राष्ट्र बैंकले सार्क क्षेत्र स्तरमै स्वीकार्य हुने अभौतिक मुद्रा (कमन डिजिटल करेन्सी) बनाउने तयारी गरिरहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।
आज काठमाडौंमा आयोजित 'फोनपे डिजिटल इकोनोमी कनक्लेभ २०२२' मा बोल्दै गभर्नर अधिकारीले यस्तो जानकारी दिएका हुन्।
‘हामीले डिजिटल करेन्सी मुद्राको तयारी गरिरहेका छौं,’ अधिकारीले भने,‘यस्तो करेन्सीले सार्क क्षेत्रीयस्तरमै कमन करेन्सीको रुपमा काम गर्न सकोस भन्ने अवधारणामा काम गर्ने प्रयास भइरहेको छ।’
संसारभर डिजिटल करेन्सीमा व्यापक छलफल भइरहेको र नेपालले पनि त्यसको तयारी सुरू गरिरहेको अधिकारीले बताए। छिमेकी राष्ट्र भारतले पनि सन् २०२३ सम्ममा केन्द्रीय बैंकबाट जारी हुने अभौतिक मुद्रा प्रचलनमा ल्याउने लक्ष्य राखेको छ।
संसरभर बिट क्वाइन लगायतका क्रिप्टोकरेन्सीमा मानिसहरू आकर्षित हुन थालेसँगै नियामक निकायबाटै जारी हुने अभौतिक मुद्राको शुरुवात गर्ने क्रम चलेको हो।
बहामास, नाइजेरिया, इष्र्टन क्यारेबियनमा रहेका अन्य ७ मुलुकले पनि डिजिटल करेन्सीको शुरुवात गरिसकेका छन्। त्यस्तै, अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार हाल विश्वका एक सयभन्दा बढि मुलुकले डिजिटल करेन्सी प्रचलनमा ल्याउने गरि काम सुरू गरिरहेको छ।
नियामक निकायहरूबाट जारी हुने यस्तो डिजिटल मुद्राको नियमन हुने भएकोले यिनको भाउ अन्य क्रिप्टोकरेन्सी जस्तो अधिकमूल्यन नहुने बताइन्छ। त्यस्तै, यस्ता मुद्राको प्रयोगले क्रिप्टो तथा ब्लक चेनमा आधारित नियमनको दायरामा नरहने मुद्राहरूको भविष्य नहुने पनि मानिएको छ।
कार्यक्रममा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाल ९२ प्रतिशतसम्मका सरकारी कारोबार डिजिटल प्रणालीबाट भइरहेको जानकारी दिए। हाल वास्तविक समयमै नगद कारोबार तथा चेक राफसाफ हुने प्रणाली (आरटिजीएस) मार्फत् दैनिक ४० खर्ब बराबरको कारोबार भइरहेको छ। त्यस्तै, बैंकहरूले डिजिटल माध्यमको प्रयोग गरेर ग्राहकले ३ देखि ५ लाख रूपैयाँसम्म कर्जा जारी गर्न सक्ने व्यवस्था समेत मिलाएका छन्।