सँगसँगै जिन्दगी
सायद जसरी पनि उनीहरूको भेट हुनु नै थियो। नत्र सोच्दै नसोचेको त्यो साइत कसरी जुर्थ्यो!
जसरी पनि सम्बन्ध त गाँसिनु नै थियो। नभए सबैले 'बेमेल' मानेको जोडी कसरी दम्पती बन्थ्यो!
जसरी पनि सँगसँगै जिन्दगी त बिताउनु नै थियो। नभए पचास ठिही साथसाथै यसै कहाँ बित्थे!
यिनै पचास वर्षको सहयात्रामा उनीहरूको स्मृतिबाट धूमिल नभएका यादहरू सुन्न हामी पुगेका थियौं जमुना गुरूङ र खगेन्द्र संग्रौलाको घर।
काठमाडौंमा भर्खरै ठन्डीले दस्तक दिएको थियो। चाबहिल, गणेशस्थानको मिर्मिरे टोलस्थित उनीहरूको घरमा पनि ठन्डी नपुग्ने कुरै भएन। खगेन्द्र र जमुनाको मुस्कान भने आँगनका ढकमक्क फूलबिरूवाझैं न्यानो थियो।
खगेन्द्रले सुरूमै भनिहाले, 'हाम्रो कथा त रमाइलो पो छ है। यो कथा लेखिनुमा हामीभन्दा धेरै हाम्रा साथीहरूको हात छ। अनि बन्दिपुरको त्यो घरको।'
जमुना आडैमा थिइन्। खित्कै छाडेर भनिन्, 'हो नि, त्यो घरमा हाम्रो भेट नभएको भए…!'
संयोगको त्यो भेट बढ्दै गएर मायापिरती र बिहेमा परिणत भयो। यो सम्बन्ध सजिलै गाँसिएको भने होइन।
'म त बिहे गरून्जेलसम्म अलमलमै थिएँ। सम्बन्ध जोडौं कि के गरौं पो भइरहेको थियो लामो समय,' जमुनाले सुनाइन्।
जमुनालाई पुलुक्क हेरेर हाँसे खगेन्द्र। जमुनाले उस्तै संकेत दिइन्। हँसिलो हेराहेरले प्रस्ट हुन्थ्यो, उनीहरू पुराना यादहरू केलाउन थालिसकेका छन्।
'उनीसँग जोडी बाँध्ने सम्झिँदा पनि मलाई त डर लाग्थ्यो,' खगेन्द्रले त्यो समय सम्झिए।
बिहे गरेर ४९ वर्ष बिताइसकेका उनीहरूलाई उति बेला एकअर्कालाई जीवनको सहयात्री चुन्न किन अलमल भयो! किन डर महसुस भयो! त्यो पनि दुवै जना प्रेममा परेका बेला!
अनि कास्कीकी जमुना र पाँचथरका खगेन्द्रको मिलन बिन्दु बन्दिपुर कसरी भयो?
उनीहरूले पालैपालो स्मृतिका रिल घुमाए।
२०३०-३१ सालतिरको कुरा, बन्दिपुर अहिलेजस्तो रनघन थिएन। भर्खर युद्धमा हारेको घाइते सिपाहीजस्तो थियो। डाँडाको सुन्दर गाउँ बन्दिपुर लामो समयसम्म आफ्नो काखमा तनहुँको सदरमुकाम पहिचान बोकिरहेको थियो। २०२५ सालमा एकाएक उसको काखबाट त्यो साख खोसेर दमौली बजारलाई दिइयो।
यसपछि कुनै बेलाको गुलजार बन्दिपुरमा सन्नाटा छाएको थियो। चहलपहल पहिलेजस्तो भएन। पाँच-सात वर्षसम्म पनि त्यो सन्नाटा चिरिएको थिएन।
धेरै सरकारी कार्यालयहरू दमौली सरिसकेका थिए। कार्यालयसँगै तिनमा काम गर्नेहरू पनि सरेर गए। रहलपहल निकायमा केही कर्मचारी अडिएका थिए। केहीको सर्ने तरखर हुँदै थियो। अनि कोही भने छिटपुट तिनै बाँकी निकायमा काम गर्न पुग्दै थिए।
तिनै आउने र जानेमध्ये थिए खगेन्द्र र जमुना। एकलाई बन्दिपुरले बिदाइ गर्दै थियो, अर्कालाई स्वागत।
'म सरूवा मिलाएर पोखरा जाने तरखरमा थिएँ, त्यही बेला उहाँ बन्दिपुर आउनुभएको थियो,' जमुनाले भनिन्।
उनीहरूको भेट हुनु नै थियो, जाने र आउने अन्तिम प्रहरमा भए पनि।
यो भेट यस्तरी भयो, जसरी दोबाटोमा दुईतिरबाट आइरहेका दुई अपरिचित भेटिन्छन्। जसरी एकले अर्कालाई बाटो छोडिदिँदा एकछिन समय अडिन्छ, ठ्याक्कै त्यस्तै घडीपलामा उनीहरूको भेट भयो।
बन्दिपुरको जिल्ला अस्पताल दमौली सरिसकेकै थिएन। जमुना त्यही अस्पतालमा नर्सका रूपमा काम गर्थिन्। उनको ठाउँमा अर्कै मान्छे सरूवा भएर आउने भएको थियो। त्यसैले उनी घरपायक मिलाएर पोखरा जाने तयारीमा थिइन्।
त्यही बेला तनहुँ, चुँदीको चन्द्रावती माध्यमिक विद्यालयमा पढाउने खगेन्द्रको बन्दिपुर सरूवा भयो। भानु माध्यमिक विद्यालयमा पढाउन पुगेका उनको बस्ने र खानेको टुंगो थिएन। स्कुलकै अर्का शिक्षक ईश्वर श्रेष्ठसँग उनको दोस्ती भयो। ईश्वरले खगेन्द्रका लागि स्थानीय एक होटलमा खाने र बस्ने व्यवस्था मिलाइदिए।
तर खगेन्द्र होटलमा टिकेनन्।
'म अल्सरको बिरामी थिएँ। होटलको खाना ज्यानलाई जँचेन,' खगेन्द्रले सुनाए, 'अर्को चाहिँ, जुन होटलमा म खान्थेँ र बस्थेँ, त्यसकी सञ्चालक एकल महिला थिइन्। त्यो बेला एकल महिलाको घरमा बस्दा गाउँलेहरूले कुरा काट्छन् भन्ने भयो।'
यो चिन्ताको समाधान पनि ईश्वरले नै गरिदिए। एउटा घरका डेरावालाहरू चाँडै सरेर जाँदै थिए। त्यसपछि खगेन्द्र त्यहाँ सर्ने योजना बन्यो।
डेरावाला थिइन् जमुना।
आउने र जानेको दोबाटोमा भेट भयो!
