिएन। घरमा आमाबुबा र छरछिमेकले ‘काले’ भनेर बोलाउँथे। वरपरका मान्छेले ‘रामेको छोरा’, ‘भोटे’ लगायत भनेर सम्बोधन गर्थे। उनलाई आफ्नो ‘काले’ नाम निकै रद्दी लाग्थ्यो। त्यही भएर युद्धमा हिँडेपछि खत्रा नाम राख्छु भन्ने उनको सोच थियो।
जब नाम राख्ने दिन आयो, एक माओवादी दिदीले दुइटा नाम लिएर आइन् — राजु र गोपाल।
ती दुई विकल्पमध्ये उनलाई ‘गोपाल’ नाम मन परेन। उनले ‘राजु’ छाने।
उनलाई धेरै समयसम्म यो नाम पनि चित्त बुझेको थिएन। पछि फेर्नुपर्ला भन्ने सोचेका थिए। तर जुन दिदीले यो नाम जुराइन्, केही समयपछि आफैंले बोकेको ग्रेनाइड पड्किएर उनको मृत्यु भयो।
अनि राजुले सोचे — नाममा के छ र! एक सहिदले राखिदिएको नाम किन फेरिरहनु!
-1709111859.jpg)
माओवादी युद्धमा जाँदा राजु करिब १६ वर्षका थिए।
उनले घरबाट निस्कँदा प्लास्टिकको झोलामा किताब, लत्ताकपडा र आफूलाई चाहिने सरसामग्री बोकेका थिए। त्यो झोला नौ महिनासम्म उनले बोकिरहे। एकदिन युद्धमा हिँडेका एक जना साथीले अर्कै झोला पाए र उनले आफ्नो पुरानो झोला राजुलाई दिए।
राजुको झोला त बदलियो, तर परिवर्तनको उत्कट चाहना बदलिएन। देशको मुहार फेर्ने क्रान्तिकारी अभिलाषा बदलिएन।
राजुलाई सुरूका तीन महिना परीक्षणमा राखियो। त्यसमा पास भएपछि सिन्धुलीको भिमान युद्धमा खटाइयो।
उनी त्यति बेला स्वयंसेवक समूहमा खटिएका थिए र युद्धमा लागेका लडाकूहरूलाई खुवाउन भैंसीको मासु र भात भएको झोला बोकेका थिए। अर्का एक जना स्वयंसेवक साथीले गाग्रीमा दाल बोकेका थिए। युद्धको बीचबीचमा उनीहरू त्यही खान्थे र बचेका खानेकुरा झोलामा बोकेर अगाडि बढ्थे।
स्वयंसेवक टोलीमा खटिँदा युद्धका घाइतेहरू पनि बोक्नुपरेको उनी सम्झन्छन्।
राजु बाँसुरी राम्रो बजाउँछन्। त्यही खुबीले उनलाई माओवादीको ‘चुरे शृंखला सांस्कृतिक परिवार’ भन्ने कलाकार समूहमा राखिएको थियो। राजुका भाइलाई त उनलाई भन्दा राम्रो बाँसुरी बजाउन आउँथ्यो। उनी बाँसुरीसँगै मादल पनि राम्रो बजाउँथे र नाच्थे पनि।
एकदिन राजुले आफ्नो भाइ पनि बाँसुरी बजाउँदै युद्धमा आएको देखे। उनले भाइलाई घर फर्काउन खोजे, तर उनी मानेनन्। केही समय दाजुभाइ सँगसँगै भए।
पछि भाइलाई सिन्धुली, खोटाङ हुँदै सोलुखुम्बुतिर लगियो। राजुलाई भने चुरे क्षेत्रमा खटाइयो। घर नजिकै भएकाले उनी आमाआप्पा भेट्न लुकी लुकी गइरहन्थे।
ठूलो छोरालाई बेलामौका देख्न पाए पनि आमाबुबालाई कान्छो छोराको खुब न्यास्रो हुन्थ्यो। उनीहरू राजुलाई पटक पटक भन्थे, ‘भाइ कहाँ छ? खोजेर ल्या।’
त्यो बेला मोबाइल फोनको चलन थिएन। सन्देश पुर्याउने एउटै माध्यम चिठी थियो। राजुलाई भाइ पूर्वतिर छ भन्ने थाहा थियो, तर ठेगाना थाहा थिएन। तैपनि उनले भाइका नाममा चिठी लेखे। माओवादीको एउटा लस्कर पूर्व जाने खबर पाएपछि उनले एक जना लडाकूका हातमा त्यो चिठी थमाइदिए।
चिठीमा राजुले लेखेका थिए —
प्रिय भाइ, क्रान्तिकारी लाल सलाम
म अस्ति घर गाको थिएँ। घरमा सबै जना ठिकै छ। त्यस बेला थाहा पाएँ, तँ पनि आप्पाले बनाइदिएको बाँसुरी बोकेर पूर्व जाने टोलीसँगै युद्धमा हिँडेछस्। मलाई देख्नेबित्तिकै तँलाई खोजेर आमा धेरै रोयो। आप्पासँग त भेट भएन। अब म घर आउँदा जसरी नि तँलाई लिएर आइज भनेको छ। समय मिल्यो भने जसरी भए नि एकपटक आमालाई भेट्न जा है।
तर भाइ, हामी भीषण युद्धमा हिँडेको मान्छेलाई भनेको बेला कहाँ घर जान पाइन्छ र! घरको धेरै चिन्ता नगर। यता म बेला बेला घर जान्छु। आमाआप्पालाई सम्झाउँछु। हामी लाल समरमा हिँडेको मान्छे भावनामा डुब्नु हुँदैन। अब हाम्रो लागि यही क्रान्ति नै आमाआप्पा, यही क्रान्ति नै दाजुभाइ, दिदीबहिनी र आफन्त। हाम्रो लागि रगतको नाताभन्दा वर्गीय नाता ठूलो हुन्छ रे। आमाआप्पा सम्झिएर कहिल्यै दुःखी नहुनू। गाउँघरमा हिँड्दै गर्दा गरिबदुःखी आमाबुबा जो–जो भेटिन्छ, उहाँहरूलाई नै आमाआप्पा सम्झिनू। तँसँगै हिँड्ने लाल सेनालाई दाजुभाइ, दिदीबहिनी सम्झिनू।
हामी एकदिन अवश्य लक्ष्यमा पुग्नेछौं। पूर्वको क्षितिजबाट गरिबको दिन झुल्किने छ। हाम्रो गाउँमा शोषक सामन्तहरूको राज ढल्नेछ। डाँडाहरूमा हँसिया हथौडाको झन्डा फरफराउने छ। हामी पढ्न नपाएको त्यो स्कुलमा अगाडिको सिटमा बसेर पढ्न पाइने छ। हाम्रो जमिन लुट्ने लुटेराहरू गाउँ छाडेर भाग्ने छन्। हामीले छाती खोलेर गाउँ घुम्न पाउने छौं।
प्रिय भाइ, लडाइँको मोर्चाबाट भाग्ने कुरा मनमा कहिल्यै नसोच्नू। हेर् त, तँलाई मलाई सबै जनाले तपाईं भन्छ। सानो, कलिलो उमेरको मान्छे भनेर कति माया गर्छ हामीलाई यहाँ। भोकै त हामी घरमा पनि बसेकै हो। यहाँ त झन् बेला बेला पेटभरि चामलको भात खान पाइन्छ। उकालो ओरालो हिँड्दै गर्दा, नदीहरू तर्दै गर्दा, जंगल जंगल दौडिँदै गर्दा थकाइ लाग्न सक्छ। थकाइ कहिल्यै नमान्नू। क्रान्तिकारीको डायरीमा थकाइ भन्ने शब्द नै हुँदैन रे।
घरमा तेरो लागि आप्पाले राम्रो बाँसुरी बनाइदिनुभएछ। मेरो लागि मसी आउने कलम किन्दिनुभएछ। आप्पाले हामी युद्धमा नहिँडोस् भनेर यस्तो गरेको होला है! तर के गर्नु, हामी त कहाँ–कहाँ पुगिसक्यौं!
