उपचारका क्रममा गत शनिवार मृत्यु भएका कपिलवस्तुका राजाराम थारूको शव गण्डकी मेडिकल कलेजले परिवारलाई हस्तान्तरण गरेको छ।
उपचार शुल्क बुझाउन नसकेपछि ७ दिनदेखि राजारामको शव अस्पतालमै थियो।
शव सुरक्षाका लागि बिहीबार गण्डकी प्रादेशिक अस्पताल पठाइएको र त्यहीँबाट आफन्तले शव बुझेको गण्डकी मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट डा. टुमाया घलेले जानकारी दिइन्।
मृतकका छोरा समर थारूले बिहीबार राति १२ बजे शव बुझेको बताए।
‘कागज बनाएर हिजो राति १२ बजे शव हामीलाई दिनुभयो। अहिले बिहान ८ बजे घर ल्याइपुर्याएका छौं। दाहसंस्कारको तयारी गरिरहेका छौं,’ उनले सेतोपाटीसँग भने।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ११ का ५३ वर्षीय राजाराम थारूको गत शनिवार मृत्यु भएको थियो।
पर्वतको कुस्मामा घर निर्माणको लागि इँटा बोकिरहेका थारू वैशाख १६ गते अचानक बेहोस भई ढलेपछि उपचारको लागि गण्डकी मेडिकल कलेज पुर्याइएको थियो।
उच्च रक्तचापका कारण टाउकोमा रगत जमेको भन्दै आइतबार राति नै टाउकाको शल्यक्रिया गरे पनि उपचार सफल भएन।
उनलाई अस्पतालले शनिबार मृत घोषणा गरेको थियो।
उपचार खर्च नतिरेको भन्दै अस्पतालले मृतकका परिवारलाई शव बुझाएको थिएन।
छोरा समरका अनुसार राजारामको उपचारको क्रममा सात दिन अस्पतालमा रहँदा पाँच लाख १६ हजार रुपैयाँको बिल उठेको भन्दै परिवारलाई थमाएको थियो।
त्यसमध्ये ४७ हजार रुपैयाँ राजारामलाई अस्पतालमा भर्ना गर्दा धरौटी राखेका थिए भने औषधि खरिदको लागि डेढ लाख भन्दा बढी रकम अस्पताललाई बुझाएका थिए।
औषधि खरिद र धरौटी रकम गरी दुई लाख रुपैयाँ अस्पताललाई बुझाइसके पनि दुई लाख ५१ हजार रुपैयाँ बुझाउन बाँकी रहेको भन्दै ६ दिनसम्म पनि शव बुझाएको थिएन।