खै किन हो?
कृष्णको सहरमा
बज्दैन मुरली
नाच्दैनन् गोपिनी
एक भुलभुलैयामा कैद छन् 'राधा'
र त नोस्टाल्जिक 'रोमियोहरु'
विछिप्त स्मृतिमा
पत्र पत्र चुँडिरहेछन्
तिम्रो नामको गुलाब।
कुनै युगमा
प्रेमिल लवजका बिम्बहरू
गोकुल वृन्दावन हुँदै मथुरासम्म
एक विमुग्ध उत्सव थियो।
अनन्त काव्य थियो।
अनेक विरासत थियो।
र त 'कृष्ण' कृष्ण थिए।
'राधा' राधा थिइन्।
अफसोच 'प्रेम' बदलिएछ
जस्तो कि
गुराँसका लालीहरु
पहाडको छातीमा
वसन्तसँगै ओइलाउँछन्
र मनकै कुलेसोबाट सोचमग्न हुन्छ
तिम्रो नामको गुलाब।।
आज एकान्तमा
एक हुल यादहरुसँग
स्पन्दनका अवाजहरुसँग
पल पल स्वयम विदिर्ण छ गुलाब।
मानौं आज मधुशालामा
मदहोस छ गुलाब।
नाट्यशालामा बेहोस छ गुलाब।
र पनि
एक अपूर्ण कहानीको साक्षी बनेर
यथावत् मुस्कुराइरहेछ
तिम्रो नामको गुलाब।