पोखरा सहरको कथा: अध्याय ५
त्यो पोखराको इतिहासमै सम्भवतः सबभन्दा ठूलो आगलागी थियो।
पोखराका नामी पत्रिका व्यापारी गोरखापत्र बाजे अर्थात् चन्द्रकान्त पौडेलको परिवारले २००६ चैत २९ को त्यो आगलागी अझै बिर्सेको छैन।
आगोले ४७५ घर जलेर खाक भएका थिए। स्थानीय समरबहादुर नेवार (बजिमय) परिवारका ५ जनाको मृत्यु भएको थियो भने नदीपुरका ३ जनाले पनि आगोमा जलेर ज्यान गुमाए। ज्यान गुमाउनेमध्ये गोरखापत्र बाजेकी आमा मैया पनि थिइन्।
गोरखापत्र बाजे त्यति बेला १६ वर्षका थिए। पुरनचौर घर भएका उनी बुबाको मृत्युपछि आमासँगै नदीपुरको मामाघर बस्थे।
'आमा पनि गुमेपछि बुबा एक्लै पर्नुभयो,' गोरखापत्र बाजेका छोरा शिवजी पौडेलले पारिवारिक स्मरण बाँड्दै भने, 'बुबाले कहिले अर्काको घरमा काम गर्नुभयो, कहिले निमेक गर्नुपर्यो।'
आगलागीमा गोरखापत्र बाजेको कुनै हात थिएन। न उनकी आमा मैयाको हात थियो।
जो जो पीडित भए, ती कसैले पनि आगोसँग खेलाँची गरेका थिएनन्।
प्रत्यक्षदर्शीका अनुसार तत्कालीन पोखरा बजारै जलाउने त्यो आगो विन्ध्यावासिनी मन्दिरको यज्ञकुण्डबाट फैलिएको थियो। कतिपय व्यक्ति विन्ध्यावासिनीमा विधिपूर्वक पूजा नहुनुलाई आगलागीको कारण मान्छन्। पूजा चलिरहेका बेला तत्कालीन राणा शासक पोखराका बडाहाकिम धनशमशेर जबराले जबर्जस्ती विधि उल्लंघन गर्दा आगो सल्किएको कथन छ।
'पोखरा सहरको कथा' शृंखलाको यो स्टोरीमा हामी विन्ध्यावासिनीको यज्ञकुण्डबाट फैलिएको आगो, बडाहाकिमको लहड र उक्त आगलागीले सिर्जना गरेका सामाजिक तथा राजनीतिक घटनाक्रम केलाउने छौं। तर त्योभन्दा अगाडि विन्ध्यावासिनी मन्दिर स्थापनासँग जोडिएका इतिहास र किम्बदन्तीको चर्चा गरौं।
विन्ध्यावासिनी मन्दिर। तस्बिर स्रोत: ध्रुव गुरूङ
बाइसे-चौबीसे राज्य कालमा कास्कीका अन्तिम राजा सिद्धिनारायण शाह भारतको तीर्थयात्रामा गएछन्।
घुम्दै फिर्दै उनी उत्तर प्रदेशको विन्ध्याञ्चल पर्वत पुगेछन्, जहाँ विन्ध्यावासिनी मन्दिर अहिले पनि छ, जहाँ अष्टभुजाकार देवी विन्ध्यावासिनी विराजमान छिन्।
राजा सिद्धिनारायणले विन्ध्याञ्चल पर्वतको विन्ध्यावासिनी मन्दिरमा भक्तजनको उधुम भिड देखेछन्। तिनै भक्तजनको मुखबाट देवी विन्ध्यावासिनीको शक्तिको चर्चा सुनेछन्।
विन्ध्यावासिनीको अलौकिक शक्तिको चर्चाले प्रभावित भएर उनले कास्की फर्किनासाथ आफ्ना भाइभारदारलाई विन्ध्याञ्चल पर्वत गएर देवीको मूर्ति ल्याउन आदेश दिए।
आदेशअनुरूप विन्ध्याञ्चल पुगेका भाइभारदारले त्यहाँका पुजारीसँग राजाको इच्छा जाहेर गरे।
पुजारीले देवीको अर्को मूर्ति नभएकाले दिन नमिल्ने जबाफ दिए।
त्यसै रात पुजारीले आफ्नो सपनामा देवी विन्ध्यावासिनीको दर्शन पाए।
देवीले भनिन्, 'मूर्ति लिन आउनेलाई खाली हात पठायौ भने राम्रो हुने छैन।'