'उनी सरूवा भएर जाँदैछिन्, उनी बसेको घरमा कोठा खाली हुँदैछ भनेर म त्यहाँ बस्ने भएको थिएँ,' खगेन्द्रले भने।
तर समयको योजना अर्कै थियो। जमुनाको सरूवा नै रोकियो। उनी डेरामै बस्ने भइन्।
सायद दोबाटोमा खगेन्द्र र जमुनाको भेट भएको घडीपला बलियो थियो। जसरी पनि उनीहरूको सम्बन्ध गाँसिनु नै थियो।
खगेन्द्रका साथी ईश्वरको जमुनासँग पनि राम्रो चिनजान थियो। उनकी श्रीमती मन श्रेष्ठ र जमुना मिल्ने साथी थिए। मन जमुना काम गर्ने जिल्ला अस्पतालमै अनमी थिइन्। आफ्नी प्रिय सखीका श्रीमानको आग्रह जमुनालाई नकार्न मुस्किल हुन्थ्यो।
त्यो दिन पनि त्यस्तै भयो।
जमुना बस्ने घर तीनतले थियो। उनी बसिरहेको कोठा त खाली भएन, माथिल्लो तलाको एउटा कोठामा ईश्वरले खगेन्द्रको बास मिलाइदिए। बास मात्र होइन, अल्सरका रोगी उनका लागि गाँसको पनि व्यवस्था गरिदिए। त्यो पनि जमुनाकै भान्सामा।
'उहाँ हामी बसेको घरको माथिल्लो तलामा बस्नुहुन्थ्यो। उहाँलाई अल्सर थियो। होटलको पिरोअमिलो खान नहुने। एक दिन ईश्वरजीले उहाँलाई हामीसँगै खान देऊ न भन्नुभयो,' जमुनाले सुनाइन्, 'म पनि नर्स मान्छे, दया लाग्यो। हुन्छ भनिदिएँ।'
घरसँगै जमुना र खगेन्द्रको भान्सा पनि एक भयो।
जमुनाका भाइबहिनी पनि सँगै बस्थे। तर ठूली उनै भएकाले भातभान्साको जिम्मा उनकै थियो। भान्सामा पाक्ने मिठोमसिनो खगेन्द्रलाई पस्किएर दिन्थिन्, केही नबोली।
खगेन्द्र पनि केही नबोली खान्थे, आफ्नो बाटो लाग्थे।
उनीहरूबीच कुनै कुराकानी हुँदैन थियो। प्रेमको भाषा बोल्नु त परै जाओस्!
त्यसमाथि खगेन्द्र भर्खरभर्खर प्रेमबाटै पाएको चोटबाट बौरिँदै थिए। काठमाडौं छँदै एउटा प्रेमको वियोग खेपेका खगेन्द्रलाई आफ्नो अब फेरि कसैसँग प्रेम होला भन्ने लागेकै थिएन। अझ जमुनासँग त कुनै पनि र्याङठ्याङ मिल्दैन थियो।
'म पाँचथरको बाहुन, उनी कास्कीकी गुरूङ। त्यस बेला भूगोलको दुरी पनि धेरै थियो,' खगेन्द्रले त्यो बेलाको मनोदशा सुनाए, 'अनि बिहे गर्ने त कुनै योजनै थिएन। म त बिना योजनाको फकिर थिएँ। फेरि उनी राम्री र अग्ली थिइन्। म भने उनीभन्दा होचो, अल्सरले गर्दा दुब्लो। दुब्लो भएकाले म राम्रो पनि थिइनँ। हाम्रो जोडी मिल्ने खालको देखिँदैन थियो।'
खगेन्द्रका कुरा सुनेर जमुनाले थपिन्, 'फोटो हेर्नुस् न त्यो बेलाको! त्यो देखेर त कसैले लभ गर्ने, बिहे गर्नेवालै थिएन।'
दुवैका चाउरिँदै गएका गालाले हाँसो थाम्न सकेनन्।
खगेन्द्रले तुरून्त आफ्नो बचाउ गरे, 'होइन, म त्यति कुरूप नै त थिइनँ कि? धेरै दुब्लो भएकाले नराम्रो देखिएको होला। तर उनी मभन्दा राम्री चाहिँ पक्कै हो। उनीसँग जोडी बाँध्ने सम्झिँदा पनि मलाई त डर लाग्थ्यो के।'
जोडी मिल्दो देखियोस् कि नदेखियोस्, प्रेम अंकुराउन रूप-स्वरूपले के छेक्थ्यो!
एकअर्कासँग कुरा होस् कि नहोस्, प्रेम प्रकट हुन बोलिरहने खाँचो पनि पर्दैन।
खगेन्द्र खाना खाइरहेका बेला जमुना हातमा छेस्को लिएर भुइँमा के के कोरेर बस्थिन्। आँखा झुकेका हुन्थे। खुट्टाका औंलाहरू चलिरहन्थे।
खगेन्द्रले कतै सुनेका थिए — कोही महिला कसैका अगाडि यसरी भुइँ कोरेर बस्छिन् भने उनको मनमा प्रेम छ भन्ने बुझ्नू!
