कविता
मैले उसलाई
सुन्दर सहरमा खोजें
बस्तीहरूको लहरमा खोजें
सडक बाटोमा खोजें
आफ्नै माटोमा खोजें
सीमा सारामा खोजें
कर्णाली रारामा खोजें
भेटिनँ त कतै !
मैले उसलाई
गीतको गानमा खोजें
संगीतको तानमा खोजें
फूलको परागमा खोजें
कूलको अनुरागमा खोजें
स्वजनका ओंठमा खोजें
निमुखाका चोटमा खोजें
खै पटक्कै देखिनँ।
मैले उसलाई
साँझ बिहान चुलोमा खोजें
दिउँसो बजारको तुलोमा खोजें
प्यास लागेर धारामा खोजें
अतास लागेर नारामा खोजें
वर्षौ साँचेको रहरमा खोजें
भोग्दै आएको कहरमा खोजें
खोज्नसम्म खोजें
अहँ देखिनँ कतै !
मैले उसलाई
मल, बिउ, बिजनमा खोजें
खेती बालीको सिजनमा खोजें
उखु किसानको आँसुमा खोजें
तरकारी, फलफूल, दूध र मासुमा खोजें
मरुभूमि तिर बगेका श्रम पसिनामा खोजें
पाको बाली सखाप पार्ने सेता असिनामा खोजें
बर्खाको बाढी पहिरोमा खोजें
दैनिक विदेशिने युवा धुइरोमा खोजें
अहँ भेटिनँ कतै पनि।
मैले उसलाई
मेलम्ची पानीमा खोजें
पुर्ख्यौली खानीमा खोजें
स्कूल कलेजका छानामा खोजें
पाठ्य पुस्तकका पानामा खोजें
अस्पतालको बेडमा खोजें
चौतारीको सेडमा खोजें।
अझ भएन
दूरसंचारको नेटमा खोजें
साइबर चेटमा खोजें
अहँ पाइनँ कतै!
मैले उसलाई
रासन पानीमा खोजें
आसन बानीमा खोजें
शासन शैलीमा खोजें
मुलुकको थैलीमा खोजें
जताततै खोजें
अत्तोपत्तो पाइनँ खासमा,
बेफ्वाँकमा समय बर्बाद गर्दै
भौतारिँदै भौतारिँदै खोजें
अहँ भेट्दै भेटिनँ उसलाई
दिक्क छु तर पनि ठिक्क छु,
त्यसैले अब
क्रम भङ्ग गर्दै
एउटा विकल्पको खाका कोर्दैछु
खोजेको बेला भेटिने खालको।