यति बेला म सर्लाहीको चुरेको फेदीबाट तँलाई यो चिठी लेख्दैछु। यो चिठी पूर्वतिर हिँडेको जनमुक्ति सेनाको हातमा दिएको छु। आशा छ, तेरो हातमा पुग्ने छ। यो चिठी हात पर्नेबित्तिकै मलाई पनि चिठी लेख है।
थाहा छ, मेरो नाम त कालेबाट राजु भयो। तेरो नाम ज्ञानेबाट के राख्यो, मलाई थाहा भएन। चिठी पाउनेबित्तिकै जसरी पनि चिठी लेख है। म तेरो चिठी पर्खिरहने छु।
उही तेरो दाइ
राजु स्याङ्तान (काले)
नेकपा (माओवादी)
चुरे शृंखला सांस्कृतिक परिवार, महोत्तरी
राजुले लेखेको त्यो चिठी भाइको हातमा त कहिल्यै पुगेन, तर माओवादी लडाकूहरूमाझ एकदमै चर्चित भयो। धेरैले त्यो चिठी पढे।
‘युद्धमा होमिएका प्रायः सबैको कथा उस्तै थियो। त्यही भएर त्यो चिठी पढ्ने हरेक जनमुक्ति सेनाले त्यसलाई आफ्नै कथा भन्ठान्दो रहेछ,’ राजुले भने।
यो घटनापछि राजु लेख्ने मान्छे पनि हो भनेर लडाकूहरूमाझ परिचित भए। त्यही हौसलाले उनी बिस्तारै गीत र कविताहरू लेख्न थाले।
राजु पछि चुरे क्षेत्र छाडेर काभ्रे, रामेछापतिर आए। मकवानपुरको झुरझुरे आक्रमणमा सहभागी भए। त्यहाँ उनले आफ्नै हातले खाडल खनेर पाँच जना मृतक साथी पुरे। त्यसरी साथीहरूलाई पुर्नुपर्दा उनी आफ्ना आमाआप्पा सम्झन्थे। भाइबहिनी सम्झन्थे। गाउँ सम्झन्थे। र, क्वाँक्वाँ रून्थे। अलि बेर रोएपछि आफूले आफैंलाई सम्हाल्थे। आँसु पुछ्दै फेरि साथीहरू भएको ठाउँ आउँथे र मोर्चामा खटिन्थे। उनी कयौंचोटि भिडन्तमा परे। हरेकचोटि मृत्युबाट उम्किन सफल भए।
द्वन्द्वकै क्रममा एकचोटि उनको भेट भाइसँग भयो। सर्लाही, गुइटनको भिडन्तमा उनीहरूले सँगै लडेका थिए।
‘मलाई मर्छु कि भन्ने डर त थियो, तर पछि युद्धमा मर्न पाए त गज्जबै हुन्थ्यो भन्ने लाग्न थाल्यो,’ राजुले भने, ‘म सहिद हुन पाएँ भने सरकारले मेरो आमाआप्पाका लागि केही गर्लान् कि भन्ने लाग्यो। स्कुलमा मेरो सालिक बन्ला र भोलि–पर्सि महेन्द्रमाला अनि श्रीमान गम्भीर पढ्ने ठाउँमा मेरोबारे पढाइ होला भन्ने सपना देख्न थालेँ। गाउँलेहरू र नयाँ सन्ततीले मेरो नाम गर्वले लिएको कल्पनाले मलाई मृत्युको डर कम भएको थियो।’
राजुले धेरै किताब पढ्न पाएको पनि लडाइँमा हिँड्दा नै हो। उनको स्कुले पढाइ त कक्षा ६ मै अड्किएको थियो, तर लडाइँको क्रममा जंगल जंगल, गाउँ गाउँ चहार्दै हिँड्दा उनले धेरै थोक पढ्न पाए। दिनरातभर हिँडेर बचेको समय उनी किताबहरू पढ्थे। त्यही समय उनले क्रान्तिका उपन्यासहरू पढे — आमा, अग्निदीक्षा, रातो चट्टान आदि आदि।
लडाइँमा भोकै बस्नुपर्छ भन्ने सुनेका राजु भोकै त कति बसे कति! जंगलमा कति सुते कति! उनले कति साथीका लास पुरे, त्यसको गन्ती उनलाई नै थाहा छैन।
अहिले सम्झिँदा पनि कहाली लाग्ने ती घटनाबाट आफूले धेरै सिक्न पाएको उनी बताउँछन्।
‘त्यहाँ सिकेको ज्ञान र अनुभव नै मेरो पाठशाला हो। मानिसहरू विदेश गएर पढेर आउँछन्; यस्तो सिकेँ, उस्तो सिकेँ भन्छन्। तर मैले त किशोरावस्थामै एउटा ठूलो विद्यालय पढेर आएको रहेछु,’ राजुले भने, ‘त्यो बेला हामी क्रान्ति नै सबथोक हो भनेर हिँडेका थियौं। अहिले सम्झिँदा त्यस्तो ऊर्जा कहाँबाट आयो भन्ने लाग्छ। त्यहाँ मैले जुन ज्ञान पाएँ, त्यसले नै मलाई अहिले बाटो देखाएको छ र टर्चलाइट जस्तो काम गरिरहेको छ।’
२०६३ सालबाट माओवादीहरू हिंसात्मक द्वन्द्व छाडेर शान्तिपूर्ण राजनीतिमा आए। त्यति बेला राजु र उनको टोली चौताराको लडाइँ सकेर सिन्धुपाल्चोकको एउटा गाउँ पुगेका थिए। उनीहरूको शरीरबाट रगतको गन्ध हराएकै थिएन। मनमा युद्धको आगो सेलाएकै थिएन। अचानक उनीहरूलाई काठमाडौं जानू भन्ने खबर आयो।
लडाइँ सफल भएको खुसियालीमा राजुले पहिलोपटक काठमाडौंको टुँडिखेलमा गितार बजाए।
उनका साथीहरू नाचे, गाए र हर्षोल्लास मनाए।
जिन्दगीको ऊर्जाशील समय लडाइँमा लगाएका राजु र उनीजस्ता सयौं लडाकू युवा त्यसपछि सामान्य जीवनमा फर्किए। तर उनीहरूको भविष्य अन्योलमा थियो।
माओवादी लडाकूहरूलाई काठमाडौंका विभिन्न ठाउँमा क्याम्पजस्तो बनाएर आश्रय दिइयो। कोही गौशालातिर बसे, कोही भक्तपुरको झौखेल त कोही गोदावरीतिर छरिए। राजुको बसाइ ललितपुरको खन्ना गार्मेन्टमा थियो, जहाँ १८–२० जनालाई सँगै राखिएको थियो।
पाँचतले उक्त भवनलाई ‘लाल एकेडेमी’ घोषणा गरिएको थियो। लडाकूहरूलाई प्रमाणपत्र दिने पनि भनियो। त्यही सपना देखाउँदै उनीहरूलाई चुनावमा लगेर उफार्न थालियो। पिकनिकमा लगेर गीत गाउन र नाच्न लगाइयो। कतिले त जन्मोत्सवमा बोलाएर उनीहरूको ऊर्जाको दुरूपयोग पनि गरे।