त्यसैले नबोले पनि यस्तो संकेतले उनलाई हौस्यायो। बिहे गर्ने सोच थिएन, तर उनको मन रौसियो। उनी जानी नजानी बाँसुरी बजाउन थाले। जमुनाले सुन्ने गरी सक्दो मिठो धून निकाल्न खोज्थे।
भुइँ खोस्रिने र धून सुनाउने क्रम चल्दै गयो।
त्यहीबीच खगेन्द्रका साथीहरू रवीन प्रधान र लक्ष्मीनाथ भट्टराई साँझसाँझ उनको कोठामा आउन थाले। खगेन्द्र उनीहरूलाई दर्शन, राजनीति र संस्कृतिका कुरा सुनाउँथे। त्यो गफ उनले बजाउने बाँसुरीको धूनभन्दा मिठो हुन्थ्यो। जमुनालाई त्यसले तान्यो।
कहिलेकाहीँ जमुना खगेन्द्रका गफ सुन्न उनको कोठासम्म पुग्न थालिन्। उनी छेउमा टुसुक्क बसेर सुनिरहन्थिन्, कुनै सवाल नगरी, छलफलमा सहभागी नभइ। जति खगेन्द्रका कुरा सुन्थिन्, उति प्रभावित हुँदै गइन्। उनको बुझाइ र चेतनालाई प्रेम गर्न थालिन्।
खगेन्द्रको गफ सुन्दासुन्दै नै रवीन, लक्ष्मीनाथ र जमुना तीनै जनाले प्राइभेट परीक्षा दिएर थप पढ्ने भए। खगेन्द्रले उनीहरूलाई अंग्रेजी ट्युसन पढाए।
ट्युसनले जमुना र खगेन्द्रबीचको मौनताको पुल भाँचिदियो। एक-दुई वाक्य भए पनि कुराकानीको सिलसिला सुरू भयो।
यता भर्खर वाक्य फुट्दै गर्दा उनीहरूको गाउँ भने उनीहरूकै बारेमा लामा लामा गफ गर्न थालिसकेको थियो। २८ वर्षे अविवाहित खगेन्द्र र २३ वर्षे जमुना एउटै घरमा बसेको र एउटै भान्सामा खाएको खबर नै कुरा काट्नेहरूका लागि पर्याप्त थियो। अब त धर्मसंकटको अवस्था आइपर्दै थियो।
'कि त डेरा छोडेर भाग्नुपर्यो कि त लभ गर्नुपर्यो,' खगेन्द्रले त्यो परिस्थितिबाट उत्पन्न मनस्थिति सुनाए, 'हामीबीच यता कुरासम्म सुरू भएको छैन, मान्छेहरूले बात कहाँ पुर्याइसके। हामीले पनि सोच्नुपर्ने भयो। मेरो परिवारका तर्फबाट त केही समस्या थिएन। उनलाई भने बडो संकट पर्यो।'
संकट जमुनाको सोचमा थिएन, त्यस बेलाको समाजको चरित्रमा थियो। अन्तरजातीय विवाह कल्पनाको क्षितिजभन्दा परको कुरा। सानोतिनो आँट र साहसले सम्भव हुने कुरै थिएन।
सांस्कृतिक पर्खालकै कारण इच्छा हुँदा पनि उनीहरूलाई प्रेम प्रकट गर्न संकोच भयो।
'लामो समयसम्म प्रकट नभए पनि हाम्रो प्रेम कहीँ न कहीँबाट सुरू हुन खोजिरहेको छ भन्ने आभास एकअर्कालाई भइसकेको थियो,' खगेन्द्र सम्झिन्छन्, 'उनले कोठासम्म चिया ल्याइदिने, कहिलेकाहीँ कोठा सफा गरिदिने भएपछि आपसी व्यवहारले पनि नजिक भइयो।'
निकटताले हिम्मत दिन्छ। आँटे त उनीहरूले पाँचथर र कास्कीको भौगोलिक दुरी पैदलै नाप्न सक्थे। सांस्कृतिक पर्खाल भत्काउन समाजसँग सानोतिनो युद्ध पनि लड्थे होला। तर यो प्रेमको अनुमोदन समाज वा खगेन्द्र र जमुनाले मात्रै गरेर पुग्दैन थियो।
लाडप्यारमा हुर्किएकी जमुनालाई बुबाको पनि सहमति चाहिन्थ्यो।
'बुबाले मलाई औधी माया गर्नुहुन्थ्यो। तर यो प्रेम अनुमोदन गर्नुहुन्न भन्नेमा शतप्रतिशत निश्चित थिएँ,' उनले भनिन्।
कास्की मिजुरे गाउँका हुन् जमुनाका बुबा कारा गुरूङ। उनी हुर्के-बढेको गण्डकी भेगमा ब्रिटिस वा इन्डियन आर्मीमा भर्ती हुने परम्परा नै थियो। यही प्रथा पछ्याउँदै कारा भारतीय सेनामा गएका थिए।
बुबाको गोरखपुरमा ड्युटी भएका बेला जमुनाकी आमा उतै गइन्। छोरा बुद्धिमानलाई सँगै लगिन्, छोरी जमुनालाई भने मामाघरमै छोडिदिइन्।
छोरा र श्रीमती मात्रै लगेर भारत बसिरहेका कारा त्यहाँ हुँदा इन्दिरा गान्धी प्रधानमन्त्री थिइन्। त्यही बेला उनलाई लाग्यो — छोरीले पढे प्रधानमन्त्रीसम्म बन्न सक्ने रहेछन्।
त्यसैले उनले जमुनालाई पनि पढाउने संकल्प गरे। त्यस बेला गाउँमा स्कुल थिएन। केही टाठाबाठाका छोराछोरी कालोपाटीमा बाह्रखरीसम्म पढ्थे। औपचारिक शिक्षाको त कुरै थिएन। कारा कास्की फर्किए र जमुनालाई लिएर गोरखपुर गए। छोरीलाई स्कुल भर्ना गरिदिए। भारतीय सेनाकै छोराछोरी भए पनि जमुनाका दौंतरीले भने पढ्न पाएका थिएनन्।
'त्यस बेला पनि मलाई बुबाले भारत लगेर पढाउनुभयो। बुबाको त्यो कदम सम्झेर अहिले पनि खुसी लाग्छ,' एमफिलसम्मको अध्ययन सकेकी जमुनाले भनिन्।
सात कक्षासम्म गोरखपुरमै पढेपछि उनी परिवारसँगै गाउँ फर्किइन्। २०२४ सालमा पोखराबाट एसएलसी पास गरिन्। त्यो बेला वीर अस्पतालले भर्खरै नर्सिङ शिक्षा सुरू गरेको थियो। एसएलसी पास गरेका छात्राहरू गाउँगाउँबाट खोजेर ल्याएर पढाउँथ्यो। जमुनाले एसएलसी पास गरेकी छिन् भन्ने थाहा पाएर उनलाई लिन काठमाडौंबाट हेलिकप्टर नै पोखरा पुग्यो। त्यो बेला पृथ्वी राजमार्ग भर्खर बन्ने क्रममा थियो। पुलहरू बनिसकेकै थिएनन्। गाडी जान मुस्किल थियो।
जमुना र उनीसँगै एसएलसी पास गरेकी अर्की एक छात्रालाई लिएर हेलिकप्टर काठमाडौं आयो। चार वर्षसम्म जमुना घर नफर्की पढिन्। स्टाफ नर्स भएपछि जहाजले गोर्खाको पालुङटार विमानस्थलमा लगेर झारिदियो। उनी हिँड्दै हिँड्दै बन्दिपुरको जिल्ला अस्पताल पुगिन्। नर्सिङ इन्चार्जका रूपमा त्यहीँबाट उनको जागिरे जीवन सुरू भएको थियो।
'आमाबुबाले धेरै सपना देखेर मलाई यहाँसम्म साथ दिनुभएको थियो। म उहाँहरूकी एकदमै प्यारी छोरी। मलाई यो सम्बन्ध आमाबुबाले मन पराउनुहुन्न भन्ने लागेकै थियो। मलाई पनि उहाँहरूको किन चित्त दुखाउने भन्ने थियो,' जमुनाले त्यो बेलाको अलमल सुनाइन्, 'त्यही भएर पनि म यो बिहे गर्न हुन्छ कि हुँदैन, यो सम्बन्ध कसरी अगाडि बढ्ला भनेर निकै घोत्लिएँ।'
बस्तीमा गाइँगुइँ भइसक्यो, जोरीपारी चरित्रलाई लिएरै अनेक कहानी रच्न थालिसके। शुभेच्छुकहरू त प्रेमको कथै कोर्न थालिसके। शुभेच्छा र लाञ्छनाका अनेक फुर्कामा जमुना अल्झिन थालिन्।
उनको दकस यति मात्र थिएन।
-1702891083.jpg?timestamp=1702891152174)
जसका कारण उनी यी सबै तानाबाना सुन्दै थिइन्, ती व्यक्तिको जीवनबारे त केही सुनेकै थिइनन्। पाँचथरका ब्राह्मण खगेन्द्र, परिवारका अरू सदस्यबारे केही पत्तो छैन। कतै पहिल्यै बिहे गरिसकेको पो छ कि भन्ने शंका पनि मनमा नआएको होइन।
उता खगेन्द्र आफ्नो जिन्दगीलाई भन्दा क्रान्तिलाई धेरै माया गर्ने मान्छे थिए। दिमागमा हुलिएको नौलो जनवादी क्रान्तिको नशामा रन्थनिएका थिए। शिक्षकको आवरणमा क्रान्ति गर्न हिँडेका थिए।
यही यात्राको एउटा बिसौनी थियो बन्दिपुर जहाँ जमुनासँग भेट भयो।
जमुनालाई उनका बारेमा यी सबै कुरा के थाहा!
