वृतान्त १:
साँगा पुग्दा न्याउरीले ढाडभरी मुतिदिई। पलाउदै गरेको पसिना र न्याउरीको मुतमा चपक्कै टाँसियो उसको कुर्ता।
'अरे धनिकलाल देख त छोरी निदाएकी छ कि नाइँ।'
धनिकलालले सानी छोरी न्याउरीको मुख छोपेको पछ्यौरा पन्छाउदै भन्यो- 'हाँ सुतेकी छ।'
'बाबा हाम्रो घर कहिले आउँछ?' जेठी छोरी मेघनाले धनिकलालको अनुहारमा हेरेर प्रश्न गरी।
'धेरै हिड्नु पर्छ छोरी।'
मेघनाले पर देखिएको बनेपा बजारतर्फ इसारा गर्दै भनी- 'बाबा उ हाम्रो जनकपुर देखेँ मैले।'
'नाई-नाई छोरी, धेरै हिड्नु पर्छ तिमीले, बरु अम्माभन्दा अघि अघि हिँड।'
त्यस्तै तीन घण्टा भयो होला उनीहरु कोटेश्वरबाट हिँडेको। धन्न छ वर्ष टेकेकी मेघना फटाफट हिडेकी छ त्यतिन्जेल।
'सालाहरु नगरिक्ता माग्छ। सधैँ भिरेर हिड्ने के लुंगिया हो नगरिक्ता?'
बुधनदेवी फेरि हिजो सम्झिएर रिसाई। प्रशासनको आफ्नो प्रकृया होला, तर पेट भोको नभई पाँच केजी चामलको लाइनमा को बस्दो होला र? धनिकलालले चोकमा चटपटे बेचेको मात्रै आठ वर्ष भयो। उसलाई चिन्ने त्यहाँ कोही थिएनन् होला र?
बुधनदेवी इट्टाभट्टामा काम गरेको देख्नेहरु त राहत बाँढेको ठाउँमै थिए। आपतमा कसैले नदेख्ने रहेछ।
उसले इट्टाभट्टाको मालिकलाई फोन पनि गरी, तर के गरोस्? उठेन। उसको मैलो आङ कसैले देखेन। उस्को भोको पेट कसैले छामेन। उ मजदुर भएको प्रमाण पुगेन। उ राहतको लाइनमा बसी तर राहत पाइन।
अरु सबै लाइन बस्नेहरु नुन, चामल र दाल लिएर फर्किए, बुधनदेवी धमिलो मन लिएर फर्किइ। न्याउरीले लुछ्दा-लुछ्दा लत्रिएको छातीभित्रको उस्को मन नराम्ररी कुडिएर आयो।
वृतान्त २:
धुलिखेल पुग्दा उसको चप्पल चुडियो। डोरीले बाँधेर काम चलाई। केही पर पुग्दा मान्छेको चहलपहल देखियो। एक जना भलाद्मी नजिकै आए र भने- 'तपाइँहरु टाढै हिड्नु भो जस्तो छ, भोकै हुनु हुन्छ भने आउनुस् खाना खाएर जानुस।'
बुधनदेवीले धनिकलाललाई हेरी धनिकलालले ठुली छोरीलाई हेर्यो। मेघना त खाना खाने ठाउँमै पुगेर अम्मालाई बोलाउदै थिई।
उनीहरु अल्मलिएको देखेर ती भलाद्मीले भने- 'आउनुस तातो खाना खाएर जानुस् पैसा लाग्दैन।'
उनीहरुले नागरिकता नदेखाइ खाना खाए। न्याउरीलाई दाल खुवाए। हिड्ने बेलामा एउटी महिला आएर सोधिन- 'भैयाहरु कहाँ पुग्ने हो?'
'जनकपुर अम्मा।' बुधनीको स्वर सुनेर ती महिलाको मुखमा कठै भन्ने शब्द मात्रै निस्कियो।
'जुस मरु ला?'
