डिसेम्बरको रात म पाँचतले अपार्टमेन्टको पाँचौँ तलाबाट बाहिर हिउँ परेको हेरिरहेको थिएँ। छोरो अगिनै निदाइसक्यो। रातको एक बजिसक्यो। मलाई भने निन्द्रा लाग्ने छाँटकाँट छैन। कामबाट फर्कने श्रीमानको प्रतिक्षाको व्यग्रताले।
सधैँ एघार बजे आइपुग्ने उनी आज एक बजिसक्दा आइपुगेका छैनन्। केही अगाडिसम्म त हिउँ परेकाले ढिला भएको होला जस्तो लागेको थियो। जति-जति समय घर्किँदै थियो, उति उति डर तीव्र हुँदै थियो।
एकाएक डरले सितांग हुन्छु म। डरको ज्वारभाट छातीको बिचोबीचबाट कुदेर तीव्ररूपमा तालुदेखि पैतालासम्म पुग्दा म जाडोले कामेछु। डरले नै त होला ओठतालु सुकेको। घरि उठेर झ्यालमा गएर उभिन्छु। थाके झैँ हुन्छु र पुनः खाटमा आएर बस्छु।
प्यास लागे जस्तो हुन्छ, पानी खान्छु। पिसाब लागेझैँ हुन्छ। अपार्टमेन्टको ढोका खोलेर हेर्छु। सुनसान चकमन्न छ हलवे। केहीबेर हेरिरहन्छु। अनि थाकेर पुनः ओछ्यानमा आएर पल्टन छु। एकैछिन आँखा लागेछन् कि के हो? झसंगै बिउँझिएँ कसैले ढोका ढक्ढकाएको आवाजले।
मन हलुंगो भयो। हत्त न पत्त ढोका खोलेँ। कोही छैन। उस्तै चकमन्न छ बाहिर। मनको तर्कना पो रहेछ। दश मिनेट पो भएछ। पुनः झ्यालको पर्दा उघारेर बाहिर हेरिरहेँ। छपक्कै हिउँ फुलेका रूखहरू। कति राम्रो देखिएको बत्तीमा हिउँ परेको!
बार्दली हिउँमा पुरिइसकेको थियो। फाट्टफुट्ट मान्छे र एक्का दुक्का गाडीबाहेक सुनसान छ बाहिर, आफ्नै मन जस्तो। परपरसम्म हेर्न खोज्ने बेग्र आँखा अनि बाचाल मन हिउँका थुंगासँगै चिसिएर भुँइमा पछारिन्छन्। चिसोले एकअर्कामै बेरिएका हिउँका थुप्रामात्र देखिन्छन् दृष्टिभरि।
म पनि छोरोलाई हिउँले झैँ बेरेर सुतेँ। निदाउने उपक्रममा। हिउँ परेको देखेको पनि त क्यानडा आएर नै हो। काठमाडौँमा हिउँ पर्दैन। पहिलो पटक हिउँ पर्दा छोरोलाई लिएर कसरी कुदेकी थिएँ। अहिले सम्झिँदा लाज लागेर आउँछ।
नोभेम्बर नै थियो सायद, छोरोलाई लिन गएकी थिएँ। स्कुलबसबाट छोरो ओर्लँदै थियो, एक्कासी धुलोजस्तो केही उडेर आयो। पल प्रतिपल त्यो बाक्लो हुँदै गयो। ज्याकेट र टोपीमा थुप्रिदै जाँदा पो हेक्का पाएँ हिउँ परेछ भनेर। हडबडाएँ। हत्त न पत्त छोरोलाई टिपेर टाप कसेकी थिएँ।
अहिले पनि लाजले अनुहारका मांसपेशी लाल भएर आउँछन्। हुन त टोरन्टो आएको जम्माजम्मी सात एक महिना त भएछन् तर मैले भने धेरै पटक यस्ता लाजमर्दो अवस्थाको सामना गरिसकेकी छु। केही बिर्सिएँ तर केही भने ताजै छन्।
जिन्दगीको सिकाइ न हाइट एन्ड डिस्टेन्सको जस्तो अजुम्सन गरेर हल गर्न मिल्ने न त ट्रिगोनोमेट्रीको जस्तो आरएचएस बराबर एलएचएस नै बनाउन मिल्ने। न त मौसम जस्तो पूर्वानुमान गर्न मिल्ने। कति सहज हुन्थ्यो होला यदि त्यस्तै भैदिए।
