जंगलभित्रको कथा : अध्याय १
यो सारा जगत — जंगल थियो
जीव थिए, जनावर थिए
चिँघाड्थे, गर्जन्थे
अनि आए — मानव
एक्लै, दुक्लै
एक्लै, दुक्लै
झुन्डमा।
चलाख थिए, चलाखी गरे
हात हाले, हतियार चलाए
बुद्धिमान थिए, सारा जंगल आफ्नो बनाए
अनि भयो — द्वन्द्व
खेदे
लखेटे
भेदे
दपेटे
भागे
भगाए
काटे
कटाए
शिकारी भए, शिकार गरे
एक्लै, दुक्लै
एक्लै, दुक्लै
झुन्डमा।
आज यो सारा जगत मानवको
सारा जंगल मानवको
जीव–जनावर सबै मानवकै
उसैको इसारामा हात्ती चिँघाड्छ
गर्जने बाघ पनि ऊदेखि तर्सिन्छ
ऊ राज गर्छ यो जगतमा
राज गर्छ जंगलमा
एक्लै, दुक्लै
एक्लै, दुक्लै
झुन्डमा।
जंगल यात्रामा तपाईंहरूलाई स्वागत छ।
यो कथा शृंखलामा हामी तपाईंहरूलाई जंगलसँग परिचय गराउने छौं। मानव र जनावरबीच वर्षौंदेखि चल्दै आएको घमासानसँग साक्षात्कार गराउने छौं।
सुरू गरौं, बीस वर्षअघिको घटनाबाट।
रोजगारीका लागि साउदी अरब पुगेका माधव अधिकारी घर फर्किएका थिए। मरूभूमिमा पसिनासँग सट्टापट्टा गरेको पैसाले उनी चितवन, माडीको गणेशकुञ्जमा सानो घर बनाउँदै थिए।
त्यही मौकामा उनका जेठान राजेन्द्र न्यौपाने बगहीबाट गणेशकुञ्ज आए।
चैत महिनाको कुरा हो।
माधवका तीन छोरा प्रचण्ड घामको छेल परेर आँगनमा खेल्दै थिए। श्रीमती गाईवस्तु स्याहार्दै थिइन्। माधव र राजेन्द्र घर बनाउने काममा भिड्दै थिए।
'हामी भोलि माथि जंगलमा पिकनिक जाऔं,' काममा व्यस्त हात टक्क रोकेर माधवले आफ्ना जेठान राजेन्द्रसँग भने, 'खोलामा माछा मारौं। ढिँडो ओडालेर खाऔं। राति उतै बसेर पर्सितिर फर्किऔंला।'
जंगलको बसाइ उनीहरूको निम्ति नौलो थिएन। पहिले पनि घाँस–दाउरा काट्न, रमाइलो गर्न गइरहन्थे। मौका पर्दा रातभरि आगो बालेर जंगलमै बिताउँथे।
लामो समय विदेश बसेर फर्किएका माधवलाई जंगलको पुरानो याद ताजा पार्ने हुटहुटी जागेको थियो।
राजेन्द्रले भने ढुक्कैसँग हुन्छ भन्न सकेनन्।
उनी अलमलिएको देखेर माधवले कारण सोधे।
जबाफमा राजेन्द्रले भने, 'एक महिनाअघि मात्र त्यो जंगलमा बाघले खाएर एक जना चेपाङको ज्यान गयो। रातभरि हराएको मान्छे कहाँ गयो भनेर खोज्दै जाँदा बाघले चिथ्राचिथ्रा पारेर छाडेको भेटियो। उसको लास बोकेर ल्याउनेमा म पनि एक थिएँ।'
उनी एकछिन टक्क अडिए। लामो सास फेरे अनि भने, 'भो, त्यतातिर त नजाऊँ कि क्या हो ज्वाइँ, जंगलको कुनै भर हुन्न!'
माधव भने झन् सुरिए, 'ह्या दाइ पनि! एक महिनाअघि मान्छे खाएको बाघ अहिलेसम्म हामीलाई कुरेर त्यहीँ बसिरहेको होला त!'
उनी खिस्स हाँसे र अगाडि भने, 'मैले बाघ नदेखेको पनि धेरै भइसक्यो, बरू हामी खबरदार रहौंला नि! मैले अरू साथीहरूलाई पनि भनिसकेको छु। दस–पन्ध्र जना केटाहरू जान तयार भइसके। भोलि बिहानै हिँड्ने तयारी गरौं भन्ने विचार छ। जाऔं दाइ!'
राजेन्द्र अझै तयार थिएनन्।
'जाने र!' उनले भने, 'मलाई त अझै पनि त्यो चेपाङको लास सम्झेर भाउन्न पो छुट्छ!'