'ख ख' परबाट अघि कै भलाद्मीले चार प्याकेट रियल जुस ल्याएर धनिकलाललाई थमाए।
वर्षौँ बसेको सहरले उनीहरुलाई चिनेन। नचिनेको सहरमा बरु आफ्नै जस्ता मान्छेहरु भेटिए। बुधनीदेवीले ती भलाद्मीलाई धेरै बेर हेरी रहि। उसलाई आफ्नै बाबुको याद आयो।
बुधनीदेवी काठमाडौँ आउँदा गहभरी आँसु पार्दै एक पोका माछाको सिद्रा थमाएका थिए उसका बाबुले।
वृतान्त ३:
भकुन्डे पुग्दा घुर्मैलो साँझ परेको थियो। बजार उदेक लाग्दो देखिन्थ्यो। पारितिरका डाँडाहरु अत्यास लाग्ने अँध्यारा देखिन्थे। न्याउरीलाई धनिकलालले काँधमा राखेको थियो भने मेघना धुलिखेलबाटै बुधनीको ढाडमा निदाएकी थिई। पैताला पोलेर भतभत भएका थिए दुवैको। चुडिएको चप्पलले बुधनदेवीको बुढी औलामाथि घाउ बनाइ सकेको थियो।
बजार छिर्ने बित्तिकै चार पाँच जना केटाहरुले उनीहरुलाई रोकेर केरकार गर्न लागे।
'घर कहाँ हो?'
'जनकपुर छ हजुर।'
'ढाँट्छस? हेर्दै भेले जस्तो छ। इन्डिया कुन ठाँउ हो भन्।'
'पत्याउनुस् हजुर, हाम्रो घर जनकपुर नै छ।'
कसैले पत्याएन। बरु उल्टो तथानाम गाली गरे।
'साला तिमीहरुलाई सरकारले त्यत्रो लकडाउन गरेको थाहा छैन? के लखरलखर रोग फैलाउन डुलेको छौ? खुरुक्क भागी हाल यहाँबाट।'
एउटा मोटे मोटे केटो अगाडि सरेर धनिकलाललाई चार पाइला सर्ने गरी धकेलिदियो। धनीकलालको खुट्टा धर्रर काम्यो। काँधमा बोकेकी न्याउरी च्याँच्याँ रुन थाली।
'ओइ भेले भाग भनेको सुन्दैनस्? कस्ता अबुझहरु।'
अलि पर पुगेर धनिकलाल बोल्यो- 'रोग त यिनैलाई लागोस्। यिनीहरु मात्रै नेपाली छ? हामीलाई बिहारी देख्छ सालाहरु।'
अँध्यारो बढ्दै गएपछि बुधनीले झोलाबाट टर्च निकाली। चकमन्न सुनसान रातलाई चिर्ने गरी मेघना रुन थाली। मेघना रोएको आवाजले न्याउरी पनि ब्यूझिएर झन् कोलाहल मच्चाई। भुराहरु रोए पर परसम्म सुनिने गरी, बुधनदेवी मनमनै रोई धनिकलालले मात्रै महशुस गर्ने गरी।
'अरे धनिकलाल देखो त, त्यहाँ पर बत्ति बलेको छ।' अलि पर रोशी किनारमा बत्ती बलेको धनिकलालले पनि देख्यो। अब हिड्न सक्ने शक्ति दुबैसँग थिएन। त्यसैले त्यहि बत्ति बलेको आसपास रात कटाउने मनशायले धनिकलाल बत्तितर्फ अघि बढ्यो।
'आउनुस् साथी आउनुस्, अब अघि बढ्न सकिदैन। आज यतै रात बिताऔँ।' धनिकलाल खुसि भयो। त्यहाँ दिउँसो धुलिखेलमा भेटेका मान्छेहरु रहेछन्।
बरको फेदमा धनिकलालले आफूले बोकेर ल्याएको पाल टाँग्यो सबैलाई पुग्ने गरी। बुधनदेवीले दुबै छोरीहरुलाई जुस र बिस्कुट खुवाई। उनीहरुले भुजिया र दालमोठ खाए। धनिकलालले करक्क खुर्सानीको सित्तन टोक्यो।
बुधनदेवीले घर सम्झि। जसोतसो खानाको जोहो त हुन्थ्यो घरमा। लकडिकै भए पनि घर भनेको घर रहेछ। सहरले त उस्तै परे भोकभोकै मार्ने रहेछ।