जति थाहा थियो, त्यसकै आडमा हुर्केको सम्बन्धबारे जमुना करिब दुई महिनासम्म घोत्लिइरहिन्। धेरै सोचेपछि उनले खगेन्द्रलाई जीवनको सहयात्री चुन्ने नै निधो गरिन्।
उनलाई लाग्यो — बुबाले मलाई एकदमै विश्वास गर्नुहुन्छ, एक न एक दिन मेरो सम्बन्ध स्वीकार गर्नुहुन्छ।
खगेन्द्रलाई भने परिवारको तर्फबाट ढुक्कै थियो, केही चिन्ता थिएन।
'हाम्रो लभ भइरहेको छ, अब बिहे हुनुपर्छ, त्यसपछि समस्या झेल्नुपर्छ भनेर मैले केही सोच्नै परेन। बा बितिसक्नुभएको थियो, आमा सोझी हुनुहुन्थ्यो,' उनले भने, 'घरमा पढेलेखेको म मात्रै थिएँ। भएको सम्पत्ति मलाई थाहै नदिइ दाइहरूले भाग लगाइसक्नुभएको थियो। त्यसैले पारिवारिक दबाब केही थिएन।'
मनले एउटा निधो गरिसकेपछि, आत्मविश्वास पलाइसकेपछि जुनकिरीजस्तो धिपधिपे उनीहरूको प्रेम एक्कासि दियोझैं उज्यालियो। तर त्यो उज्यालो छर्दै हिँड्ने समय थिएन। उनीहरूले अहिले जस्तो 'डेटिङ' जान पाएनन्। मुस्काउँदै, मस्किँदै, एकअर्काको हात थामेर हिँडेनन्। प्रेम सम्बन्धमा हुने अनेक ठासठुस र फकाइफुल्याइ पनि गरेनन्।
'म हाइस्कुलको मास्टर, उनी अस्पतालकी नर्स। जिम्मेवार मान्छे थियौं। हामीलाई सँगै मान्छेहरूले देखे भने त बबाल हुन्छ भनेर कतै गएनौं। उमेरको हिसाबले परिपक्व भएकाले प्रेममा हुने कुनै नखरा पनि भएन,' खगेन्द्रले हाँस्दै सुनाए।
व्यवहारमा नभए पनि दुईको मनमा केही दोधार थिए।
कतै नलेखिएको, कसैले नभनेको एउटा पुरानो मान्यताले उनीहरूलाई गाँजेको थियो — श्रीमतीभन्दा श्रीमान अग्लो हुनुपर्छ, बढी पढे-लेखेको हुनुपर्छ र सकेसम्म धनी पनि हुनुपर्छ।
खगेन्द्र त सुरूदेखि नै डराएका थिए!
जमुनाले पनि खगेन्द्रमा बौद्धिक र साहित्यिक चेतबाहेक अरू 'गुण' भेटिनन्।
उनले यो अलमल आफूसँगै काम गर्ने स्वीस नागरिक रेगुला फालाई सुनाइन्, सोधिन् — रेगुलाजी, आफूभन्दा होचो मान्छेसँग विवाह गर्न हुन्छ कि हुँदैन?
रेगुला फाले तुरून्तै जवाफ दिइन् — अ स्मल म्यान मेक्स अ गुड हस्बेन्ड।
'सानो गाँठीको मान्छे काइदाको लोग्ने हुन्छ भनेको हो के,' खगेन्द्र अहिले त्यसलाई अर्थ्याउँदै भन्छन्।
आफ्नी सुपरभाइजरले नै त्यसो भनिदिएपछि जमुनालाई अब खगेन्द्रसँग विवाह गर्छु भन्ने पक्का भयो।
'बिरालाको घाँटीमा घन्टी बाँध्ने दुस्साहस गरेको उनैले हो है। बिहेको प्रस्ताव उनैले गरेकी हुन्, मैले त त्यति आँट गर्न पनि सकिनँ,' खगेन्द्रले भने।
जमुनाले थपिन्, 'मेरो त इज्जतको कुरा भइसकेको थियो नि। गाइँगुइँ धेरै भएपछि कि छोडेर हिँड्नुपर्यो कि बिहे गर्नुपर्यो भन्नेमा म पुगिसकेकी थिएँ।'
बिहको निधो त भयो, तर अब अरूलाई कसरी भन्ने — धर्मसंकट छँदै थियो।
एक दिन खगेन्द्रले पढाउने स्कुलका अध्यक्ष मणिकुमार प्रधानले यो संकट पनि फुकाइदिए। उनले अंकमाल गरेर खगेन्द्रलाई बार्दलीको एक कुनामा लगे र संकोच मान्दै सोधे — खगेन्द्रजी, जमुना र तपाईंको केही यसोउसो सुनिन्छ त, के हो?
खगेन्द्रले भनिदिए — हामी बिहे गर्दैछौं!