पुजारीले यसलाई देवीको संकेतका रूपमा बुझे र कास्की राज्यबाट आएका भारदारहरूलाई स-सम्मान मूर्ति दिएर फिर्ता पठाए।
यसरी राजा सिद्धिनारायणका भाइभारदारले विन्ध्याञ्चल पर्वतबाट डोलीमा हालेर देवी विन्ध्यावासिनीको मूर्ति पोखरा ल्याए। त्यति बेला पोखरा उपत्यकामा मानिसको बसोबास थिएन। आसपासका डाँडाहरूमा मात्र बस्ती थियो। कास्की राज्य कास्कीकोटबाट सञ्चालन हुन्थ्यो।
मूर्ति लिएर आएका राजाका भाइभारदारले हाल विन्ध्यावासिनी मन्दिर रहेको थुम्कोमा मूर्ति रहेको डोली अड्याए। रात छिप्पिसकेको थियो। अन्धकारमा उनीहरू पोखराबाट कास्कीकोट जान सकेनन्; त्यहीँ बास बसे।
त्यो थुम्कोमा सुन्तला र आँपका बोट थिए। कुवा र पोखरी थिए। उनीहरूले पानी खाए, फलाहार गरे।
भोलिपल्ट सबेरै मूर्ति राखेको डोली उठाएर कास्कीकोट लैजान खोजे। तर डोली हलचल भएन।
लाख कोसिस गर्दा पनि थुम्कोबाट डोली एक डेग हल्लिएन।
यो खबर राजा सिद्धिनारायणकहाँ पुग्यो।
उनले त्यही थुम्कोमा मूर्ति स्थापना गर्न आदेश दिए। कालान्तरमा त्यो ठाउँ विन्ध्यावासिनी मन्दिरका रूपमा लोकप्रिय भयो।
यो किम्बदन्तीलाई अर्को तरिकाबाट पनि भनिन्छ, जसमा राजा सिद्धिनारायण आफैले विन्ध्याञ्चलबाट देवीको मूर्ति ल्याएर यहाँ स्थापना गरेको कथन छ।
यति मात्र होइन, भारदारहरूले थुम्कोमा डोली अड्याएकै रात राजा सिद्धिनारायणलाई सपनामा विन्ध्यावासिनीले दर्शन दिएर 'यो ठाउँ अन्त्यन्तै पवित्र रहेछ, म यहीँ बस्छु' भनेको र त्यसैअनुसार राजाले मन्दिर स्थापना गरेको कथन पनि सुनिन्छ। विन्ध्यावासिनीमा लामो समय पूजापाठ गरेका पुजारी ८८ वर्षीय रूद्रनाथ पौडेल यही कथामा विश्वास गर्छन्।
विन्ध्यावासिनी मन्दिर स्थापनाका अरू किम्बदन्ती पनि रोचक छन्।
पाँगाका राजा खड्गबम मल्ल विन्ध्यावासिनीका भक्त थिए। एकरात उनलाई देवीले सपनामा दर्शन दिएर विन्ध्याञ्चल पर्वतमा रहेको आफ्नो चैतन्य मूर्ति लिन जान आदेश दिइन्।
राजा खड्गबम आफ्ना आठपहरिया र भरिया लिएर विन्ध्याञ्चल पुगे। तर पुजारीले मूर्ति लैजान दिएनन्।
त्यसै रात विन्ध्याञ्चलका राजालाई देवीले सपनामा दर्शन दिएर भनिछन्, 'पहाडबाट मलाई लिन आएका राजा मेरा परमभक्त हुन्। उनलाई रित्तो हात फर्काउन हुन्न। मैले नै उनलाई सपनामा दर्शन दिएर यहाँ डाकेकी हुँ।'
देवीबाट यस्तो आदेश भएपछि भोलिपल्ट सबेरै विन्ध्याञ्चल नरेशले आफ्ना सेना र पुरोहित पठाएर पाँगाका राजा खड्गबमलाई दरबारमा निम्ता गरे र विन्ध्यावासिनीको मूर्ति उनको हातमा अर्पण गरे।
खुसीले गदगद राजा खड्गबमले भव्य श्रद्धा र अनुष्ठानसहित देवीको मूर्ति पोखरा ल्याए।