‘हाम्रो खास दुःखका दिन त त्यसपछि बल्ल सुरू भएको थियो,’ राजुले भने, ‘लडाइँमा हामी मर्न सक्थ्यौं, यहाँ त हामीलाई बाँच्नै धौ धौ भयो।’
‘द्वन्द्वको जगमा उभिएका माओवादी नेताहरू जब सत्तामा पुगे, हाम्रो जीवन खण्डहर बन्दै गयो,’ उनले दिक्क मान्दै अगाडि भने, ‘हामी देश बदल्नुपर्छ भनेर हिँडेको मान्छे फेरि पुरानै दुनियाँमा पुग्यौं। जुन दुनियाँ हामी बदल्न चाहन्थ्यौं, त्यो दुनियाँ बदल्नुको साटो हाम्रै जिन्दगी अन्योलमा थियो। शोषित पीडितहरूको भोक मेट्ने परिवर्तनको सपना बोकेर हिँडेका हामी सहरमा भोकभोकै बस्न बाध्य भयौं।’
राजुसँग गाउँ फर्किने वा विदेश जाने विकल्प थियो। तर उनलाई विदेश जाऊँ जस्तो कहिल्यै लागेन। गाउँलाई त्यत्रो सपना देखाएर हिँडेका उनी यसै गाउँ फर्किन पनि सकेनन्।
त्यो बेला राजु लगायतका लडाकूहरूले खन्ना गार्मेन्टको भित्तामा क्युबाका क्रान्तिकारी नेता चे ग्वेभाराको नाम लेखेका थिए। चेकै भनाइ उद्धृत पनि गरेका थिए — म हारेर घर फर्किने छैन, बरू मलाई मृत्यु स्वीकार्य छ।
राजुलाई पनि हारेर घर फर्किने हिम्मत भएन।
खन्ना गार्मेन्टको बसाइकै क्रममा राजुले भित्ते पत्रिका चलाएका थिए। त्यसमा सबैले आ–आफ्नो कथा–व्यथा लेख्थे। कसैले चिठी लेख्थे, कसैले कविता। कोही गीत लेख्थे, कोही गजल। कोही रेडियोमा सुनेको समाचार लेख्थे, कोही पत्रिकाका समाचार काटेर टाँस्थे।
त्यहाँ बस्दा बस्दै केही साथी विवाह गरेर गए। कोही गलैंचा बुन्न गए, कोही इँटाभट्टामा काम गर्न गए। कोही दोहोरी साँझ र डान्स बारमा गाउन र नाच्न पनि गए। कोही त विदेशै पलायन भए। केहीले जीवनसँग हारेर आत्महत्या गरे। राजुलाई भने पढ्नुपर्छ भन्ने चेत आयो। कक्षा ६ सम्म मात्र पढेका उनले प्राइभेट जाँच दिएर ८ कक्षा पास गरे।
त्यही बेला उनको एक जना केटीसँग प्रेम भयो, जो उनलाई पढ्न झकझकाइरहन्थिन्।
जिन्दगीमा कहिल्यै राम्रो जुत्ता लगाउन नपाएका राजुलाई उनैले जुत्ता किनेर दिइन्। घडी किनेर दिइन्। अरू पनि थुप्रै थोक किनेर दिइन्।
ती सबभन्दा बढी त उनले राजुलाई प्रेम दिइन्।
उनकै साथ र सहयोगमा राजुले एसएलसी पास गरे।
राजुकी ती प्रेमिका सधैं भनिरहन्थिन्, ‘त्यो थोत्रो खन्ना गार्मेन्टभित्र बसेर केही हुन्न। तिम्रा नेताहरू पजेरो चढ्न थालिसके, घर बनाइसके। तिमी भने त्यहाँ के सपना देखेर बसेको? त्यहाँबाट बाहिर निस्क।’
राजुलाई उनको कुरा चित्त बुझ्थेन।
उनी प्रतिबद्ध भएर भन्थे, ‘क्रान्ति अझै सफल भएको छैन। मैले सोचेको सपना पूरा भएकै छैन। त्यो सपना पूरा नहुञ्जेल म यहाँबाट निस्कन मिल्दैन। जुन बेला हाम्रो समाजको सिंगो व्यवस्था परिवर्तन हुन्छ, त्यसपछि बल्ल म बाहिर निस्कन्छु। बरू तिमी पनि यहीँ आऊ र केही सीप भए सदुपयोग गर।’
उनले जति कोसिस गर्दा पनि राजुलाई सम्झाउनै सकिनन्।
जति कोसिस गर्दा पनि राजुलाई खन्ना गार्मेन्टबाट बाहिर खिच्नै सकिनन्।
उनी राजुलाई आफूसँगै व्यवहारवादी जिन्दगीको बाटोमा हिँडाउन चाहन्थिन्। आफ्नो प्रेमको बलले उनलाई जित्न चाहन्थिन्। राजु भने पार्टीको आदर्श र परिवर्तनको आकांक्षाप्रति प्रतिबद्ध थिए।
आखिरमा उनले प्रेमिका र पार्टीमध्ये एउटा छान्नुपर्यो।
उनीहरूको प्रेम शिखर चढिरहँदा युएन पार्कनजिकै ललितपुर र काठमाडौं जोड्ने बागमती पुल बन्दै थियो। उनीहरू प्रायः त्यहीँ वरिपरि भेट्थे। केही समयपछि पुल बनेर सकियो; ललितपुर र काठमाडौंको किनार जोडियो।
बागमती पुलले दुई जिल्लाको किनार त जोड्यो, तर त्यही किनार वरपर फक्रेर गुल्जार भएको राजु र उनकी प्रेमिकाको सम्बन्ध जोड्न सकेन।
राजुले प्रेमिका छाडे, पार्टी रोजे।
जति बेला राजु पार्टीबाट निस्के, प्रेमिका उनको जिन्दगीबाट धेरै टाढा गइसकेकी थिइन्।
पुल दुई किनार जोड्ने संकेत मात्र होइन रहेछ भन्ने राजुले पहिलोपटक महसुस गरे।
‘युद्धमा भोकै हिँड्दा म कहिल्यै रोइनँ, तर युद्ध सकेर काठमाडौं आएपछि धेरैपटक रोएँ,’ उनले भने, ‘कहिले भोकले रोएँ। कहिले नेताहरूले दिएको धोकाले रोएँ, कहिले प्रेमिकासँग छुट्टिनुपरेकाले रोएँ।’
-1709111857.jpg)
राजुलाई लाग्छ — देश बदल्ने सपना देखाएर नेताहरूले हजारौं युवाको कला, उमेर र यौवन चुसे; र उखुको छोक्रासरी फालिदिए!
