घडी हेरेँ बिहानको ८:०५ भएको रहेछ। २ मिनेटमा ट्रेन जान्छ, आज पनि छुट्यो र ढिलो पुगेँ भने मारियाले मार्छे।
मारिया म्याथ टिचर हो। ६२ वर्षकी बुढी हो, बास्केटबल खेल्छे, फुटबल पनि खेल्छे। बास्केटबलमा त कसैले सक्दैन मारियासँग खेल्न।
अनुहार चाउरी परे ता पनि स्कुलको सबैभन्दा जाँगरिलो र फूर्तिलो टिचर हो ऊ। सानोतिनो हिसाबका लागि क्याल्कुलेटर प्रयोग नै गर्दिन।
सानोमा मारिया म जस्तै थिइ रे एक्जाम सधैं फस्ट भ्याउनुपर्ने रे। पहिले नासामा काम गर्थी रे। बच्चाहरुसँग खेल्न खुब मनपर्ने भएकाले अहिले हाम्रो स्कुलमा पढाउन आएकी रे।
मारियाले कहिलेकाँही आफू लास भेगसको क्यासिनोमा पैसा जितेको कुरा सुनाउँथी। अमेरिकाको रहनसहनको बारेमा सुनाउँथी अनि भन्थी, ‘मेरो देश पोर्तुगाल अमेरिका भन्दा पनि महान छ। हामी विश्वको सबैभन्दा शक्तिशाली देश थियौं, मोजाम्बिक्, ब्राजिल, याङ्गोला, क्याप भेर्द, गोवा, मकाउलाई त हामीले जितेको हो, अनि पछी छोडिदियौ,’ अझ भनेकी थिइ, ‘ब्राजिललाई त हामीले ऐना देखाएर राज गरेको हो।’
उसलाई सबैकुराको ज्ञान थियो। अझ मलाई गुर्खा भनेर बोलाउँथी। बुढी हाम्रो भविष्यको बारेमा सधैं चिन्तित हुन्थी अनि भन्थी, ‘तिमीहरूको भविश्य अन्धकारमा छ। १० मिनेटको ब्रेकमा त तिमीहरू मोबाइल बिना बस्न सक्दैनौं, अनि भविश्यमा के गर्छौ?’
आज मलाई जे गरेर भए पनि ०८:०७ को ट्रेन भेट्टाउनुपर्छ। नत्र बुढीले आज पनि ढोङ्गी गुर्खा भन्छे अनि क्लासका सबैजना ममाथि हाँस्नेछन्।
दौडिएँ, सकेको दौडिएँ ०८:०६ भइसकेको थियो। मलाई ०८:०७ को ट्रेन भेट्टाउनु थियो।
हातमा लन्चब्याग अनि ६,७ वटा किताब पछाडि झोलामा राखेर दौडिनु पनि ओलम्पिकमा जानुभन्दा कम थिएन।
निकै गर्मी थियो, ३८ डिग्री सेल्सियस। पसिना आइरहेको थियो म सकेको दौडिरहेको थिएँ।
मानिसहरू चुरोट फुक्दै हावामा उडाउँदै थिए। निकै गाह्रो भइरहेको थियो। बल्ल बल्ल ट्रेन स्टेशन पुगेको थिएँ,०८:०८ भइसकेछ। ट्रेनले ढोका बन्द गरिसकेको थियो। केही कालेहरू ट्रेनको ढोकामा हानिरहेका थिए। म भने आज के बहाना बनाउने होला भनेर सोच्न थालेँ।
असिन पसिनहुँदै आएको म कुर्सीमा बसेँ, ‘यी चुरोटेहरूले फुकेको चुरोटले सास फेर्न मिल्ने नै होइन’ एक पोर्तुगिस बुढीले पोर्तुगिसमा भनी।
‘इजतामेन्त’ मैले भनेँ।
‘इजतामेन्त’ भनेको कसैको भनाइलाई समर्थन गर्नुहो।
‘तलाई पोर्तुगिस् आउँछ?’ बुढीले छक्क पर्दै सोधी।
सुरूमा नै तँ भनेर सम्बोधन गरेको मलाई फिटिक्कै मन परेन। बुढी लगभग ६० वर्ष वरपर हुनुपर्छ।
‘अ मलाई राम्रोसँग बोल्न आउँछ’, मैले भनेँ।
‘कति भयो आएको’, बुढीले सोधी।
‘५ महिना भयो’, मैले पोर्तुगिसमै भनिदिएँ।
‘५ महिनामा यसरी बोल्न सकिस्’, बुढीले भनी।
पोर्तुगिस् भाषामा पनि नेपाली भाषामा जस्तै सम्बोधन गरिन्छ जस्तै तँ, तिमी, तपाईँ, ऊ, उनीहरू।