पोखरामा अहिले विन्ध्यावासिनी मन्दिर रहेकै ठाउँमा राजाको टोली बास बस्यो। त्यसै रात खड्गबमलाई विन्ध्यावासिनीले फेरि सपनामा दर्शन दिइन् र भनिन्, 'मलाई यही ठाउँ पवित्र लाग्यो। मलाई यहीँ राखेर पूजापाठ चलाऊ, पाँगा नलैजाऊ।'
भोलिपल्ट बिहान राजाका भरियाहरूले विन्ध्यावासिनीको डोली उठाउन सकेनन्।
जसै राजाले यो खबर सुने, उनलाई सपनामा प्राप्त देवीको सन्देश सम्झना भयो। उनले त्यही थुम्कोमा विन्ध्यावासिनी मन्दिर बनाएर पूजापाठ गर्ने निधो गरे।
विन्ध्यावासिनी देवीको मूर्ति। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
विन्ध्यावासिनीको अर्को किम्बदन्ती भने भारतबाट मूर्ति ल्याएकोसँग सम्बन्धित छैन। यो किम्बदन्तीले भन्छ —
उहिले पोखरा पानीले भरिएको ठूलो तलाउ थियो। पानीले सारा भूमि डुबाए पनि विन्ध्यावासिनी रहेको थुम्को डुबाउन सकेन। तलाउबीच विन्दु बनेर उभिएको थियो, त्यो थुम्को।
जलाशयमा देखिएको त्यही विन्दुमा स्थानीयले भगवती दुर्गाको मन्दिर बनाए। मन्दिरमा दुर्गाको मूर्ति स्थापना गराए। पानीको बीचमा उभिएको विन्दुमा बसेकी देवी भएकाले 'विन्दुवासिनी' नाम रह्यो। पछि अपभ्रंश हुँदै विन्ध्यावासिनी भन्न थालियो।
विन्ध्यावासिनी आसपासका बुढापाकाहरूको सबभन्दा बढी विश्वास यही कथामा छ।
पृथ्वीनारायण क्याम्पसको इतिहास तथा संस्कृति विभागका प्राध्यापक दिलबहादुर क्षत्रीले 'सिद्ध शक्तिपीठ विन्ध्यावासिनी तथा केही मठमन्दिरहरूका संक्षिप्त परिचय' नामक किताब लेखेका छन्। उनले यी किम्बदन्ती इतिहासको आँखाबाट कति सत्य हुन् भनेर नियालेका छन्।
'इतिहास जबसम्म ठोस तथा आधारभूत प्रमाणहरूले प्रमाणित हुँदैन, तबसम्म विविध तर्क, वितर्क र किम्बदन्तीहरूले स्थान पाउँछन्,' उनले लेखेका छन्।
विन्ध्यावासिनी मन्दिर स्थापनाका अनेक किम्बदन्तीमध्ये कास्कीका राजा सिद्धिनारायणले विन्ध्याञ्चल पर्वतबाट मूर्ति ल्याएर मन्दिर स्थापना गरेको प्रसंग अरूभन्दा विश्वासिलो लाग्ने उनको भनाइ छ।
उनले यो कथामा विश्वास गर्नुको कारण छ, 'पाँगाका राजा खड्गबम मल्लले विन्ध्याञ्चलबाट मूर्ति ल्याएको कुरा ऐतिहासिक प्रमाणबाट पुष्टि हुन सक्दैन। पाँगा कहिले पनि छुट्टै राज्य थिएन। पर्वत राज्यको प्रशासनिक इकाईका रूपमा मात्र रहेकाले यो कथन विश्वास गर्न सकिन्न,' उनले भने।
उनका अनुसार कास्कीका राजा सिद्धिनारायण शाहले मन्दिर स्थापनापछि पूजापाठ गर्न विक्रम सम्बत् १८४४ मा हेमलाल पाध्याका नाममा सनदपत्र दिएको पाइन्छ। उक्त सनदपत्रमा 'कास्केली राजा सिद्धिनारायण शाहले विन्ध्याञ्चल पर्वतबाट विन्ध्यावासिनीलाई पोखरामा देवल बनाई स्थापना गरेको' उल्लेख छ। अर्कातिर, राजा सिद्धिनारायणले १८४५ सालमा लालमोहर लगाएर देवल स्थापना गरेको दिनदेखि आफ्ना जिज्यु भागीरथ पाध्यालाई पूजाको काम सुम्पिएको र गुठीको व्यवस्था गरेको बेहोरा हेमलाल पाध्याको बिन्तीपत्रमा पनि उल्लेख छ।