जुन दिन उनलाई आफू पनि त्यसरी नै फालिएको महसुस भयो, उनी पार्टी छाडेर खन्ना गार्मेन्टबाट बाहिर निस्के। आफ्नो पढाइमा जोड दिए। युएन पार्कमा घन्टौं बसेर कक्षा १२ का किताबहरू पढे। सार्वजनिक पुस्तकालय धाए र असंख्य किताब पढ्न थाले।
उनी किताब पढ्दा आफूलाई मनपरेका वाक्य कापीमा सार्थे। मनन् गर्थे। र, त्यस्तै वाक्य लेख्ने कोसिस गर्थे।
पठन जति बढ्दै गयो, उनको लेखन उति निखारिँदै गयो।
राजुले गीत र कविता प्रशस्त लेखेको त्यही समयतिर हो। उनलाई आफूले लेखेका गीत र कविता जीवनमा भोगेका भोगाइको संश्लेषण हो भन्ने लाग्छ; बाल्यकालदेखि अहिलेसम्म जिन्दगीका घुम्तीहरूमा भोगेका अनुभवको विष्फोट हो भन्ने लाग्छ।
सुरू सुरूमा उनलाई आफूले लेखेका कविता प्रकाशन गर्न डर लाग्थ्यो। बल्ल बल्ल हिम्मत गरेर विभिन्न पत्रिकामा पठाए, तर कसैले छापिदिएनन्।
एकदिन ‘शुक्रबार’ साप्ताहिकका सम्पादक राजन नेपालको आँखा उनको कवितामा पर्यो। कविता मनपरेपछि उनले सँगै काम गर्ने कवि विनोदविक्रम केसीलाई देखाए। विनोदले पनि मनपराएपछि पहिलोपटक राजुको कविता छापियो, जसको शीर्षक थियो — सपनामा आउने मान्छे।
ऊ मेरो सपनामा आउँछ
र सोध्छ
साथी! बदलियो त दुनियाँ?
उसका आँखाहरू छैनन्
तर बलेको देख्छु
उसको आँखाको वरिपरि
अतृप्त सपनाका लाभाहरू
उसका खुट्टाहरू छैनन्
तर उभिएको देख्छु
दनदनी बलिरहेको
समयको चितामाथि
उसका हातहरू छैनन्
तर बोकेको देख्छु
छियाछिया भएको
एक टुक्रा झन्डा
उसको निधारमा खोपेको देख्छु
गहिरो भर्याङ
र देख्छु जहाँबाट भर्खरै कसैले छाडी गएका
जुत्ताका धुलोहरू
उसका करङहरू
कुनै देवालयका सिँडीजस्तै देख्छु
जहाँबाट उक्लिरहेकै छन् अझै
असंख्य सपनाका ठेकेदारहरू
उसको काँध मक्किसकेका छन्
तर अझै भिरेको देख्छु
सपनाको प्यारो झोला
र ऊ भक्कानिँदै
झोलाबाट निकाल्न थाल्छ
सडेका असंख्य गोल्डस्टार जुत्ताहरू
म निःशब्द निर्जिव वस्तुझैं
ठिंग उभिइरहन्छु
म निरूत्तरित चुपचाप
टोलाइरहन्छु
ऊ फेरि बोल्न थाल्छ
साथी!
मलाई चिनेनौ?
म उही के त
तिमीलाई जिताउन हारेको
कमरेड विजय
म डराउँछु
आत्तिएर कराउँछु
झल्याँस्स ब्युँझन्छु
उङिरहेको पाउँछु
पजेरोको पछिल्लो सिटमा।
यो कविता प्रकाशनपछि राजुको हौसला ह्वात्तै बढ्यो।
उनले कविता लेख्दै गए; छापिँदै गए।
त्यसैबीच २०७० सालतिर राजुको भेट अनिता लामासँग भयो। अनिताले स्नातक पूरा गरिसकेकी थिइन्। राजुले भने भर्खरै १२ कक्षा पास गरेका थिए।
थांका चित्र बनाउने अनिताले आफूले कमाएको पैसा खर्च गरेर राजुलाई पढ्न पठाइन्; लेख्न प्रेरित गरिन्। सार्वजनिक कार्यक्रमहरूमा कविता भन्न हौसला दिइन्।
पछि उनीहरूले विवाह गरे। राजुले आफ्नो खण्डहर जीवनमा छहारी र सहारा पाए।
पत्रिकामा कविता छापिन थालेपछि राजुलाई पत्रकारितामा पनि रूचि बढ्यो। उनले मैत्रीय एफएममा काम गर्ने सुष्मा श्रेष्ठलाई चिनेका थिए। सुष्मासँग उनको द्वन्द्वकालदेखिकै चिनजान थियो। उनकै सहयोगमा मैत्रीय एफएमबाटै राजुको पत्रकारिता यात्रा सुरू भयो।
‘उनलाई म कला, साहित्यमा रूचि भएको मान्छे हो भन्ने लागेछ। उनैले मलाई रेडियोमा बोलाइन् र कार्यक्रम सञ्चालन गर्न भनिन्,’ राजुले भने, ‘म त्यस्तो बोल्ने मान्छे थिइनँ। सुरूमा त सक्दिनँ जस्तो लाग्यो। तैपनि प्रयास गरेँ।’
राजुसँग द्वन्द्वकालको एउटा सानो रेकर्डर थियो। उनी दिनभरि चउरमा बसेर त्यही रेकर्डरमा रेकर्ड गर्दै बोल्ने अभ्यास गर्थे। आफ्नो बोली कसरी शुद्ध बनाउने, त्यसमा मिसिएको तामाङ लवज कसरी सुधार्ने भनेर उनले निरन्तर अभ्यास गरे।
अलि हिम्मत जुटेपछि उनले ‘सुनाखरी’ भन्ने साहित्यिक कार्यक्रम चलाए।
एकदिन उनले ‘रात फुलेको याम’ का लेखक दीपशिखालाई अन्तर्वार्तामा बोलाएका थिए। त्यति बेला दीपशिखाले ‘खबर डबली’ नामक अनलाइन पत्रिका सुरू गरेका थिए। उनले राजुलाई त्यही अनलाइनमा काम गर्न निम्तो दिए।
खबर डबलीमा राजुले समाचार लेख्न सिके। नौ महिना काम गरेपछि उनी ‘नेपालखबर’ अनलाइन पत्रिकामा आए। त्यहाँ केही समय डेस्कमा बसेर समाचार सम्पादन गरेपछि उनी ‘अन्नपूर्ण टुडे’ मा पुगे, जहाँ मनले खाएको विषय लेख्न पाएको उनी बताउँछन्।
‘त्यहाँ मैले सीमान्तकृत समुदायका कथाहरू लेखेँ। उनीहरूबारे रिपोर्टिङ गरेँ। यस्तो यस्तो दुःख भोगेका मान्छेहरू भेटेँ, त्यसले मलाई आफ्नो दुःख केही पनि होइन रहेछ भन्ने महसुस भयो। त्यसपछि मलाई आफू दुःखी भएर बस्नुभन्दा उनीहरूको दुःखको कथा लेख्नुपर्छ भन्ने लाग्यो,’ राजुले भने, ‘पहिले मलाई दुनियाँमा मैले जति दुःख कसैले भोगेको छैन भन्ने लाग्थ्यो, उनीहरूको कथा लेख्दै जाँदा मलाई आफूले बाल्यकालमा भोगेका कुरा सामान्य लाग्न थाले।’
पत्रकारितामा आएपछि राजुले महिला, किसान, आदिवासी र सीमान्तकृत समुदायका कथा र मुद्दाहरू मूलधारमा ल्याए। उनीहरूबारे फिचर लेख्ने राजुका लागि यो नयाँ ‘बिट’ (कार्यक्षेत्र) जस्तै बन्यो।
पछि राजु अन्नपूर्ण टुडेबाट ‘अन्नपूर्ण पोस्ट’ मा गए। अन्नपूर्ण पोस्टमै छँदा ‘स्टोरी अफ द एअर’ को अवार्ड पनि पाए। अहिले उनी ‘नयाँ पत्रिका’ मा काम गर्छन्।
पत्रिकामा काम गर्दै जाँदा उनलाई सम्पादक बन्नुपर्छ भन्ने सोच पनि आउन थाल्यो। साथीहरू भन्थे, ‘सम्पादक बन्ने भए राजनीतिक रिपोर्टिङ गर्नुपर्छ।’
राजुले केही समय प्रयास पनि गरे। तर नेताहरूको मनोवृत्ति र व्यवहार देखेर उनलाई राजनीतिक रिपोर्टिङ नीरस लाग्यो। र, पुनः सीमान्तकृत समुदायका लेखनमै फर्किए।
उनले सोचे — नेताको समाचार त जो कोहीले लेख्ला, तर ती नेताको घरमा गेट लगाउने वा गाडी चलाउनेको समाचार कसले लेख्ने?