जिउँनुको पनि बेग्लै मजा हुन्थ्यो कि? फेरि लाग्छ, जिन्दगी त झरी परेको अँध्यारो रातमा सुनसान सडकमा गाडी चलाए जस्तो पो होकी? गाडीको मधुरो प्रकाशमा जति परसम्म देखिन्छ, त्यसैलाई आधार बनाएर अगाडि बढ्दै जानुपर्ने।
सबैलाई र सधैँ यस्तो नहोला तर यस्तै भएको छ मलाई अहिले। जिन्दगीलाई पुनः शून्यबाट अगाडि बढाउनु परेकोले पो होकि? तीन दशक लगाएर आर्जित ज्ञान र सीपको डुँगा बनाएर सात समुन्द्र पार गरुन्जेलसम्मका लागि मात्र उपयोगी सावित भयो।
बिल्कुलै फरक पृष्ठभूमिबाट आएका हामी जस्ताका लागि अगाडि बढ्न सोचेजस्तो सरल पक्कै थिएन र छैन पनि। समाउने हाँगो र टेक्ने खुड्किलो नभएका हामी सूचनाको अभावमा सधैँ समस्याहरूको घेराबन्धीमा पर्दा रहेछौँ।
एउटालाई बल्ल बल्ल पन्छायो, अर्को ढोका ढक्ढकाउन आइपुगी हाल्थ्यो। कहिलेकाहीँ त लाग्थ्यो, दुनियाँका सबै अप्ठ्याराहरू मेरै मात्र ढोका बाहिर कुरिरहन्छन् लामबद्ध भएर। अनि मनमनै सोच्छु, बसाइसराई पनि कम्प्युटरको रीसेट बटन थिचेझैँ रहेछ। पुनः डिफल्ट मोडमा फर्कनु पर्ने।
बसाइसराई कुनै पनि हिसाबले सहज हुँदैन। मजबुतसँग माटोमा गाडिएका जिजीविषालाई उखालेर अन्तै सार्नु सहज पक्कै हुँदैन नै। सात समुन्द्र पार गर्दा बोकेर आएका झिटिगुन्टा पर्याप्त नहुने रहेछ।
तीन ज्यानको आधारभूत आवश्यका धान्ने गुन्टा बोकेर आएका थियौँ। कामसाम सुरु गरेपछि यही थपौँला भनेर। तर थप्ने काम सोचेजस्तो सहज रहेन सात महिना बितिसक्दा पनि। रित्तो कोठाका भित्ताहरूले गिज्याइरहेझैँ लाग्छ।
केही समय त मझेरीमा पत्रिका ओछ्याएर पनि गुजारा गरियो। कोही आइहालेको भएपनि न ओछ्याउने चकटी थियो न बस्ने मेच नै। बेसमेन्टको अँध्यारो चिसो छिँडीमा के दिन के रातको! सधैँ गुफापसे जस्तो मात्र हुन्थ्यो।
यो कोठामा सारेपछि भने केही नेपालीहरू चिनिए, केही साथी पनि भए। चिनिएका मध्ये काका र काकी, उमेरले पाका उहाँहरू कमै घुलमिलाउन रूचाउने। देखादेख हुँदा पनि हत्तपत्त नबोली हाल्ने। नयाँ नयाँ भएर होला आफूलाई भने नेपाली भनेर चिनेपछि बोलिहाल्नु पर्ने जो कोहीसँग।
म आफै बोल्थेँ भेट हुँदा उहाँहरूसँग। अचेल राम्रै भेटघाट र गफगाफ हुन्छ हाम्रो। तर पनि उति साह्रो आत्मिय नभए झैँ, अझै अपरिचित झैँ, खै किन हो! एउटै बिल्डिङमा बस्ने हुँदा चाहेर नचाहेरै पनि कही न कही त भेट भैरहन्थ्यो।
एकदिन काका-काकी एलिभेटरमा भेटिए। कुरै कुरामा मैले सोधेँ 'काम पाउन त निकै गाह्रो रहेछ टोरन्टोमा। दुवैको काम नभएर हैरान भैयो। के गर्ने होला?'