'ह्या नडराउनू के दाइ,' माधवले भने, 'हामी छौं नि। दस–पन्ध्र जना केटाहरू आगो बालेर हल्लाखल्ला गरेपछि बाघ त नजिक पनि पर्दैन। आए पनि हाम्रो हल्ला र आगोको रापले परैबाट पन्छिन्छ।'
ज्वाइँको ढिपीका अगाडि राजेन्द्रको जोड चलेन।
उनी तयार भए।
चैत ७ गते बिहान ७ बजेतिर माधव र राजेन्द्र जंगल यात्रामा निस्के।
साथमा थिए —बिर्जमान तामाङ (बिर्जे), ज्ञानबहादुर तामाङ (ज्ञानु) र ढोलारी परियार।
तीमध्ये ज्ञानु भारतमा रोजगारी गर्थे। छुट्टीमा आएका उनी घर छाउँदै थिए।
बिर्जेले अघिल्लो दिन मात्र बिहे गर्न केटी खोजेका थिए। भोलिपल्ट चैत ८ गते सिन्दुर हाल्ने साइत जुरेको थियो।
उनीहरूले हँसिया र खुर्पा साथमा लिए। ढिँडो ओडाल्ने पिठो, नुन, केही खिद्रीमिद्री खानेकुरा र केही बोतल मदिरा बोके।
त्यसबाहेक पकाउने भाँडाकुँडाको भारी बोकेर माधवका आठ–दस जना साथीहरू दिउँसो आउने सल्लाह भयो।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ, माडी नगरपालिका। साविकको आयोध्यापुरी गाविस र हाल माडीको वडा नम्बर ९ मा पर्ने गणेशकुञ्ज गाउँ कट्नासाथ जंगल सुरू हुन्छ।
सोमेश्वर पहाडसँग जोडिएको जुन जंगलको सयरमा उनीहरू जाँदै थिए, त्यहाँ केही महिनायता नै आधा दर्जन मानिस बाघको शिकार भइसकेका थिए।
उनीहरू यसबारे सचेत थिए; तर अरूलाई पो खाए, हामीलाई त खाँदैनन् नि भन्ने भावमा सुमसुम्ती जंगल पसे।
उनीहरू हाँस्दै, हँसाउँदै, खेल्दै, रमाउँदै अनार खोलाको सिरानमा पर्ने मध्य–जंगल पुग्दा बिहान ११ बजेको थियो।
उनीहरूले त्यही ठाउँ पिकनिकको निम्ति छाने।
कोही रूख चढेर काउरो टिप्न थाले। कसैले खोला थुनेर माछा समाए।
दिन ढल्दै गयो।
उनीहरू पिकनिकको तयारी गर्दै साथीहरू कुर्न थाले।
बाह्र बज्यो, एक बज्यो।
घाम दाहिने काँधको बाटो तालुमाथि चढ्दै अर्को काँधतिर सर्दै थियो।
तर आउँछु भनेका साथीहरू आउँदै आएनन्।
जंगलका रूखहरूको छेल परे कि भनेर उनीहरूले दूर दूरसम्म आँखा फैलाए।
तर आउँछु भन्नेहरूका छाया दूर दूरसम्म कतै देखिएनन्।
आखिरमा उनीहरूले साथीहरू आउने आस मात्र होइन, आएपछि ढिँडो ओडालेर माछासँगै खाऔंला भन्ने इच्छा पनि मारे।
र, आफूले लगेका खिद्रीमिद्री खानेकुरा खाँदै रमाइलो गर्न थाले।
अनार खोलाको किनारमा ठूलो बाँसघारी थियो। उनीहरूले बाँस काटेर चोया बनाए। अम्रिसो काटेर कुचो बनाए। त्यही क्रममा हँसियाको धारले दुई जनाको औंला काटियो। रगतको भल बग्यो। उनीहरूले यसलाई अनिष्टको संकेतका रूपमा बुझे।
घाउमा माटो दल्दै राजेन्द्रले माधवसहित बाँकी साथीहरूलाई सम्झाए, 'यसरी रगत बग्नु त शुभ साइत होइन है! मेरो कुरा मान्छौ भने हामी यहाँ बास नबसौं। अरू साथीहरू पनि आएनन्, हामी पाँच जना मात्र बस्नु जोखिमपूर्ण हुन्छ।'
राजेन्द्रको कुराले माधव लगायत सबैलाई सोचमग्न बनायो।
खासगरी रगत बगेको घटनाले जंगलमा रात काट्न सबै जना डराए।
साँझ ६ बजेतिर उनीहरूले घर फर्किने निधो गरे।
घर फर्किन दुइटा बाटा थिए — एउटा, खोला नछाडी किनारै किनार फर्किने; अर्को, डाँडाको बाटो तल झर्ने।
खोला किनारै किनार हिँड्नुभन्दा डाँडाको बाटो झर्दा सजिलो पर्थ्यो। हिँड्न सकस पनि थिएन।
उनीहरूले त्यही बाटो रोजे।
सबभन्दा अगाडि रहेका माधवले हँसियाले एउटा रूखको हाँगो काटेर लट्ठी बनाए र भने, 'बाघ आइहाल्यो भने हान्नुपर्यो नि!'
उनले यति भनेर हाँगो काट्नु मात्र के थियो, त्यही बेला एउटा बढेमानको बाघ टुप्लुक्क अगाडि आइपुग्यो।
र, माधवमाथि जाइ लाग्यो।
जसै बाघले झम्टिएर लछारपछार पार्न थाल्यो; माधव चिच्याए, 'लौन नि मरेँ ... मार्यो, मलाई मार्यो ... सिध्यायो ... गुहार गुहार ...'
आँखै अगाडि माधवलाई बाघले लुछेपछि राजेन्द्र, ज्ञानु, बिर्जे र ढोलारीका पाइला ठाउँका ठाउँ टक्क अडिए।
उनीहरूको शरीरमा सिहरन दौडियो। सातोपुत्लो गुम भयो।
उनीहरूले देखे —
अजंग बाघले माधवलाई आफ्नो वशमा लिइसकेको थियो।
बाघले आफ्नो मुख माधवको घाँटीमा जोतेको थियो।
उसले आफ्ना धारिला दारा गाडेर माधवलाई करप्पै पार्यो।
ऊ आफ्नो हातका पञ्जाले माधवका छाती र पेट चिथोर्दै थियो।
माधवको घाँटी, छाती र पेटबाट रगतको धारा बग्न थाल्यो।
बाघ घटघट रगत पिउँदै थियो।
बेलाबेला टाउको उठाएर रगतले लुछुप्पै भिजेको जिब्रो चलाउँथ्यो र मुख मिठ्याउँथ्यो।
माधवका हातगोडा केही बेर छटपटाए।
केही बेर उफ्रीपाफ्री गरे।
बिस्तारै उनी सेलाउँदै गए।
हातगोडा चल्न बन्द भए।
हेर्दाहेर्दै माधव निर्जीव मूर्ति भए।
टन्न रगत पिएर डम्म अघाएपछि बाघ जोडसँग गर्जियो।
गर्जन सुनेर राजेन्द्र, ज्ञानु, बिर्जे र ढोलारीले आ–आफ्ना खुट्टा एक–एक कदम पछाडि सारे।
राजेन्द्रको मनमा भने बाघको अर्को हमलाबाट कसरी बच्ने होला भन्ने सुर्ता चलमलाउँदै थियो।
उनले बिर्जेको हातमा ठूलो खुर्पा देखे।
'बिर्जे, खुर्पाले हान् न, खुर्पाले हान्,' राजेन्द्र जोडसँग कराए।
बिर्जे हल न चल थिए।
राजेन्द्र फेरि कराए, 'तँ नहान्ने भए खुर्पा मलाई दे, म हान्छु।'
बिर्जे तैपनि हल न चल थिए।
न उनले आफैं हान्न सके, न राजेन्द्रलाई खुर्पा दिन सके।
बरू आत्तिएर रून पो थाले।
राजेन्द्रसँग अर्को विकल्प थिएन। उनको हातमा एउटा हँसिया थियो। उनले त्यही हँसिया जोडसँग बाघमाथि प्रहार गरे।
धारिलो हँसियाको चोटले बाघको पुच्छरको माथिल्लो भाग काटियो।
बाघ डरले घना जंगलभित्र पस्यो र मिलिक्कै बिलायो।
बाँकी रह्यो — बाघले लुछेको, निचोरेको, चिथोरेको र घटघट रगत पिएको माधवको लास।
माधव राजेन्द्रका ज्वाइँ मात्र थिएनन्, बाल सखा पनि थिए।
माधवको रक्तमुच्छेल लासअगाडि उभिएर राजेन्द्रले आफ्नी बहिनीलाई सम्झे। बालखा भान्जाहरूका अनुहार उनको आँखासामु नाच्न थाले।
'के दशा आइलाग्यो' भन्दै उनी बीच जंगलमा जोडसँग चिच्याए।
बलिन्द्रधारा आँशु बगाए।
एकछिनसम्म के गर्ने, कसो गर्ने भावमा ठिंग उभिइरहे।
बाघको हमलाले अक्कबक्क परेका राजेन्द्र, ज्ञानु, बिर्जे र ढोलारी निर्जीव मूर्ति भए।
अलि बेरमा उनीहरूको होस बौरियो।
चारै जनाले माधवको लास उठाउन खोजे। उनको ज्यान गठिलो थियो। त्यति टाढा जंगलदेखि लास बोकेर लैजान सकिँदैन भन्ने उनीहरूको निष्कर्ष रह्यो।
उनीहरूले सल्लाह गरे — आफू चार जनामध्ये कोही दुई जना गएर गाउँलेहरूलाई खबर गर्ने!
