हाइलाइफ फुडमा हाथवे इन्भेष्टमेन्ट समूह र बिग इण्डष्ट्रिज रणनीतिक साझेदारको रूपमा प्रवेश गरेका छन्।
गत सोमबार तीनवटा समूहबीच साझेदारी गर्ने विषयमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा हाइलाइफ फुडका प्रवन्ध निर्देशक प्रशान्त घिमिरे, बिग इण्डष्ट्रिजको तर्फबाट अम्बिका प्रसाद पौडेल र हाथवेको तर्फबाट योगेश्वर शर्मा ढकालले हस्ताक्षर गरे।
हाथवे र बिग इण्डष्ट्रिजको रणनीतिक साझेदारीले हाइलाइफ फुडले एफएमसिजीमा थप लगानी गर्ने बताइएको छ।
हस्ताक्षर कार्यक्रममा हाथवेका योगेश्वर शर्मा ढकालले खानाबाट चिनिएको ब्राण्डसँग साझेदारी गर्न पाउदा खुसी लागेको बताए।
'हरेक घरमा पुगेको ब्राण्डसँग साझेदारी गर्न पाउदा राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने छौ,' ढकालले भने।
त्यस्तै, बिग इण्डष्ट्रिजका अम्बिका प्रसाद पौडेलले हाइलाइफसँग साझेदारीले कृषि उत्पादन बढाउन सहयोगी हुने बताए।
'वित्तीय क्षेत्रमा काम गरेको हाथवे, कृषिमा काम गर्ने बिग इण्डष्ट्रिज र कृषिमा आधारित उद्योग चलाएको हाइलाइफले आयात प्रतिस्थापनमा काम गर्नेछ,' पौडेलले भने।
उनले निकट भविष्यमा हाइलाइफ फुड पब्लिक लिमिटेड कम्पनीमा परिणत भएर सर्वसाधारणलाई सेयर निष्कासन समेत गर्ने जानकारी दिए।
कार्यक्रममा हाइलाइफ फुडका प्रवन्ध निर्देशक प्रशान्त घिमिरेले आफूहरुले रोपेको बिउ हाथवे र बिग इण्डष्ट्रिजको प्रवेशले ठूलो हुने भएको बताए।
'पारिवारिक रुपमा चलेको कम्पनी अब कर्पोरेट कल्चरमा चल्ने छ, अब वास्तविक काम सुरू भएको छ, हामीले जानेको ज्ञानमा हाथवे र बिग इण्डष्ट्रिजको विज्ञता थपिने छ, कम्पनी अब नयाँ ढंगको ऊर्जा लिएर अगाडि बढ्ने छ,' घिमिरेले भने।
कार्यक्रममा हाइलाइफ फुडका संस्थापक अध्यक्ष तुलसी घिमिरे, सञ्चालक नगेन्द्र घिमिरे, सञ्चालक पंकज ज्ञवाली, सञ्चालक लक्ष्मण घिमिरे, सञ्चालक बासुदेव भुषालको उपस्थिती थियो।