स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना उपचारका लागि आवश्यक औषधि र उपकरण अभाव हुन नदिनेगरी व्यवस्थापन गरिएको बताएका छन्।
मंगलबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्री ढकालले देशभर २६ सय आइसियू तयारी अवस्थामा रहेको भन्दै उपकरणको अभाव नहुने दाबी गरे। साथै थप चार सय वटा आइसियू तयार गर्ने कार्य पनि भइरहेको उनले बताए।
यस्तै देशभर ३ हजार पाँच सय वटा अक्सिजन र मोनिटरसहितको हाइ डिपेन्डेन्सी युनिट पनि तयार गर्ने काम तीव्र रुपमा अघि बढेको भन्दै मन्त्री ढकालले यसले सिकिस्त संक्रमितको उपचारलाई सहज बनाउने बताए।
तर मन्त्री ढकालले भनेजस्तो देशभर रहेका अस्पतालहरूमा आवश्यक आइसियूको व्यवस्थापन हुन सकेको छैन। राजधानीकै अधिकांश अस्पतालहरूमा आइसियू बेड भरिएका छन्। अस्पतालहरूले नयाँ संक्रमितहरूलाई आइसियूमा भर्ना गर्न सकेका छैनन्।