केन्द्रमा सत्तामा रहेको नेपाली कांग्रेस सुदूरपश्चिममा भने प्रमुख प्रतिपक्षमै रहने भएको छ। केन्द्रमा बनेको गठबन्धनले निर्णय नदिएसम्म कांग्रेस प्रतिपक्षमै रहने भएको हो।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता डा. रणबहादुर रावलले केन्द्रबाट निर्णय नआउँदासम्म प्रदेशमा प्रमुख प्रतिपक्ष नै रहेको बताए।
‘अहिलेको मुल कुरा राष्ट्रिय गठबन्धन अनुसार नै अघि बढ्ने भए पनि यहाँका लागि निर्णय नआएसम्म हामी प्रमुख प्रतिपक्ष नै हौं,’ उनले सेतोपाटीलाई भने।
सोमबार बसेको प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका सांसदहरू प्रतिपक्षी दलकै लहरमा थिए।
कांग्रेसपछि नेकपा एमाले, लोकतान्त्रिक समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरू पनि प्रतिपक्षी दलको लहरमा बस्ने व्यवस्था मिलाइएको थियो।
अहिलेको माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई सोही पार्टीका १३ र नेकपा एकीकृत समाजवादीका १४ जनाको समर्थन रहेको छ।
एमालेका सभामुखबाहेक १०, कांग्रेसका १२ र लोकतान्त्रिक समाजवादीका १ र जनता समाजवादीका १ जना सांसद छन्।