यी बिन्तीपत्र र सनदपत्रले विन्ध्यावासिनी मन्दिर १८४५ सालभन्दा अगाडि स्थापना भएको संकेत गर्छन्। कास्की राज्य १८४२ सालमा नेपाल राज्यमा गाभिएको थियो। त्यति बेला नेपालका राजा रणबहादुर शाह थिए। त्यसैले विशाल नेपालमा गाभिनुअघि नै विन्ध्यावासिनी मन्दिर स्थापना भएको अनुमान गर्न सकिन्छ। कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले नै मन्दिर स्थापना गरेको हुन सक्ने तर्कलाई यसले बलियो बनाएको प्राध्यापक क्षत्री बताउँछन्।
मन्दिरका ८८ वर्षीय पुजारी रूद्रनाथ पौडेलका अनुसार त्यति बेला ४० मुरी खेत र २० मुरी बारी पुजारी गुठीलाई दिइएको थियो। अहिले गुठीको जग्गा विन्ध्यावासिनी क्षेत्र विकास समितिको नाममा छ। समितिले खेत भएको ठाउँमा गुरूकुल आश्रमको छात्रावास बनाएको छ भने बारीमा प्राकृतिक चिकित्सालय खोलेको छ।
अर्को किम्बदन्तीअनुसार पोखरामा कुनै समय ठूलो तलाउ थियो भन्ने विज्ञानले पुष्टि गरेको छ। तनहुँको भिमादमा प्राकृतिक रूपले सेती नदी थुनिएपछि सिंगो पोखरा उपत्यका ताल बनेको थियो। तर त्यति बेला तालको बीचमा रहेको थुम्कोमा कसले मन्दिर बनाए भन्ने न किम्बदन्ती छ, न यसको ऐतिहासिक प्रमाण नै पाइन्छ।
किम्बदन्ती जे भए पनि विन्ध्यावासिनी मन्दिर पोखरेलीको मात्र आस्थाको केन्द्र होइन। काठमाडौं र भारतदेखि आउने पर्यटकहरू पोखरा आउँदा विन्ध्यावासिनीको दर्शन गर्न छुटाउँदैनन्। पश्चिमी देशका पर्यटक पनि विन्ध्यावासिनी पुगेर हिमाल हेर्छन्।
दिनहुँ नित्य पूजा गरिने विन्ध्यावासिनीमा बडादसैं र चैते दसैंको पूर्णिमामा विशेष पूजा हुन्छ। बडा दसैंको नवरात्रिभरि विशेष पूजा चल्छ। श्रीमद् भागवत देवी पुराण पनि लगाइन्छ।
देवी पुराणमा भगवती दुर्गाको अलौकिक शक्तिको व्याख्या गरिएको छ। पुराणअनुसार दैत्य दाजुभाइ शुम्भ र निशुम्भको वध गर्न जगत जननी दुर्गा प्रकट भएकी थिइन्। शुम्भ र निशुम्भ रक्तबिज थिए। उनीहरूको शरीरबाट रगतको जति थोपा भुइँमा खस्यो, उति नै संख्यामा उनीहरूको उत्पत्ति हुन्थ्यो। दसैंको नवदुर्गामा कथा हालिने दैत्य महिषासुर यिनै शुम्भ र निशुम्भका चेला थिए।
पुराणअनुसार शुम्भ र निशुम्भ यति बलिया थिए, उनीहरूका अगाडि देउताहरूको शक्ति पनि कम हुन्थ्यो। त्यही भएर उनीहरूको वध गर्न देवी दुर्गाले जन्म लिनुपरेको थियो। उनले कालरात्रिकै दिन महिषासुर वध गरेकी थिइन् भने शुम्भ र निशुम्भलाई परास्त गरेकै दिन विजया दशमी मनाउने चलन बसेको विन्ध्यावासिनी गुरूकुलका प्राचार्य निषेशानन्द बताउँछन्।
'दैत्यहरूसँगको त्यो लडाइँमा देवी दुर्गा रिसले यति चुर भएकी थिइन्, उनको रिस मत्थर पार्न महादेव उनी हिँड्ने बाटोमा उत्तानो परेर सुत्नुपरेको थियो,' उनले भने, 'रिसले राप्पिएर हिँड्दा दुर्गाको पैताला महादेवको छातीमा पर्यो। त्यसपछि बल्ल उनको रिस शान्त भयो। उनले शिवसँग माफी मागिन्। शिवले माफ गरिदिए।'