टिठलाग्दो मेरो गुनासो सुनेर काकाले भने 'एउटा एजेन्सी छ, त्यसले पक्कै काममा पठाउँछ। म ठेगाना र फोन नम्बर दिन्छु आऊ मसँग। तर पहिला घरबाटै फोन गरेर मात्र जानु नि।'
म उनीहरूको अपार्टमेन्टमा गएँ। कोठामा छिर्ने बित्तिकै दायाँ तिर लेदरको सोफा, बडेमानको टिभी, टिभी अगाडि टेलीफोन अनि कुनामा डाइनिङ टेबल। झ्यालमा मनिप्लान्ट अनि डलर पाल्न्ट।
'कति राम्रो रहेछ हजुरहरूको कोठा।'
न खाउँ भन्दाभन्दै काकीले चिया पकाएर ल्याउनु भयो। केहीबेर बसेर म हिडेँ। घर आएर तुरून्तै फोन गरेँ। श्रीमानको काम त भोलिपल्टबाटै सुरु भयो। नर्थयोर्कको एउटा फ्याक्ट्रीमा।
उनीले काम गरेको एक महिना जतिपछि छोरोलाई काम नजिकैको डे-केयरमा राखेर मैले पनि काम गरें त्यो फ्याकट्रीमा, तीन महिना जति। महिना दिनपछि श्रीमान् सेक्युरिटी गर्न थाले। म छोरो लिएर जाँदै थिएँ। केहीपछि फ्याक्ट्री नै बन्द भयो।
अभावले मानिसलाई लोभी बनाउदो रहेछ। लोभले मानिसलाई अन्धो बनाउँछ। बुद्धी र विवेकले अन्धो। जब मानिस बुद्धी र विवेकले अन्धो हुन्छ, दुःख बेसाउनु पर्दैन। प्याकेजमै आइपुग्छ।
सधैँ झैँ त्यस बिहानी म छोरोलाई स्कुल पुर्याएर फर्कदै गर्दा पहिलो पटक देखेकी थिएँ त्यो टिभी ढोका अगाडि। त्यो टिभी त्यहाँ हप्ता दिनसम्म थियो। ढोका खोलिने प्रतिक्षारत झैँ देखिन्थो। मैले जीवनमा पहिलो पटक त्यो टिभी देखेर लोभ जागेको थियो।
महंगो टोरनटोमा कमाईको आधाभन्दा बढी त घर भाडामै जान्छ। त्यसपछि लामो बिलको लिस्ट। एकजनाको कमाईले दैनिकी चलाउनै धौधौ छ, अरू फुर्मासी गर्ने त सोच्न पनि सकिन्न। त्यो टिभी भित्र्याउने चाहना दिनानुदिन तीव्र हुँदै गयो।
आफूभन्दा अरू नै कोहीले टिपेर लैजाला भन्ने भयले बसीभूत मैले आज राति नै लैजाने निर्णय गरेँ मनमनै। र रातको शून्यतालाई साक्षी राखेर बुढाबुढीले मध्यरातमा त्यो टिभी लिएर आयौँ। टिभी त ल्याइयो न पावर केबल न रिमोट।
तैपनि हामी पुलकित थियौँ। डंगडंग्ती खाली कोठाको मध्यभागमा राखेको टिभी निहाल्दै। र भोलिपल्टै क्यानेडियन टायारमा गएर पावर केबल रिमोट र एन्टिना पनि किनेर ल्यायौँ। तर टिभी चलेन।
केही दिनपछि नै हो क्यार छोरोलाई स्कुल पुर्याएर फर्कदै गर्दा काकी एलिभेटरमै भेटिइन्। हामी गफिन थाल्यौँ। एलिभेटरको बटन थिचेन छौँ। एलिभेटर बेसमेन्टमा गएर रोकियो। एक होचो कदकी महिला चढिन्।
काकीले उसलाई रीमी भनेर सम्बोधन गरिन्, उसले हाई भनी अनि मैले पनि आफ्नो परिचय सहित हाई भनेँ। काकीले उसलाई धेरै दिन नदेखेकोमा जिज्ञासा पोखिन्। उसले कामविशेषले सहरबाहिर गएको सुनाइन्। साथै त्यही समयमा उसको ढोका अगाडिबाट टिभी हराएको गुनासो सुनाइन्।
