कविता
लिपुलेक र लिम्पियाधुराको फेदमा बसी
कालीपारबाट लाएको डाँको हो यो
उसै पनि तटीय डाँको शिखरतिर पुग्दैन
शिखर आफैं निहुरिएर सुनेको इतिहास छैन
त्यसमा पनि बग्न नसकेका यी डाँसी ढुंगाहरू
कति गडगडाउलान् र सुनिएला तिनको आवाज ?
तै पनि
एक भ्रान्ति अर्थात् मनशान्ति हो मालिक
जँघार तरेर मृत्यु स्वयंसँग जित्दा पनि
द्वारपाले यमराजहरूसँगको हारमा
अपमान, अभाव र अवसानको संघारमा
हक, अधिकार र मान–सम्मान जति बन्धक राखी
फगत एक जिजीविषासहित
केही थान पापी पेटहरू लिएर
काली किनारमा क्वारेन्टाइनमा कोचिएका छौं हामी त
मालिकको गाथमा पो के कसो छ कुन्नि ?
हाल खबर धेरै त थाहा छँदैछ मालिकलाई
हाम्रा आफ्नै मुटु कलेजा उहिल्यै मरिसके,
फोक्सोको अक्सिजन पनि भाडाकै छ
फेर्नुपर्ने श्वासै भाडामा भए पछि
बाँकी स्वामित्वको र स्वाधीनताको के कुरा गरौं र?
यता तिम्रा फोक्सामा कोरोना हुनसक्छ भन्छन्
व्याधि लिएर व्याधा हुनसक्छौ भन्छन्
तर हामीलाई एक रत्ति विश्वास छैन ख्वामित
सुकेका, नफुकेका, र पहिल्यै दुखेका
खोस्टा फोक्साहरूमा कुन जीवाणु रमाउला र खै
आफ्नै प्राणको जोखिम मोलेर ?
हाम्रो अनुभवको ज्ञानले यही भन्छ
मालिकको विज्ञानले खै के भन्छ ?
थाहा छ मालिक?
थला पर्दा पनि हुनैनाथ गुहार्यौं हामीले बरु
हंशिखर, डाणाबाग, मल्लिकार्जुन देवा पुकार्यौं बरु
हजुरका अस्पतालका दवाइमा हक दाबी गरेनौं कहिल्यै
बाँच्दा पनि बोझ हुन्छौं कि? ठान्यौ हामीले
भोक तिर्खा मेटाउन पनि परदेश छान्यौ हामीले
माटोको सौदाबाजी हुँदा पनि चुपचाप आँसु खसाल्यौ हामीले
मालिककै खातिर गुनासा जति शूल हुन्जेल पचायौं हामीले
मालिक ! आज भने अचाक्ली ऐंठन भो
मनका बह नपोखी नहुने भो
आखिर हामीले गर्न सक्ने यत्ति त हो ।
दया होस् प्रभो, हामीले गर्ने त याचना न हो।
मालिक ! अपमानको आश्रय
उपहासको आहारभन्दा
कन्दमूल कबुल छ आफ्नै कन्दराको बरु
सेतो सुगन्धहीन बालुवामा सेकिनुभन्दा
मुर्छित माटोकै सुवास लिई मर्छौं बरु
चाहे काराबास गराऊ,
चाहे एकान्तबास गराऊ
काली किनारको क्वारेन्टाइनबाट
मुक्ति दिलाई एक सर्को सास फेराऊ ।
मालिक !
काली किनारमा कारणीको काट्टो खानुपूर्व
हामीलाई हाम्रो भूमि भविताको भीख देऊ
बचाउन सकिन्न भने पनि केही छैन, मालिक
हामी सुदामाहरूलाई आफ्नो कात्रो आफैं किनेर मर्न देऊ
रोजगारको पनि चिन्ता छैन मालिक
आफ्नो मृत्यु दर्ताको प्रमाणपत्र
आफैंले झिक्ने स्वरोजगारको उर्दी देऊ
तर थकित हामी थाङ्नेहरूलाई थातथलो टेक्न देऊ ।।