विन्ध्यावासिनी मन्दिरमा बेलाबखत बलि दिइन्छ। केही भक्तजन पञ्चबलि चढाउन आउँछन्। शक्तिका पुजारी शाक्त समुदाय अहिले पनि यहाँ बलि चढाउन आउँछन्। जेठमा धान रोप्ने बेला र मंसिरमा बाली भित्र्याएपछि पनि पूजा गर्न आउनेहरू धेरै हुने पुजारी पौडेल बताउँछन्।
चारैतिर समथर भूभागबाट माथि उठेको सानो थुम्कामा रहेको विन्ध्यावासिनीको प्रस्तर मूर्ति अष्टभुजाकार छ। आठवटै हातमा भिन्नाभिन्नै अस्त्र बोकेकी छन्। शिरमा पाँचवटा मुख भएको काली नाग बसेको छ। यहाँ विन्ध्यावासिनी लगायत महादेव, सरस्वती, सीताराम, लक्ष्मीनारायण, राधाकृष्ण, हनुमानका मन्दिर पनि छन्। परिसरमा धार्मिक पुस्तकालय छ। थुम्काभन्दा तल वाटिका बनाइएको छ। विवाह गर्न आउने जोडीदेखि अनेक यज्ञ गर्न आउने भक्तजनको सधैं भिड लाग्छ।
विन्ध्यावासिनी देवीको महिमा र मन्दिर स्थापनाका किम्बदन्तीपछि अब लागौं, हामीले सुरूमा उल्लेख गरेको आगलागीको घटनातर्फ।
विन्ध्यावासिनी मन्दिरका ८८ वर्षीय पुजारी रूद्रनाथ पौडेल। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
त्यो दिन — २००६ चैत २९ गते — सदाझैं विन्ध्यावासिनी मन्दिरमा शतचण्डी र रूद्री पाठ हुँदै थियो। अग्निको यज्ञकुण्ड बनाइएको थियो।
त्यति बेला पनि रूद्रनाथ पौडेल नै मन्दिरका पुजारी थिए। उनका अनुसार रूद्री पाठ चलिरहेका बेला पोखराका बडाहाकिम धनशमशेरलाई के लहड जाग्यो कुन्नि, उनी विन्ध्यावासिनीमा तान्त्रिक विधिबाट पूजापाठ गर्न र बोका बलि चढाउन अघि सरे। जबकि, रूद्री पाठ हुँदा बलि चढाउन पाइँदैन।
बडाहाकिमले दिउँसो करिब ३ बजेतिर बोका काटेर देवी विन्ध्यावासिनीलाई रगत चढाए। विन्ध्यावासिनीमा आँपका ठुल्ठूला रूख थिए। तिनैमध्ये एउटा रूखबाट सुकेको हाँगा खसेर ठ्याक्कै अग्निकुण्डमा पर्यो। माथिबाट जोडसँग खसेको हाँगाले अग्निकुण्डबाट आगोको फिलिंगो उड्न थाल्यो।
चैतमासको खडेरी, त्यसमाथि हावाहुरी चल्ने समय। आगोको फिलिंगो हावाले उडाउन थाल्यो र विन्ध्यावासिनी थुम्कोमुनि रहेको आयुर्वेदिक औषधालयको खरको छानोलाई भेट्यो।
'त्यो दिन पोखरामा बेजोड हावाहुरी चलेको थियो। त्यस्तो हावाहुरी मैले अहिलेसम्म देखेको छैन,' पुजारी पौडेलले भने, 'यज्ञकुण्डबाट निस्केको आगो सबभन्दा पहिला त्यही औषधालयको छानोमा खसेको थियो। खडेरीले सुकेको खर क्षणभरमै खरानी भयो। त्यसपछि त जहाँ जहाँ हुरीबतास पुग्यो, त्यहाँ त्यहाँ आगोको मुस्लो फैलिन थाल्यो। सल्किन मिल्नेजति वस्तुहरू सबै आगोमा सल्किए।'
उनले अगाडि भने, 'हावामा उडेको आगोको मुस्लो घरका झ्याल-ढोकाबाट भित्र छिर्थ्यो, अनि छानाबाट ज्वाला भएर निस्कन्थ्यो।'
