‘मामु हजुरको पेटमा भाइ आको छ हो ?’ ५ वर्षकी छोरीको त्यो प्रश्नले म झस्किएको थिएँ।
‘कसले भन्यो तिमीलाई यस्तो कुरा‘ मेरो प्रश्नसँगै उसको उत्तर थियो, ‘आमा ले भानिसेको’।
‘थाहा छैन परी, त्यो कुरा अहिले थाहा हुन्न अर्को दसैंसम्म बल्ल थाहा हुन्छ है, अब तिमी दादासँग खेल्न जाऊ अहिले’।
छोरीलाई त कसै सम्झाउन सक्छु तर घरमा अरूलाई...।
भर्खर महिना नाघेको थियो, पेटमा बच्चा थियो कि थिएन नै थाहा थिएन घरमा भने छोरो जन्मिन्छ अब भनेर कुरा हुन थालिसकेको थियो।
दमक बजारमा घर थियो हाम्रो, आमा-बुवा, दाइ-दिदी (जेठाजु-जेठानी), रमेश र म, बिहे गर्न बाँकी एकजना देवर।
दाइको ७ वर्षको छोरो अनि हाम्री ५ वर्षकी छोरी, ९ जनाको परिवार अनि परिवारमा सबै जनाको आ -आफ्नै काम।
रमेश र म बैंकमा काम गर्थ्यौं। दाइको कन्सल्टेन्सी थियो अनि देवर बाबु पनि त्यहीँ दाइलाई सघाउनु हुन्थ्यो। दिदी सेकेन्डरी स्कुलको शिक्षिका, बुवा प्रिन्सिपल हुनुभएको बेलामा दिदीलाई जागिर लगाइदिनु भएको रे, अहिले चाहिँ रिटायर्ड हुनुभयो।
सबै जना शिक्षित अनि हुने खाने घर भनेर माग्न आउने बित्तिकै बाबाले बिहे गरिदिनु भएको।
हुन पनि दमक बजारमा त्यति सम्पन्न परिवार गनिनेमै पर्थ्यो। बिहे भएको दिनमा नै आमाले मुख हेर्ने बेलामा अब अर्को वर्ष त एउटा नाति पाइहाल है, तिमीहरू काम गर्नु पर्ने होला मेरो उमेर छँदै म हुर्काइदिन्छु, भन्नु हुँदा लाज लागेको थियो, तर उहाँले त साँच्चै भन्नु भएको रहेछ।
प्रत्येक पटक महिनावारी हुँदा किन सुर नगरेको तिमीहरूले भन्नु हुन्थ्यो, सुरू-सुरूमा त उहाँले त्यसो भन्दा लाज लाग्थ्यो, पछि पछि त एक किसिमको डर लाग्न थाल्यो।
अब महिनावारी हुने समय भएपछि नभैदिए हुने, महिना रोकिए पनि हुने भन्ने लाग्न थाल्यो।
बिहे भएको ८ महिनापछि मेरो महिना रोकियो।
‘बाँझी छे कि भन्ने डर लागेको थियो, धन्न महिना रोकियो’, आमाको त्यो भनाइ सुन्दा त एकछिन नि:शब्द भएँ म।
ओहो अझै २/४ महिना नछुने भैराखेको भए त मलाई बाँझी नै भनिसक्नु हुने रहेछ।
अब त ढुक्क भइयो भन्ठानेको तर महिलालाई गर्भवती भएरमात्र पनि कहाँ हुने रहेछ र!,
गर्भमा छोरा पनि पो हुनुपर्ने रहेछ। हुन त त्यो सब पहिला पहिला को मान्छेले भन्ने कुरा हुन्, अहिले २१ औं शताब्दीमा त्यस्तो कुरा हुन्न भनेर पढेको सुनेको थिएँ, तर शताब्दी फेरिएको हो, सोच फेरिएको होइन रहेछ।
‘सन्तान भए त भैहाल्यो नि है छोरा र छोरी केही फरक पर्छ र !’ मैले रमेशसँग सोधेको थिएँ।
उसको मौनताले मेरो प्रश्नको उत्तर त दियो नै सँगै ममा डर पनि पैदा भैसकेको थियो।
पहिलो बच्चा भनेर छोरा छ कि छोरी हेर्न जान त कर लगाउनु भएन मलाई तर आन्तरिक नदेखिने दबाव त कति थियो, थियो। अपरेसन गरेर छोरी जन्मँदा शारीरिक पीडा त मैले लगभग बिर्सेको थिएँ, मात्र अब घरमा के भन्नु हुन्छ भन्ने मानसिक पीडा थियो।