म त सिताङ्गै भएँ। पैतालामुनिको जमिन खस्कँदै गएझैँ आभाष भयो। उभिन नै सकस हुन थाल्यो। डरले हो कि ग्लानीले हो। मेरो हडबडीले गर्दा शंका नहोस् भनेर निकै कठिनले सम्हालिएँ। र एलिभेटरबाट निक्लेर हत्त न पत्त बाई भनेर हिँडेँ।
हप्तादिन बितिसक्दा न टिभी नै हेर्न पाइयो। अनाहकमै बीस-तीस डलर खर्च गरियो। त्यतिमा त टिभीनै आउने रहेछ नि। खाइ न पाइ दुःख बेसाइ नै भयो। उनी आउने बित्तिकै त्यो टिभी त्यही लगेर राखिदिनु पर्छ भन्दै म भान्सामा व्यस्त भएँ। जति जति साँझ घनिभूत हुँदै गयो, मन मेरो उति उति व्यग्र हुँदै गयो उनको प्रतिक्षामा।
अहिले पनि त प्रतिक्षारत नै त छु म। हिजो बिहान काममा निस्केका श्रीमानको खुटखबर केही छैन, बीस-बीस घन्टासम्म। यो बिरानो देशमा एकअर्काको आडभरोसा त छ अगाडि बढ्नका लागि। त्यही नै नरहे के गर्ने होला? मनै अमिलो भएर आउँछ।
डर र व्यग्रताले ओठतालु सुक्छन्। घरि घरि पानी पिउँछु। घडी हेरेको एक मिनेट पनि भएको हुँदैन, पुनः नजर त्यतै पुगिहाल्छन्। निर्दयी समय पनि मलाई नै दुःख दिन उद्धत भएर एकै ठाउँमा टक्क अडिएको छ। मेरो मन झैँ।
प्रतिक्षारत हुनु पनि सजाय भोग्नु जस्तै रहेछ। झन् प्रतिक्षारत व्यक्तिको अवस्था र अवस्थिति अज्ञात हुँदा त यो सजाय बिछ्ट्टै कडा हुने रहेछ। त्यसमाथि रातको निष्पटता सियोझैँ बिझ्दो रहेछ मनमस्तिष्क भरी। अनि जति नै सकारात्मक हुन खोजे पनि नसकिने रहेछ।
शंकालु मन, अनेकौँ शंका उपशंका लाम लागेर आउँछन् मनभरी। पालैपालो आउँछन्। मन मस्तिस्कलाई चाल्नो झैँ छिया छिया पारेर जान्छन्। थिल थिल पारेर रूवाएर जान्छन्।
बाहिर हेर्छु हिउँ उसैगरी झरीरहेछ निरन्तर। सुनसान सडक लमतन्न सुतीरहेको छ परपरसम्म यात्रीको प्रतिक्षामा। म जस्तै। उनी झट्ट मेरो सामुन्ने आए अंगालोमा बेरी धितमरून्जेल रून्थेँ। मुटुभरीको माया खनाइदिन्थेँ। मिर्मिरे उज्यालो भैदिए पनि कहीँ न कहीँ गएर फोन गरिमाग्थेँ।
अहिले त जाँउ भने पनि आधा रात नै छ फेरि छोरोलाई कसरी एक्लै छोडेर जानू? छोरोलाई हेर्छु, करूणा पग्लेर आँखाभरि छचल्कियो र सुस्तरी उसको निधारमा म्वाइ खाएँ।
जति नचाहे पनि मेरो मन घरिघरि त्यही टिभीकान्डमा रूमलीरहन्छ आज। मध्यरात उनी घर आएपछि हामीले टिभी त्यही लगेर राखिदियौँ। मैले ढोकामा बसेर रेकी गरेँ। उनले लगेर राखिदिए। साथसाथै एउटा गुमनाम अपोलोजी नोट पनि उनको ढोकामुन्तिरबाट छिराइदियौँ।
कति हलुंगो महशुस गरेका थियौँ। एकदुई दिन त्यो कोठा अगाडिबाट हिड्दा पनि असहज महशुस हुन्थ्यो। यस घटनाको निकै दिन बितिसकेको थियो र हाम्रो मानसपटलबाट लगभग बिलुप्त भैसकेको थियो।