त्यसपछि मणिले नै त्यो कुरा सबैतिर फैलाए। खगेन्द्र र जमुनालाई सजिलो भयो।
बिहेको मिति छिनेर जमुना आमाबुबालाई भन्न आफ्नो गाउँ गइन्। खगेन्द्र लुगाफाटा किन्न काठमाडौं आए।
यता खगेन्द्र बिहेको किनमेल गर्दै थिए, उता जमुनालाई बुबाले बिहेको अनुमति नै दिएनन्। जमुनाले बुबालाई भनिनसक्दै गाउँभरि कुरा फैलियो।
गाउँलेहरू उनका बुबालाई भन्न थाले, 'हल्दार भएर के नापियो? छोरी पढाएर के नापियो? छोरी त बाहुनसित पोइल जाने भई। सबैको नाक काटेर जाने भई!'
'बुबाले त्यो बाहुनसँग बिहे गर्ने भए म तेरो बा रहन्न, तँ मेरी छोरी रहन्नस्, मलाई बाउ मान्ने हो भने बिहे नगर् भन्नुभयो,' जमुनाले बुबाका भनाइ जस्ताको तस्तै सम्झिइन्।
त्यसपछि जमुना बुबालाई केही नभनी बन्दिपुर फर्किइन्। तर बुबा उनको पछिपछि बन्दिपुर नै आए। रातभरि जमुनालाई सम्झाइबुझाइ गरे। दुःखमनाउ गरे। घुर्की लगाए। भोकै बसे। उनको केही सीप लागेन। बिहानपख पानीसमेत नखाइ फर्किए।
बुबाको मन दुखाउनुपर्दा जमुनाको मन दोब्बर दुखेको थियो। एक मन बिहे नगरौं कि भन्ने पनि लाग्यो। तर फेरि कुनै न कुनै दिन बुबाले स्वीकार गर्नुहुन्छ भन्ने विश्वासले जित्यो। त्योभन्दा धेरै खगेन्द्रको प्रेमले जित्यो सायद।
'मलाई बुबाले यति माया गर्नुहुन्थ्यो कि मेरो रोजाइलाई कुनै दिन स्वीकार गर्नुहुन्छ भन्ने आत्मविश्वास थियो,' उनले भनिन्।
२०३१ मंसिर १६ गते। बन्दिपुरको अलि तल्तिर सल्लेरीको मन्दिरमा खगेन्द्र र जमुनाको बिहेको मण्डप बन्यो। परिवारका सदस्यहरूको अनुमति थिएन, उपस्थिति पनि भएन। नजिकका केही साथी मात्र थिए।
जमुना गुलाबी साडीमा सजिइन्। बिहेमा बेहुलीले रातो लगाउने चलन थियो, खगेन्द्रले लगेका थिए गुलाबी साडी। क्रान्तिकारी विचारधाराका उनले कतै यो मानक भत्काउन त किनेका होइनन्?
हतारहतार प्रस्ट्याइहाले, 'के हुन्थ्यो, नजानेर नि!'
खगेन्द्र पनि काठमाडौंमा किनेको कोट-प्यान्टमा ठाँटिए।
'मैले जिन्दगीमा जम्मा दुईपटक सुट लगाएँ। एउटा आइएको परीक्षा दिन काठमाडौं आउँदा, अर्को बिहेमा,' उनले भने।
परीक्षा दिने बेलामा के के न हो भन्दै सुट नै लगाएका थिए सायद। बिहेमा भने आलटाल गर्दै थिए। उनका हितैषी गायक रायनले बिहेमा त सुट नै लगाउनुपर्छ भनेर किनिदिएछन्।
बिहेको टोपी भने खगेन्द्र आफैंले रोजेका थिए। त्यो ढाका टोपी उनका लागि विशेष थियो। धेरै खोजेर, छानेर किनेका थिए।
यसको कारण पनि विशेष छ, सुनाउनुअगाडि नै खगेन्द्र हाँसे, अनि भने, 'अब उनी मभन्दा अग्ली है। बिहेका दिन म पनि उनीजत्तिकै अग्लो देखिन अग्लो टोपी लगाएको। तनक्क तन्काएर।'
जतिसुकै 'बेमेल' देखिए पनि उनीहरूको मेल भएरै छाड्यो।
जमुनालाई खगेन्द्रसँग बिहे गर्न आँट भरिदिने रेगुला फासित क्यामरा थियो। बिहे सकिएपछि उनले फोटा खिचिदिने भइन्।
खगेन्द्रले आफ्नो टोपी अझै तन्काएर माथि सारे। छाती तनक्क पारे।
जमुनाले ढाड कक्रक्क बनाइन्। कुप्री परिन्।
'यो बाहुन धेरै होचो नदेखियोस् भनेर कुक्रुक्क परेकी छिन् बिहेको फोटोमा। त्यहाँ मात्रै होइन, जहाँ फोटो खिच्नुपरे पनि ङ्याच्च पर्छिन्!' खगेन्द्रको ठट्टामा जमुना जोडले हाँसिन्।
रहलपहल हाँसोसँगै जमुना बोलिन्, 'न जात मिल्छ, न सम्पत्ति देखिन्छ, न रूप छ, न उचाइ। मेरो त त्यो बेला फुस्केछ कि के हो भनेर सोचेँ!'
दुवै जना निकै बेरसम्म एकअर्कालाई हेर्दै हाँसिरहे। त्यो दिनको खुसी उनीहरूका आँखाले फेरि साटे। हाँसो सकिएपछि दुवै जना निकै बेरसम्म चुप्प लागिरहे। सायद बिहेपछिका दिन सम्झिए। सँगै भोगेका आरोह-अवरोह सम्झिए।
अपरिचित उनीहरूको छुट्टिने बेलामा भेटिएर माया बसेको थियो। त्यो माया जीवनसाथीमा परिणत भयो, तर माया पोख्ने बेला छुट्टिनुपर्यो।
बिहेको केही समयपछि नै खगेन्द्र काठमाडौं आए। त्यो बेला माध्यमिक तहको सरकारी शिक्षकका लागि शिक्षा संकायमा अनिवार्य बिएड गर्नुपर्ने नियम आयो। खगेन्द्र कीर्तिपुर आएर पढ्न थाले। जमुनाको काम उतै थियो। दुई जना वारिपारि जस्ता भए। बेलाबेला खगेन्द्र जमुनालाई भेट्न पुग्थे।
त्यहीबीच जमुना गर्भवती भइन्। बिहे भएको डेढ वर्षपछि, उनीहरूकी पहिलो सन्तान जन्मिइन्। केही समयपछि खगेन्द्र पनि तालिम सकेर बन्दिपुर फर्किए।
छोरीको जन्म हुँदा भने खगेन्द्र बन्दिपुरमा थिएनन्। त्यो बेला जमुनाका साथमा नभएको थकथकी अहिले पनि उनलाई लाग्छ। चाहनाभन्दा समय बलवान भयो सायद!