उनले यो पनि सोचे — यहाँ नेताका कुरा सुनाउने पत्रकारको कमी छैन, तर जनताका कुरा कसले सुनाउने?
राजनीतिक रिपोर्टिङ गर्दा नेताहरूसँग भेट्न, तिनलाई नमस्कार गर्न र तिनका ‘हावादारी’ भाषण सुन्न झिँझो मान्ने राजु सीमान्तकृत समुदायका मान्छेसँग यस्तरी भेट्छन्, मानौं आफ्नै आफन्त भेटेका हुन्!
यसले उनलाई पत्रकारिता गर्ने भए सीमान्तकृतकै कथा मूलधारमा ल्याउनुपर्छ भन्ने निश्चित भयो।
यो पनि निश्चित भयो — देश सुधार्न राजनीति नसुधारी हुन्न, तर राजनीति सुधार्ने हो भने नेताका भाषणको पछाडि लागेर हुन्न; समाजका उपेक्षित र सदियौंदेखि किनारामा पारिएका समुदायको कथालाई सबैले सुन्ने, पढ्ने र देख्ने गरी सतहमा ल्याउनुपर्छ। सदियौंदेखि दबाइएका ती कथा सबैका आँखामा परेपछि बल्ल उत्पीडित समूहलाई माथि उकास्न नेताहरूको तातो लाग्नेछ। अनि बल्ल देश समानुपातिक रूपमा सुध्रिनेछ।
पत्रकारितामा जस्तै आफ्ना कवितामा पनि राजु सीमान्तकृतका आवाज उठाउँछन्।
उनले एक दशकयता लेखेका कविताको संग्रह ‘ओ पेङदोर्जे’ यसै वर्ष नेपालयबाट प्रकाशनमा आएको छ। ती कविताको पृष्ठभूमि उनले बाल्यकालदेखि अहिलेसम्म भोगेका घटनाक्रमको संकलन हो।
राजुको लेखन फिचर–समाचार र कवितामा मात्र सीमित छैन। उनले आफ्ना दुई जना साथी राबत र लक्ष्मी रूम्बासँग मिलेर ‘मासिन्या’ नाटक पनि लेखेका छन्, जुन मण्डला नाटकघरमा हालै प्रदर्शन गरिएको थियो। यो नाटक तामाङ समुदायले गाईको मासु खाने विषयलाई आधार बनाएर लेखिएको हो। त्योसँगै राजुले फिल्मको स्क्रिप्ट पनि लेखेका छन्। त्यसलाई तत्काल फिल्म बनाउने सोच भने बनाएका छैनन्।
फिल्मभन्दा अगाडि उनको पहिलो उपन्यास ‘आप्पा’ छिट्टै प्रकाशित हुँदैछ। उनी उपन्यासलाई अन्तिम रूप दिँदै छन्। उपन्यासको कथा उनी, उनको परिवार र तामाङ समुदायको उत्पीडनसँग जोडिएको छ।
राजुलाई लाग्छ — नेपाली समाज, साहित्य र इतिहास सपाट छ। त्यसमा जित्नेहरूको गुणगान र राम्रा पक्ष मात्र छन्। उनी त्यसलाई उल्टो तरिकाले हेर्ने र पढ्ने गर्छन्।
‘सुल्टोबाट हेर्दा त जंगबहादुर सधैं महान थिए। पृथ्वीनारायण शाहले राज्य एकीकरण गरे भनेर सधैं भनिँदै आएको छ। अहिले माओवादी अध्यक्ष प्रचण्डसम्म आइपुग्दा पनि कहानी उस्तै छ। उल्टोबाट हेर्ने हो भने मुलुकी ऐनले हाम्रो समाजलाई अगाडि बढायो कि पछाडि धकेल्यो? जंगबहादुरले हामीलाई कतिसम्म अत्याचार गरे? पृथ्वीनारायण शाह राज्य विस्तारक हुन् कि एकीकरणकर्ता?’ राजुले प्रश्नहरूको चाङ लगाए।
‘सपाट इतिहास मात्र हेर्ने हो भने त आदिवासीको जिन्दगी, अभाव, गरिबी, उत्पीडन र शोषणको जरा पत्ता लगाउनै सकिँदैन,’ उनले भने, ‘त्यही भएर म अहिलेसम्म हामीलाई भिडाइएका किताबहरू उल्टोबाट पढ्छु। त्यसलाई आलोचनात्मक चेतले विवेचना गर्छु।’
यही आलोचनात्मक चेतले नै हो, राजु आफ्नो कथा आफैं भन्नुपर्छ भन्ने धुनमा लागिपरेका छन्। इतिहास उल्ट्याएर पढ्न र आफ्नो समुदायमाथि भएका अन्यायविरूद्ध औंला उठाउन थालेका छन्।
‘हामीले इतिहास राम्ररी केलाएका छैनौं। त्यही भएर हामी किन गरिबी र उत्पीडनमा हुर्कियौं भन्ने प्रश्नको उत्तर धेरैलाई थाहा छैन। हामीले सधैं आफ्नो भाग्यलाई दोष दियौं र कर्म नै खोटो रहेछ भनेर चित्त बुझायौं। पूर्वजन्मको पाप रहेछ भनेर आफैंलाई दोषी पनि ठान्यौं। अधिकांश मान्छे त्यही दलदलमा फसिरहेका छन्। म त्यो दलदलबाट बाहिर आउन चाहन्छु,’ राजुले भने।
त्यो दलदलबाट कसरी निस्कने त?
