प्रिय वेदांशी!
तिम्रा कैयौं नाम छन् हगी!
ऋतु, ऋतुराज, मुनु, लिली र माधुरी पनि। जे जति नाम भए पनि आखिर तिमी मान्छे त एउटै हौ क्यारे!
जिन्दगी कस्तो हुन्थ्यो होला है, आफूले गरेका निर्णयहरू पनि नाम जस्तै फेर्न मिल्ने भए? मैले भर्खरै तिम्रो सुनौलो गुलाबी उमेर पढेर सिध्याएँ। तिमीलाई थाहा छ, म पनि गुलाबी उमेरमै छु, तर उत्तरार्द्धमा। रोदन, उतारचढाव, थोरै खुसी, धेरै अलमल र मानिसहरू जोडिने र छोडिने क्रम चल्ने आँधी जस्तो यो उमेर एकदम भयानक हुँदो रहेछ। सँगै, असाध्यै मायालाग्दो पनि। मान्छे जोडिन्छन्, माया बस्छ। छुट्छन्, दिल दुख्छ।
फेरि अर्को मानिस आउँछ, छुट्छ अनि फिर दिल दुख्छ। दुखेको दिल ठीक गर्ने ओखती त आखिर उमेर नै रहेछ।
साँच्चै एउटाको यादमा रोयो अर्कैले आँसु पुछिदिने, उमेर यही रहेछ। तिमीले ३७९ पानामा आफ्नो लोभलाग्दो गुलाबी उमेरलाई कैद गरिछौ, मैले त सकिनँ नि वेदांशी! तिमीलाई सरले सम्झाएको एउटा कुरा मेरो जिन्दगीमा लागू भयो, 'ढिलो गरे कतिपय भोगाइ र अनुभव सम्झनामा समेत नरहने गरी मेटिएर जान्छन्।'
मैले पनि मेरा भोगाइ र अनुभवहरू बिर्सिएछु वेदांशी! तिमीले बेलैमा सम्झाउने मान्छे पायौ, प्रतिक्रिया, प्रतिकथा र प्रतिकथन पायौ। तर मैले पाइनँ! सायद त्यसैले आफ्नो गुलाबी उमेर लेख्न सकिनँ।
उमेर लेख्न नसक्ने मानिसहरू कति होलान् है?
तिम्रा सरहरूले तिम्रो बढ्दै गरेको उमेरसँगै आउने सुनौलो गुलाबी उमेरको महत्त्व बुझ्नुभएको थियो। तिमीलाई बुझाउनु भयो र तिमीले यो उमेरलाई सँगालेर राख्न पायौ।
मेरा सरहरू त मलाई होमवर्क र क्लासवर्क दिनमै व्यस्त हुनुभयो। अझै पनि हाम्रो देशमा, तिम्रा सरहरू जस्ता मान्छे थोरै छन् र मेरा सरजस्ता मान्छे धेरै छन् वेदांशी!
अब आफैं अनुमान लगाऊ तिमी, मजस्तै कति धेरै गुलाबी उमेरहरूले पछि पछुतो गर्नेछन्।
मेरा गुलाबी उमेरका भोगाइ महशुस गर्न नसक्नुको प्यास मैले तिम्रो गुलाबी उमेरको निश्चल पानीले मेटाएँ! तिम्रो गुलाबी उमेरको पाना पल्टाउँदै जाँदा, तिमीमा कताकता मैले मलाई पाएँ।
तिम्रा कहानीहरू मेरैजस्ता लागे। तिम्रा मुस्कान र खुसीहरू मेरैजस्ता लागे। तिम्रा आँसु र पीडा पनि आफ्नै। कता कता, मभित्र त तिमीलाई आफ्नो बनाउने चाह बढिसकेछ नि!