छोरी जन्मिएको खुसी एकातिर थियो, सँगै अर्को पनि न्यानो सुरूआत भयो। बिहेदेखि बन्द भएको जमुनाको माइतीको बाटो खुल्यो। सुरूमा जमुनाका दाइ आए। त्यसपछि आमा, अनि बुबा। आमाबुवाको चित्त दुखाइमा नातिनीको मुस्कानले मल्हम लगायो। बिस्तारै परिवारका सबै जना आए।
'छोरी त दुई परिवारको मिलन पुल बनेर पो जन्मिइन्,' खगेन्द्रले खुसी बाँडे।
जमुनाको खुसी त झन् त्यो बेला पहाड नै भएको थियो। लेखक र शिक्षकसँग घर बस्यो। दुईबाट तीन भए। तीनबाट परिवारकै साथ पाइन्।
श्रीमानसँग जमुनाको एउटा गुनासो भने छ।
खगेन्द्रले उनलाई दुइटा कुरामा झुक्क्याएछन्! ढाँटेर होइन, नभनेर।
'मैले उहाँसँग बिहे गर्ने एउटा कारण त रक्सी पिउनुहुन्न भनेर पनि थियो। लाहुरेसँग बिहे गर्दा रक्सी खाएर दुःख दिन्छन् भन्ने डर थियो। उहाँ त बाहुन, रक्सी खानुहुन्न भन्ने भयो,' जमुनाले सुनाइन्, 'हाम्रो भेट हुने बेला पिउनु पनि हुन्न थियो। अल्सर भएको मान्छेले पिउने कुरा पनि भएन। भरे त बेस्सरी पिएर, अल्सर भएर पो छाडेको रहेछ! पछि मात्रै थाहा भयो।'
अल्सर निको भएपछि खगेन्द्रले फेरि पिउन थाले।
'रक्सी खाएर आएपछि कहिलेकाहीँ त मैले ढोकाबाट भित्र छिर्न पनि दिइनँ नि,' जमुनाले भनिन्।
जमुनाले आफू झुक्किएको कथा सुनाएपछि खगेन्द्र खित्काए। अनि भने, 'लाहुरेले रक्सी खाएर दुःख दिन्छ भनेर बाहुनसँग आएको, बाहुन नै लाहुरेभन्दा खराब निस्कियो, क्या फसाद!'
'हो नि,' जमुनाले भनिन्, 'उहाँसँग मेरो गुनासो त्यही नै हो।'
अहिले त खगेन्द्र रक्सी पिउँदैनन्। अरू त एकअर्कासँग केही सिकायत पनि छैन। विवाह भनेकै जीवनको पूर्णता र जीवनको सौन्दर्यको खोजी मान्छन् उनीहरू। अनेक उतारचढाव झेल्दै यहाँसम्म आइपुग्नु नै सफलता ठानेका छन्।
वैवाहिक जीवन अघि बढिरहेकै बेला जमुनाले खगेन्द्रबारे अर्को कुरा पनि थाहा पाइन् जसले उनलाई खंग्रङ्ग बनायो। उनी छाँगाबाट खसेजस्तै भइन्।
आफूले बिहे गरेको मान्छे उनलाई अनजान, अपरिचित लाग्यो। एकै घरमा डेरा बस्दादेखि आफ्नी छोरीको बा हुँदासम्मका खगेन्द्रको त्यो परिचय उनी सामु आएको थिएन।
उनी क्रान्तिका कुरा गरिरहन्थे, तर जमुनाले यसलाई बौद्धिकता मात्र ठानेकी थिइन्। उनी त भूमिगत राजनीतिमा थिए। बन्दिपुर आसपासका दलित बस्तीहरूमा राती राती प्रशिक्षण दिन जान्थे। खगेन्द्रको जिन्दगीको यो पर्दा जमुनासामु बिहेको धेरैपछि मात्र खुल्यो।
'मलाई उहाँ राजनीतिमा हुनुहुन्छ भन्ने थाहै थिएन। विद्वान लेखक हो भन्ने मात्रै थियो। त्यत्तिको भरमा पत्याएकी हुँ मैले। तर मान्छे कहाँ गएर फस्छ के,' जमुनाले त्यो बेलाको मनोदशा सुनाइन्, 'बिहे भएपछि एउटा भूमरीमा पसियो, त्यहाँबाट केही गरी फुत्किन सकिन्न। त्यसैले आफूले रोजेकोसँग भन्दा बाआमाले खोजेकोसँग बिहे गर्दा बढी सुरक्षित हुँदो रहेछ। आफैंले रोजेर गएकी त होस् नि भन्दा रहेछन्। म दरिलो भएर आफ्नो खुट्टामा उभिएको भएरै यो विवाह यहाँसम्म आएको हो।'
हुन पनि खगेन्द्रको राजनीतिक जीवनले जमुनालाई पनि भूमरीमा लपेटेको थियो। तत्कालीन राज्यका विरूद्ध आन्दोलन गरिरहेका खगेन्द्रको जिन्दगी सजिलो हुने आशै थिएन। उनको जिन्दगीको उबडखाबडले जमुनालाई पनि आफ्नो लयमा बग्न दिएन।
बन्दिपुरमा खगेन्द्रले राजनीति गरेको सुइँको पाएपछि उनको सरूवा भयो। जमुनासँग विकल्प भएन, उनले पनि सरूवा मागिन्। त्यसबेला खगेन्द्रकी आमा मोरङको रंगेली नजिकै बस्थिन्, जमुना छोरी लिएर त्यहीँ गइन्। खगेन्द्र भने कहिले यता कहिले उता गर्दै तीन महिनापछि चितवन पुगे।
२०३६ साल आसपास। खगेन्द्रको अत्तोपत्तो नभए सरह थियो। न कमाइको ठेगान न घर जाने टुंगो न कुनै निधो खबर। त्यही ताका सुरू भएको शिक्षक आन्दोलनका अगुवा थिए उनी। प्रहरीले कहिले पक्रेर थुन्ने हो, भर थिएन। जेल पर्ने र छुट्ने क्रम नियमित जस्तै बन्यो।
तलाउजस्तो जमुनाको जिन्दगीमा खगेन्द्रसँगको भेटपछि बर्खेभेल उर्लेको थियो। त्यो भेलले जमुनालाई बेलाबेला लतार्थ्यो। निद्रा बिथोल्थ्यो।
'खासमा बिहेको निधो गरेको केही समयपछि नै मलाई बिहे भूमरी हो भन्ने लागेको थियो,' जमुनाले भनिन्, 'नभन्दै जिन्दगी त्यस्तै भयो। यति संघर्ष गरियो कि, त्यसको हिसाबै छैन। तर म हारिनँ। मैले एउटा गल्ती गरिसकेँ, अब अर्को गल्ती गर्दिनँ भन्ने लाग्यो। त्यही भएर हाम्रो विवाह टिकिरह्यो। फेरि हाम्रा छोराछोरी पनि थिए। उनीहरूका लागि पनि सोच्नुपर्थ्यो।'
यति भनेर उनले खगेन्द्रतिर पुलुक्क हेरिन्, श्रीमानसँग गुनासो अझै छ कि!