राजुसँग जबाफ छ — असल किताब।
‘त्यो दलदलबाट निकाल्न एनजिओ (गैरसरकारी संस्था) हरू आउँछन्। उनीहरूले हात दिन्छन्, फोटो खिच्छन् र फेरि त्यहीँ झारिदिन्छन्। राजनीतिक पार्टीहरू आउँछन्। औंला समाउँछन्, भोट हाल्न लगाउँछन् र फेरि त्यहीँ झारिदिन्छन्। तर असल किताबले हामीलाई त्यो गोलचक्करको चुरोसम्म पुग्न मद्दत गर्छ। त्यसबाट मुक्त हुने उपाय सिकाउँछ,’ उनले भने, ‘त्यो गोलचक्करबाट फुत्किने उपाय मलाई कम्युनिस्ट मेनिफेस्टो (घोषणापत्र) ले दियो। रातो चम्किलो ताराले दियो। राम्रा किताबहरूले दिए।’
यति भन्दै गर्दा राजुले जर्मन कवि बर्तोल्त ब्रेख्तलाई सम्झिए, जसले भनेका छन् —
आश्रयमा हुनेहरू हो, पढ
कैदखानामा हुनेहरू हो, पढ
भान्साकी गृहणी, पढ
साठी वर्षेहरू हो, पढ
तिमीहरू जो बेघर छौ, पाठशाला खोज
भोको मान्छे, किताब समाऊ
त्यो तिम्रो हतियार हो।
‘शासक, सामन्ती र पुँजीपतिहरूले जुन भ्रमजाल सिर्जना गरेका छन्, त्यो भ्रमको दुनियाँ छिचोल्ने एउटै उपाय असल किताब हुन्। तर विडम्बना के भने, भ्रमको भुलभुलैया सुरू गर्ने पनि विश्वविद्यालय खोल्ने र किताब पढ्नेहरूले नै हो। त्यही भएर असल किताब कुन हो भन्ने निर्क्यौल गर्न जान्नुपर्छ,’ राजुले आफ्नो कुरा प्रस्ट्याउँदै भने, ‘कतिपय मानिस म विद्रोही चेतको छु भन्छन्। त्यो कति छु वा छैन, त्यो त मलाई थाहा छैन। तर आज म जस्तो छु, त्यो किताबकै कारण छु। किताबले नै मेरो बुझाइको क्षितिज फराकिलो बनाउँदै लगेको हो।’
राजु पहिले आख्यान बढी पढ्थे। बिस्तारै गैरआख्यानतिर उनको रूझान बढ्यो। समाज र सत्यको नजिक पुग्न गैरआख्यानले सहयोग गर्यो भन्ने उनलाई लाग्छ। अचेल उनी आख्यान–गैरआख्यान दुवै मिलाएर पढ्छन्। उनको रूचि भने इतिहास र समाजशास्त्रमा छ। उनले समाजशास्त्रमा स्नातकोत्तर पनि गरिसकेका छन्।
-1709111855.jpg)
‘तपाईं द्वन्द्वपछि कहिले घर फर्किनुभयो त?’
हाम्रो यो प्रश्नमा उनले भने, ‘मलाई निकै समय घर जाऊँ जाऊँ जस्तो लागेन। पछि गएँ, तर त्यहाँ पनि मेरो मन बसेन। म होस उडेको मान्छे जस्तै भएँ।’
‘लामो समय कतै थुनेर राखेको मान्छेलाई बाहिर निकालेपछि उसको होसहवास उडेको हुन्छ नि, त्यस्तै भएको थिएँ म,’ उनले अगाडि भने, ‘मेरो आत्मस्वाभिमान र मलाई तपाईं भन्नेहरू युद्धमै छुटेका थिए। कोही मन्त्री भए, कोही सांसद भए। म भने केही न केही थिएँ। गाउँ त फर्केँ, तर म न गाउँको भएँ न घरको भएँ। हुलबाट छुटेर नयाँ ठाउँमा आउँदा अलमलिएजस्तो भएँ।’
‘मैले गाउँलेहरूसँग आँखा जुधाउनै सकिनँ! के के न सपना देखेको थियो, भाषण ठोकेको थियो भनेर मानिसहरू हाँस्न र गिज्याउन थाले।’
त्योभन्दा पनि गाउँमा मन नरमाउनुको खास कारण अर्कै थियो — फेरि कसैले ‘काले’ भन्दै बोलाउलान् कि भनेर उनी डराएका थिए!
‘धन्न कसैले काले भनेनन्,’ उनले हाँस्दै भने।
अहिले राजुलाई घर जान पहिलेजस्तो संकोच छैन। बारम्बार गइरहन्छन्।
उनको घर अहिले महोत्तरीको बुढुवा खाेला नजिक छ। यो घर कसरी बन्यो, त्यसको पछाडि पनि कथा छ —
जब राजु सानो थिए, उनी एकचोटि कुल्ली काम गर्न बागलुङ गएका थिए। दुई महिना काम गरेर पाँच हजार रूपैयाँ कमाए।
त्यो पैसाबाट उनका बुबाले दुइटा राँगा किने। त्यसमध्ये एउटा राँगा काटेर छरछिमेकलाई बेचे। तर त्यसको पैसा उठाउन हम्मे पर्यो। धेरैले त दिँदै दिएनन्। कसैले पैसाको साटो चामल, आलु, दाल लगायत सरसामग्री दिएर टारे।
अर्को राँगा ठूलो भएपछि बुबाले त्यसलाई बेचेर दुइटा गोरू किने। हुर्काए। र, ठूलो भएपछि गोरू पनि बेचे।
राजु र उनका भाइ माओवादीमा लागेर भूमिगत भएका बेला बुबाले त्यही गोरू बेचेर कमाएको १५ हजार रूपैयाँले बुढुवा खाेला नजिक १५ धुर जग्गा किनेका थिए। पछि त्यही जग्गामा सानो घर बनाए।
त्यो घर काठले बनेको छ। राजुले सानो छँदा वर्णमालाको किताबमा ‘घरजस्तो घ’ को चित्रमा देखेजस्तो भइसकेको छैन। तर पहिलेजस्तो आँधी आउँदा घर उडाउने डर पनि अब छैन।