यो प्रेम भन्ने चिज पनि अचम्मको रहेछ। जसरी तिमीले १,२,३ को गन्तीमा थाहा नपाई समर्पणको हातमा आफ्नो हात राखेकी थियौ, ठीक त्यसरी नै मैले पनि थाहै नपाई तिमीलाई मेरो दिलमा राखिसकेछु।
सम्झ त! आमाले तिमीलाई भन्नु भएको थियो नि, प्रेम नगर्नू है भनेर।
अनि तिमीले किन भनेर प्रश्न गर्दा उहाँले दिनुभएको उत्तरले मेरो मन र मस्तिष्क दुवै हल्लाएको थियो। आमाले भनेको साँचो रहेछ, यो गुलाबी उमेरको प्रेम सधैंभरिलाई हुँदैन। तर यो उमेरमा भएको अधुरो प्रेमको घाउले जिन्दगीभरि सताउने रहेछ, जसरी आमालाई आमाको गुलाबी उमेरको प्रेमले अझै सताइरहेको थियो। अब तिम्रो अधुरो प्रेमले पनि तिमीलाई आमालाई झैं सताउने त होला!
वेदांशी, तिमीलाई थाहा छ, तिम्रोजस्तै मेरो पनि प्रेम अधुरो रह्यो। तिमीलाई उसले छोडे जसरी मलाई पनि कसैले छोडेर गएको छ। अब बल्ल बुझ्दै छु, संसारका सबै मानिसको दिल टुटेको हुँदो रहेछ।
माया भनेको त टुटेका दिलका टुक्राहरूले ठ्याक्कै आफ्नो जस्तै टुटेका टुक्रा भेटाएर जोडिनु पो हो रहेछ। हामी दुवै टुटेका दिलका टुक्रा बोकेर हिँडिरहेका छौ वेदांशी!
सायद हाम्रा टुटेका दिलका टुक्रा जोडिएर एक हुन सक्छन्। यी दुई टुटेका मुटु जोड्न म तयार छु वेदांशी, के तिमी तयार छौ?
साँच्चै तिमीले भनेजस्तै, संसारको महान् चित्रकार त उमेर नै रहेछ। फुटबल, कबड्डी खेल्ने, ब्वाइज कट कपाल काट्ने, कान छेड्न नमान्ने र बाबु बन्ने तिम्रा रहरलाई उमेरले खै कुन्नि कुन पहराको पाखामा लुकाइदियो र खै कुन्नि कुन रङ पोत्दै आफ्नै आँखा लट्ठ पार्ने गरी सुन्दर युवती बनाइदियो। तिम्रो त्यो सुन्दर रूपको कल्पना गरेर, म मनमनै मख्ख हुँदै थिएँ अनि मेरो अगाडि तिमी भएको कल्पना गरेर म लाजले भुतुक्कै भएको थिएँ।
तिमीले अभिनव, अनुपम, सुदर्शन र रजतको खुसी जसरी 'एस' भनेर सगरमाथाको चुलीमा पुर्याइदिएकी थियौ, उनीहरूले त्यसरी नै तिम्रो खुसी र मनको, तिमीलाई 'भालु' उपनाम दिएर घाँटी न्याँकिदिए।
तिमीलाई रजस्वलाको पीडा भोग्नु पर्दा र बसमा उभिएर यात्रा गर्दा तिमीमाथि लाग्ने ती गिद्धे नजर र टासिँदै आउने शरीर खेप्नु पर्दा कताकता 'किन केटा भएर जन्मिएनछु' जस्तो लाग्यो होला। मैले तिम्रा ती भयानक घटनाका पानाहरू पल्टाउँदै जाँदा कताकता मलाई केटा भएर जन्मिएकोमा पीडा भयो वेदांशी।
हाम्रो समाज नै सायद यस्तै रहेछ क्यार! तिमीलाई प्रेम प्रस्ताव राख्ने ती अनुभव, रजतहरूले सायद अरूलाई पनि त प्रेम प्रस्ताव राखे होलान्? अनि तिमीलाई 'भालु' भन्ने हक कसले दियो उनीहरूलाई?