मौन खगेन्द्रको अनुभूति भने अनुहारमा छर्लंग थियो — अलि धेरै नै पो दुःख दिएँ कि!
उनको मन भुलुक्क भयो, आफ्ना कारण परिवारले पाएको कष्टको कहानी आफैं सुनाए।
-1702891082.jpg?timestamp=1702891152174)
शिक्षक आन्दोलनका बेला उनी चितवनबाट पक्राउ परेका थिए। एक-दुई दिन चितवन राखेर उनलाई वीरगञ्ज कारागार लगियो। उनलाई भएको त केही थिएन, तर फैलिएको खबर सनसनीपूर्ण थियो।
'त्यसबेला मन्डले टाइपको एउटा पत्रिकामा खगेन्द्र संग्रौलाको जिब्रोमा करेन्ट लगाइयो भनेर छापिएछ। हाम्री छोरी सानै थिई, स्कुल जान्थी। सबैले उसलाई त्यही सुनाइदिएछन्। त्यो बालख छोरीलाई ठूलो यातना भयो,' खगेन्द्रले थकथकी पोखे।
उनको जीवनमा यस्ता घटनाको सिलसिला नै थियो। तर उनी झन् जोसिन्थे। समाजका लागि केही गर्ने भन्दै हिम्मतिला हुन्थे। उनी जति हौसिन्थे, समस्या पनि उति नै खडा हुन्थे, परिवारको दुःखको घडा भरिँदै जान्थ्यो। समाजमा सुखद परिवर्तन ल्याउन भनेर जुन भुंग्रोमा खगेन्द्र होमिएका थिए, त्यसले जमुना र साना छोराछोरीलाई पोलिरहेको थियो।
जागिर खाँदै बालख छोराछोरी हुर्काइरहेकी जमुनालाई जिन्दगी चलाउन संकट थिएन, संशयले भने खाइरहन्थ्यो। कदाचित खगेन्द्र लामो समय जेल परे वा मारिए भने!
एकातिर जीवनसाथीले आधा बाटोमै छाड्थ्यो, अर्कोतिर ससाना छोराछोरी हुर्काउने जिम्मा एक्लो काँधमा आइपर्थ्यो।
'छोराछोरी हुर्काउने बेलामा अनेक डर आउँदो रहेछ,' जमुनाले भनिन्, 'उहाँ जेलमा हुँदा केही थाहा हुँदैन थियो। लामो समय बस्ने हो कि, वा केही हुने हो कि! म एक्लैको कमाइले सबै कसरी गर्ने होला भन्ने डर पनि हुन्थ्यो।'
उनीहरूले कैयन रात र दिन पिरलोमा पिल्सिँदै बिताए। कहिलेकसो भेट हुन्थ्यो। अनेक गुनासा थिए, असन्तुष्टि पनि थिए, तर झगडा गरेनन्। भेट हुन साइतै जुर्नुपर्ने अवस्थामा झगडा गर्ने कुरा पनि हुँदैन थियो।
बिस्तारै छोराछोरी हुर्किँदै गए। उनीहरूका रहर र माग बढ्न थाले। उकालो लाग्दै गरेको खर्चको भार जमुनाको कमाइले धान्न सक्दैन थियो। जेनतेन घर चलाउन पुग्थ्यो। छोराछोरीका झिनामसिना रहर पनि पूरा गर्न नसक्दा उनलाई पीडा हुन्थ्यो।
उता खगेन्द्रको पारा बदलिएकै थिएन। उनी आफ्नै सुरमा काम गर्थे। फेर्ने जम्मा एक जोर लुगा थियो उनीसँग, तर पनि कमाउनुपर्छ भन्ने नै लाग्दैन थियो। पैसा कमाउने कामै गर्दिनँ, लेख्छु मात्रै भन्थे।
'मेरो रूचि र रोजाइमा दुइटा कुरा मात्रै छ। एउटा साहित्य, अर्को राजनीति। यी दुईलाई समय दिएपछि कमाउनका लागि त मसँग समय नै भएन नि,' खगेन्द्रले स्पष्टीकरण दिए।
खगेन्द्रलाई समयको अभाव भइरहँदा जमुनालाई भने पैसाको अभावले तनाव दिएको थियो। समस्या ओइरिन थाले। रिस पनि थोपरिँदै गयो। खटपटी हुन थाल्यो। बुढाबुढीबीच विचारको बेमेल चर्किँदै गयो। अनि परिवारमा मिठासकै अभाव हुन थाल्यो।
खगेन्द्रलाई त्यो समय सम्झिँदा अहिले आत्मग्लानी हुन्छ।
'मेरा कारण उनीहरूलाई दुःख भयो भन्नेमा मलाई अलिकति ग्लानी छ। म बढी रिसाएँ होला, कहिले छोराछोरीसित, कहिले श्रीमतीसँग। अहिले लाग्छ, त्यसरी नरिसाएको भए हुन्थ्यो,' अनुहारमा पछुतो छल्काउँदै खगेन्द्रले भने, 'उनी रिसाउँदा मैले कहिल्यै फकाइनँ, जो रिसाउँछ ऊ थाक्छ र शान्त हुन्छ भनेर प्रतिवाद पनि गरिनँ। चुप लागेर बसेँ। मैले किन त्यसो गरेँ, किन फकाइनँ भन्ने कुरा अहिले पनि असहज हुन्छ।'
साहित्य वा राजनीति, जता ढल्किए पनि उनले श्रीमती र छोराछोरी चटक्कै बिर्सिएका भने थिएनन्। बेलाबखत विभिन्न गैरसरकारी संस्थाहरूमार्फत अनुवादको काम गरेर घरको अप्ठ्यारोमा भरथेग गरे। हरेक मुस्किल परिस्थितिमा घरकै याद आउँथ्यो। आफूलाई केही भइहाले श्रीमती र बालबच्चाले के गर्लान् भन्ने पिरलोले सताउँथ्यो।
'छोराछोरी जन्मेपछि जिम्मेवारीको बोझ साह्रै हुने रहेछ। म भइनँ भने उनीहरूको के होला, बर्बादै हुन्छ भन्ने लाग्दो रहेछ,' खगेन्द्रले बाबु मनको भावना पोखे, 'आन्दोलन गर्दा होस् या पुलिसलाई ढुंगा हान्दा, पक्राउ पर्दा होस् या बेपत्ता भएका बेला, आँखाअगाडि सधैं छोराछोरीकै अनुहार आइरहन्थ्यो।'
ती अनुहारले उनलाई आन्दोलनहरूमा जान भने कहिल्यै रोकेनन्। खगेन्द्रको नसा नसामै आन्दोलन र विद्रोहको रगत बग्थ्यो सायद। त्यसैले जमुनाले पनि उनलाई कहिल्यै रोकिनन्। परिवर्तन गर्न खोजिनन्, चाहिनन् पनि। खगेन्द्रले सकेको गरे भन्नेमै छिन् उनी।
'उहाँले हाम्रो सपनामा कहिल्यै रोकछेक गर्नुभएन। हामीले पनि गरेनौं। मैले एमफिल पढ्दा उहाँले घर सम्हाल्नुभयो। उहाँको इच्छा हामीमाथि लाद्नु हुन्न। लिबरल भएकाले सजिलो भयो,' जमुना भन्छिन्, 'पहिले लामो समय तनाव भयो, झगडा भयो। तनाव भएपछि झन् माया भयो, झन् माया भएपछि झन् झगडा भयो। सबै सिलसिला त हो। जिन्दगी यसैगरी चलाइयो।'
नत्र त पचास ठिही साथसाथै यसै कहाँ बित्थे र!