दुई छोरा द्वन्द्वमा हिँडेपछि राजुका आमाबुबाले अर्को पनि छोरा जन्माएका थिए। उनी यही घरमा हुर्किँदै छन्। नजिकै स्कुलमा १० कक्षा पढ्दै छन्।
राजुसँगै द्वन्द्वमा हिँडेका भाइ भने अहिले व्यावसायिक बाँसुरीवादक भएका छन्। उनको नाम ज्ञानेबाट फेरिएर सुजन भएको छ। दुई बहिनीमध्ये एक जना गाउँको एनजिओमा काम गरिरहेकी छन् भने अर्की बहिनी काठमाडौंमा स्नातकोत्तर पढ्दै छिन्।
अहिले राजुलाई उनका गाउँलेहरू पत्रकारिता गर्ने र साहित्य लेख्ने मान्छे भनेर चिन्छन्। उनको प्रशंसा गर्दै भन्छन्, ‘नेताहरूका बारेमा खरो कविता र समाचार लेख्ने तँ हाम्रो नगरपालिकाको सबभन्दा असल मान्छे होस्।’
समाजमा आफ्नो स्वाभिमान जोगाउन सकेकोमा राजुलाई सन्तुष्टि छ; भन्छन्, ‘मसँग आज पैसा छैन। मलाई बाँच्न अझै धौ धौ छ। कोठा भाडा कहिले तिर्ने भन्ने पीर सधैं हुन्छ। तर मेरो शिर अहिले कसैको अगाडि झुकेको छैन। मेरो आत्मस्वाभिमान छ भन्ने लाग्छ।’
गाउँ–समाजले असल मान्छे भने पनि आमाबुबाका अगाडि भने असल र सफल हुन अझै बाँकी छ भन्ने राजुलाई महसुस हुन्छ।
‘म के गरिरहेको छु र समाजलाई हेर्ने मेरो दृष्टि कुन तहको छ भन्ने उहाँहरूले भेउ नै पाउनुभएको छैन। मैले के लेखेको हो भनेर उहाँहरू बुझ्नु हुन्न। तर मैले लेख्ने कविता, उपन्यास, फिल्म वा नाटकका सबै स्रोत उहाँहरू नै हो,’ राजुले भने, ‘मेरा अधिकांश कविता भाइ, बुबा, आमाका बारेमा छन्। मेरो सिर्जनाको स्रोत उहाँहरू नै हो। तर उहाँहरूलाई मेरो सोच र दृष्टिकोण के हो भन्ने थाहा छैन। उहाँहरूको चेतना हेर्दा सायद यसबारे कहिल्यै थाहा पाउनुहुन्न भन्ने लाग्छ।’
राजुले एकदिन आमा र बुबालाई समेत अगाडि राखेर गाउँमा केही कविता सुनाएका थिए। तीमध्ये एउटा कविता बुबामाथि नै केन्द्रित थियो, जसको शीर्षक थियो — रामबहादुर मार्ग।
जब टेक्छु
यो लमतन्न राजमार्ग
टेकेँ जस्तो लाग्छ — आप्पाको आङ
चालीस वसन्तअघि लक्का जवान हुँदा
गिट्टीमा सपनाको अलकत्रा घोलेर
बनाएका थिए रे आप्पाले यो मार्ग
ऊ त्यो जंगलको बीचमा
थोत्रो डोजरको पाटपुर्जासँगै
लडिरहेको पहेँलो टोपी
सायद मेरै आप्पाको हुनुपर्छ
त्यो पुरानो ट्रयाक्टरको टायरनेर
आधा डढेको हात्तीछाप चप्पल पनि
मेरै आप्पाको हुनुपर्छ
ऊ त्यहीँ फ्याँकिएको क्रसरले
चुँडिलग्यो होला
मलाई ताते–ताते गराउने
आप्पाको दाहिने हात
हुइँकिन थालेपछि पुलमाथि मोटर
कति हिँडे होलान्
जवान आमासँगै पुलमुनिको बाटो
दुई रूपैयाँ भाडा नभएर
हिजो साँझ
पिएपछि एक डबका जोस
आप्पा निस्किएछन् राजमार्गमा
कराएछन् जोड जोडले
‘साला को हो महेन्द्र भनेको?
यो महेन्द्र राजमार्ग होइन
मैले बनाएको हुँ मैले’
बिहान टोलछिमेकी ब्युँझदा
राजमार्ग छेउमा लडिरहेको थियो
आप्पाको लास
किचिमिची पारेको थियो
वर्षौं भोट हालेको
बूढीऔंला पनि
न कुनै मुचुल्का
न कुनै साक्षी
न कुनै थुनछेक
बेवारिस लडिरहेको छ आज
आँगनमा आप्पाको लास
म गइरहेछु
मेरो आप्पालाई भेट्न
यो अमलेखगञ्ज
यो निजगढ
यो चन्द्रनिगाहपुर
यो महेन्द्र राजमार्ग
पूर्व–पश्चिम राजमार्ग
तर
तर किन भन्न पाउँदिनँ
रामबहादुर मार्ग?
यो कवितामा राजुले आफ्ना बुबाजस्तै मान्छेहरूको श्रम र पसिनाले बनाएको राजमार्ग किन उनीहरूकै नामबाट चिनिएको छैन भनेर दुःख र आक्रोश पोखेका छन्। मजदुरले बनाएको राजमार्गलाई किन राजा वा अन्य कोही शासकको नामबाट चिनिन्छ भनेर प्रश्न गरेका छन्।
त्यही बेला राजुले आमाप्रति समर्पित कविता पनि सुनाएका थिए, जसको शीर्षक थियो — आमा तिमी मात!
आमा!
मलाई तिमी मातेको मन पर्छ
मातेकै सुरमा
यो नरभक्षी व्यवस्थाले जन्माएको
हिटलरको दरसन्तानजस्तो बाउसँग
मुखमुखै लागेको मन पर्छ
तिम्रो सपना रूँदै हिँड्ने
त्यो एकान्त डगरमा
तिमी मातेर लर्बराउँदै हिँडेको मन पर्छ
अरू बेला तिमीसँग त्यत्रो हिम्मत कहाँ?
अरू बेला तिमीसँग त्यत्रो साहस कहाँ?
