अलौकिक प्यारको आभाष दिलाउने तालहरू एकातिर
रहस्यमयी बनेर बसिरहेका असंख्य पर्वतहरू अर्कातिर
सृष्टिका सम्पूर्ण सौन्दर्यहरू समाहित पारेझैं हिमशृंखलाहरू माथितिर अनि ती सारा मिठासहरु घोलेर बहिरहेको हावा यत्र तत्र ।
शब्दहरुले बुझाउन सक्दैनन् ती आनन्दहरू
चेतनाहरूले पहिल्याउन सक्दैनन् ती रहस्यहरू
दृष्टिहरूले नाप्न सक्दैनन् ती फैलावटहरू
किनभने
असीमित छन् अनन्त छन् ती सौन्दर्यहरू।
ओहो! त्यो पारिपट्टिको पर्वत
सायद त्यहि हो ‘शितल’ ‘शितल’ भन्दै निलकण्ठ हालफालेको अनि ती नदी किनाराहरू
त्यहीँ त भेटिने हो शालिग्रामसँगै देवत्वहरू।
यहाँ उत्सव नलिइ कुनै बिहानी नै आउँदैन
यहाँ ईश्वर नभेटिने कुनै गाउँ नै हुँदैन
यहाँ बिना मुस्कानको कुनै चोक नै भेटिदैन
किनभने यहाँ त प्रथम पाइला बुद्धभूमिमा नटेकेको शिशू नै जन्मदैन।
अलि गहिरिएर मात्र सुने पुग्छ अझै पनि जनकपुरमा उपनिषद् गुञ्जेको सुनिन्छ अलि गहिरिएर मात्र हेरे पुग्छ
अझै पनि जनकपुरमा सीता माताको पाइला भेटिन्छ ।
साँच्चै असीमित छन् अद्वितीय छन् तिम्रा सौन्दर्यहरू
मात्र देउराली चौतारी थानी पोखरी डगर र बगर बगरमा खोजे पुग्छ।