‘सजिलो लाग्छ मलाई यो भाषा’, मैले भनेँ।
बुढी एसो हेर्दा लिस्बनको होइन जस्तो लाग्यो किनकि राजधानीका मान्छेहरू यसरी खुलेर बोल्दैनन्।
‘तपाईँको घर कता’, मैले सोधेँ।
‘अल्गार्भ’, बुढीले भनी।
पोर्तुगलको दक्षिणमा अल्गार्भ भन्ने निकै राम्रो ठाउँ छ। अल्गार्भ एक पोर्तुगलको महत्वपूर्ण जिल्ला हो।
‘म अल्गार्भ गा’को छु नि’, मैले भनेँ।
‘अल्गार्भ लिस्बनभन्दा धेरै राम्रो छ’, बुढीले भनी।
‘अँ, लिस्बनभन्दा अल्गार्भ निकै राम्रो छ। शान्त छ, सुन्दर छ’, मैले भनेँ।
बुढी झन खुसी हुँदै कुरा गर्न थाली। ‘तँलाई थाहा छ, म नेपाल गएको छु नि’, बुढीले भनी।
‘म पोकरा, क्याट्मान्डु, एभेरेस्ट, गा’को छु’, बुढीले भनी।
तँलाई थाहा छ ‘मैलेँ ४०० युरो नेपालको भूकम्प पीडितलाई सहयोग गरेको हुँ, त्यती सुन्दर देश छ त्यही पनि तिमीहरू त्यती पछाडि छौ।’
योभन्दा मन चसक्क दुख्यो, हामी के गरिरहेका छौं, यस्तो बिरानो ठाँउमा जस्तो लाग्यो।
लामो सास लिए अनि कुरो घुमाएँ, ‘मलाई अल्गार्भमा क्वार्तेरा निकै मनपर्छ’, मैले भनेँ।
‘तँ क्वार्तेरा गा’को छस्’, बुढीले छक्क पर्दै भनी।
‘अँ फारू, क्वार्तेरा, पोर्तिमाउ, लोले, अल्मान्सिल सबै ठाँउ घुमेको छु’, मैले भनेँ।
‘मेरो घरमा पहिले एउटा नेपालीले काम गर्थी, सुप बनाएकी थिइँ, यती नुनिलो थियो, मलाई धन्नै हृदयघात नभएको’, बुढीले होच्याउने पारामा भनी। ‘अँ हामी नुन, मरमसला धेरै खान्छौं, हजुरले काम के गर्नुहुन्छ?’, मैले सोधेँ।
‘पहिले मेट्रोमा काम गर्थे, अब पेन्सन भयो,त्यत्तिकै घुमिराको छु, मलाई कथा लेख्न मनपर्छ अनि म तेरो बारेमा पनि कथा लेख्नेछु’, बुढीले नसुहाँउदो हाँसो हाँसी।
‘मलाई पनि कथा लेख्न मनपर्छ’, मैले भने।
‘तँलाई पाउलो कोएल्हो को हो थाहा छ?’, बुढीले सोधी।
‘थाहा छ,पोर्तुगिस लेखक, अल्केमिस्ट उनले लेखेका थिए’, मैले भनेँ।
‘मैले पाउलो कोएल्होलाई भेटेको छु’, बुढीले गर्वका साथ भनी।
म मुस्कुराएँ। ‘मेरो ट्रेन आयो, म जान्छु’, मैले भनेँ। बुढी अझै बोल्न चाहान्थी तर, मैले जाने विचार बनाइसकेको थिएँ। ‘तँलाई तेरो उज्वल भविष्यको शुभकामना छ’, बुढीले भनी।
‘धन्यबाद, तपाईँलाई पनि उज्वल भविष्यको शुभकामना’, मैले भनेँ।
‘म कती नै बाँच्छु र उज्वल भविश्यको शुभकामनाको मलाई दिन्छस्?, त्यही पनि धन्यवाद’, बुढीले भनी। म मुस्कुराउँदै आफ्नो बाटो लागेँ, स्कुल १५ मिनट ढिलो पुगेँ।
स्कुल अगाडि चहलपहल नै थिएन, एक जना पनि देखे त मरी जाम! आज बुढीले मलाई क्लासमा नै छिर्न दिन्नँ, उफ्!!! लामो सास फेरेँ। ट्रेन ढिलो भो भनम् भने टन्नै साथी त्यही ट्रेनमा स्कुल आइसके। स्कुल भित्र गएँ, पाले दाई हाँस्दै म तिर आए, र भने ‘आज शनिबार हो किन स्कुल आको?’
(१४ वर्षिय लेखक पौडेल पोर्चुगलको प्राइम इन्टरनेशनल स्कुलमा ए लेभल पढ्छन्।)