तिमी त आमा कम, नोकर बढी देखिन्छ्यौ
दाम्लाले बाँधिएकी दासीजस्ती देखिन्छ्यौ
दुःखको ढिकी–जाँतोले
तिमीलाई पछ्याउन कहिल्यै छाडेन
आधारातमा उठेर मकै पिस्यौ
मकैसँगै केही घुन पिस्यौ
तर पिसेनौ कहिल्यै उपियाँ
दासताको झन्डा बोकेर
उफ्रिरह्यो उपियाँ
र छाया बनेर पछ्याइरह्यो तिमीलाई
झिसमिसेमै उठेर ढिकी कुट्यौ
तर ढिकी कुटेनौ तिमीले
ढिकीले तिमीलाई कुटिरह्यो
कंगारूको जस्तो कुप्रियो तिम्रो शरीर
कुल्चिदियो मलाई ताते गराउने औंलाहरू
आज त्यही बांगो औंला देखाउँदै
आँगनमा निस्किएर
दुनियाँलाई गाली गरेको मन पर्छ
गैरीगाउँको चमेली फुपूलाई
कुनै अन्जान परदेशीले पेट बोकाएर गयो
कहिल्यै नफर्किने परदेशीको नाममा
गलबन्दी बुनेर बसेकी छिन् फुपू
तिनै बन्न नसकेकी लाहुरेनी फुपूलाई
चौतारामा घिस्याउँदै ल्याई
मैलो सारी माथि–माथि उचाल्न लगाई
नाच्न लगाएको मन पर्छ
बोक्सीको आरोपमा
मलमुत्र खुवाए मंगली मायालाई
न्यायालयको तराजुमा
सधैं पराजित भो मंगलीको आँसु
उनै मंगलीको हातमा हँसिया थमाई
सडकबीचमा उभिन लगाएको मन पर्छ
तिमी मातेपछि
जँड्याहा बाउलाई ढोकाभित्र थुनेर
कुखुरा बेच्न बजार जान्छ्यौ
कोठाभित्रै थुनिएको
त्यो अत्याचारी बाउको अनुहारमा दौडिने
त्रासको रङ मन पर्छ
तिम्रो औंलाजस्तै
बांगिएको छ जिन्दगी
तिम्रो ढाडजस्तै
कुप्रिएको छ रहर
तिमी त वंश धानिदिने
आँसुको इन्जिनले चल्ने मेसिन
उहिल्यै जात्राबाट तिमीलाई
बाउले घिसारेर ल्याउँदा
उतै वनको बाटोमा छुट्यो
तिम्रो पच्छयौरी
त्यही पच्छयौरीसँगै छुटे
जीवनका तमाम रहरलाग्दा अध्यायहरू
त्यसपछि तिमी
कहिल्यै नबिसाउने दुःखको रेलमा
यात्रा गरिरह्यौ एक्लै
आमा तिमी मात
तिमी मातेको मनपर्छ
यो दुनियाँ तिम्रै रगत चुसी
मातिरहेछ आदिकालदेखि
मातेकै सुरमा
शासन गरिरहेछ तिमीमाथि
आमा, तिमी मात
मलाई तिमी मातेको मन पर्छ।
अरू बेला खासै नबोल्ने आमा मातेपछि हिम्मतवाली र साहसी हुने भएकाले आफूलाई त्यस बेलाकी आमा मन पर्ने वर्णन राजुले यो कवितामा गरेका छन्।
कविता सुनेर बुबाले भने, ‘ठिक छ, तर अझै पुगेको छैन।’
आमाले भनिन्, ‘तैंले त भएभरको सबै भनेछस् केटा। त्यति धेरै नि नभनेको भए हुन्थ्यो।’
आमाबुबा र उनीहरूजस्तै मान्छेले आफ्ना कविता र लेखहरू नबुझेसम्म वा उनीहरूका लागि त्यसले केही सामाधान नखोजेसम्म आफू सफल मान्छे भइनसक्ने राजु बताउँछन्। त्यही भएर उनी आफ्नो कलममार्फत् उनीहरूको आवाज बनिरहन चाहन्छन्।
‘मैले चिनेका, जानेका र भेटेका पात्रहरूले बेलाबेला मलाई झस्काइरहन्छन्। उनीहरूले मलाई तँ किताब र कविता लेख्न सक्ने भइस्, पत्रकारिता गर्ने भइस्, तर खोई त हाम्रो बारेमा लेखेको भनेर सोधिरहे जस्तो महसुस हुन्छ। त्यसैले आफूले हिँडेका बाटा र चिनेका पात्रका योगदान भन्न पनि मैले उनीहरूबारे लेखिरहनुछ,’ राजुले भने।
राजुले केही समयअघि अर्थर हरारी निर्देशित फिल्म ‘ओनडाः टेन थाउजेन्ड नाइट्स इन द जंगल’ हेरेका थिए। त्यो फिल्ममा जापानले दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गरेपछि पनि ओनडा भन्ने व्यक्ति १० हजार दिनसम्म युद्धकै रनाहामा एक्लै हिँडेको हिँड्यै गर्छन्। आफ्नो देश त्यसरी झुक्नै सक्दैन भनेर जंगलमा एक्लै युद्ध लडेको लड्यै गर्छन्।
राजुलाई त्यो फिल्मको पात्र र आफू उस्तै हो भन्ने लाग्छ। किनभने, द्वन्द्व सकिएपछि पनि उनी त्यसकै रनाहामा ओनडाजसरी नै भौंतारिरहेका छन्।
‘म बेला बेला प्लास्टिकको झोला बोकेर युद्धमा हिँडेको त्यो १६ वर्षे केटो सम्झन्छु। ऊ जे परिवर्तन गर्छु भनेर झोला बोकेर घरबाट हिँडेको थियो, त्यो झोला त परिवर्तन भयो; तर देश उस्तै छ,’ राजुले भने, ‘मेरा लेखहरू त्यही परिवर्तनको प्रयास हो। समाजलाई जगाउन, झकझकाउन र गोलचक्करबाट निकाल्न अझै पनि म युद्धमै छु।’
यति भनेर उनले आफ्नै एउटा कविता सुनाए —
म हारेँ भन्छु
तिमी जित्यौं भन्छौ
म गुमाएँ भन्छु
तिमी पायौं भन्छौ
तिम्रो बंगलामा उदाउने जून फरक
मेरो छिँडीमा चियाउने जून फरक
तिमी ह्विस्कीको गिलासमा
डुबुल्की मार्न आउने जून राम्रो भन्छौ
म बाँसको कप्टेरो फोरेर
चिसो ओछ्यानसम्म आइपुग्ने
जून हाम्रो भन्छु
तिमी वैभवले रंगिएको
ऐश्वर्यको इन्द्रनगर खोज्ने कुरा गर्छौ
म एक मुक्त मान्छे सहितको
खुसीको संसार खोज्ने कुरा गर्छु
तिमी उन्मक्तको बुई चढेर
बादलमा कावा खाने कुरा गर्छौ
म फाटिएका मनहरू सँगाल्दै
समानताको टुकी बाल्ने कुरा गर्छु
तिम्रो हृदयमा कल्पने तिर्सना फरक
तिम्रो हृदयमा धड्कने सपना फरक
तिमी अघाएका मान्छेहरू झुम्ने धुन राम्रो भन्छौ
म भोकाएका मान्छेहरूको जून राम्रो भन्छु
तिमी दौलतको गरम प्यालालाई चुम्बन गर्दै
चिल्ला सडकमा रवाफ उडाउने कुरा गर्छौ
म फ्याँकिएका सिसीहरू सँगाल्दै
समानताको एक लप्को उजेली बाँड्ने कुरा गर्छु
तिमी दुःखीका आँसुहरू लिलामे वस्तु ठान्दै
सहरमा बिक्री गर्ने कुरा गर्छौ
म आँसुहरू सँगालेर
असमानताको अन्यायी पहाड बगाउने
छाल बनाउने कुरा गर्छु
तिम्रो मुटुमा सलबलाउने रगत फरक
मेरो आँखामा सजिरहने जगत फरक
तिमी पराया ह्विस्कीको मात फरक भन्छौ
म संसार जित्नेहरूको जात फरक भन्छु
तिमी सँगै तर्नुपर्ने संघर्षका साँघुहरू फोड्न सक्छौ
संसार जित्ने बाचा र कसमहरू तोड्न सक्छौ
रिंगट्याउने घुमाउरो र डरलाग्दा घुम्तीहरू छोड्न सक्छौ
तिमी आलिसान सिसमहलहरूमा
सिद्धान्त र सहमतिका नोटहरू गन्दै हिँड
म भीर, अगम, कन्दराहरूमा
सपनाका नयाँ डोबहरू खन्दै हिँड्छु
अनि छाडिदिऔं इतिहासलाई एउटा प्रश्नपत्र
जित कसको?
तिम्रो या मेरो?
***
यी पनि पढ्नुहोस्:
यहाँ क्लिक गरेर सेतोपाटी सबस्क्राइब गर्न सक्नु हुनेछ।