कविता
हरेक बिहान
घाम उदाउनु पूर्व नै
खोलेर मनका झ्याल ढोका
सल्काएर आशाको मग्मगाउदो धूपबत्ती
उदाउॅंदो सूर्यसॅंग बात मारिरहेका
तिम्रा नै हुनुपर्छ यी सुन्दर एक जोर आँखा
लहरै गमलामा फक्रिएका फूलका बोटहरुमा
मग्मगाइरहेछ तिम्रै पसिनाको सुगन्ध
घामको उज्यालोसँगै
आँगनमा जम्मा भएका यी
परेवा र भँगेराका बथान
चारो खोज्न आएका हुन् या आएका हुन्
तिम्रो उदात्त मातृत्वको न्यानो घाम ताप्न?
भान्साबाट हरर्र मगमगाइरहेको मिठो बासना
तिम्रै जादुमय कलाको विस्तारित तरंग हुनुपर्छ
कार्यालयको फ्रन्ट डेस्कमा
आगन्तुकलाई स्वागत गरिरहेको हँसिलो अनुहार र
कि-बोर्डमा बिजुली बेगमा नृत्यरत ती मसिना औँलाहरु
तिम्रा नै हुन्, नितान्त तिम्रा।
दिन रात नभनी
अस्पतालका शैँयामा रोगीका घाउहरुमा
मलहम पट्टी बाँधिरहेका
तिम्रा नै हुन् ती गुनिला हातहरु
ए नारी,
तिम्रो सौन्दर्य र शिल्पले स्पर्श नगरेको
कुन ठाउॅं छ र बाँकी यो धर्तीमा?
तिम्रो हृदयको विशालता सामु
स्वयम् विशाल धर्ती पनि
आफ्नो सीमाको लघुताभासले झुक्दछ
तिम्रो प्रेमको न्यानो अंगालोले बाधिन्छ
आकाशको अनन्तता
प्रतिस्पर्धा गर्ने आँटै गर्दैन
छंगछंग बग्ने झरनाहरु तिम्रो
संवेदनाको बहाबसँग
तिमीबाट नै सिकेको हुनुपर्छ हिमालले
जस्तोसुकै प्रतिकूलतामा पनि दृढ आत्मविश्वासले उम्भिन
तिम्रै भर्भराउॅंदो सुन्दरताको आभाले
उज्यालिन्छन् फूलहरु
हरेक घरमा तिमी
उषा भएर उदाउछौं र
धरती बनेर अंगाल्छ्यौ जीवनका सुख दु:खलाई
चुक घोप्टिए जस्तो अध्यारो रातमा पनि
शीतल जून बनेर छर्दछ्यौ प्रेम
र त सम्भव भएको हो धर्तीमा
सिर्जनाको लहलहाउदो सुन्दर खेती
अजस्र प्रेमको अंकुरण र
उदात्त मानवताको सीमाहीन विस्तार।