सामाजिक प्रतिष्ठा बचाइराख्न फेरि अर्को मौका मिलेको थियो हाम्रो परिवारलाई।
नसोचेको माया पो पाई मेरी छोरीले। सुत्केरी भेट्न आउने आफन्त साथीभाइको अगाडि आमाले परिवारमा लक्ष्मी चाहिएको थियो, यो त मेरो घरकी लक्ष्मी हो भन्नुहुँदा अचम्मित भएको थिएँ। त्यही आमा बोल्दै हुनुहुन्थ्यो जसले हाम्रो परिवारमा त छोरी पाउने चलन नै छैन, तिमीले पनि छोरो नै पाउनु भनेर आशिर्वाद दिँदा मैले निस्सासिएको महशुस गरेको थिएँ।
२ वर्ष त सबै लगभग सामान्यजस्तै भएको थियो त्यसपछि, कहिलेकाहीँ दाइको छोरालाई रमेशले लिँदै हाम्रो पनि यो परी (छोरी) छोरो भएको भए भन्ने भन्दा बाहेक।
आज छोरीको त्यो प्रश्नसँगै म फेरि अर्कोपटक मर्नुपर्ने हो कि भनेर आत्तिएको थिएँ।
मेरो पाँचौं गर्भ थियो यो, तर सन्तान त्यही एउटा छोरी। म आफैं बैंकको जागिरे, त्यति ठूलो सम्पन्न परिवार, एउटा फूल जस्ती छोरी, माया गर्ने श्रीमान, बुझ्ने घर, अरुले देख्दा त मेरो जस्तो सुखी जिन्दगी सायद अरुको कल्पना हुन सक्छ। तर अरुले देखेको सबै कुरा सत्य कहाँ थिए र!
अनि सबै सत्य सबैलाई कहाँ थाहा थियो र! यो भन्दा अगाडि ३ पटक म आफैंले गर्भपतन गराएको थिएँ। २ पटक ३ महिनामा गर्भमा छोरी रहेछ भनेर भिडिओ एक्सरे गरेर थाहा भयो अनि एकपटक चाहिँ महिना नाघ्ने बित्तिकै चाइनिज क्यालेन्डर अनुसार गणना गर्दा छोरी आयो त्यही भएर।
नगराउनु पनि कसरी, पहिलो छोरी त्यो पनि अपरेसन गर्नु परेको थियो, अब अर्को छोरा भएन भने फेरि तेस्रो पटकसम्म अपरेसन गर्नुपर्ने हुन्छ, तेस्रो पटक पनि फेरि छोरा नै हुने त केही टुंगो थिएन क्यारे।
‘केही हुन्न, मैले त पहिले नै भनेको थिएँ नि तिमीलाई बरु त्यो छोरी कै पालामा भिडिओ एक्सरे गरेर हेरेको भए हुन्थ्यो, मैले त कुशल हुनुभन्दा अगाडि २ वटा ३ महिनाको फालेको हो’।
दिदीले त्यसो भन्नुहुँदा म मेरो छोरीलाई च्याप्प समातेर रुन पुगेछु।
हरे! धन्न मैले त्यति बेलामा हेर्न गइनछु नत्र त ...।
अफिसमा साथीहरूले भने कति राम्रो जन्मान्तर छोरी ५ वर्ष भैसकी अब अर्को पाउने हैन भन्थे, आफन्त आए भने मलाई भाइ चाहियो भनेर ममीलाई भन न भन्दै छोरीलाई सिकाउँथे। रमेशलाई पनि छोरो नै चाहिएको थियो अर्को।
सबैको इच्छा अनुसार फेरि मेरो कोखमा एउटा प्राणले बास बसिसकेको थियो। तर त्यसले संसार देख्न पाउने नपाउने त ३ महिना भएपछि बल्ल निधो हुन्थ्यो।
सपना कस्तो देखेको छौ नि यो पालि, कस्तो खाना खान मन लाग्छ, छोरीको नाइटो कता फर्किएको छ, यस्तै यस्तै प्रश्नहरू हुन्थे, प्रत्येक पटक।
पढेलेखेका अबुझसँग कसको के लाग्ने रहेछ र!