उनीहरू सल्लाह गर्दै नै थिए, त्यही बेला अघि लुसुक्क जंगलभित्र छिरेको बाघ फेरि झम्टिन आइपुग्यो।
त्यसपछि त के चाहियो!
चार जना हस्याङ फस्याङ गर्दै चारतिर भागे।
ढोलारी भीरतिर खसे। कोही रूखमा झुन्डिन गए।
माधवको ज्यान लिइसकेको बाघ यसपालि बिर्जेमाथि जाइ लाग्यो।
उसले बिर्जेलाई त्यसरी नै ढाल्यो, जसरी माधवलाई ढालेको थियो।
त्यसपछि बाघ ज्ञानुतिर सोझियो।
उसलाई ज्ञानुलाई पनि त्यसरी नै लुछ्यो, चिथोर्यो; जसरी माधव र बिर्जेलाई लुछेको थियो, चिथोरेको थियो।
'दाइ अब यसले मलाई मार्छ, तपाईं भाग्नुस्,' बाघको पञ्जामा परेका ज्ञानुले राजेन्द्रतिर हेर्दै भने, 'म मरे पनि तपाईं नमर्नू।'
ज्ञानुको कुरा सुनेर राजेन्द्र कुलेलाम ठोके।
ज्ञानुलाई ढलाएर बाघ राजेन्द्रको पछाडि दौडियो।
केही बेर उनी अघि अघि दौडिए।
बाघ उनलाई लखेट्दै पछि पछि आयो।
बाघ नजिकै आइपुगेपछि उनी टक्क रोकिए। उनको होस हराउन थालिसकेको थियो। बाघले उनलाई घुरेर हेर्यो र जोडसँग गर्जियो।
राजेन्द्रको दिमागमा के सुर चढ्यो कुन्नि, उनले भुइँको पात टिपे र त्यही पात हातमा लिएर दुई हात जोड्दै बाघलाई नमस्कार गरे।
रोइकराइ गरे।
बाघले ठिंग उभिएर उनलाई हेरिरह्यो।
राजेन्द्रको मनमा थोरै साहस पलायो।
अब त बाघले केही नगर्ला कि भनेर उनी थोरै अगाडि बढे।
जसै उनी अगाडि बढे, बाघ पनि अगाडि बढ्यो।
उनी एक कदम बढ्थे, बाघ पनि एक कदम बढ्थ्यो।
उनी दुई कदम चाल्थे, बाघ पनि दुई कदम चाल्थ्यो।
उनी चुपचाप उभिन्थे, बाघ पनि चुपचाप उभिन्थ्यो।
यसरी चुपचाप उभिँदा बाघ आफ्नो टाउको र पुच्छर एकै ठाउँ ल्याएर गुट्मुटिन्थ्यो।
राजेन्द्रलाई निश्चित भयो — यो बाघले अब मलाई छाड्दैन!
राजेन्द्रले आफ्नो आडैमा एउटा तेर्सो परेको रूख देखे।
उनी हतारहतार रूखमा चढे र टुप्पोमा पुगे।
सर्ट फुकालेर आफूलाई रूखको हाँगामा बाँधे।
बाघ रूखको फेदसम्म आइपुग्यो र ठूलो आवाजमा गर्जियो।
तीन जनाको रगत पिएर पनि उसको भोक मरेको थिएन। उसलाई राजेन्द्रको घाँटीको रगत पिउनु थियो।
तर ऊ रूख चढ्न सकेन।
रूखको फेदमा बसेर एकटक राजेन्द्रलाई हेरिरह्यो।
राजेन्द्र रातभरि त्यही रूखमा बाँधिएर बसे।
उनको एउटै आस थियो — ढोलारी कसैगरी बाघबाट उम्किएर गाउँ पुगे होलान्! गाउँलेलाई यहाँको सबै वृत्तान्त सुनाए होलान्! उनको कुरा सुनेपछि गाउँलेहरू बचाउन आउँदै होलान्!