शनिबारको दिउँसो कसैले ढोका ढक्ढकायो। मैले ढोका खोलेँ। हातमा त्यही अपोलोजी नोट लिएर तिनै महिला उभिएकी थिइन्। के भन्ने, के नभन्ने! म अक्क न बक्क भएर उनलाई हेरीरहेँ। उनी पनि निशब्द उभिइरहिन् संघारमा।
मैले अकमकाउँदै सोध्न खोज्दै थिएँ। उनले सोधिन् 'के म भित्र आउन सक्छु?' मैले मेरो श्रीमानलाई हेरेँ। के गरौँ भन्ने भावले। उनले हुन्छ भन्ने भावले इशारा गरे र मैले ढोका खोल्दै भने 'आउनुस्।'
असमन्जसको सांग्लो तोड्दै मैले भनेँ 'हामीलाई निकै पछुतो लागेको छ बिना अनुमति तपाईको टिभी लिएर आएकोमा। तपाईको असुविधाको लागि क्षमाप्रार्थी छौँ। हामीले अन्जानमा गल्ती गर्यौं। हामीलाई माफ गरिदिनु होला प्लिज।'
मेरो श्रीमान प्रस्ट्याउँदै भने 'हामीबाट गल्ती भयो तर तपाईलाई सामना गर्ने हिम्मत नै भएन। तपाईको सामना गर्दा कतै स्थिति बिग्रेला तर माफी त माग्नु नै थियो। यो नै सजिलो उपाय ठानेर नोट दियौँ।'
मैले चियाको कप उनलाई दिँदै भनेँ 'त्यो टिभी धेरै दिन बाहिरै थियो। सायद फाल्न राखेको होला भनेर हामीले लिएर आयौँ। तपाईलाई एलिभेटरमा भेटेपछि कुरा सुने पो थाहा पाएँ। अनि तुरून्तै लगेर त्यही राखिदियौँ।'
मैले कुरा अझै प्रस्ट नभएको महशुस गरेँ र प्रस्ट्याउनु जरूरी ठानेँ। केहीबेर हामी बीच मौनता मात्रै विचरण गरिरह्यो। चियाको सुर्को मात्रै बोलीरह्यो। एक्कासी मलाई अंगालो मार्दै रूदै 'यो चिठीको लागि धेरै धेरै धन्यवाद।'
हामी अक्क न बक्क भएर उनलाई नै हेरिरहेको थियौँ। उनी केहीबेर रोइरहिन्। 'तपाईको यो नोटले मेरो जीवनको ठूलो समस्याको हल निकाली दियो। अन्धकार मेरो जिन्दगीमा सम्भावनाको प्रकाश ल्याइदियो।' हामी त छक्क परेर उनलाई एकटकले हेरिरह्यौँ। उनले आफ्नो जीवन कथा यसरी सुनाइन्।
कहिल्यै नसुत्ने महानगरीमा जीवन पनि एक्सप्रेस रेलजस्तै द्रुतगतिमा कुद्छ। गतिमिलान गर्न सक्ने रेल चढ्छन्, नसक्ने किनारामा बसेर चुक्चुकाउँछन् र दॄष्टिपटलबाट अलप नहुन्जेल हेरिरहन्छन् कास... भन्दै। तीमध्ये एक हुँ म।
एकअर्काप्रतिको अविश्वास र शंकाले हाम्रो वैवाहिक सम्बन्ध दुर्घटनाग्रस्त भयो। हामी हाइस्कुलपछि नै लिभिङमा थियौँ। पाँच वर्षअघि बिहे गरेका थियौँ। एक वर्षजति हाम्रो सम्बन्ध निकै सुमधुर थियो। त्यसपछि विस्तारै हामीबीच अविश्वास बढ्न थाल्यो।
हामी एकअर्कालाई शंकाले हेर्न थाल्यौँ। सुरुआत भने मैले नै गरेँ। एकदिन म कामबाट फर्कदै गर्दा मैले उसलाई एकजना केटीसँग हात समाउँदै हिडेको देखेको थिएँ, किङ स्ट्रीटमा। मैले उसलाई निकै सामान्य तवरले नै सोधेको थिएँ। तर उसले निकै एग्रेसिभ भएको थियो।