आयुर्वेदिक औषधालयमा सल्किएको आगो नजिकै रहेको विश्वनाथ रेग्मीको घरमा पुग्यो। त्यसपछि सारा बजार जल्न थाल्यो। कसैले आफ्ना अत्यावश्यक मालमत्ता पोको पारेर भाग्ने कोसिस गरे। तर भाग्दै गर्दा पोकोमै आगो सल्किन्थ्यो। कसैले लगाएको कपडामै पनि आगोले भेट्यो।
त्यो समय पोखरा अहिलेजस्तो विशाल उपत्यकामा फैलिएको थिएन। विन्ध्यावासिनी आसपासको ठाउँलाई मात्र पोखरा भनिन्थ्यो। सानो गाउँले बजारका रूपमा बसेको पोखराका सबै घरका छाना खर र फुसले छाइएका थिए। आगोको मुस्लोले एउटा घर पनि बाँकी राखेन। क्षणभरमै उजाडियो पोखरा।
पोखराको आयुर्वेदिक औषधालय। विन्ध्यावासिनीको अग्निकुण्डबाट सल्केको आगोले सबभन्दा पहिला यही औषधालय जलेको थियो। तस्बिर: टेलर
त्यो आगलागीमा कति सरसामान जले; कति घोडा, खच्चड, गाई, भैंसी लगायत पशुपन्छी र धनसम्पत्ति जले, त्यसको कुनै हरहिसाब छैन।
'रूद्री पाठ भइरहेको ठाउँमा तान्त्रिक विधिबाट पूजा गर्नु र बोका बलि चढाउनु नै अनिष्टको संकेत थियो। तर राणा शासन बेला बडाहाकिम नै आएर त्यस्तो पूजा गर्ने भनेपछि नाइँनास्ती गर्न सक्ने अवस्था थिएन,' पुजारी पौडेलले भने, 'पूजाको विधि नपुग्दा अनिष्ट भयो। शिवशक्ति रिसाएका हुन् कि देवी विन्ध्यावासिनी रिसाएकी हुन्, कसले थाहा पाउने?'
यो घटनाका केही राजनीतिक प्रभाव पनि छन्।
राणा शासनविरूद्ध क्रान्तिको लहर चल्न थालिसकेको थियो। पोखरामा पनि राणा शासनको विरोधमा नेपाली कांग्रेसले लुकिछिपी संगठन विस्तार गर्दै थियो। क्रान्तिमा लागेका युवाहरूको भारत आउजाउ बढ्दो थियो। यस्तो बेला राणा बडाहाकिमको लहडले नै त्यत्रो भयानक आगो लागेको हो भन्ने तत्कालीन धार्मिक जनविश्वासले आन्दोलन दन्काउने काम गर्यो।
घटना सामसुम पार्न बडाहाकिम धनशमशेरले अनेक प्रलोभन देखाए। राहत र क्षतिपूर्तिको व्यवस्था गरिदिए। तर राणा शासनविरोधी आवाज उनले कसैगरी दबाउन सकेनन्।
पोखराका ऐतिहासिक समाजशास्त्री लोकरञ्जन पराजुलीले उक्त आगलागीपछि सिर्जित राजनीतिक परिस्थिति विश्लेषण गरेका छन्। मार्टिन चौतारीको प्रकाशन समाज अध्ययन अंक १७ मा 'आगलागी, क्षतिपूर्तिको राजनीति र नागरिक बन्ने मेलो' शीर्षकको उनको लेख प्रकाशित छ।
पराजुलीले उक्त आगलागीबारे गोरखापत्रमा प्रकाशित समाचार, बडाहाकिम धनशमशेरका सन्देश, राहत लगायत समाचारका कपी र उतारकपी पनि प्रकाशित गरेका छन्। त्यसअनुसार आगलागीका पीडितलाई तत्कालीन राणा शासकले राहतस्वरूप अन्नपात र घर बनाउन आर्थिक सहयोग गरेको देखिन्छ। पोखराका अग्निपीडितलाई २ लाख ५४ हजार ४८३ रूपैयाँ राहत र घर बनाउन सहयोग गरेको विवरण छ।