रात छिप्पिँदै गयो।
उनी आफ्नो मनको डर मेट्न रूखमाथिबाटै ठूलो आवाज निकालेर चिच्याउँथे।
केही बेर जबाफको प्रतीक्षा गर्थे।
रातको सन्नाटाबीच हावाले स्याइँय्य पात हल्लाएको आवाजबाहेक अरू केही सुनिन्थेन।
न गाउँलेहरू उनलाई बचाउन जंगल आए, न बाघले रूखको फेद छोड्यो।
रातको समय कसैले भूतप्रेतको कुरा सुनाउँदा पनि मुटुमा ढ्यांग्रो ठोक्ने राजेन्द्रले घना जंगलमा रात एक्लै काटे। त्यो पनि आफूलाई ढुकिरहेको बाघभन्दा आठ–दस फिट माथि बसेर।
जसै उज्यालो भयो, उनले रूखको फेदतिर हेरे।
त्यहाँ बाघ थिएन।
एकछिन चुपचाप रूखमै बसिरहे।
अलि बेरसम्म बाघ नदेखेपछि उनी रूखबाट झर्न खोजे।
पैतालाले भुइँ छुन मात्र बाँकी थियो, नजिकै बाघ घुरेको आवाज उनको कानमा ठोक्कियो।
उनले देखे — बाघ त त्यहीँ नजिकै झाडीको छेल परेर उनलाई नियाल्दै रहेछ।
उनी फेरि लोखर्केझैं खुर्रर रूखमाथि चढे।
र, टुलुटुलु तल हेर्न थाले।
उनी घरि बाघतिर हेरेर थर्कमान हुन्थे, घरि बाघको शिकार बनेका आफ्ना ज्वाइँ माधव, बिर्जे र ज्ञानुको लास देखेर तर्सिन्थे।
थरथरी काम्दाकाम्दै बिहान ११ बज्यो।
यति बेलासम्म उनी भोक र तिर्खाले आकुलव्याकुल भइसकेका थिए।
यसरी कति बेर रूखमा अड्किएर बस्नु भन्ने सोचेर उनले हिम्मत देखाए।
रूखमा बाँधेको सर्ट फुकाए।
हाँगाबाट सिधै भुइँमा हामफाले र बेतोडसँग दौडिन थाले।
उनलाई दौडिएको देखेर झाडीको छेल परेर बसेको बाघले पछ्याउन थालिहाल्यो।
केही बेरसम्म राजेन्द्र र बाघको दौडादौड चल्यो।
तर अघाएर फुर्तिलो भएको बाघका अगाडि भोक र डरले गलेका राजेन्द्रको के जोड चल्थ्यो!
दुई–तीन चक्करमै बाघले उनको बाटो छेकिहाल्यो।
त्यसपछि राजेन्द्रले आफ्नो हातको घडी खोलेर बाघतिर मिल्काए। खल्तीमा लाइटर थियो। त्यो पनि झिकेर बाघतिर मिल्काए। यसो गर्दा बाघ तर्सिन्छ भन्ने उनले कतै सुनेका थिए।
सुनेका सबै कुरा कहाँ सही हुन्छन् र!
त्यो बाघ न घडी देखेर तर्सियो, न लाइटरले गल्यो।
ऊ त पहिलेभन्दा खुँखार भएर गर्जिन थाल्यो।
अब बाघको अगाडि आत्मसमर्पण गर्नुबाहेक राजेन्द्रसँग अर्को बाटो थिएन।
उनले त्यही गरे।
जसरी सुरूमा बाघसँग घुराघुर हुँदा हात जोडेर नमस्कार गरेका थिए, उनले फेरि त्यही गरे।
बाघको पनि मान्छेको जस्तै मुटु होला र त्यो मुटुमा मान्छेको जस्तै दया–मायाले बास गरेको होला भन्ने उनले झिनो आस गरे।
तर शिकारी बाघको नहुँदो रहेछ!
बाघ बिस्तारै उनको नजिक आयो।
रगत खाएको रातो जिब्रो र दारा देखाउँदै ऊ जंगलै थर्किने गरी करायो।
र, परैबाट हुत्तिएर राजेन्द्रमाथि फाल हान्यो।
राजेन्द्रले भुइँमा लडिबुडी गरेर बाघलाई छले।
बाघ भुइँमा पछारियो।
त्यही मौकामा राजेन्द्रले ठूलो ढुंगा उठाएर बाघमाथि प्रहार गरे।
ढुंगा बाघको मुखैमा बजारियो।
उसको नाक र मुखबाट रगत बग्यो।
तैपनि राजेन्द्रलाई यसै छाड्ने संकेत देखाएन।
उनी फेरि दौडिए र नजिकै अर्को रूखमा चढे।
केही बेर त्यही रूखको हाँगामा बसे र फेरि भुइँमा हाम्फाले। यसपालि भुइँमा हाम्फाल्दा उनले 'हे कालिका माता, मेरो रक्षा गरिदिनुस्, म तपाईंलाई कालो बोका चढाउँछु' भन्दै भाकल गरेका थिए।
कालिका माताको कृपा भयो भने यसरी नै दौडाउँदै, थकाउँदै बाघलाई पन्छाउन सकिएला कि भन्ने उनको मनमा धिपधिपे आस जागेको थियो।
उनी यही आसको त्यान्द्रो समातेर भीरतिर हाम्फाले र काँडा, ढुंगाको पर्वाह नगरी बेतोड दौडिन थाले। पछाडि फर्केर पनि हेरेनन्। बाघ पछ्याउँदै आइरहेको छ कि छैन भन्ने ख्याल पनि गरेनन्।
बाघले झम्टेर ज्यान लिए लिओस् भन्दै उनी दौडेको दौड्यै गर्न थाले।
निकै बेर दौडिएपछि उनले पर एउटा घर देखे।
घर देखेपछि बल्ल उनको सास आयो।
त्यही घरको ढोका ढक्ढकाए।
पानी मागेर पिए।
र, रातभरिको आफ्नो त्रासदी सुनाएर मन हलुँगो पारे।
त्यसपछि बाघले माधव अधिकारीसहित तीन जनालाई खाएको र अर्का एक जना भीरबाट लडेको खबर गाउँभरि फैलियो। गाउँलेहरूले चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँ रहेका तत्कालीन शाही नेपाली सेनालाई खबर गरे।
सेनाको टुकडी जंगलको खानतलासी गर्न खटियो।
माधव, बिर्जे र ज्ञानुबाहेक स्थानीय सन्तबहादुर प्रजाको शव पनि जंगलमा भेटियो। बाघले एकैदिन चार जनालाई मारेछ।
त्यसबाहेक बाघको डरले भीरबाट हाम्फालेका ढोलारीको पनि मृत्यु भएछ। सेनाले उनको पनि शव फेला पार्यो।
मान्छेको आलो रगत चाखिसकेको बाघलाई अब जंगलमा यसै छाड्नु अरूका लागि पनि जोखिमपूर्ण थियो। निकुञ्ज प्रशासन र सेनाको समूहले पाँच दिन लगाएर त्यो नरभक्षी बाघको शिकार गर्यो।
राजेन्द्रले मरेको बाघ सनाखत गरे।
पुच्छरमा हँसियाको चोट देख्नेबित्तिकै उनले चिनिहाले — यो त्यही बाघ थियो, जसले उनको आँखै अगाडि माधव, बिर्जे र ज्ञानुको ज्यान लिएको थियो।
नरभक्षी बाघ मारिएको दिन माडीवासीले गोली हान्ने सेनाका क्याप्टेनलाई भव्य सम्मान गरे।
बाघको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई निकुञ्जले २५/२५ हजार रूपैयाँ राहत दियो। त्यसबाहेक उनीहरूले निकुञ्जबाट केही सहयोग पाएका छैनन्। अहिले भने निकुञ्जबाट निस्किएका वन्यजन्तुले 'कोर क्षेत्र' बाहिरका मान्छेलाई आक्रमण गरेर ज्यान लिए १० लाख रूपैयाँ राहत दिने व्यवस्था छ।
राजेन्द्र न्यौपाने अहिले ५४ वर्ष भए। त्यति बेला दुई वर्षका उनका जेठा छोरा २२ पुगिसके। घटनाको केही महिनामै जन्मिएकी छोरी र त्यसपछि जन्मिएका छोरा पनि हुर्किसके।
राजेन्द्रलाई भने त्यो घटनापछि बाघसँग मात्र होइन, जंगलसँग पनि डर लाग्छ।
तर चितवन राष्ट्रिय निकुञ्जको सिमानामा घरबास भएका मान्छेले जंगलसँग डराएर के गर्नु!