नजर झुकाएर रिसाएको झैँ गरी मबाट भाग्न खोजेको थियो। त्यो पल पहिलो पटक मैले उसलाई शंकाले हेरेको थिएँ। मेरो मनमा शंका टुसाएको थियो। त्यसपछि पनि म उसलाई जिस्काइरहन्थेँ। एकदिन मैले शंका गरेको भनेर उसले मसँग झगडा गरेको थियो अकारण।
त्यसपछि ऊ मसँग कम बोल्ने, घर ढिला आउने अनि मप्रति धेरै चासो नराख्ने गर्न थाल्यो। मैले गुनासो गर्दा सोझै इन्कार गर्थ्यो र मनै शंकालु भएर त्यस्तो अनुभव गरेको भन्थ्यो। म भने उसको व्यवहारले चिडचिडा र झगडालु हुँदै गएँ।
एकदिन ऊ घर ढिला आयो। म सोफामा पल्टेर टिभी हेर्दै थिएँ। ऊ कोट फुत्त फालेर वासरूम गयो। उसको कोटबाट निकै कडा लेडिज पर्फ्यूमको गन्ध ताजै थियो। साथसाथै कसैको सुनौलो कपाल पनि देखेपछि मलाई पक्का भयो कि उसको पक्कै अफयर छ।
ऊ वासरूमबाट निस्केपछि सोधेँ 'कहिलेदेखि तिमीले लेडिज पर्फ्यूम लगाउन थाल्यौ?' उसले जवाफ दियो 'होटलमा नयाँ ब्रान्डको पर्फ्यूम ल्याएको थियो, त्यही प्रयोग गरेको थिएँ। लेडिज पो हो यो?' अन्जान झै प्रतिप्रश्न गर्यो उसले।
मैले कपाल देखाउँदै सोधेँ 'यो कपाल नि?' ऊ रिसले आगो भयो 'शंकाले तेरो बुद्धि डढाइसक्यो। म ट्रेनमा आउँछु। भीडभाडमा जसको कपाल पनि झर्न सक्छ नि।' त्यसपछि म रूदै सुतेँ सोफामा भररात। पहिले जस्तो ऊ मलाई फकाउन आएन।
पूरै रात मैले रोएर बिताएँ। सायद ऊ आउँछ कि भन्दै। तर ऊ आएन। त्यसपछि केही दिन हाम्रो बोलचाल भएन। बुढाबुढीको झगडा परालको आगो। दिन बित्दै जाँदा हामी पुनः उस्तै भयौँ। दैनिकी व्यस्त हुँदै गयो। समरको मौसम फुत्त आयो र सुत्त गयो टोरन्टोमा।
समरभरि अनेकानुन रमझम, भ्याकेसन र क्यामपिङ गर्दै बित्यो। सायद अगस्टको महिना थियो, ऊ एकरात घर आएन। नाइट सिफ्टमा केही समस्या भएर भन्थ्यो। भोलिपल्ट मेरो पनि छुट्टी थियो। ऊ सुत्न गयो, म धुने लुगा जम्मा गर्दै थिएँ।
धुनुभन्दा पहिला कपडाको खल्ती छाम्ने मेरो बानी नै हो। त्यसदिन मैले उसको कोटको खल्तीमा लेडिज अन्डरवयर फेला पारेँ। म रिसले आगो भएँ। मलाई उसले खेलौना झैँ खेलाइरहेको सम्झेर ग्लानी र अपमानको रन्कोले म चुरचुर भएँ।
त्यही दिन पहिलोपटक हामी हात हालाहालमा उत्र्यौँ। हाम्रो शंका र अविश्वासले चर्केको मन टुट्यो। हाम्रो मन फाट्यो। हाम्रो माया छताछुल्ल भएर छिमेकीको आँगनदेखि पुलिसचौकीको चार दिवारसम्मै पोखिन पुग्यो। हामी आफै मलामी भएनौँ, हाम्रो मायाको अवशानमा। किनकी हामी दै जेलमा थियौँ, घरेलु हिंसाको आरोपमा।
समय बित्दै जाँदा शंकाले जलेका गृहस्थिका भग्नावशेसहरू मनको ऐनामा धुलमिलाउँदै प्रतिबिम्बित हुन थाले। रिसको बबन्डर समयको शैलाबसँगै सिथिल बन्दै जाँदा विध्वंशको भयानक दृश्य किस्ता किस्तामा मनको क्यानभासमा बिम्बित हुँदै गयो।