यति मात्र होइन, पोखराका अग्निपीडितहरू राणाविरोधी आन्दोलनमा सामेल नहोऊन् भनेर तत्कालीन प्रधानमन्त्री श्री ३ मोहनशमशेर जबराले छानबिन समिति बनाएर पोखरा पठाएका थिए। साथमा केही नगद राहत उपलब्ध गराएका थिए। तर अग्निपीडितहरू सरकारी आश्वासनले मात्र मान्नेवाला थिएनन्।
आगोमा परेर घरबार, सम्पत्ति, अन्न, चौपाया सबै गुमाएका पीडितसँग थप गुमाउनलाई केही बाँकी थिएन। त्यसैले उनीहरू राणासँग झुक्न छाडिसकेका थिए। आक्रोशको ज्वाला भित्रभित्रै दन्किँदै थियो।
आगलागी पीडितहरूले विद्रोहस्वरुप पण्डितका घर लुट्ने योजनासमेत बनाएका थिए। त्यसलाई रोक्न पोखराका युवा व्यवसायी प्रेमराज मुल्मीले बाटुलेचौरका मुक्तिनाथ शर्मालाई बोलाए र तुरून्तै घटनास्थल पठाए।
नेपाली कांग्रेसमा आबद्ध र २०१५ सालमा राष्ट्रियसभा सदस्यमा मनोनित शर्मालाई त्यहाँ सबैले चिन्थे। शर्मा पनि सबैलाई चिन्थे। उनले पीडितहरूलाई सम्झाए। १९९० सालको काठमाडौं भुइँचालोपछि दिइएको सरकारी सहयोगबारे जानकारी गराएपछि बल्ल पीडितहरूले पण्डितको घर लुट्ने योजना त्यागे।
शर्माले पण्डितको घर लुटेर केही रूपैयाँ र अन्नबाहेक अरू केही हात नपर्ने, उल्टै कारबाहीमा परिने भनेर सचेत गराएको लेखेका छन्। उनले पीडितहरूको तर्फबाट सरकारसँग राहत र क्षतिपूर्तिका लागि निवेदन पनि लेखिदिए।
त्यही क्रममा शर्माकै नेतृत्वमा अग्निपीडितहरूलाई संगठित गरेर राणा शासनविरूद्ध आन्दोलन चर्काउने काम भयो। नाराजुलुस भयो। पर्चाबाजी भयो।
सडकमा नाराजुलुस र पर्चाबाजी गर्दागर्दै एकदिन आन्दोलनकारीको ठूलो जुलुसले बडाहाकिम धनशमशेरको दरबार घेरा हाल्यो। सरकारी कार्यालयहरू कब्जा गरियो। थुनामा रहेका राजनीतिक बन्दीलाई रिहा गरियो। बडाहाकिम धनशमशेरलाई समातेर दरबार अगाडिको चउरमा लगियो। आखिरमा उनले जनतासामु घुँडा टेकेर माफी मागे।
आन्दोलनकारीसँग माफी माग्दै पोखराका बडाहाकिम धनशमशेर जबरा। तस्बिर: रामबहादुर बडागामी
त्यति बेला प्रजातन्त्रका पक्षमा आन्दोलन गरेका ऋषिकेशव पराजुलीले लेखेका छन्, 'आँखामा आँशु टिलपिल गर्दे बडाहाकिमले आन्दोलनकारीसँग हात जोडेर माफी मागेका थिए।'
आगलागीमा आमा गुमाएका गोरखापत्र बाजे पनि राणाविरोधी आन्दोलनमा सरिक थिए। त्यही प्रभावले हुनसक्छ, उनी जीवनभर प्रजातन्त्रका पक्षधर बने।
'हजुरआमा आगलागीमा बित्नुभएपछि बुबाले धेरै संघर्ष गर्नुपर्यो। राणा र पञ्चायतसँग लड्नुभयो,' उनका छोरा शिवजी भन्छन्, '२०१५ सालको पहिलो आमनिर्वाचनमा खटिँदाका धेरै सम्झना उहाँ सुनाइरहनुहुन्थ्यो।'
'एउटा घटनाले कसरी सिंगो राजनीतिमा प्रभाव पार्छ भन्ने एउटा उदाहरण पोखराको त्यो आगलागी हो,' उनले भने।
विन्ध्यावासिनी मन्दिरको अग्निकुण्डमा २००६ चैत २९ गते हाँगो खसेको आँपको रूख। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
***
यी पनि पढ्नुहोस्-