जति डराए पनि उनलाई जंगलमा आश्रित नभई सुखै छैन। गाईवस्तु चराउन, घाँसदाउरा काट्न जंगल नगई धर पाउन्नन्। अधियाँमा एक बिघा जमिनमा खेती गर्दै आएको उनको परिवारको जीविका नै जंगलले धानेको छ।
जंगल र जनावरसँग घुलमिल हुँदै जिन्दगी धानिरहेका राजेन्द्रको गत चैतमा फेरि बाघसँग जम्काभेट भयो। उनी सधैंझैं गाई चराउन गएका थिए। साथमा अरू गोठालाहरू पनि थिए। जंगलमा हिँड्दा हिँड्दै एउटा अजंग बाघ बाटो छेक्न आइपुग्यो।
उनीहरू तर्सिए। हल न चल भए। तर होसहवास गुमाएनन्।
सबै गोठाला मिलेर जोड जोडसँग कराउँदै बाघलाई लखेटे।
मानव र जनावरको द्वन्द्वमा यसपालि मानवको जीत भयो।
राजेन्द्र बेला बेला बिर्जे र ज्ञानुको परिवारलाई भेट्न जान्छन्। सबैले उनलाई 'भाग्यले बाँचेको मान्छे' भन्छन्। बहिनी सरला र भान्जाहरूसँग त उनको भेट भइ नै रहन्छ। सरलाले खेती किसानी गरेर तीन जना सन्तान हुर्काएकी छन्।
राजेन्द्रलाई एकचोटि जंगलको त्यही ठाउँ पुग्ने मन छ। जुन रूखले उनको ज्यान जोगायो, त्यसलाई अँगालो हालेर धन्यवाद दिने धोको छ।
तर अहिलेसम्म आँट पलाएको छैन।
'दिन नआएसम्म त मरिँदैन रहेछ,' राजेन्द्रले हामीसँगको लामो कुराकानीमा भने, 'तैपनि डर लागिहाल्छ। त्यो घटना त सम्झिँदा पनि कहाली लाग्छ।'
यहाँ क्लिक गरेर सेतोपाटी सबस्क्राइब गर्न सक्नु हुनेछ।
राजेन्द्र न्यौपाने।
राजेन्द्र न्यौपानेको भोगाइ चितवन संरक्षित क्षेत्र आसपासका धेरैले बेहोरेका छन्।
यहाँ वर्षौंदेखि मानिस र जनावरबीच घम्साघम्सी चलिरहेको छ; जसमा कहिले मानिसको जीत हुन्छ, कहिले जनावरको।
ज्यानको डर दुवैलाई छ। बाँच्ने संघर्ष दुवैको बराबर छ।
जंगललाई बास बनाएका दुवै प्राणी एकअर्काबाट जोगिँदै, एकअर्काको शिकार गर्दै आफ्नो जीवन चलाइरहेका छन्।
हाम्रो यो शृंखला त्यही जंगल जीविकाको कथा हो।
सुरूआत गरौं, चितवनको इतिहासबाट।
'चितवन' नाम कसरी रह्यो भन्नेबारे धेरै किम्बदन्ती प्रचलित छन्। एउटा कुरा के स्पष्ट भन्न सकिन्छ भने चितवनले 'वन' को अर्थ चाहिँ बोकेकै छ।
किम्बदन्तीअनुसार त्रेतायुगमा रामकी पत्नी सीताले अहिलेको चितवनमा पर्ने माडी–त्रिवेणी क्षेत्रमा आश्रय लिएकी थिइन्। उनले लव र कुशलाई यही ठाउँमा जन्म दिइन्। लवकुशले शिक्षादीक्षा पनि यहीँ पाएका थिए। घना वनले भरिएको क्षेत्र भएकाले सीताको नामबाट 'सीतावन' रहेको र पछि अपभ्रंश हुँदै 'चितवन' भनिएको स्थानीयको विश्वास छ।
अर्को किम्बदन्ती पनि छ —
नारायणी र राप्ती नदी आसपासको भूभागमा प्राचीन कालदेखि घना जंगल थियो; जसलाई चितुवा, चित्तल, बाघ लगायत जनावरले आफ्नो वासस्थान बनाएका थिए। चितुवा र चित्तल प्रशस्त पाइने भएकाले यो क्षेत्रको नाम 'चितुवावन' रहन पुग्यो। त्यसैबाट अपभ्रंश हुँदै चितवन भन्न थालिएको स्थानीय बताउँछन्।
यहाँको जंगल महाभारत युद्धसँग जोडिएको दाबी पनि गरिन्छ।
महाभारत युद्ध सुरू हुनुभन्दा अगाडि पाण्डवहरूले चितवनको माडीस्थित वनमा केही समय गुजारेको र आफ्ना सबै हतियार गण्डकी नदीमा फ्याँकेर गुप्तवास बस्न विराटनगरतिर लागेको जनश्रुति पाइन्छ।
माडीको जंगलमा एउटा सानो मन्दिर छ, जहाँ पाइने पाण्डव र द्रौपदीका प्रस्तर मूर्तिलाई त्यसैको प्रमाण मानिन्छ। ती मूर्ति र संरचना कति समयअघि बनेका हुन् भनेर अध्ययन भने भएको छैन।
युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेव र द्रौपदीका मूर्ति रहेको त्यो ठाउँको नाउँ नै 'पाण्डव नगर' हो।
प्राग्–ऐतिहासिक कालमा विराट राजाको उत्तरखण्डको गाईगोठ माडीको पश्चिम भागमा थियो भन्ने किम्बदन्ती छ। विशाल जंगल र चरन क्षेत्रका कारण विराट राजाले आफ्नो गाईगोठ राखेको अनुमान गरिन्छ। त्यो गोठ दुर्योधनले लुटेका थिए। पछि विराट राजाका छोरा उत्तरकुमारले अर्जुनको सहयोगमा दुर्योधनसँग युद्ध लडेर गाईगोठ फिर्ता लिए।
