दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ अर्का एक घाइते भएका छन्।
मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ९ का २३ वर्षीय किरण पुनको उपचारका क्रममा बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको हो।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई शनिबार दिउँसो मेडिकल कलेज लगिएको थियो।
अस्पताल पुर्याएको केहीबेरमै उपचारका क्रममा उनको दिउँसो सवा ३ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।
दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सल्यान शारदा नगरपालिका वडा नं. ९ निवासी २१ वर्षीय लक्ष्मण बोहोरा घाइते भएका छन्।
उनको तुलसीपुरमै उपचार भइरहेको छ।
शनिबार बिहान साढे ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. २ कुमलगैरीमा तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख २११० नम्बरको बसले पश्चिमतर्फ जाँदै गरेको लु ४१ प २०१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना थियो।
सडक साँघुरो तथा घुमाउरो हुनु, तीव्र गति हुनु र सडकमा लाइनिङ पनि नहुनेजस्ता कारणहरूले गर्दा दुर्घटना भएको हुन सक्ने डिएसपी सिंहले बताए।
ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, बस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।