अहिले यो जोडीले जिम्मेवारीको भारी बिसाइसकेको छ। छोरी डेजी अमेरिकामा डाक्टर छिन्, छोरा मित्र ग्राफिक डिजाइनिङ गर्छन्। नातिनातिना उतैका भइसके।
उनीहरूलाई अब यता आउन सजिलो छैन। न खगेन्द्र र जमुना छोराछोरीको माया भनेर उतै गइहाल्ने सोचमा छन्। जमुनाले जागिर छाडिसकिन्, खगेन्द्र पूर्णकालीन लेखन्ते, पढन्ते भए। तर खर्चको तनाव छैन। बुढाबुढी मात्र छन् घरमा, दैनिक गुजारा सजिलै चल्छ। लुगाफाटा, जुत्तादेखि अरू झिनामसिना सामान छोराछोरीले पठाइदिएकैले पुगेको छ।
कहिलेकाहीँ दुवैको भक्कानो भने फुट्छ, विगतको अभाव सम्झेर। छोराछोरीको रहर पूरा गर्न नसकेको पछुतो खगेन्द्रमा धेरै देखिन्छ।
'छोरीको त मागै केही हुँदैन थियो, एउटा भाँडाकुटी भए पुग्थ्यो। छोरा भने कहिले बन्दुक माग्थ्यो, कहिले हेलिकप्टर त कहिले साइकल भन्थ्यो। यस्तो कुरामा खर्च गरे बचत हुँदैन थियो। संकट भयो भने के गर्ने भनेर मसिना माग पनि पूरा गरिएन,' खगेन्द्र सम्झिन्छन्, 'अहिले सोच्दा छोरालाई त्यो एउटा हेलिकप्टर किनिदिएको भए कति नै खर्च हुन्थ्यो होला र जस्तो लाग्छ।'
जेजस्तो भोगे पनि, जिम्मेवारीको भारी हलुको भएपछि झगडाको कारण पनि थान्को लागेको छ। अहिले त धेरै कुराकानी नै हुँदैन। अमेरिकामा छोराछोरी भेट्न जानेबाहेक सँगै यताउता गर्दैनन् पनि। दुइटाको आआफ्नो धुन हुन्छ।
'जोसँग सधैं भइन्छ, उसँग गर्ने धेरै कुरै हुँदैनन् के,' खगेन्द्र भन्छन्, 'के कुरा गर्ने?'
जमुनाले थपिन्, 'त्यही के खाने, के पकाउने भन्ने त हो!'
खगेन्द्रले अलि व्याख्या गरे, 'माछा खाइयो अब के खाने भन्ने एउटा संवाद। नातिनातिनाको खबरबारे अलि बढी कुरा हुन्छ, त्यो अर्को संवाद। तेस्रो संवाद, जन्मिँदा त साथी चाहिँदैन, मर्दा त चाहिन्छ नि। हाम्रो जीवनको अन्त कसरी हुने हो भनेर संकेतमा एक-दुई वाक्यमा कुरा हुन्छ।'
जीवन कसरी बाँच्ने भन्नेबाट कसरी मरिने हो भन्ने चिन्तनसम्म आइपुगेका छन् खगेन्द्र। यसबीच धेरै कुरा बदलिए। तर उनको बागी स्वभाव उस्तै छ। आज पनि उनी अत्याचारमाथि प्रश्न उठाइहाल्छन्। आफूले सक्दा आन्दोलनहरूमा पुग्छन्। बिहान पत्रपत्रिका पढ्दा, दिउँसो अनलाइनतिर खबर हेर्दा सन्तुष्ट हुन सक्दैनन्।
'जिन्दगीको आयु, उमंग, जोखिम जे-जेमा लगानी गरियो, त्यसको फल चिताएजस्तो भएन। हामीकहाँ उन्नत लोकतान्त्रिक व्यवस्था आइसकेको छ तर ल्याउनेहरूले नै जोगाउन सकेनन्,' खिन्न हुँदै उनी भन्छन्, 'आफ्नो जीवनकालमै सबै राम्रो कुरा होस् भन्ने मान्छेको चाहना हुने रहेछ। तर त्यस्तो हुँदो रहेनछ।'
राजनीति र समाजप्रति खगेन्द्रका असन्तुष्टि रहे पनि आफ्नी जीवनसंगी जमुनासँग कुनै असन्तुष्टि छैन।
अनेक हन्डर खाँदै यहाँसम्म आइपुग्दा जमुनाको पनि कुनै सिकायत छैन। पहिलोपटक बिरामी खगेन्द्रलाई भेट्दा जुन माया उनले दर्शाएकी थिइन्, त्यो प्रेम आज पनि उस्तै छ।
'कसैले नगरेको बिहे गर्यौं हामीले। मैले बिहे नगरेको भए यी मान्छे उहिल्यै क्यान्सर लागेर मरिसक्थे। अहिलेसम्म बाँचिरहेको छन्, यो नै मेरो उपलब्धि हो,' खगेन्द्रलाई हेरेर हाँस्दै जमुनाले भनिन्, 'त्यही भएर पनि हाम्रो सम्बन्ध सफल मान्नुपर्छ।'
अनि थपिन्, 'ऊभन्दा बेटर (राम्रो) मेरा लागि अर्को कोही छैन।'
जमुनाले नै यसो भनेपछि खगेन्द्र गजक्क परिहाले।
दंग पर्दै भने — गज्जब, गज्जब! रमाइलो छैन त हाम्रो प्रेम कथा?
यहाँ क्लिक गरेर सेतोपाटी सबस्क्राइब गर्न सक्नु हुनेछ।