वेदांशी सुन न, नढाँटी भन्छु, तिम्रा ती मासुम 'एस' हरूले मेरो मनमा आँधी ल्याइदिएका थिए, किनकि मैले मेरो मनमन्दिरमा तिमीलाई सजाइसकेको थिएँ।
तर, तिम्रा ती 'एस' हरू मासुम थिए र माया भन्ने चीजबाट अन्जान र टाढा थिए। जीवन यस्तै रहेछ! के सोचेर उत्तर दियो, बुझ्नेले के बुझिदिन्छ!
जीवन उमेरकै खेल त रहेछ। हामी त उसको मोहताज।
सम्झ त, उमेरले तिमीलाई एउटा कोठामा एक्लै सुत्न डराउने मासुमदेखि घर छोडेर हिँड्ने साहसीसम्म बनायो। उमेरले तिमीलाई यौवन दियो, प्रेम दियो, खुसी दियो र नाम दियो। मान्छेको असली रूप चिनायो र सपना फुटाइदियो पनि। प्रेम खोस्यो पनि, खुसी लुट्यो पनि।
वेदांशी, तिमीले तिम्रो बिग्रिसकेको परिवारलाई अन्त्यमा जसरी जोड्यौ, सायद म भएको त्यसो गर्न सक्दिन थिएँ होला। तिमीले जसरी आफ्ना सबै गल्ती तिम्रो बाबाको अगाडि स्वीकार गरेर माफी माग्यौ, म भए त्यति सजिलै आफ्ना गल्ती स्वीकार गर्दिन थिए होला! आखिर कसले आफूलाई अरूको अगाडि गलत साबित गर्न चाहन्छ र? तर तिमीले, सही र गलतलाई टाढा राखेर जसरी आफ्नू परिवारको एकताका लागि लड्यौ, त्यो सायद जोकोहीले गर्न सक्दैन।
एउटा कुरा भनूँ वेदांशी? तिमीले हिमेश सरलाई सोधेको प्रश्नले मेरो मानसपटलमा डेरा जमाएको छ।
'पीडा शक्तिशाली कि समय?' साँच्चै मैले पनि छुट्ट्याउन सकिनँ हौ। सायद यसको उत्तर हामीलाई मखमली उमेरमा मिल्ला!
समर्पणहरू धेरै छन् संसारमा, जोगिएर बस्नू। सानामा झैं 'नो' भन्न फेरि सिक्नू है। तर सुन सबै समर्पण हुँदैनन्, कोही साँच्चै चोखो माया गर्ने पनि हुन्छन्, तिनीहरूलाई चिन्नू। बल्लबल्ल उज्यालो भएको तिम्रो घर फेरि अँध्यारो हुन नदिनू।
अब सानामाझैं साथी हुनु बाबा र मामुसँगै। ए साँच्चै, गुड्डुको गुलाबी उमेर आउन लाग्यो है? उसलाई तिमीले नपाएको सारा खुसी र आफ्नोपन दिनू। अनि सुन, तिम्रो गुलाबी उमेरको लुगामा नपुगेका बुट्टाहरू थपिदिनू। घोच्ने काँडाहरू झिकिदिनू। नाटक लेख्न र अभिनय गर्न नछोड्नू है!
आखिर जीवन पनि त नाटक नै हो, बस् यहाँ रिहर्सल हुँदैन सिधै अभिनय। म एक दिन तिम्रो नाटक हेर्ने आउनेछु।
संसार गोलो छ, एक दिन कसो भेट नहोला? अनि, म तिम्रो मखमली उमेर पढ्न आतुर रहनेछु। यति नै अटाएँ चिठीमा, मनमा धेरै उकुसमुकुस थियो केही कम भयो। बाँकी भेटेर मात्र मेटिएला।
भेटेपछि तिमीलाई दिनुछ– एक अँगालो माया।
- तिम्रो टाढाको प्रेमी