माडीमा 'गोद्धक' भन्ने ठाउँ छ। गौःयुद्ध भएकाले यो ठाउँको नाम गोद्धक रहेको भनाइ प्राध्यापक डा. देवीप्रसाद कँडेलले आफ्नो किताब 'चितवनको इतिहास' मा लेखेका छन्। यहाँ प्राचीन मानव बस्तीका अवशेष, इनार, देवीदेवताका मूर्ति प्रशस्तै भेटिन्छन्।
यस क्षेत्रमा प्राचीन समयदेखि नै थारू समुदायको बसोबास रहेको पाइन्छ। जंगली जनावर र औलको प्रकोपबीच पनि उनीहरू सधैं यही क्षेत्रमा बसे र यहाँका माटो, जंगल र जीवजन्तुको सामीप्यमा रहे।
थारूबाहेक चेपाङ र दराई समुदाय यस क्षेत्रका पुराना बासिन्दा हुन्। राजा पृथ्वीनारायण शाहले विक्रम सम्बत् १८३७ मा भगवन्त नाथलाई मण्डल्याइँ दिन जारी गरेको लालमोहरमा थारू, कुमाल, माझी र चेपाङको नाम उल्लेख छ। यी समुदाय अहिले पनि चितवन आसपास नै बसोबास गर्छन्।
शाहकाल सुरू भएपछि १८४५ सालमा चितवन क्षेत्रबाट वन कर संकलन गर्न इजारा (ठेक्का) दिइएको इतिहास छ। वीरूध्वज खवासलाई दिइएको इजारापत्रमा बाघ मार्नेलाई पाँच रूपैयाँ इनाम दिनू भनिएको थियो। बाघ र अरू जनावरको छाला दरबार पठाउनू, गैंडाको बच्चा समात्नेलाई ३१ रूपैयाँ इनाम दिनू र उक्त बच्चालाई लाग्ने खुराक निम्ति मुनासिब खर्च गर्नू भन्ने निर्देशन पनि थियो।
इजारामा हात्तीको दाँत प्राप्त गर्नेबाट आधा दाँत र दुई सय रूपैयाँको तेल दरबार पठाउनू पनि भनिएको थियो।
राणाकालमा जंगली हात्ती लखेटेर समात्ने चलन थियो। घाइते हात्ती समातेर हात्तीसारमा राखिन्थ्यो र तालिम दिइन्थ्यो। मान्छेले हात्तीका दाँत फेला पारेर राखेका हुन्थे।
यी घटनाक्रमले त्यतिखेर वन्यजन्तुको निर्वाध शिकार गर्न पाइन्थ्यो र शिकारलाई करको दायरामा ल्याइएको थियो भन्ने बुझिन्छ।
यति मात्र होइन, १८७९ असारमा फौजदार प्रयागदत्त जैसीले कर उठाउन अर्को इजारा पाएको तथ्य भेटिन्छ। त्यसमा हात्तीका दाँत र बच्चा, गैंडाका खाग र बच्चा, गौरीगाईका सिङ जंगलमा खोज्न पठाउनू र पाइएजति दरबार ल्याउनू भनिएको थियो। यसरी ल्याउनेलाई ज्याला दिनू भन्ने निर्देशन थियो। हात्ती र गैंडाका बच्चालाई खुवाउँदाको खर्च मिलाइदिनू भन्ने निर्देशन पनि इजारापत्रमा परेको थियो।
यसको अर्थ, शाह राजाहरू हात्तीका बच्चा पाल्ने र गैंडा संरक्षण गर्ने नीतिमा पुगेको मान्न सकिन्छ।
यस्ता इजारापत्रले वन संरक्षणको नीति झल्काउने चितवन राष्ट्रिय निकुञ्जका पूर्ववार्डेन रामप्रित यादव बताउँछन्।
'वन्यजन्तुको निर्वाध शिकार गर्दै जाँदा भविष्यमा तिनलाई जोगाउन सकिँदैन कि भनेर तत्कालीन शासकहरू सचेत भएका हुनसक्छन्,' यादवले भने, 'आफूलाई चाहिँदा शिकार नभेटेपछि शिकारीहरूले नै संरक्षणको महत्व बुझेको हुन्छ, संरक्षक खोज्न अन्त जानुपर्दैन। यो सिद्धान्त राजा–महाराजाका हकमा पनि लागू भएको हुनसक्छ।'
१८९४ जेठमा राजा राजेन्द्रका पालामा लागू गरिएको एउटा नीतिले उनको भनाइ पुष्टि गर्छ।
त्यति बेला यहाँका चौधरी, महतो, धामी, मुखिया, मिझारलाई सम्बोधन गरी नयाँ नीति लागू गरिएको थियो। त्यसअनुसार हात्तीका दाँत, गैंडाका खाग, गौरीगाईका सिङ जसले प्राप्त गर्छ, त्यसलाई दरबारमा दाखिला गर्नू भनिएको थियो।
त्यस्तै, बाहिरबाट रैती ल्याई बसाउनू; जग्गा आबाद र गुल्जार गर्नू; चौधरी, मुकदम, मुखिया, मिझारले रैतीलाई अन्याय नगर्नू पनि भनिएको थियो।
यसबाट जंगलै जंगलले भरिएको यहाँको क्षेत्र आबाद गर्ने नीति तत्कालीन सरकारले अख्तियार गरेको बुझ्न सकिन्छ।
त्यति बेला चितवनमा मानव बसोबास एकदमै पातलो थियो। एकातिर प्रचण्ड गर्मी र औल, अर्कातर्फ करको भारले यहाँका बासिन्दा नराम्ररी पिल्सिएका थिए। अमालदार र इजारदारले चौधरी, गुरौ, मुखिया, मिझार जनतालाई बढी कर असुलेर दुःख दिएका थिए। कर तिर्न नसकेर मान्छेहरू अन्यत्र भाग्ने गर्थे।
यसलाई रोक्न चितवनमा पर्ने केही क्षेत्रलाई 'मर्ज्यादपुर' समेत भन्ने गरिएको पाइन्छ। बाहिरबाट आउनेलाई मर्यादासहित राख्ने ठाउँका रूपमा 'मर्ज्यादपुर' भनिएको चितवन इतिहासका अध्येता डिआर पोखरेल बताउँछन्।