छोरा र छोरी सपना, खाना, नाइटो, पेटको आकार, चिनामा छोराको भाग, भाकल आदिले होइन उनीहरूकै छोरोमा भएको x र y को आधारमा हुन्छ भनेर नबुझ्ने पनि कोही थिएनन्, तर व्यवहारमा भने...।
दिन बित्न कति समय लाग्छ र!, महिना रोकिएको ३ महिना पुग्यो। अब शनिबार भिडिओ एक्सरे गर्न जाने कुरा भयो। घरभन्दा १ घण्टा टाढा एउटा क्लिनिक थियो जहाँ लुकीछिपी गर्भमा भ्रुणको लिंग पहिचान गरिन्थ्यो।
हुन त नेपालमा भ्रुणको लिङ्ग पहिचान अनि भ्रुण हत्या दण्डनीय अपराध हो, तर अपराध त तब हुन्छ, जब त्यसलाई बाहिर ल्याइन्छ।
शनिबार बिहान खाना खाएर आफ्नै गाडीमा त्यो क्लिनिक जान भनेर रमेश र म निस्क्यौं।
म शारीरिक रूपमा त कमजोर भैसकेको थिएँ नै, मानसिक रूपमा पनि थाकिसकेको थिएँ। अब फेरि छोरी नभैदिए हुन्थ्यो, फेरि गर्भपतन गराउन न म शारीरिक रूपमा तयार थिएँ, न मेरो आत्मा नै मान्न तयार थियो।
रमेशलाई फेरि सोधें ‘अब पनि छोरी रैछ भने ...’ मेरो प्रश्न राम्रो टुंगिएको पनि थिएन।
उसले बीचमै कुरा काट्दै ‘त्यही औषधि पाइन्छ नि’ भनेर त्यति सजिलै भन्यो, मानौं ३ महिनाको गर्भ फाल्नु एउटा टाउको दुखेको औषधि खानु सरह हो।
उसले भन्नु पनि स्वभाविक थियो किनकी हामी केटी मान्छेलाई त अपरेसन गरेर बच्चा पाउँदा पनि सामान्य त हो नि भन्ने तर पुरूषले चाहिँ बन्ध्याकरणको अपरेसन गर्दा कमजोर हुन्छन् भन्ने परिवेशमा हुर्किएको मान्छे ऊ।
त्यसैले त दिदीले ७ वर्षको छोरो अनि अब अर्को बच्चा नपाउने भनेर पनि ३ महिने सुइँ लगाइरहनु भएको छ।
क्लिनिक पुग्यौं, लुकेर पैसा तिर्नुपर्थ्यो त्यहाँ, म त्यो भिडिओ एक्सरे गर्ने बेडमा सुत्दा पहिले नै काम्न थालिसकेको थिएँ, केबल भगवानलाई सम्झेको थिएँ, अब बिन्ती म पाप गर्न सक्दिनँ, मबाट फेरि अर्को चिचिलोको हत्या नगराऊ भगवान भन्दै थिएँ।
त्यो भिडिओ एक्सरे गर्ने डाक्टरले पनि चिनिसकेको थियो मलाई। तेस्रो पटक गएको थिएँ त्यहाँ। म डराएको देखेर सायद उसले बुझिसकेको थियो होला त्यसैले मलाई केही भनेन। मैले सोध्ने आँट पनि गर्न सकिनँ।
रमेशलाई भित्र बोलायो उसले अनि जे मैले सुन्न चाहेको थिएन त्यही भन्यो डाक्टरले।
मैले सबै अँध्यारो देखिसकेको थिएँ त्यतिबेलासम्म। रमेशले मलाई गएर गाडीमा बस म औषधि लिएर आउँछु भन्यो।
कस्तो समाज अनि सोच होला, श्रीमती महिनावारी हुँदा प्याड ल्याइदिनुभन्दा चाहिँ लाज लाग्ने पुरूषलाई आफ्नो श्रीमतीको गर्भ हत्या गर्ने औषधि लिन जान कत्ति लाज नलाग्ने रहेछ।