पाल मुनी उसलाई पटक्कै निन्द्रा परेन। पैतालाहरु भत्भताई रहे। चकमन्न अँध्यारोमा सुसाइरहेको रोशीको आवाज बुधनदेवीको बेदना जस्तै झन्-झन् बढी रह्यो।
वृतान्त ४:
खुर्कोट पुग्दा बुधनदेवीको अर्को चप्पल चुडियो। उसले दुबै चप्पललाई सके सम्मको बल लगाएर पर पुग्ने गरी हुर्याइ दिई। पीच रोडमा उसका खाली खुट्टा असाध्यै टट्टाए। उसको गति अत्यन्तै कमजोर भो। पाइलाहरु साँघुरा भए। सुस्केरा फराकिलो भयो।
धनिकलालले आफ्नो जुत्ता बुधनदेवीलाई दियो। ठुलो भए पनि उसले तुना कसेर लगाई।
उनीहरु बाटो नापि नै रहे सकि नसकि। यत्तिकैमा उनीहरुको पछाडि गाडीको आवाज सुनियो। धनिकलाल पछाडि फर्किएर हेर्न खोज्दै थियो पुलिसको गाडी घर्याक्क गर्दै आफ्नै अघिल्तिर आएर रोकियो।
केही सोधखोज पछि गाडि चलाउने पुलिसले उनीहरुलाई बस्न भन्यो। दुबैको खुशीको सिमा नै रहेन। गाडीले दिउँसको मध्य घाममा उनीहरुलाई सिन्धुली बजार छाडिदियो।
'बाबा घर आयो हो हाम्रो?' गाडिबाट झर्नासाथ मेघनाले सोधि।
'भोली आउँछ।' धनिकलाल बोल्न नपाउँदै उ रुन लागी। धनिकलालले उस्लाई सम्झायो। उ झन रोई। लल्याकलुलुक परेर भुइँमा बसी।
सिन्धुली बजारमा एउटा दोकान खुला थियो। धनिकलालले दुध र पाउरोटी किन्यो। साना छोरीहरुलाई खुवाएर उनीहरु फेरी कस्सिए यात्रामा।
साँझ उनीहरु चुरेको फेदीमा पुगे। गाउँलेहरुले त्यो साँझ खान बस्न दिए अनि बिहान हिड्ने बेलामा धनिकरामलाई लगाउने जुत्ता पनि दिए। जडौरी जुत्तामा पैतालाका ठेलाहरु छोपेर उसले बुधनीलाई हेर्यो। बुधनीले उसको खुट्टा हेरी।
वृतान्त ५:
बर्दिबास पुग्दा एउटा ट्याक्टर भेटियो। ट्याक्टर खचाखच भएकोले उनीहरु अट्न सकेनन्। झुन्डिएरै भए पनि चढे। छोरीहरुलाई राम्ररी बसेकाहरुले गाह्रो मानी-मानी समातिदिए। केही पर पुग्दा बुधनदेवीको हात लल्याकलुलुक गल्यो।
उ ट्याक्टरबाट खसी। धनिकलाल हतार हतार झर्यो र छोरीहरुलाई समात्यो। बुधनदेवी उठ्न सकिन। ढाडमा दरालिएर कुर्ता च्यातिएको देख्यो धनिकलालले। आलो रगतले भिजेको कपडा उसले हेर्न सकेन।
उसले बुधनदेवीलाई विस्तारै उठायो। धनिकलालको पाखुरामा उ सुक्सुकाउँदै पल्टी। मेघनालाई धनिकलालले समात्यो। सानी छोरी आमा तिरै टाँसिई।
बुधनदेवीलाई डोर्याउदै बर्दिवास अस्पताल पुर्यायो धनिकलालले। डाक्टरले एक्स-रे गरेर हेर्यो । हातको जोर्निमा गहिरो घाउ देखियो। त्यो दिन अस्पतालकै बास भो।
वृतान्त ६:
चौथो दिन घर पुग्दा झमझम् पानी परिरहेको थियो। बुधनदेवीका बा खटियामा बसेर चुहिएको छानो हेर्दै थिए। उनले सानी नातिनिलाई काखमा लिदै सहरको खबर सोधे।
बुधनदेवीले लामो स्वास तान्दै भनी- 'न बाँच्न सकिन्छ, न मर्न सकिन्छ, अब हम काठमान्डु नाहिँ गैछल बा।'
यसरी एउटा यात्रा सकियो संभावित, नयाँ यात्रा लिएर।