उनका अनुसार वीरशमशेर राणाका पालादेखि मात्र सरकारी कागजातमा जिल्लाको नाम चितवन उल्लेख गर्न थालिएको हो।
१८६४ जेठमा चितवनको वेलौद प्रगन्ना (हालको पटिहानी आसपास क्षेत्र) आबाद गराउन टेटु गुरौका नाममा रूक्का जारी गरिएको प्रमाण भेटिन्छ। त्यसमा 'हात्ती, बाढी, भूतप्रेत, रोगव्याधि सबैबाट बचाएर आबाद गराऊ' भनिएको छ। थारू समुदायमा गुरौलाई सबैले मान्छन्। बिरामी पर्दा उपचार पनि गुरौले नै गर्छन्।
दुई वर्षपछि यहाँका सबै प्रगन्नाको जंगल फँडानी गरी रैती बसाउन र रैतीबाट तीन वर्षसम्म कर नलिन उमानिधि पन्तलाई निर्देशन दिइएको इतिहास छ। यसको उद्देश्य पनि यो क्षेत्रमा बस्ती विस्तार गर्नु नै थियो भन्ने बुझिन्छ।
शाहकालमा तिब्बत र भारतबीच व्यापार हुने एउटा बाटो चितवनको सोमेश्वर थियो। त्यो बाटो लिच्छविकालबाटै चल्तीमा रहेको मानिन्छ।
शाहकालमै काठमाडौं र पटनाबीच चितवन हुँदै सोझो व्यापार हुन्थ्यो। नेपालले भारतलाई ठूलो परिमाणमा काठ निकासी गर्थ्यो। भारतको इस्ट इन्डिया कम्पनी सरकारले यहाँबाट लगेको सालको काठबाट रेलका लिग, ओखरको काठबाट बन्दुकका कुञ्जा बनाउँथे। चितवन क्षेत्रमा बस्ती बसाउने सरकारको नीति रहेकाले घना जंगलका रूख काटेर भारत पठाउने गरिएको थियो।
मुख्तियार भीमसेन थापाका पालामा राजा गीर्वाणयुद्ध विक्रम शाहबाट जारी भएको सनदमा हालको पटिहानी आसपास क्षेत्रमा काठ कटान गरी कलकत्ता पुर्याउने र त्यहाँ डिपो खोली काठ बेच्न र काशीमा एउटा मन्दिरसमेत निर्माण गर्न आदेश गरिएको छ।
त्यति बेला काठ काट्ने र ढुवानी गर्ने जिम्मेवारी यहाँका आदिवासीलाई दिइएको थियो। तयार भएका काठ राप्ती र नारायणी नदीबाट ढुवानी गरेर कलकत्ता पुर्याउने गरिन्थ्यो। यसका लागि नारायणी नदीबाट भारतको शिवपुरी घाटसम्म डुंगा चल्ने गरेको हेमिल्टनको 'एन एकाउन्ट अफ द किङडम अफ नेपाल' पुस्तकमा उल्लेख छ। डुंगाको मुख्य उद्देश्य भनेकै नेपालको काठ भारत पुर्याउने थियो।
चितवनको जमिन उर्वर थियो। रैतीहरु जग्गा बदल्दै खेती गर्थे। थारूहरू एकै ठाउँमा केही वर्षभन्दा बढी खेती गर्थेनन्। जहाँ गाईवस्तु बाँध्यो, त्यहाँ खेत हुन्थ्यो। बिस्तारै जंगल मासिन्थ्यो। जंगल मास्दै खेती बिस्तार गर्ने चलन थियो। जंगलको पाते मलले जमिन थप उर्वर बनाउन सघाउँथ्यो। यहाँ तोरी सबभन्दा बढी उत्पादन हुन्थ्यो। सुर्ति, सनपाटको खेती पनि हुन्थ्यो।
राजदरबारका लागि आवश्यक पर्ने तोरी झारा प्रथाअनुसार स्थानीय जनतालाई बोकाएर काठमाडौं पुर्याउने चलन पनि थियो। मर्ज्यादपुरका इजारदार वा फौजदारको तोरी वा तोरीको तेल काठमाडौं पुर्याउने जिम्मेवारी हुन्थ्यो। झारा अस्वीकार गर्नेलाई दण्ड, जरिवानाको व्यवस्था गरिएको थियो। अटेरी गर्नेलाई यहाँ बस्नै वञ्चित गरिन्थ्यो।
पृथ्वीनारायण शाहको समयदेखि कोतपर्वको अवधिसम्म चितवनमा बसोबास गरिरहेका जातिमध्ये बढीजसो थारू नै थिए। मधुवनी, दद्रेनी, बेलौद, धनौजी, बसहठ्ठा, मेघौली, वनकटवा, चैनपुर, चमरौली, बघौडा, गर्दी, पिपरिया, बडगाउँ, मंगाहा, चित्रसारी, झुवानीमा थारू समुदायको बसोबास थियो। यो समुदाय ढड्डी र जंगलले छोपेको, हिंस्रक जनावरको अतिक्रमण, चर्को गर्मी र औलको प्रकोप पचाएर यहाँ बस्दै आएको थियो। वनजंगल, पशुपालन र खेतीपातीमा उनीहरू रमाएका थिए। स्थानीय प्रशासनमा ९० प्रतिशत थारू जाति नै हुन्थे।
समथर भूभागसँग जोडिएको महाभारत पर्वतमा धेरै वर्षअघिदेखि चेपाङ समुदायको बसोबास रहेको पाइन्छ। उनीहरू जंगलमै बस्थे। शिकार र कन्दमूल खोजेर खाने गर्थे। खेतीपातीमा भन्दा उनीहरूको ध्यान बाण र मट्याङ्ग्राको सहारामा पशुपन्छी शिकार गरेर खानेतिर हुन्थ्यो। ओडारमा वा स्याउलाको झुपडी बनाएर बस्थे। जंगलमा ठाउँ बदली बदली बसोबास गर्थे।