समुच्च बिम्ब निकै रौद्र तर बिक्रित थियो। घरका भित्ता भित्ता हाम्रो वैवाहिक घाउबाट निस्रित रगतका टाटाले पलपल गिज्याइ रहन्थे। तर मैले कहिल्यै नजर उठाएर ती टाटाहरूलाई हेर्ने हिम्मत जुटाइनँ। तिनलाई पखाल्ने साहस आएन। निकै लामो समयसम्म।
तर आजभोलि म ती अतितका टाटाहरूलाई सुमसुमाई रहन्छु। न सम्बन्ध निर्माण एकतर्फी हुन्छ न विनाश नै। हरेक सम्बन्धको मियो दुवैमा निर्भर हुन्छ। त्यसैले त हरेक विवाहिता जोडी सहयात्री हुन। अर्धांगी हुन। दुवैको प्रयासले सम्बन्ध फल्छ फुल्छ।
विपरित दुवैको अकर्मन्याताले सम्बन्ध टुट्छ पनि। समबन्धमा दरार आउँदा एउटा आगो भए अर्को पानी हुनु पर्ने हो। दुवै आगो भैदिँदा जलेर खरानी हुनु सिवाय के नै पो शेष रहला र? म आगो हुँदा ऊ कहिल्यै पानी भएन न ऊ आगो हुँदा म नै हुन सकेँ।
झगडाको ओखती चुप्पी कदापी हुन सक्दैन। उसको चुप्पीले मेरो रिसमा घिउ थप्ने काम गर्दथ्यो। र म झन् झन् शंकालु हुँदै गएँ। अन्तत हाम्रो सम्बन्धको निकै दर्दनाक अवशान भयो। जेलको कालकोठरीमा। केही दिनपछि हामीले एकअर्का विरुद्धको आरोप फिर्ता लियौँ। र छुटियौँ सदाका लागि।
बालापनदेखिको हाम्रो प्रेमको मलामी पनि हुन सकेनौँ। उसलाई के भयो थाहा छैन, म भने पश्चातापको भूमरीमा पल पल मरिरहन्छु। समयले सबै घाउ पुर्छ भन्थे तर वर्षौं बितिसक्दा पनि मेरो घाउमा खाटा बसेन। ऊसँग माफी माग्न मनलाग्छ तर सामना गर्ने हिम्मत जुट्दैन। तपाईको यो नोटले मेरो द्विविधा दूर गरिदियो। आजै एउटा अपोलोजी लेटर पोस्ट गरेर आएकी। त्यसको लागि धन्यवाद भन्न आएकी म।
सम्बन्धलाई मनको ऐनामा सजाउँदा कति पुलकित हुन्छौँ हामी। हाम्रा आन्तरिक सम्बन्धहरूको साक्षी। हाम्रा रतिरागात्मक पलहरूको एक्लो राजदार। तर फगत एक शंकाको कम्पनले चुरचुर भएर मझेरीमा असरल्ल मृत कणहरू। हामी पनि जनावर नै हौँ भनेर चिच्याइरहेका मन-मन भित्रका पाश्विक प्रवृत्तिका घोतकहरू।
त्यसपछि पनि उनी आइरहन्थिन्। हामी कहिले आशाका कहिले निराशाका कुरा गर्थ्यौं। उनी मेरी पहिलो क्यानेडियन साथी थिइन्। उनैले हामीलाई थ्रीफ्ट स्टोर लगेकी थिइन् पहिलो पटक। र टिभी र डाइनिङ टेबल पनि किनिदिएकी थिइन्।
हाम्रो नियमित भेट भैरहन्थ्यो। त्यस दिन उनी दुखी आँखा, हतास मन अनि गह्रौ पाइला लिएर भित्र पसिन्। हामी निशब्द चिया पिइरहँदा पहिलो पटक उनको आँखामा नैराश्यता घनिभूत हुँदै गरेको देखेकी थिएँ।
मलाई भन्न मन थियो कि जिन्दगीले कसैलाई कुर्दैन। न सबैलाई दोस्रो मौका नै दिन्छ। हामी सोच्छौँ हामीले सम्बन्धलाई जहाँ छोडेका थियौँ, वर्षौंपछि पनि त्यही हुन्छ। त्यही अवस्था र अवस्थितिमा नै हुन्छ। यो निरन्तर अगाडि बढिरहन्छ। हामी पनि बढ्नु पर्छ।
