म छु तिम्रो लागि
हर पल हर घडी
साथ निभाउन जनमभरि
बाचा बन्धन गर्छु
तर एउटा सर्त छ
मलाई माया गर्नुपर्छ हृदयदेखि।
म प्यासी छु
प्रेम लिएर आऊ घैलाभरि
पिलाऊ धित मरुन्जेल
वर्षाऊ प्रेमवर्षा परेवा जोडीले जस्तै
निथ्रुक्क भिजूँ उर्वरा जगाउन
तिम्रो लागि जीवन उमार्न
खेत, बारी र टारीभरि
लहलह बाली फलाउन।
म भित्र अमृत छ
उत्खनन् गरेर निकाल पेट्रोल जस्तै
घडा भर युग युगलाई पुग्ने गरी
विस्तारै विस्तारै पान गर
मातृ स्नेहयुक्त औरा
नवौं चिरञ्जीवी बन्न
तर एउटा सर्त छ
तिमीले मलाई माया गर्नैपर्छ हृदयदेखि
सम्मान साथ दुनियाँका सामु।
मसँग जे छ
त्यो तिमीसँग छैन
तर पनि म सधैँ तयार छु तिम्रो लागि
फूल फुलाइरहन ढकमक्क बगैँचाभरि
सौन्दर्य र सुवास छर्न,
चन्द्रसूर्य फहराइरहन सगरमाथाबाट
दुनियाँलाई चिनाउन
शिर ठाडो पारेर,
शान्तिको सन्देश उद्घोष गरिरहन
संसारभर लुम्बिनीबाट
गौतम बुद्धको धर्ती भन्न
तर एउटा सर्त छदैछ
तिमीले मलाई माया गर्नै पर्छ हृदयदेखि
मैले सन्चो मान्ने गरी दुनियाँसामु।
अनि
ममताकी भोकी म
सुम्सुम्याउँदै छातीमा टाँस्नु पर्छ
नवजात शिशुलाई आमाले जस्तै
मातृत्वको न्यानो रापमा,
तिमीले छोप्नु पर्छ
बाजहरु रिङिरहँदा
पोथीले चल्ला छोपेजस्तै
तिमीले ढाक्नुपर्छ
स्यालहरु घुमिरहँदा
माउले बच्चा ढाकेजस्तै
तिमीले मलाई मायाँ गर्नैपर्छ मनैदेखि
छर्लङ्ग देखिनेगरी
ऐनामा मुहार देखिए जस्तै
र पो देखिनेछ तिम्रो वैभव
फेवातालमा माछापुच्छ्रे पौडिखेले जस्तै
दुनियाँले थाहा पाउने गरी
जुनि जुनिसम्म, पर परसम्म।