सधैंजसो यसपटक पनि रमेशले मलाई तिम्रो पनि इच्छा के छ भनेर सोध्नु जरूरी नै सम्झिएन।
ऊ मलाई त्यही छोडेर औषधि लिन भनेर गयो।
चैतको तुफान जसरि धड्किएको मेरो मुटु अनि साउनको भेल सरी उर्लिएको आँसु रमेशले त देखेन तर म भने वेगजस्तै भएँ, अब रोकिने मन थिएन मलाई। त्यसैले रमेशको पछि पछि म पनि औषधि पसलमा गएँ।
रमेशले सोध्ने लागेको थियो सायद ‘किन आएको तिमी’ भनेर मैले उसलाई हेर्दै नहेरी पसलेसँग ‘मेटासिड पनि दिनु न’ भनें।
‘यो मेडिकल हो यहाँ कहाँ पाइन्छ र!’, पसलेले भन्यो।
‘उसोभए जेले मान्छे मर्छ त्यही दिनु’ भनेर भनिनसक्दा मेरो आँखा अगाडि कालो भैसकेको थियो। म त्यहीँ बेहोस भएछु। त्यो दिन त्यही नजिकै हस्पिटलमा मलाई लगेछन्, रमेश र केही मान्छे मिलेर।
लगभग २ घण्टापछि होस आयो। छेउमा रमेश बसेको देखें।
उसले तिमीलाई कस्तो छ भनेर सोध्दा पनि एउटा छोरो पाउने मेसिन ठिक छ कि छैन भनेर विचार गरेजस्तो लाग्यो।
‘लाटी मेटासिड मलाई मार्न मागेको हो कि क्या हो?’ उसले ठट्टा गर्दै भन्यो। बोल्न कत्ति मन थिएन मलाई।
एकछिनमा आमाको फोन आयो, आमाले सायद भिडिओ एक्सरेमा के देखियो भनेर फोन गर्नु भएको रहेछ क्यारे। तर उसको उत्तरले म एकोहोरो उसलाई हेरेको हेर्यै भएँ।
ऊ मेरो हात समाउँदै भन्दै थियो,‘परीलाई भन्नु है, उसको बैनी प्रतिज्ञा अब छिट्टै आउँदै छे…’
***
नोट: सुरक्षित गर्भपतन महिलाको अधिकार हो। नेपालमा २००२ देखि गर्भपतनले कानुनी मान्यता पाएको छ, तर त्यसमा केही सर्तहरू छन्।
२०१९ मा गर्भपतनको दर प्रति हजार महिलामा ४२ रहेको पाइन्छ। सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएसँगै मातृ मृत्युदर ५८० बाट घटेर १९० प्रति १ लाख महिलामा आएको छ। जुन एउटा उल्लेखनीय उपलब्धि हो, तर त्योसँगै भ्रुणको लिङ्ग पहिचान गरेर छोरी भए भ्रुण हत्या गर्ने जुन दण्डनीय अपराध हो, विशेषगरी सहरी क्षेत्रका शिक्षित र धनी महिलाहरूमा बढी मौलाएको पाइएको छ।
एक अध्ययन अनुसार पहिलो बच्चा छोरी भएमा दोस्रो बच्चा छोरी हुने संख्या ३२५ प्रति हजार छोरा जन्मँदा पाइएको छ, जुन पहिला १०२१ थियो।
त्यस्तै अस्पतालहरूमा पनि जन्मने बच्चाहरूको संख्या हेर्ने हो भने छोरीभन्दा छोरा जन्मने दर बढी पाइएको छ। जसले छोरीहरू फुल्न नै नपाई मिल्काइन्छन् भन्ने कुरा प्रस्ट हुन्छ।