बुधबार सेयर बजारको परिसूचक नेप्से स्थिरजस्तै रह्यो। अघिल्लो दिनको तुलनामा जम्मा ०.५६ अंकले नेप्से बढे पनि २६७३ को अंक पार भएन।
यस दिन नेप्सेको अंक स्थिर रहँदा ५ अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भयो। बैंकिङ ३, ब्यापार ४१, होटल तथा पर्यटन ६, अन्य १९, माइक्रोफाइनान्स १७ र जीवन बीमा ६६ अंकले घटेका छन्।
विकास बैंक ३, जलविद्युत ३१, फाइनान्स १५, निर्जीवन बीमा ३१ र उत्पादन १०० अंकले बढेका छन्।
रोचक पक्ष त नेप्सेको अंक स्थिर रहँदा पनि करिब १ दर्जन कम्पनीका लगानीकर्ताले भने १० प्रतिशत मूल्य कमाएका छन्। ११ कम्पनीको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
नारायणी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत, बोटलर्स नेपाल, विशाल बजार, रुरु जलविद्युत, समता माइक्रोफाइनान्स, युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, दिव्यश्वरी हाइड्रोपावर, युनिलिभर नेपाल र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो।
एभरेष्ट इन्स्योरेन्स संस्थापक समूहको सेयर मूल्य सबैभन्दा धेरै ३.९ प्रतिशतले घटेको छ। साल्ट ट्रेडिङ, सानिमा जनरल इन्स्योरेन्सको मूल्य २ प्रतिशत बढीले घटेको छ।
कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ३५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा जलविद्युत लगानी तथा विकास कम्पनीको २६ करोड रुपैयाँ बराबरको कारोबार भयो। अपि पावर, शिवम् सिमेन्ट र एनसिसी बैंक पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।