जे भयो त्यसलाई त बदल्न सकिँदैन तर नयाँ सुरुआत त गर्न सकिन्छ नि। जहाँ छौँ त्यहीँबाट। जस्तो छौँ त्यही अवस्थामा। तर म सोचेको जति कुरा बोलीमा ल्याउन सक्दिनँ। आखिर मान्छे सबै उस्तै हुँदा रहेछन्, सात समुन्द्रवारि पनि पारि पनि।
उनीहरूको मन, मनभित्रको भाव उस्तै हुँदोरहेछ। खुसी हुँदा हाँस्ने हाँसो र दुख्दा झर्ने आँसु उही रहेछ। यिनको अनुहारमा छल्केको दुख मेरो मनमा पनि त छल्कन्छ बेलाबेलामा। बस् हामीले व्यक्त गर्ने लवज मात्र भिन्न छ।
मनको गहिराइबाट निस्क्ने यी भावहरूलाई बुझ्न कुनै भाषा भने चाहिँदैन। जसरी यिनले केही नबोल्दा पनि म बुझ्न सकिरहेकी छु। म उनले लुकाउन खोजेका आँसुका थुङ्गा गहिरा आँखाभित्र महशुस गर्न सक्छु। यसको लागि न कुनै सीप चाहिन्छ न कुनै योग्यता नै।
मन चाहिन्छ अनि सदभाव चाहिन्छ। मैले उठेर अंगालो मारेँ उनलाई। उनी फिस्स हाँसिन् मतिर हेरेर अनि केही नबोली उठेर गइन्। म जिल्ल परेर उनी गएको हेरी मात्र रहेँ। मनमा कताकता खिन्न भैरह्यो। धेरै दिनसम्म मैले मेरो खिन्नता हटाउनै सकिनँ। तर त्यसदिनपछि मैले उनलाई देखिनँ।
उनको ढोका ढकढकाउन जाने हुटहुटी बढ्दै जाँदा छोरोको चिन्ता भयो मलाई। आधा रातमा यो चिचिलोलाई एक्लै छोडेर कहाँ जन सक्छु र म! म त आमा पो हुँ त। केहीबेर सुतेर बिहान झिसमिसेमै जाने सुर गरेर सुत्ने प्रयासमा लागेँ।
सायद केहीबेर निदाएछु पनि। आँखा खोल्दा बिहानको सात बजिसकेको थियो। छेउतिर छामेँ, मन जस्तै खाली छ ओछ्यान। निन्द्रामै भएको छोरोलाई च्यापेर उनको ढोका ढक्ढकाउन पुगेँ बेतोडले। निकै बेर कुर्दा पनि उनको ढोका खुलेन मेरो लागि।
उनको ढोकासँगै श्रीमानको खबर पाउने आशाको ढोका पनि बन्द हुँदै गरेको आभासले मन भरिएर आँखाबाट छचल्किन थाले। यी सबैबाट बेखबर छोरो मेरो काँदमा अर्धनिन्द्रामा बोलाउँदै थियो। अनिदो र अन्योलले निचरिएको अनुहार र डरले थर्थराएको शरीर लिएर तिनै काका-काकीको ढोका ढकढकाउन पुगेँ।
उपाएविहीन म निकै बेर ढोका खुल्ने प्रतिक्षामा उभिरहेँ। निकैबेरपछि कुई....ई गरेर ढोका खुल्यो। मैले केही भन्न नपाउँदै ढोका लगाउने सुरसार गर्दै काकाले भने 'मैया यो नर्थ-अमेरिका हो, बेला न कुबेला ढोका ढक्ढक्याउन पाइदैन। फोन गरेर आउनु पर्छ।'
मैले बन्द हुँदै गरेको ढोकालाई ठेलेर भित्र पस्दै भनेँ 'काका, अर्को पटक फोननै गरेर आउँला। मेरो श्रीमान हिजो बिहान काममा गएका फर्केका छैनन्, एक कल फोन गरौँ न प्लिज।'
उनको स्वीकृति अगावै मैले टिभी अगाडिको फोन उठाएर उनको नम्बर डाएल गरेँ। उताबाट उनले 'हेलो अंकल भने'। अनि म भक्कानिदै डाँको छोडेर रून थालेँ। अर्धनिन्द्रामै छोरो पनि मैसँगै रून थाल्यो।