कविता
छोरा तिमीले
सपनाहरु रोप्नु
मलजल गर्नु
गोडमेल गर्नु
फल्छन्, अवश्य फल्छन्
तिमीले सोचेका जस्तै
सपनाका राता स्याउहरु
उसको बुढो बाउले
यति भनेपछि
कलिलो मनलाई
मलिलो बनाएर
उसले रोपेको थियो
उज्याला सपनाहरु
जिन्दगीका रंगीन क्षितिजहरुमा
फलाउन खोजेको थियो
खुसीका लटरम्म लहराहरु
ठिक त्यही समय
एक क्रुर हिटलरले
सपना रोपेकै उसको बारीमा
कुविचारका
'फ्याट्म्यान' र 'लिटिल ब्वाय' खसालिदिएपछि
उम्रन सकेनन्
दुबोजस्ता बलिया सपनाहरु
मनको हिरोसिमा र नागसाकीमा
बरु सपनाहरु रोपेकै
उसको बारीमा
अरु कसैले
आगो पनि रोपिदिएपछि
अचेल उसको बारीमा
उसका सपनाभन्दा बढी
आगोको लप्काहरु फलेका छन्
छोरा तिमीले
शिरमा सभ्यता राख्नु
आत्मामा आदर्श राख्नु
नयनमा नेपाल राख्नु
उसको बाले
त्यो पनि सिकाउनु भएको हो
बाले सिकाए जस्तै
छोरा शिष्ट हुन चाहेको थियो
पवन जस्तै पवित्र हुन चाहेको थियो
नीर गगन जस्तै निर्मल हुन चाहेको थियो
अकस्मात! समयको चक्रब्युहले
कालिदासलाई बदलेर
रत्नाकर बनाइदिएपछि
उसको नशामा
सभ्यता शालिनता सुन्दरताको
कुनै अंश बग्दैन
बरु अचेल उसको नशामा
आगोका नदीहरु बग्दछन्।
परिवर्तनका पाना पल्टाउदा पल्टाउदै
बा ढल्नु भएको हो
उसको बा ढल्नु भएको केही समयमै
उसको आदर्श पनि ढलेको छ
उभिनै नसक्नेगरी
च्यातिएका छन् मनका गह्राहरु
भत्किएका छन् आँखाका डिलहरु
अब त
धेरै भयो खुसी फल्न छोडेको
मनका करेसाबारीहरुमा
जिन्दगीका अँध्यारा खेतहरुमा
र त बाँचिरहेको छ
आगो पिएर वर्षौंदेखि
एक शहिदको छोरा।