बोटे माझीहरू भने नदी किनारमा र दराईहरू घाँस, पानी हुने ठाउँमा बसोबास गर्थे। यस क्षेत्रमा बसोबास गर्ने आदिवासी सबैको निर्भरता जंगलमै थियो।
राणाकालमा करमा थप कडाइ गर्न थालियो। १९४६ सालमा उपरदाङगढी, कविलासपुर, सिन्धुली, मकवानपुर र चिसापानीगढीलाई जारी गरिएको रूक्कामा महाभारतको टिप्पादेखि दक्षिण फेदीसम्म तिरोभरो नतिरेका, खोरिया खनी बसेका सबैलाई उठाउन निर्देशन दिइएको पाइन्छ।
उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो। उक्त रूक्कामा चुरिया उत्तर र महाभारत दक्षिणमा बराबर जाँचबुझ गरी कसैलाई पनि खोरिया फाड्न नदिनू, कसैले पहिलेदेखि कमाएकोभन्दा बढी फँडानी गरी जग्गा कमाएको रहेछ भने त्यस्तालाई पक्रिएर ऐनबमोजिम रकम उठाउनू भन्ने निर्देशन थियो। यसले राणाकालमा समथर भूभाग मात्र होइन, चुरे र महाभारत क्षेत्रमा पनि जंगल मास्न नियन्त्रण गर्न खोजिएको देखाउँछ।
अधिकांश भूभाग जंगल रहेको चितवन क्षेत्रलाई 'औलको गोलो', 'कालापानी', 'डेथ भ्याली' लगायत उपमा दिने गरिएको पाइन्छ। पहाडतिर चितवनलाई देखाउँदा पनि औल झर्छ भन्ने भनाइ प्रचलित रहेको इतिहासकार कँडेलको किताब 'चितवनको इतिहास' मा उल्लेख छ। उनका अनुसार राणाकालमा त अपराधीलाई दण्ड दिन चितवनको जंगलमा पुर्याएर छाडिन्थ्यो रे!
प्रधानमन्त्री जंगबहादुर राणाले आफू र आफ्ना भाइहरूको हत्या गर्ने योजना बनाएको भनेर सन् १८४५ नोभेम्बरमा कप्तान भोटु सिंह र उनका भाइलाई चितवनको जंगलमा छाड्न आदेश दिएको पाइन्छ। औलले चितवनमै उनीहरूको मृत्यु भएको मानिन्छ।
पछि जंगबहादुरले चितवनमा बाँझो जग्गा आबाद गरी बसोबास गर्नेहरूलाई बढीमा सात वर्ष कर मिनाहाको घोषणा गरे। चन्द्रशमशेरले पनि अन्य ठाउँबाट चितवनमा बसोबास गर्न आउने दासदासीलाई आफ्नो मालिकको बन्धनबाट मुक्त हुने घोषणा गरिदिए। तर औलको प्रकोपले उनीहरूको घोषणाको प्रभाव यहाँ खासै परेन। रोगले मर्नभन्दा अरूको काम गरेरै बस्न निको ठान्थे उनीहरू।
चन्द्रशमशेरकै मागअनुसार ब्रिटिस भारत सरकारले डा. फिलिपको नेतृत्वमा चितवनको औल प्रकोप क्षेत्र अध्ययन गर्न विशेषज्ञ टोली पठाएको थियो। तर औषधि तथा उपकरण अभावमा अध्ययन अपुरो बन्यो।
पछि सन् १९४९ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरको पालामा स्विट्जरल्यान्डका औल विशेषज्ञहरू नेपाल आएका थिए। सन् १९५२ मा संयुक्तराज्य अमेरिकाले नेपालमा औलको अध्ययन गर्न बिडिसी नामक संस्था खोल्यो। सन् १९५३ देखि विश्व स्वास्थ्य संगठनले पनि औल अध्ययन गर्न थाल्यो।
जनकलाल शर्माले २०१४ सालमा प्रकाशन भएको 'राप्ती उपत्यका' नामको पुस्तकमा लेखेका छन्, 'राप्ती उपत्यकामा लामखुट्टेको धेरै प्रकोप छ। त्यसैले यहाँको मुख्य रोग औल ज्वरो वा मलेरिया हो। धेरै मानिसको मृत्यु यसै रोगबाट हुन्छ। यहाँका आदिवासीले यो रोग केही मात्रामा पचाएका छन्।'
औलले लामो समयदेखि यहाँ बसेका थारू समुदायलाई खासै असर गरेको थिएन। बाहिरबाट आउनेलाई भने केही समयमै थला पारिहाल्थ्यो।
शाहकालमा जस्तै राणाकालमा पनि भारतलाई काठ बिक्री गर्ने कामलाई प्राथमिकता दिइयो। काठ बिक्री गरेर बढीभन्दा बढी आम्दानी गर्न त्रिवेणी र ठोरीमा द्वारहरू स्थापना गरिएका थिए। यी दुई ठाउँमा वन जाँच अड्डा थिए। नारायणी र राप्ती नदी प्रयोग गरेर काठको गोलिया, चौकोडा (चिरेको) भारतका प्रमुख बजारहरूमा पुर्याउने गरिएको थियो। काठ चिरान गर्न जंगलभित्रै स–मिल खडा गरिएको थियो।
१९३६ सालमा ब्रिटिस भारत सरकारका प्रतिनिधि र नेपालका कमान्डर–इन–चिफ धीरशमशेरबीच चितवनको ठोरीस्थित जंगलबाट काठ कटान गरी भारतीय सीमामा पुर्याउने सम्झौता भएको थियो।
१९३९ सालमा नेपालले १७ हजार सालका मुढा भारत पठाउने र भारतले आफ्नै भूभागमा ती मुढा चिर्ने सम्झौता भयो। तर त्यसले दुवै पक्षलाई घाटा हुने देखेर सम्झौता कार्यान्वयन भएन।
***
यो शृंखलाका अन्य स्टोरीहरूः